3 years ago
February 21, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिजमा आज स्कटल्यान्डसँग खेल्दैछ । खेल बिहान ९ बजे टियु क्रिकेट मैदानमा सुरुहुनेछ । नेपाल च्याम्पियन स्कटल्यान्डलाई हराउँदै पहिलो पटक लिग–२ मा चारै खेल जित्ने सोचमा हुनेछ ।

आजको खेल जितेमा नेपाललाई शीर्ष पाँचमा रहँदै ओडिआई मान्यता जोगाउन सहज हुनेछ । उता स्कटल्यान्डको लिग–२ मा यो अन्तिम खेल हो । पहिलो खेलमा नामिबियालाई १० विकेटले हराउँदै तीन खेल अगावै च्याम्पियन बनेको थियो । नेपालसँगको खेलपछि स्कटल्यान्डले उपाधि ट्रफी टियु मैदानमै पाउनेछ ।
पहिलो खेलमा स्कटल्यान्ड नेपालसँग तीन विकेटले पराजित भएको थियो । नेपालले स्कटल्यान्डले प्रस्तुत गरेको २ सय ७५ रनको विजयी लक्ष्य ४७ ओभरमा ७ विकेट गुमाउँदै पूरा गरेको थियो । नेपालको जितमा दीपेन्द्रसिंह ऐरीले ८५ र कुशल मल्लले ८१ रन बनाउँदै सहज जित दिलाएका थिए ।
स्कटल्यान्ड ३५ खेलमा २४ मा जित र ९ मा हारसहित ५० अंकका साथ शीर्षस्थानमा छ । नेपाल २७ खेलमा ११ मा जित र १४ मा हारसहित २४ अंकका साथ छैटौं स्थानमा छ । यदि नेपालले बाँकी सबै ९ खेल जितेको खण्डमा ४२ अंकका साथ शीर्ष तीनमा रहँदै सोझै जुन जुलाईमा जिम्बावेमा हुने एकदिवसीय विश्वकप छनोट खेल्न पाउनेछ । शीर्ष तीनमा पर्न नसके प्लेअफ क्वालिफायर खेल्नुपर्ने हुन्छ । शीर्ष पाँचमा रहँदै ओडिआई मान्यता जोगाउन ९ मध्य ५ खेल जित्नुपर्ने हुन्छ।

नेपालले आजको खेलमा एक परिवर्तन गर्ने सम्भावना छ । तीव्र गतिका बलर गुलशन झाको स्थानमा स्पिनर सूर्य तामाङलाई डेब्यू दिनसक्छ । गुलशनले स्कटल्यान्डविरुद्ध २ ओभरमा २१ रन र र नामिबियाविरुद्ध २ ओभरमा २० रन खर्चिएका थिए । उता तीव्र गतिका बलर करण केसी र सोमपाल कामी दुबैको प्रदर्शन राम्रो छैन ।
पछिल्लो खेलमा करण केसीले नामिबियाविरुद्ध ९ ओभरमा ७४ रन खर्चिदा एक विकेट लिएका थिए । सोमपाल कामीले ९ ओभरमा ५३ रन खर्चिएका थिए । स्कटल्यान्डविरुद्ध करणले ९ ओभरमा ६८ र सोमपाल कामीले ९ ओभरमा ५२ रन खर्चेका थिए ।
तीनै तीव्र गतिका बलरको प्रदर्शन राम्रो नभएपछि स्पिनरलाई मैदान उतार्न सक्छ । स्कटल्यान्डविरुद्ध स्पिनर कुशल मल्ल र सन्दीप लामिछानेले राम्रो प्रदर्शन गरेका थिए । टोलीमा अन्य परिवर्तनको सम्भावना भने छैन । पहिलो खेलमा कुशल भुर्तेलले नामिबियाविरुद्ध शतक हानेका थिए । दोस्रो खेलमा नामिबियाविरुद्ध आसिफले ८१ रन जोडेका थिए । यी दुई ओपनरबाट नेपाल उत्कृष्ट सुरुवात चाहन्छ । त्यसपछि ज्ञानेन्द्र मल्ल, रोहित पौडेल र कुशल मल्ल हुनेछन् ।

कुशल स्कटल्यान्डलाई टाउको दुखाई बन्नसक्छन् । पछिल्ला दुई खेलमा कुशलले अर्धशतक प्रहार गरेका थिए । उता बायाँ हाते स्पिनर मार्क वाटलाई कुशलले दबाबमा राख्न सक्छन् । दीपेन्द्रसिंह ऐरी र सन्दीप जोरा तल्लोक्रमका ब्याटर हुन् । सन्दीप जोराको स्थानमा भीम सार्कीलाई मौका दिनसक्ने झिनो सम्भावना छ।
नेपालको ब्याटिङमा गहिराई छ । सोमपाल कामी र करण केसीले तल्लोक्रममा राम्रो ब्याटिङको क्षमता राख्छन् । सन्दीप र सूर्य प्रमुख स्पिनर हुनेछन् । स्पिन आक्रामणमा दीपेन्द्र र कुशल मल्लले साथ दिनेछन् । आवश्यक परेमा कुशल भुर्तेल र रोहित पौडेल पनि विकल्पमा हुनेछन् ।
यता स्कटल्यान्डका दुई खेलाडी चोटका कारण टोलीमा छैनन् । क्रिस सोल र ज्याक जार्विस टोलीमा नहुँदा केहि समस्यामा छ । स्कटल्यान्डले नेपालविरुद्ध पहिलो खेलमा आफ्ना प्रमुख तीन खेलाडी जर्ज मुन्शे, शफ्यान शरिफ र काइल कोट्जरलाई विश्राम दिएको थियो । आजको खेलमा यी तीनै खेलाडी मैदान उतार्न सक्छ । मुन्शेले नामिबियाविरुद्ध ६१ बलमै शतक हानेका थिए । मुन्शे खेलेको खण्डमा नेपाललाई भने घातक बन्नसक्छ ।

स्कटल्यान्ड शीर्षक्रम ब्याटिङमा बढी निर्भर छ । जर्ज मुन्शे, काइल कोट्जर, म्याथ्यु क्रस र कप्तान रिची बेरिंगटन प्रमुख ब्याटर हुन् । तर नेपालविरुद्ध स्कटल्यान्डले १११–६ को अवस्थाबाट उत्कृष्ट पूनरागमन गरेको थियो । माइकल लिस्कले एक यादगार शतक हानेका थिए । तल्लोक्रममा लिस्क, क्रिस ग्रेभ्स, ब्रेन्डन म्याकुलम जस्ता अलराउन्डर टोलीमा छन् ।
यस सिरिजमा माइकल लिस्कले बलिङ र ब्याटिङ दुबैमा सानदार प्रदर्शन गरेका छन् । स्पिनर मार्क वाट र माइकल लिस्कले नेपाल भ्रमणमा लगातार राम्रो प्रदर्शन गर्दै आएका छन् । तीव्र गतिका बलरमा शफ्यान शरिफ र म्याकुमलेन रहनेछन् ।
हेड टे हेड :
ओडिआई नेपाल र स्कटल्यान्डबीच पाँच खेल भएका छन् । जसमा तीन खेलमा स्कटल्यान्ड र दुई खेलमा नेपाल विजयी भएको छ । नेपालले पहिला ब्याटिङ गरेको तीनै खेलमा हारेको छ । लक्ष्य पछ्याउँदा दुबै खेलमा नेपाल विजयी भएको छ । यस सिरिजमा पनि नेपालले तीनै खेल लक्ष्य पछ्याउँदा जितेको छ । आजको खेलमा टस निर्णायक बन्नसक्छ ।
स्कटल्यान्डको टोली :
रिची बेरिंगटन (कप्तान), काइल कोट्जर, म्याट क्रस (उप(कप्तान), क्रिस ग्रेभ्ब्स, ज्याक जार्विस, माइकल लिस्क, टम म्याकिन्टोस, क्रिस म्याकब्राइड, ब्रेन्डन म्याकुलम, जर्ज मुन्शे, लियाम नेलर (विकासको लागि लिएको खेलाडी), शफ्यान शरिफ, क्रिस सोले, हम्जा ताहिर, मार्क वाट् ।
नेपालको टोली :
रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, ललितनारायण राजवंशी, सन्दीप लामिछाने, गुलशन झा, भीम सार्की र सूर्य तामाङ ।

अंक तालिका
स्कटल्यान्ड ३५ खेलमा २४ मा जित र ९ मा हारका साथ ५० अंकका साथ शीर्ष स्थानमा छ । ओमान ३६ खेलमा २१ मा जित र १३ मा हारसहित ४४ अंकका साथ दोस्रो स्थानमा छ । नामिबिया ३४ खेलमा १८ मा जित र १५ मा हारका साथ ३७ अंकका साथ तेस्रो स्थानमा छ ।
अमेरिका ३६ खेलमा १६ मा जित र १७ मा हारसहित ३५ अंकका साथ चौथो स्थानमा छ । युएई २६ खेलमा १२ मा जित र ११ मा हारसहित २७ अंकका साथ पाँचौं स्थानमा छ ।
नेपाल २७ खेलमा ११ मा जित र १४ मा हारसहित २४ अंकका साथ छैटौं स्थानमा छ । पपुवा न्युगिनी २८ खेलमा २ मा जित र २५ मा हारसहित ५ अंक जोड्दै पुछारमा छ । शीर्ष तीन टोली सोझै ग्लोबल छनोट खेल्नेछन् । बाँकी चार टोलीले प्लेअफ खेल्नुपर्ने हुन्छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]