default_image

3 years ago

February 21, 2023

स्कटल्यान्डमाथि नेपालको रोमान्चक जित

430 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – कप्तान रोहित पौडेल र करण केसीको उत्कृष्ट ब्याटिङमा नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा च्याम्पियन स्कटल्यान्डमाथि दुई विकेटको रोमान्चक जित हात पारेको छ । योसँगै नेपालले विश्वकप लिग २ मा पहिलो पटक सबै चार खेल जित्न सफल भएको छ ।

जितको लागि २ सय १३ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ४४.१ ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा कप्तान रोहित पौडेल १ सय १ बलमा ७ चौका र ४ छक्कासहित ९५ रनमा अविजित रहे । करण केसी ३७ बलमा २ चौका र १ छक्कासहित ३१ रनमा अविजित रहे ।

नेपालले यस सिरिजमा चारै खेल जितेको हो । लिग २ मा नेपालले पहिलो पटक चारै खेल जितेको हो । एक समय ३१.५ ओभरमा १३८–८ को दयनीय अवस्थामा पुगेको नेपाललाई करण केसी र रोहित पौडेलले नवौ विकेटका लागि ७५ रनको साझेदारी गर्दै रोमान्चक जित दिलाएका हुन् । कप्तान रोहितले विजयी चौका प्रहार गर्दै खेल सकाएका थिए ।

यसअघिका तीन खेलमा सानदार ब्याटिङ गरेपनि स्कटल्यान्डविरुद्ध नेपालले सुरुवात देखिनै खराब प्रदर्शन गरेको थियो । नेपालले दोस्रो ओभरमै ओपनर कुशल भुर्तेलाई एक रनमा गुमाएको थियो । स्पिनर मार्क वाटको दोस्रो ओभरको पहिलो बलमै कुशल एलबीडब्लू आउट हुन पुगे । तीव्र गतिका बलर ब्रेन्डन म्याकमलनको बलमा आसिफ शखे १२ रनमा काइल कोट्जरबाट क्याच आउट भए ।

स्पिनर मार्क वाटले अनभुवी ब्याटर ज्ञानेन्द्र मल्ललाई २१ रनमा एलबीडब्लू आउट गरे । ज्ञानेन्द्रले ३० बलमा ४ चौका हाने । त्यो समय नेपाल १०.३ ओभरमा ३४–३ को अवस्थामा पुगेको थियो ।

स्पिनर क्रिस ग्रेभ्सले कुशल मल्ललाई १७ रनमा बोल्ड आउट गरे । छैटौं विकेटका लागि दीपेन्द्र र रोहितले ४४ रनको साझेदारी गरेका थिए । दीपेन्द्र ग्रेभ्सकै बलमा ७ रनमा बोल्ड आउट भए । मार्क वाटले सोमपाललाई २ रनमा आउट गरे । सन्दीप ९ रनमा क्याच हुँदा नेपाल १३८–८ को दयनीय अवस्थामा पुगेको थियो ।

स्कटल्यान्डका क्रिस ग्रेभ्सले १० ओभरमा ६१ रन खर्चेर २ विकेट लिए । मार्क वाटले १० ओभरमा १ मेडनसहित २९ रन खर्चेर ३ विकेट लिए । ब्रेन्डन म्याकुमेलन, शफ्यान शरिफ र माइकल लिस्कले एक एक विकेट लिए ।

त्यसअघि टयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको स्कटल्यान्ड ४६.१ ओभरमा २ सय १२ रनमा अल आउट भएको थियो । स्कटल्यान्डका ओपनर जर्ज मुन्शेले ५० बमा ९ चौका र २ छक्कासहित सर्वाधिक ६० रनको योगदान दिए । नेपाली बलर सामु मुन्शे बाहेक अन्य कुनैपनि स्कटल्यान्डका ब्याटरले रन बनाउन सकेनन् ।

मुन्शे सन्दीपको बलमा बोल्ड हुनुअघि स्कटल्यान्ड १३.४ ओभरमा ८९–१ को बलियो अवस्थामा थियो । मुन्शे आउट भएपछि लगातार विकेट गुमाएको थियो। स्कटल्यान्डका ब्याटर नेपाली स्पिनरलाई रिभरस्वीप र स्विप खेल्ने धुनमा विकेट गुमाउन पुगेका थिए ।

मुन्शे आउट भएको लगत्तै अर्को बलमा कप्तान रिची बेरिंगटनलाई एलबीडब्लू आउट गर्दै सन्दीप ह्याट्रिक नजिक पुगेका थिए । १६ औं ओभरको पहिलो बलमा म्याथ्यु क्रसले दुई रन दिएपछि सन्दीप ह्याट्रिक गर्नबाट असफल भएका थिए ।

पहिलो विकेटका लागि ओपनर जर्ज मुन्शे र काइल कोट्जरले ७.५ ओभरमा ४२ रनको साझेदारी गरेका थिए । स्पिनर सन्दीप लामिछानेले टियु एण्डबाट बलिङ गर्दै कोट्जरलाई २२ रनमा एलबीडब्लू आउट गर्दै नेपाललाई पहिलो सफलता दिलाएका थिए ।

सन्दीपको सामना गरेको पहिलो बलमै कोट्जर रिभरस्वीप खेल्ने धुनमा आउट भएका थिए । त्यसअघि लगातार दुई चौका हान्दै एक रन लिएर मुन्शेले स्ट्राइक दिएका थिए । कोट्जरले २३ बलमा ४ चौका हानेका थिए ।

कुशल मल्लले २१ औं ओभरको दोस्रो बलमा क्रिसटोफर म्याकब्राइडलाई २२ रनमा एलबीडब्लू आउट गरे । म्याकब्राइड पनि स्वीप शट खेल्ने चक्करमा आउट भएका थिए । सन्दीपले २२ औं ओभरको तेस्रो बलमा टम म्याकिन्टसलाई एक रनमा सन्दीप जोराबाट क्याच आउट गराए ।

दीपेन्द्रसिंह ऐरीले म्याथ्यु क्रसलाई ४२ रनमा डाइरेक्ट थ्रोमा रन आउट गरे । क्रसले ६३ बलमा ४ चौका र १ छक्का प्रहार गरेका थिए । छैटौं विकेटका लागि क्रस र ब्रेन्डन म्याकुमेलन ५७ रनको साझेदारी गरेका थिए । ब्रेन्डन म्याकमलन ४८ बलमा ३ चौकासहित ३१ रनमा क्याच आउट भए ।

नेपालका सन्दीप लामिछानले १० ओभरमा ४५ रन खर्चेर ४ विकेट लिए । ललितनारायण राजवंशीले १० ओभरमा १ मेडनसहित ३३ रन खर्चेर १ विकेट लिए । कुशल मल्लले ६ ओभरमा ३० रन खर्चेर १विकेट लिए । करण केसीले ८.१ ओभरमा ४२ रन खर्चेर ३ विकेट लिए ।

स्कटल्यान्ड नेपालसँग पहिलो खेलमा तीन विकेटले पराजित भएको थियो । नामिबियालाई १० विकेट र ४३ रनले पराजित गरेको थियो । नेपालले भने नामिबियालाई तीन र दुई विकेटले पराजित गरेको थियो ।

अंक तालिका

स्कटल्यान्ड ३६ खेलमा २४ मा जित र १० मा हारका साथ ५० अंकका साथ शीर्ष स्थानमा रहँदै अन्त्य गर्यो । ओमान ३६ खेलमा २१ मा जित र १३ मा हारसहित ४४ अंकका साथ दोस्रो स्थानमा छ । नामिबिया ३४ खेलमा १८ मा जित र १५ मा हारका साथ ३७ अंकका साथ तेस्रो स्थानमा छ ।

अमेरिका ३६ खेलमा १६ मा जित र १७ मा हारसहित ३५ अंकका साथ चौथो स्थानमा छ । युएई २६ खेलमा १२ मा जित र ११ मा हारसहित २७ अंकका साथ पाँचौं स्थानमा छ ।

नेपाल २८ खेलमा १२ मा जित र १४ मा हारसहित २६ अंकका साथ छैटौं स्थानमा छ । पपुवा न्युगिनी २८ खेलमा २ मा जित र २५ मा हारसहित ५ अंक जोड्दै पुछारमा छ । शीर्ष तीन टोली सोझै ग्लोबल छनोट खेल्नेछन् । ओमान र स्कटल्यान्ड सोझै विश्वकप छनोटमा पुगेका छन् । बाँकी चार टोलीले प्लेअफ खेल्नुपर्ने हुन्छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.