default_image

3 years ago

March 22, 2023

मोन्टि नियुक्तिको मंगल : नेपालको चामत्कारिक प्रदर्शन

274 views

0 Bookmark

भुपेन्द्र जि.सी. काठमाडौं

परिवर्तन र सुधार गर्न सुरुवातमा सामान्य कुरामा ध्यान दिनुपर्छ । कुशल नेतृत्वको गुण भएको व्यक्तिले थोरै समयमा पनि धेरै परिवर्तन गर्नसक्छ । मुख्य प्रशिक्षक मोन्टि देशाई असल नेतृत्व क्षमता र कर्मशील भए थोरै समयमा धेरै परिवर्तन गर्न सकिन्छ भन्ने नेपाली क्रिकेटका राम्रो उदाहरण हुन् ।

नेपालले मोन्टिको मुख्य प्रशिक्षणमा पछिल्लो एक महिनामा जादुमयी प्रदर्शन गर्यो । निकै खराब लयमा रहेको टोलीले १२ मध्य ११ खेल जित्यो । देशाई आउनुअघि नेपाल २४ खेलमा ८ मा जित, एक खेलमा टाइ र एक खेल नतिजा विहीन बन्दै १८ अंकका साथ छैटौं स्थानमा थियो । एक महिनामा नेपालले ३६ खेलमा १९ मा जित र १५ मा हारसहित ४० अंकका साथ तेस्रो स्थानमा अन्त्य गर्यो ।

देशाई आउँदा नेपाललाई शीर्ष तीनमा पर्न सबै खेल जित्नुपर्ने र ओडिआई मान्यता जोगाउन कम्तिमा ९ खेल जित्नुपर्ने समीकरण थियो । त्यसबेला टोलीको प्रदर्शन हेर्दा ओडिआई मान्यता जोगाउन निकै कठिन । विश्वकप छनोटमा सोझै स्थान बनाउने कल्पना बाहिर थियो ।

माघ १४ गते देशाई नेपाल आए । आफ्नो श्रम स्वीकृति लगायत कागजी प्रक्रिया पूरा नभएपनि अर्को दिन नै उनी टियु मैदान पुगेका थिए । सम्झौता पक्का नहुँदै उनले टियु मैदान पुगेर प्रशिक्षण गर्ने इन्डोर र नेट लगायत हेरेका थिए । मोन्टिले त्यसपछि टियुको पिच र मैदान निरिक्षण गरे । देशाई पुग्दा नेपाली टोली अभ्यासको लागि आइपुगेको थिएन ।

नेपाली टोली आएपछि मोन्टिले थोरै समय लिँदै अन्तरक्रिया गरे । त्यसपछि मोन्टिले आफ्नो प्रारम्भिक टोलीमा नरहेका खेलाडीलाई फिटनेस परिक्षण तथा प्रमुख बलर र ब्याटरलाई नेटमा हेरेका थिए । नेटमा पस्नुअघि मोन्टिले कप्तान रोहित पौडेलसँग लामो कुराकानी गरेका थिए । त्यसपछि मोन्टिले लगातार अभ्यास गराए ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले स्वीकृति दिन ढिलो गर्दा उनी औपचारिक रुपमा नियुक्त भएका थिएनन् । मोन्टिले खेलाडीलाई मिडिया देखि टाढा रहन भन्दै केहि समय सार्वजनिक रुपमा नबोल्न भने । टोलीको ध्यान अभ्यास र प्रदर्शनमै केन्द्रित गरे । मैदानमा प्रदर्शन गरेर देखाउन खेलाडीलाई आग्रह गरे । बरु जसलाई भेट्थे त्यसलाई टोलीको सकारात्मक पक्ष र हौसला बढाउने काम गर्न भन्थे ।

मोन्टि विश्व क्रिकेटमा नाम चलेका प्रशिक्षक हुन् । नेपाल आउनका लागि उनले वेस्टइन्डिजसँग तीन वर्षदेखि चलेको ब्याटिङ प्रशिक्षकको भूमिकामा पूर्णविराम लगाएका थिए । त्यसअघि आइपिएलको राजस्थान रोयल्स, गुजरात लायन्सदेखि अफगानिस्तानसम्म प्रशिक्षकको रुपमा काम गरेको अनुभव उनीसँग थियो ।

डेढ दशक लामो प्रशिक्षण अनुभव बटुलेका उनी सन् २०१७ को यू-१९ एसिया कपमा भारतलाई हराउँदा नेपालका ब्याटिङ सल्लाहकार थिए । त्यसअघि उनले सन् २०१५ मा ब्याटिङ सल्लाहकारको रुपमा काम गरेका थिए । उनी जुन समय नेपाल आएका थिए त्यो समय आगोको रापमा खाली खुट्टा हिँड्नु बराबर थियो ।

मोन्टिले खेलाडीको मनोबल बढाउने काम गरे । खेलाडीको क्षमतामा विश्वास राखे । हरेक खेलाडीलाई हरेक बल एक युद्धको रुपमा लिने रणनीति लिए, ‘वन बल ब्याटल’ को रणनीति । उनको उदेश्य पनि स्पष्ट थियो । उनले ओडिआई मान्यता नै नरहेपनि दीर्घकालिन योजनाका साथ नेपाल आएको बताएका थिए ।

पहिलो खेलमै नेपालले फागुन २ मा नामिबियामाथि ऐतिहासिक जित दर्ता गर्यो । नामिबियाले प्रस्तुत गरेको २ सय ८६ रनको लक्ष्य नेपालले ४७.४ ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्यो । जुन नेपालले आफ्नो ओडिआई इतिहासमै पूरा गरेको उच्च योगफल थियो ।

त्यसपछि नेपालले लगातार तीन खेलमा २ सय ७० माथिको योगफल पूरा गर्यो । मोन्टिको पहिलो प्रशिक्षणमै नेपालले बलिया टोली स्कटल्यान्ड र नामिबियालाई हराउँदै लिग २ मा पहिलो पटक क्लिनस्विप गर्यो ।

त्यसपछि नेपाल युएई भ्रमणमा गयो । युएईसँग एक खेलमा पराजित हुँदा बाँकी तीन खेलमा जित दिलाए । अन्तिम सिरिजमा पपुवा न्युगिनी र युएईलाई हराउँदै ओडिआई मान्यता जोगयो । सोझै विश्वकप छनोटमा स्थान बानायो । नेपालले अन्तिम १२ खेलमा सानदार प्रदर्शन गर्यो ।

मोन्टिले टोलीमा सुरुमा मानसिक सोच र विश्वासमा काम गरे । टोलीमा नकारात्मक कुरालाई अन्त्य गरे । ह्याप्पी ड्रेसिङ रुम अभियान चलाए । मोन्टिले खेलाडीलाई आत्माविश्वास थपे । पछिल्लो एक वर्ष टोलीबाट बाहिर रहेका कुशल मल्ललाई मौका दिँदै शीर्षक्रममा प्रयोग गरे ।

मध्यक्रममा अपेक्षा अनुसार चल्न नसकेका दीपेन्द्रलाई फिनिसरको रुपमा खेलाए । लगातार राम्रो गर्दा पनि मौका नपाएका भीम सार्कीलाई मध्यक्रममा खेलाउने जोखिम लिए । टोलीमा मोन्टिले एक अतिरिक्त ब्याटर खेलाए । उनको सबै रणनीतिले काम गर्यो । खेलाडीले उनलाई निराश पनि बनाएनन् ।

मोन्टिको पहिचान नै ब्याटिङ प्रशिक्षकको रुपमा छ । नेपालको समस्या दीर्घकालिन देखि ब्याटिङ थियो । उनले ब्याटिङसँगै मानसिक रुपमा खेलाडीलाई मजबुत बनाए । अर्कोतर्फ नेपाली क्रिकेटमा सबै युवा खेलाडी हुँदा मोन्टि जस्तो प्रशिक्षकको अति आवश्यक भइसकेको थियो । खेलाडीले सिक्ने बेला नै यहि हो । खेलाडीले आफ्नो आवश्यकता अनुसार कै प्रशिक्षक पाए ।
त्यसैले गर्दा नेपाली क्रिकेटको प्रदर्शन फेरिएको छ ।

पुन नयाँ उत्साह र आशा बढ्न थालेको छ । मनोज प्रभाकरले भद्रगोल बनाएको ब्याटिङक्रम र टिम सन्तुलन उनले मिलाए । टोलीमा पछिल्लो समय देखिएको एकता कमीलाई अन्त्य गरे । टिमलाई एक बनाएर खेलाउन सफल भए । टिमलाई एक बनाउन सक्नु नै मोन्टि सफल हुनुको प्रमुख कारण हो । सबै खेलाडीलाई समान व्यवहार गरे । जुन पछिल्ला केहि वर्षमा ठूलो समस्याको रुपमा रहँदै आएको थियो । एकताको कमीले नेपालले राम्रो नतिजा हात पार्न सकेको थिएन ।

हुन त मोन्टि २०१७ मै कम सेवा सुविधामा नेपालको मुख्य प्रशिक्षक बन्न इच्छा भएको बताएका थिए । उनी आफुले नेपाली क्रिकेटलाई केहि दिन चाहेको बताउँदै आएका थिए । तर क्यान आइसिसीको निलम्बनमा हुँदा सम्भव भएन । त्यसैले उनी क्यानडातर्फ लागेका थिए । क्यान आएपछि तीन प्रशिक्षक नेपाल आए । यसबीचमा मोन्टिको नाम हरेक समय चर्चामा रह्यो । तर क्यानले आफनो स्वार्थको लागि मोन्टि नभएर अन्य प्रशिक्षकलाई लियो । त्यसैको कारण टोलीको एकता खटपट आयो ।

प्रशिक्षक क्यानको इशारामा चल्न थाले । मोन्टिले आइपिएलको लागि धेरै समय मागेको भन्दै बाहना बनाएको थियो ।
डेभ ह्वाटमोर, पुबुदु दासानायके र मनोज प्रभाकरलाई ल्याउँदा मोन्टि प्रमुख दाबेदार थिए । तर मोन्टि ल्याउँदा आफ्नो स्वार्थ अनुसार काम गर्न नपाइने डरले अन्यलाई लिएको थियो । यिनै निर्णयले नेपाल ओडिआई मान्यता गुम्ने संघारमा थियो ।

अन्त्यमा ओडिआई मान्यता नै गुम्ने अवस्था आएपछि आफ्नो सबै स्वार्थ त्यागेर क्यानले मोन्टिलाई ल्याउने निर्णय गर्यो । मोन्टिले आफ्नो महत्त्व के हो देखाइदिए पनि । त्यो बेला केहि खेलाडी र आफ्नो स्वार्थको पछि क्यान नलागेको भए मोन्टिले सायद नेपाली क्रिकेटको मुख्य प्रशिक्षक हुन्थे । नेपाली क्रिकेटको अवस्था फरक हुन सक्थ्यो ।

नेपालका सबै खेलाडी पछिल्लो समय प्रदर्शन फेरिमा मोन्टिलाई श्रेय दिन्छन् । ‘१२ खेल अगाडिनै हामीले यो सोचेका थियौं । पहिला ओडिआई र त्यसपछि सोझै विश्वकप छनोट थियो । सबै कुरा हाम्रो लागि राम्रो भएको छ । जुन कुरा सरले सबै मेन्टन गर्नु भएको छ । सुरुमा आएदेखिनै हामीले गर्न सक्ने विश्वास राख्नु भएको थियो । आज त्यो सपना पूरा भयो’, कप्तान रोहित पौडेलले भने ।

त्यसमा थपे, ‘यसको मुख्य श्रेय म खेलाडीलाई दिन्छु । यो १२ खेलमा सबैले योगदान दिएका छन् । सर आएदेखिनै मोमेन्ट हाम्रो पक्षमा आयो । जुन काम अहिले ड्रेसिङ रुपममा छ धेरै श्रेय सरलाई जान्छ ।’

नामिबियालाई पहिलो खेलमा हराउन सानदार शतक हानेपछि कुशल भुर्तेलले मोन्टिको प्रशंसा गरेका थिए । ‘सबै खेलाडी सकरात्मक देखिन्छन् । टिममा सबै सकरात्मक छन् । एक अर्कालाई साथ दिएका छन् । सन्दीप पनि धेरै पछि आयो । उसलाई पनि साथ दिएको छ । प्रशिक्षकले नकरात्मक कुरा गर्दै गर्नुहुन्न । खेल जितेपनि हारेपनि सबैलाई साथ दिनुभएको छ,’ उनले भने ।

नेपाललाई सोझै विश्वकप छनोटमा पुर्याएपछि मोन्टि केहि भावुक बने । ‘केहि समय योजनाले काम नगर्न सक्छ । त्यो समय खेलाडी देखि खेलाडीले सन्तुलन मिलाउनु पर्ने हुन्छ । यो पुरा यात्रामा आगमी भविष्यको बारे हामीलाई कहिल्यै चिन्ता र पछुतो रहेन । हामीले सधै आगमी दिनमा के गर्ने भन्नेमा ध्यान केन्द्रित गयौं । त्यहि नै सफलता सुत्र हो’, मोन्टिले भने ।

‘मैले यतिधेरै दर्शक एसोसिएट क्रिकेटमा कहिल्यै देखेको थिएन । म समर्थकलाई सन्देश दिन चाहन्छु । धन्यवाद सर्मथक साँच्चै धेरै आउनु भयो । यो टिम विकासको क्रममा छ । केहि सिक्नेक्रममा छ । कुनै दिन चाहेजस्तो नतिजा नआउन सक्छ । तर साथ दिइरहनुहोस् । किनभने खेलाडीले साँच्चै कडा मिहिनेत गरेका छन् । यिनीहरुमा उत्कृष्ट चरित्र छ’, मोन्टिले भावुक हुँदै भने ।

मोन्टिको गुण नै अरु भन्दा फरक छ । मैदान छिरेपछि सिधै पिच निरिक्षण गर्दछन् । मैदानका कर्माचारीसँग निरन्तर कुरा गर्छन् । इनिङपछि पिच परिक्षण गर्दछन् । विपक्षीलाई गाली गर्न नहुने उनको तर्क छ । अभ्यासपछि कप्तान रोहितसँग छलफल गर्ने गर्दछन् । शान्त र शालिन स्वभावका छन् । लक्षण युक्त छन् ।

यदि ओडिआई मान्यता सोझै गुमेको वा विश्वकप छनोट खेल्न नसकेको भए त्यसको दोषि मोन्टि नभएर क्यान हुने थियो । किनभने ३६ मध्य अन्तिम १२ खेल हेर्न आएका थिए । त्यसअघि २४ खेलमा ८ मात्रै जितेको थियो । तर मोन्टि नेपाली क्रिकेटको हिरो बने । छोटो समयमा अपेक्षा र आशा भन्दा मोन्टिले धेरै राम्रो काम गरे ।

फिल्मी शैलीमा सफलता दिलाए । मोन्टिको प्रशिक्षणमा आगमी दिनमा नेपाली क्रिकेटलाई धेरै माथि जाने सम्भावना छ । त्यसको लागि केहि समय लाग्छ । घरेलु मैदानमा हुँदा प्रदर्शन गर्न सहज भयो । विदेशी भूमिमा केहि समय प्रदर्शन नदेखिन सक्छ । यदि मोन्टिले आफ्नो योजना अनुसार काम गर्न पाउँछन् र क्यानले आर्थिक समस्या नदेखाउने हो भने अव नेपालले विश्व क्रिकेटमा फड्को मार्नसक्छ । तर अहिलेको घरेलु संरचना र प्रतियोगिताले भने सम्भव देखिदैन ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.