काठमाडौं (हाम्रो खेलकुद) – घरेलु टोली नेपालले एसिसी प्रिमियर कपमा एक खेल मुलपानीमा खेल्ने भएको छ । एसियन क्रिकेट काउन्सिल (एसिसी) ले प्रिमियर कपको समूह र खेल तालिका परिवर्तन गरेको छ ।

प्रतियोगिता वैशाख ५ देखि १८ गतेसम्म (अप्रिल १८ देखि १ मे) सम्म हुने भएको छ । नेपालको समूहमा ओमान, कतार, मलेसिया र साउदी अरेविया छन् । समूह बी मा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन छन् । नेपालले तीन खेल टियुमा खेल्दा एक खेल मुलपानीमा खेल्नु पर्ने भएको छ । नेपालले मुलपानीमा साउदी अरेवियासँग वैशाख ११ (अप्रिल २४मा) खेल्नेछ ।
नेपालले पहिलो खेल वैशाख ५ (अप्रिल १८ मा) मलेसियासँग टियु क्रिकेट मैदानमा खेल्दै सुरुवात गर्नेछ । नेपालले दोस्रो खेल वैशाख ८ गते (अप्रिल २१ मा) ओमानसँग टियुमा खेल्नेछ । नेपाल र ओमानबीचको ओडिआई मान्यता हुनेछ । नेपाल र ओमानबीचको खेलले समूह एको विजेता निर्धारण गर्न सक्ने अनुमान गरिएको छ ।
नेपालले वैशाख ११ मा (२४ अप्रिल मा) साउदी अरेवियासँग मुलपानीमा खेल्नेछ । नेपालले वैशाख १४ मा (अप्रिल २७ मा) कतारसँग टियुमा खेल्नेछ । सेमिफाइनल वैशाख १६ गते (अप्रिल २९ मा) हुनेछ । फाइनल वैशाख १८ गते (मे१ मा) टियुमा हुनेछ । यदि फाइनलमा पानी परेको खण्डमा एक दिन रिजरर्भ डे राखिएको छ । तेस्रो स्थानको लागि अप्रिल ३० मा प्रतिस्पर्धा हुनेछ ।
यस प्रतियोगिता विजेता टोलीले आगमी सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप खेल्न पाउनेछ । एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउनेछ । शीर्ष तीन टोलीले जुलाईमा हुने एसिसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछन् । सबै खेल बिहान ९:३० मा टियु मैदानमा हुनेछ । बहराइन र साउदी अरेविया भने एसिसी च्यालेन्जर कपबाट आएका हुन् । साउदी विजेता र बहारान उपविजेता बनेका थिए ।
