एजेन्सी – श्रीलंकाले पहिलो ओडिआई खेलमा घरेलु टोली न्युजिल्यान्डसँग १ सय ९८ रनको लज्जास्पद हारसँगै आगमी जुन जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोट खेल्ने उच्च सम्भावना बनेको छ । आइसिसी विश्वकप सुपर लिगमा २ सय ७५ रनको विजयी लक्ष्य पछ्याएको श्रीलंका १९.५ ओभरमा ७६ रनमा अल आउट भयो ।

श्रीलंकाका अनुभवी ब्याटर एन्जिलो म्याथ्युजले २५ बलमा ३ चौकासहित सर्वाधिक १८ रन बनाए । चामिका करुणारत्ने १० र लाहिरु कुमाराले ११ रन रन बनाए । श्रीलंकाका ८ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । यो श्रीलंकाको ओडिआईमा पाँचौं कम योगफल हो ।
श्रीलंका २०१२ मा दक्षिण अफ्रिकासँग ४३ रनमा अल आउट भएको थियो । उक्त योगफल श्रीलंकाको सबैभन्दा कम ओडिआई योगफल हो । न्युजिल्यान्डका तीव्र गतिका बलर हेनरी शिफ्लेले ७ ओभरमा ३१ रन खर्चेर सर्वाधिक ५ विकेट लिए । डर्याल मिचेल र ब्लेयर टिकनेरले दुई दुई विकेट लिए ।
त्यसअघि इर्डेन पार्क अकल्यान्डमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको न्युजिल्यान्ड ४९.३ ओभरमा २ सय ७४ रनमा अल आउट भएको थियो । न्युजिल्यान्डका फिन एलेनले ४९ बलमा ५ चौका र २ छक्कासहित सर्वाधिक ५१ रन बनाए ।
रचिन रविन्द्रले ५२ बलमा ४ चौका र १ छक्कासहित ४९, चाद बोवेस १४, विल योंग २६ र कप्तान टम लाथम ५ रनमा आउट भए । ग्लेन फिलिप्स ४२ बलमा ३ चौका र २ छक्कासहित ३९ रनमा आउट भए ।

श्रीलंकाका चामिका करुणारत्नेले ९ ओभरमा ४३ रन खर्चेर ४ विकेट लिए । लाहिरु कुमारा र कसुन रजिथाले दुई दुई विकेट लिए । दासुन शनका र दिलशान मदुशनकाले एक एक विकेट लिए ।
श्रीलंका २२ खेलमा ७ मा जित र १३ मा हारसहित ७७ अंकका साथ १० औं स्थानमा छ । अव श्रीलंकाले सुपर लिगमा अन्तिम दुई खेल न्युजिल्यान्डसँग दुई खेल खेल्न बाँकी छ । दुबै खेल जितमा श्रीलंकाको ९७ अंक हुन्छ । तर उता दक्षिण अफ्रिका १९ खेलमा ७ मा जित र १० मा हारसहित ७८ अंकका साथ नवौं स्थानमा छ ।
दक्षिण अफ्रिकाले नेदरल्यान्ड्ससँग अन्तिम दुई खेल यसै साता खेल्नेछ । दुबै खेल दक्षिण अफ्रिकाले जितेको खण्डमा ९८ अंक हुनेछ । त्यसैले यो आजको हारले श्रीलंकालाई सोझै विश्वकपमा स्थान बनाउन कठिन देखिएको छ । अव कम्तिमा दक्षिण अफ्रिकाले नेदरल्यान्ड्सँग दुई मध्य एक खेल हार्नु पर्ने वा कुनै कारण रद्ध हुनुपर्ने हुन्छ । अन्यथा श्रीलंकाले जिम्बावेमा हुने विश्वकप छनोट खेल्नुपर्ने हुन्छ ।

न्युजिल्यान्ड, इंग्ल्यान्ड, भारत, बंगलादेश, पाकिस्तान, अष्ट्रेलिया र अफगानिस्तान सोझै विश्वकपमा पुगेका छन् । अव दक्षिण अफ्रिका, श्रीलंका र वेस्टइन्डिज मध्य एक टोलीले सोझै विश्वकपमा स्थान बनाउने छन् । नेदरल्यान्ड्स, जिम्बावे र आयरल्यान्डले विश्वकप छनोट खेल्ने पक्का भएको छ ।
वेस्टइन्डिज २४ खेलमा ९ मा जित र १५ मा हारसहित ८८ अंकका साथ आठौं स्थानमा छ । यदि दक्षिण अफ्रिका र श्रीलंका अन्तिम दुबै खेलमा पराजित भएमा भने वेस्टइन्डिज सोझै विश्वकपमा पुग्नेछ । अन्यथा वेस्टइन्डिजले छनोट खेल्नुपर्ने हुन्छ ।
विश्वकप छनोटमा लिग-२ बाट नेपाल, स्कटल्यान्ड र ओमानले स्थान बनाएका छन् । यसै साता ६ देश सम्मिलित प्लेअफ क्वालिफायरमा नामिबिया, जर्सी, क्यानडा, अमेरिका, युएई र पपुवा न्युगिनीबाट शीर्ष दुई टोलीले विश्वकप छनोटमा पुग्नेछन् ।

सुपर लिगबाट पुछारका पाँच टोली आउनेछन् । श्रीलंका, दक्षिण अफ्रिका र वेस्टइन्डिज मध्य दुई टोलीले छनोट खेल्नुपर्ने हुन्छ । जिम्बावे, नेदरल्यान्ड्स र आयरल्यान्डले छनोट खेल्ने पक्का भई सकेकोछ ।
१० टोलीलाई दुई समूहमा विभाजन गरिनेछ । हरेक समूहबाट शीर्ष तीन टोली सुपर सिक्समा प्रवेश गर्नेछन् । सुपर सिक्सबाट शीर्ष दुई टोलीले आगमी अक्टोबर नोभेम्बरमा भारतमा हुने विश्वकपमा स्थान बनाउनेछन् ।