default_image

1 year ago

March 31, 2023

अवार्डमा सीतामाथि अस्वभावीक अन्याय

भुपेन्द्र जि.सी., काठमाडौं कुनैपनि प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई विधागत रुपमा व्यक्तिगत अवार्ड प्रदान गरिन्छ । विश्वका हरेक प्रतियोगिता झैं नेपालमा पनि उत्कृष्ट बलर, ब्याटर, उदीयमान खेलाडी र सर्वोत्कृष्ट खेलाडीले व्यक्तिगत अवार्ड प्राप्त गर्दै आएका छन् । नेपालको हकमा उत्कृष्ट ब्याटर र बलरको अवार्ड छिनोफानो गर्न समूह चरण सम्मको प्रदर्शन हेरिन्छ । यसमा सामान्यतया सर्वाधिक […]

164 views

0 Bookmark

भुपेन्द्र जि.सी., काठमाडौं

कुनैपनि प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई विधागत रुपमा व्यक्तिगत अवार्ड प्रदान गरिन्छ । विश्वका हरेक प्रतियोगिता झैं नेपालमा पनि उत्कृष्ट बलर, ब्याटर, उदीयमान खेलाडी र सर्वोत्कृष्ट खेलाडीले व्यक्तिगत अवार्ड प्राप्त गर्दै आएका छन् ।

नेपालको हकमा उत्कृष्ट ब्याटर र बलरको अवार्ड छिनोफानो गर्न समूह चरण सम्मको प्रदर्शन हेरिन्छ । यसमा सामान्यतया सर्वाधिक रन जोड्ने र विकेट लिने खेलाडीलाई प्राथमिकतामा राखिन्छ । कतिपय अवस्थामा दुई खेलाडीबीच तथ्यांकमा झिनो अन्तरको प्रतिस्पर्धा हुँदा विजयी टोलीका खेलाडी प्राथमिकतामा पर्छन् । सर्वोत्कृष्ट खेलाडीको अवार्डमा भने समग्र प्रतियोगिता प्रदर्शन हेरिन्छ ।

तर विहीबार सम्पन्न ललितपुर मेयर्स वुमन्स च्याम्पियनसिप टि२० क्रिकेट प्रतियोगितामा व्यक्तिगत अवार्ड प्रदान गर्दा धेरै आश्चर्यमा परे । टियु मैदानमा सम्पन्न प्रतियोगितामा निष्पक्ष अवार्ड प्रदान गरेको भए उत्कृष्ट बलर, ब्याटर र सर्वोत्कृष्ट खेलाडी तीनै अवार्डको दावेदार एपिएफकी कप्तान सीता रानामगर थिइन् । सबै अवार्डमा उनी एक्ली दाबेदार थिइन् । उनको प्रदर्शनलाई भेटाउन सक्ने अन्य कुनै खेलाडी थिएनन् ।

प्रतियोगितामा पाँच मध्य चार खेलमा प्लेयर अफ द म्याच चुनिएकी सीता लिग चरण र फाइनल दुवैमा सर्वाधिक रन जोड्ने र विकेट लिने खेलाडी थिइन् । पहिलो पुस्ताकी खेलाडी सीताको प्रदर्शन निकै लोभलाग्दो र उदाहरणीय थियो । सामान्य समर्थकले पनि कम्तिमा प्लेयर अफ द सिरिज र ब्याटर सीताले प्राप्त गर्ने अनुमान लगाउन सक्थे । तर नेपाल क्रिकेट संघ (क्यान) र म्याच रेफ्रीले सीतालाई प्लेयर अफ द सिरिजको मात्रै अवार्ड दिए । उपविजेता बनेको कोशीकी रुविना क्षेत्रीले उत्कृष्ट ब्याटर र निशा शाहले उत्कृष्ट बलरको अवार्ड प्राप्त गरे । उक्त निर्णयले धेरैले आश्चर्य माने ।

प्रतियोगितामा ब्याटिङ प्रदर्शनको तुलना गर्ने हो भने रुविनाभन्दा सीता हरेक कुराले अघि छिन् । त्यो रन होस् वा स्ट्राइक रेट । चौका होस् वा छक्का । तर आश्चर्य पार्दै म्याच रेफ्रीले रुविनालाई उत्कृष्ट ब्याटरको अवार्ड दिए । सीताले ५ मध्य ३ खेलमा अविजित रहँदै कुल १ सय ९९ बल खेल्दै २ सय १४ रनका साथ सर्वाधिक रन जोडिन् । सीताले १०७.५३ को स्ट्राइक रेटमा २ अर्धशतकसहित ३१ चौका र २ छक्का प्रहार गरेकी थिइन् ।

यता रुविनाले ५ खेलमा सबैमा आउट हुँदै १ सय ७२ बलमा १ सय ३९ रन बनाइन् । उनको स्ट्राइकरेट ८०.८१ को हुँदा कुल १९ चौका मात्रै प्रहार गरेकी थिइन् । उनले कुनैपनि खेलमा ४० रन कटाउन सकिनन् । लिगमा रुविना भन्दा सीता ३१ रनले अघि थिइन् ।

सीता सर्वाधिक विकेट लिने बलरको सूचिमा शीर्षस्थानमा थिइन् । उनले ५ खेलमा १७ ओभर बलिङ गर्दै ६२ रन खर्चेर ८ विकेट लिएकी थिइन् । इकोनमी ३.६४ हुँदा उत्कृष्ट प्रदर्शन ३–७ रन थियो । उत्कृष्ट बलर चुनिएकी युवा तीव्र गतिकी बलर निशाले ५ खेलमा १६ ओभर बलिङ गर्दै ७० रन खर्चेर ६ विकेट लिइन् । इकोनमी ४.३७ हुँदा उत्कृष्ट प्रदर्शन ३-११ थियो । सीताले लिग चरणका हरेक खेलमा विकेट लिँदा निशा दुई खेलमा विकेटविहिन रहेकी थिइन् । सीताले अधिकांश विकेट शीर्षक्रमको लिँदा निशाले मध्यक्रम र तल्लोक्रमका ब्याटरलाई आउट गरेकी थिइन् । नियम अनुसार सीता अवार्डको एक्लो दाबेदार थिइन् ।

युवा खेलाडीलाई निशालाई उक्त अवार्ड प्रदान गरेपनि ब्याटरमा भने अन्य कुनैपनि खेलाडी दाबेदार थिएनन् । अझ क्यानले निशालाई उदीयमान दिएर अन्य सबै सीतालाई दिनुपर्दथ्यो । सधैं आर्थिक अभाव देखाउने क्यानले यसपटक उदीयमान अवार्डनै राखेको थिएन ।

अन्य सबै खेलाडी रन बनाउन संघर्ष गर्दा सीता भने सुरुको खेलदेखि खुलेर ब्याटिङ गरेकी थिइन् । पहिलो खेलमा मधेशलाई १० विकेटले हराउँदा सीताले ब्याटिङमा ३६ बलमा ९ चौकासहित नटआउट ४५ रन जोडिन् । बलिङतर्फ ४ ओेभरमा १ मेडनसहित ७ रन खर्चेर ३ विकेट लिएकी थिइन् ।

दोस्रो खेलमा उपाधि दाबेदार सुदूरपश्चिमलाई १५ रनले पराजित गर्दा उनले ५९ बलमा ७ चौकासहित ५२ रन बनाइन् । त्यस्तै ४ ओभरमा २४ रन खर्चेर १ विकेट पनि लिएकी थिइन् । तेस्रो खेलमा कोशीलाई हराउन सीताले ४ ओभरमा ११ रन खर्चेर ३ विकेट लिँदा २० बलमा ३ चौकासहित १९ रन बनाएकी थिइन् । कोशीको सुरुवाती तीन विकेट नै सीताले लिएकी थिइन् ।

ललितपुर ११ लाई हराउन उनले १६ बलमा ३ चौकासहित १९ रन बनाउँदा ३ ओभरमा ११ रन खर्चेर १ विकेट लिएकी थिइन् । फाइनलमा उपाधि जिताउन उनले ६८ बलमा ९ चौका र २ छक्कासहित सर्वाधिक ७९ रनमा अविजित रहिन् । घरेलु महिला टि२० क्रिकेटमा यो कुनैपनि ब्याटरले बनाएको सर्वाधिक उच्च रन समेत थियो । यसअघि पहिलो ललितपुर मेयर्स कपमा ललितपुर ११ की सुमन खतिवडाले लुम्बिनीविरुद्ध बनाएको ७७ रनको कीर्तिमान तोडेकी थिइन् ।

उत्कृष्ट ब्याटर चुनिएकी रुविनाले ललितपुरविरुद्ध १८ बलमा २ चौकासहित १३ रन बनाउँदा ४ ओभरमा १५ रन खर्चेर विकेट लिन सकेकी थिइनन् । एपीएफविरुद्ध ३४ बलमा ५ चौकासहित २४ रन बनाउँदा ४ ओभरमा ९ रन खर्चेर १ विकेट लिएकी थिइन् ।

सुदूपश्चिमविरुद्ध ४ ओभरमा १ मेडनसहित ११ रन खर्चेर ३ विकेट लिँदा ४१ बल खेलेर २ चौकासहित २८ रन जोडेकी थिइन् । रुविनाले मधेशसँग ३८ बलमा ६ चौकासहित ३९ रन बनाउँदा ४ खेलमा २ मेडनसहित ३ रन खर्चेर २ विकेट लिएकी थिइन् । रुविनाले एक सय भन्दा माथि स्ट्राइक रेटमा रन बनाएको यो मात्रै एक खेल थियो ।

फाइनलमा ४ ओभरमा ४० रन खर्चिदा ४१ बलमा ४ चौकासहित ३५ रन बनाएकी थिइन् । उत्कृष्ट बलर चुनिएकी निशाले तीन खेलमा विकेट लिएकी थिइन् । उनले ललितपुरविरुद्ध ४ ओभरमा ११ रन खर्चेर ३ विकेट लिएकी थिइन् । एपिएफविरुद्ध ४ ओभरमा २२ रन खर्चेर १ विकेट लिइन् । निशाले मधेशविरुद्ध ४ ओभरमा २ मेडनसहित २ रन खर्चेर २ विकेट लिएकी थिइन् ।

सम्रग प्रतियोगिताकै हरेक प्रदर्शनमा सीता अघि थिइन् । प्रतियोगिता म्याच रेफ्री विनयकुमार झाले एकै खेलाडीलाई सबै अवार्ड दिन भन्दा सबैलाई मिलाएर दिएको बताए । ‘सीतालाई नै सबै दिएको भए हुन्थ्यो । उत्कृष्ट बलर, ब्याटर र सिरिजमा कुनै फरक पर्ने थिएन । प्लेयर अफ द सिरिज सबैभन्दा ठूलो अवार्ड हो । उत्कृष्ट बलर हामीले नयाँलाई दिने हिसाबले दियौं । एकै जनालाई सबै अवार्ड दिन भन्दा नजिक भएका सबैलाई दिउ भनेर दिएका हौं’, म्याच रेफ्री तथा अन्तर्राष्ट्रिय अम्पायर झाले हाम्रो खेलकुदसँग भने ।

मिलाएर बाड्न अवार्ड कुनै प्रसाद वा सामान होईन । जसले प्रदर्शन गरेको छ उसैलाई दिनुपर्छ । कुनै समय १९/२० को आँकडामा विकल्प हेर्नु ठिकै हो । तर प्रदर्शनमा निकै फरक हुँदा पनि अवार्ड बाँडिएको थियो ।

झाले अवार्डमा लिगसम्म प्रदर्शन हेरेको बताए । तर लिगमा पनि सीता धेरै अघि थिइन् । सीताले लिगमा एक अर्धशतकसहित कुल १ सय ३५ रन बनाउँदै शीर्ष स्थानमा थिइन् । रुविना ४ खेलमा नै १ सय ४ रन बनाएकी थिइन् ।

म्याच रेफ्री झाले फेरि दोहोर्याउँदै भने, ‘तीन वटा विधामै सीतालाई दिएको भए केहि हुँदैन थियो । तर विभिन्न विधा राखेपछि धेरैले मौका पाओस् भन्ने हुन्छ ।’

अन्तिममा झाले आफूहरुले सोचेको नमिलेको हुन सक्ने बताए । ‘हामीले सोचेको मिलेन होला । यो एक जनाको निर्णय मात्रै हुँदैन । हामीले टिममा छलफल गरेका थियौं । ठिक छ यदि गलत भएको छ भने त्यसको म स्वीकार गर्दछु’, उनले भने । झाले अवार्डमा क्यानका कुनैपनि पदाधिकारीको हस्तक्षेप नभएको दाबी गरे ।

‘होला गलत भएको हुन सक्छ । तर हाम्रो सोच कोटा वा त्यस्तो केहि होईन । म मान्छु वास्तवमा तीन ओटै अवार्ड उसैलाई दिएको भए केहि हुने थिएन । मैले फेरि भने मान्छेको आफ्नो सोच हो । निशा शाहलाई अवार्ड दिँदा हरेक क्रिकेटरलाई खुसी लाग्नुपर्ने हो,’ ‘मलाई कसैको दबाब थिएन । अलिकति छलफल मात्रै हो । क्यान यसमा संलग्न छैन । संघका कुनै पदाधिकारीसँग यो विषयमा मेरो कुनै कुरा भएको छैन ।’

सर्वोत्कृष्ट खेलाडीले ३० हजार र अन्य दुई विधाका उत्कृष्ट खेलाडीले समान १५-१५ हजार रुपैयाँ प्राप्त गरेका थिए । यो पैसाको कुरा होईन । सम्मान, नैतिकता र न्यायको विषय हो । यसले नेपालको अवार्ड शैलीमै प्रश्न उठ्छ । नेपालमा अवार्डको समयमा समय समयमा प्रश्न नउठेको होईन । तर यो विषय अन्य भन्दा धेरैनै लज्जास्पद छ ।

त्यसो त खेल सकिएपछि पनि विजेता र उपविजेता टोलीलाई आफूले पाउने पुरस्कार रकम थाहा थिएन । समापन समारोह सकिँदा सम्म विजेता रकम सार्वजनिक गरिएको थिएन । अन्तिममा विजेता टोलीले २ लाख र उपविजेताले १ लाख रुपैयाँ पाउने जनाइएको थियो । यसैबाट क्यानको महिला क्रिकेटलाई तयारी कस्तो थियो स्पष्ट हुन्छ ।

यस प्रतियोगितामा क्यानले कुनैपनि पत्रकार सम्मेलन गरेर प्रतियोगिताबारे जानकारी दिएन । महिला क्रिकेटमा क्यान कति गम्भीर छ भन्नलाई यो उदाहरण पर्याप्त छ ।

अवार्ड भनेको जसले राम्रो गर्छ उसैले पाउने हो । त्यसैपनि नेपालमा अवार्ड प्रदान गर्ने शैली परम्परागत ढर्रामै अड्किएको छ । खेलमा जमाएको प्रभाव भन्दा पनि तथ्यांकमा धेरै हेर्ने गरिन्छ । विश्व क्रिकेटबाट नेपालले सुधार गर्न आवश्यक छ ।

ललितपुर मेयर्स कपमा जुन किसिमले अवार्ड प्रदान भएको छ त्यसमा क्यानको प्राविधिक समितिले गम्भीर ध्यानाकर्षण गर्न आवश्यक छ । आगमी दिनमा यस्ता गल्ती फेरि दोहोरिन हुँदैन । यदि प्रदर्शन गर्छ भने सबै अवार्ड योग्य खेलाडीले नै पाउनुपर्छ । सहभागी टोलीमा सन्तुलन होस् भन्ने हेतुले अवार्ड बाँड्नुले राम्रो सन्देश जाँदैन ।

April 25, 2024

आइपिएलमा बैंगलुरुको दोस्रो जित

एजेन्सी – रोयल च्यालेन्जर्स बैंगलुरुले इन्डियन प्रिमियर लिग (आइपिएल) मा दोस्रो जित हासिल गरेको छ । बैंगलुरुले बिहीबार सनराइजर्स हैदरावादलाई ३५ रनले हराएको छ । २ सय ७ रनको लक्ष्य पछ्याएको हैदरावादले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ७१ रन मात्र बनाउन सक्यो ।टोलीका लागि सहवाज अमेदले सर्वाधिक नटआउट ४० रन बनाए । […]

April 25, 2024

कर्णालीको जितमा कोशीको छैटौं पराजय

काठमाडौं (हाम्रो खेलकुद) – पुछारमा रहेको कोशी प्रदेशलाई ५ विकेटले सहजै हराउँदै कर्णाली‌ प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपको फाइनलमा पुग्ने संभावनालाई कायमै राखेको छ। लगातारको छैटौं हारमा कोशी अंक विहिन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। ९४ रनको सहज विजय लक्ष्य कर्णाली प्रदेशले मात्र ६. ३ बलमा ५ विकेट गुमाउँदै पुरा गर्यो। ओपनर विपिन रावल […]

April 25, 2024

सुपर ओभरमा मधेशको जित , सुदूरपश्चिम बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – सुपर ओभरमा सुदूरपश्चिमलाई हराउँदै मधेश प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसीपमा चौथो जित हात पारेको छ। सुपर ओभरमा सुदूरपश्चिमले मात्र ७ रन बनायो। मधेशले पाँचौ बलमा जित हात पारेको हो। यो हारमा सुदूरपश्चिम एक खेल अगाडि नै लिग चरणबाट बाहिरिएको छ। माथिल्लो मुलपानी मैदानमा पहिले ब्याटिङ गरेको मधेश प्रदेशले ७ […]

Success

Thank you for your time.