default_image

3 years ago

April 26, 2023

बहराइनलाई हराउँदै युएई सेमिफाइनलमा

471 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – युएईले एसिसी प्रिमियर कपमा बहराइनलाई ८ विकेटले हराउँदै सेमिफाइनलमा स्थान बनाएको छ । समूह बी बाट युएईले ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अंकका साथ शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो ।

जितको लागि १ सय १७ रनको विजयी लक्ष्य पछ्याएको युएईले २७.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । युएईको जितमा युवा खेलाडी वृत्य अरविन्द ८४ बलमा ५ चौका र १ छक्कासहित ६२ रनमा अविजित रहे ।

रोहन मुस्तफा ५६ बलमा ५ चौका र १ छक्कासहित ५० रनमा आउट भए । तेस्रो विकेटका लागि मुस्तफा र अरविन्दले ९९ रनको अविजित साझेदारी गर्दै जित पक्का गराए । कप्तान मोहम्मद वासिम १ र आर्यन लाक्रा ५ रनमा आउट भए । बहराइनका स्पिनर अब्दुल मजिदले १० ओभरमा २९ रन खर्चेर २ विकेट लिए ।

त्यसअघि मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको बहराइन ४०.५ ओभरमा १ सय १६ रनमा अल आउट भएको थियो । एक समय ८०-९ को अवस्थामा पुगेको बहराइनलाई अन्तिम विकेटका लागि अली दाउद र वासिक अहमदले ३६ रनको साझेदारी गर्दै एक सय रनको योगफल कटाएका थिए ।

अली दाउद ४७ बलमा १ चौका र १ छक्कासहित २३ रनमा नटआउट रहेका थिए । वासिक अहमद ४२ बलमा १ चौकासहित १२ रनमा आउट भए । बहराइनका कप्तान हैदर अली बटले ४९ बलमा ४ चौकासहित २३ रन बनाए । अन्यको प्रदर्शन राम्रो हुन सकेन।

स्पिनर आयन खानको चौथो ओभरको अन्तिम बलमा शहबाज पाँच रनमा एलबीडब्लू आउट भए । रोहन मुस्तफाले पाँचौं ओभरको पाँचौं बलमा जुनैद अजिज शून्यमा एलबीडब्लू आउट भए । लगत्तै अर्को बलमा सोहिल अहमद कट एण्ड बोल्ड आउट भएका थिए ।

अर्को ओभरको पाँचौं बलमा आयन खानले मोहम्मद युनिसलाई १६ रनमा कट एण्ड बोल्ड आउट गरेका थिए । एक समय २७-५ को दयनीय अवस्थामा पुगेको बहराइनलाई छैटौं विकेटका लागि हैदर र अब्दुल मजिदले ३० रनको साझेदारी गरेका थिए । तल्लोक्रममा अब्दुल मजिद ११ र इमरान अनवारले १४ रन बनाए ।

युएईका स्पिनर आयन खान अफ्जलले १० ओभरमा ७ मेडनसहित ६ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । आयनले ६० मध्य ५५ बल डट राखेका थिए । रोहन मुस्तफाले १० ओभरमा ४ मेडनसहित १६ रन खर्चेर २ विकेट लिए । कार्तिक मयाप्पनले १० ओभरमा २ मेडनसहित ४८ रन खर्चेर २ विकेट लिए । जहुर खानले एक विकेट लिए ।

युएई समूह विजेता बन्ने वा उपविजेता बिहीबार कुवेत र हङकङसँगको नतिजापछि निर्धारण हुनेछ । उक्त खेलको विजेता टोली सेमिफाइनलमा स्थान बनाउनेछ । पराजित हुने टोली बाहिरिनेछ । हङकङ ३ खेलमा २ मा जित र १ खेलमा अंक बाँड्दै ५ अंकका साथ दोस्रो स्थानमा छ ।

कुवेत ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ तेस्रो स्थानमा छ । वर्षाको कारण खेल पुरा हुन नसके वा रद्ध भएमा भने हङकङ सेमिफाइनलमा पुग्नेछ ।

समूह ए बाट नेपाल ३ खेलमा ५ अंकका साथ शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुगेको छ । नेपालले अन्तिम खेल बिहीबार कतारसँग खेल्नेछ । आज साउदी अरेविया र ओमानबीचको विजेता टोलीले सेमिफाइनलमा स्थान बनाउनेछ ।

प्रतियोगिता पहिलो सेमिफाइनल खेलमा समूह ए को विजेताले समूह बी को उपविजेतासँग खेल्नेछ । दोस्रो सेमिफाइनल खेलमा समूह बी को विजेताले समूह ए को उपविजेतासँग खेल्नेछ । सेमिफाइनल शनिबार हुनेछ । फाइनल सोमबार हुनेछ । प्रतियोगिता विजेता टोलीले एसिया कपमा भारत र पाकिस्तासँग खेल्न पाउनेछ ।

शीर्ष तीन टोलीले एसिसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछन् । इमर्जिङ टिप्समा एसियाका टेस्ट टोलीका यू(२३ टोलीको सहभागिता रहनेछ । एसिया कप सेप्टेम्बरमा पाकिस्तान र इमर्जिङ टिम्स एसिया कप जुलाईमा हुनेछ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.