default_image

1 year ago

May 6, 2023

अदभुत नेपाली क्रिकेट दर्शक

188 views

0 Bookmark

नेपाली क्रिकेटमा समर्थक पर्याय बनेका छन् । जितमा होस् वा हारमा, दर्शकले सधैं टोलीलाई साथ र माया दिन्छन् । जितमा ताली र हारमा गाली स्वभाविक हो, तर नेपाली क्रिकेटले सदैव समर्थकको साथ पाएको छ । घरेलु मैदान मात्रै होइन, विदेशमा जाँदा पनि नेपाली समर्थकको उपस्थिति बाक्लै हुने गर्दछ ।

नेपाली क्रिकेट आज जुन अवस्थामा छ त्यसमा दर्शकको उपस्थितिले पनि केहि भूमिका खेलेको छ । एसोसिएट राष्ट्रमध्ये सर्वाधिक क्रेज भएको नेपालमा खेल्न हरेक विदेशी खेलाडी लालयित हुन्छन् । सिनियर टोलीको खेल हुँदा टियुमा दर्शकको बाक्लो उपस्थिति हुन्छ । पछिल्लो तीन महिनामा क्रिकेट क्रेज एक दशकयताकै उच्च विन्दुमा पुगेको देखिन्छ ।

सोमबार एसिसी प्रिमियर कपको फाइनलमा युएईविरुद्ध नेपाली दर्शकले जुन माया र धैर्यता देखाए साँच्चै अदभुत र भावुक थियो । सच्चा र निस्वार्थ मायाको एक उदाहरण थियो । सोमबार खेल सुरु भएको केहि समयपछि वर्षा सुरु भयो । पहिला सामान्य वर्षा भएपनि पछि अन्तिम समय सम्म वर्षा भारी रह्यो ।

टियु पुगेका हजारौं दर्शक त्यो पानीबाट अलिकति पनि बिचलित भएनन् । बरु छाता ओडेर नै खेल फेरि सुरु हुने प्रतिक्षा गरे । दिउँसो १२ बजेबाट खेल रोकिएको थियो । तर दर्शकले खेल स्थगित नहुन सम्म दिउँसो चार बजेसम्म पर्खिरहे । कसैले छाता लगेका थिए । कसैले लगेका थिएनन् । कोही मिलेर ओत लागे । कोही रुझ्दै फेरि खेल सुरु हुने आशामा बसे । पानी जति सुकै ठूलो परोस् उनीहरु आत्तिएका थिएनन् । खेल सुरु हुन्छ की भन्ने आशामा थिए ।

टियु त्यसैपनि सुविधा सम्पन्न मैदान होईन । खाली चौरमा बस्नुपर्छ । पानी परेपछि बस्ने ठाउँ हिलो हुन्छ । तर पनि बच्चादेखि वयश्कसम्म छाता ओडेर उभिइ रहे । त्यो दृश्य निकै भावुक र मार्मिक थियो । नेपालले सफलता हात पारेको बेला सस्तो लोकप्रियताको लागि पुरस्कार घोषणा गर्ने सरकारलाई दर्शकले धिक्कार गरेका थिए ।

टियुमा खेल हुँदा दर्शकहरु शंख, मादल, झ्याली, नेपालको झण्डा, प्लेकार्ड, अनुहारमा नेपालको झण्डा लगायत बोकेर जान्छन् । टियु मैदानको क्षमता झण्डै १५ हजार छ । मैदान भित्र र बाहिर दुबै संख्या बराबर जस्तो देखिन्छ । त्यतिनै दर्शक सोमबार र मंगलबार थिए । झमझम पानी । टियु गेट देखिनै सुरु हुने हिलो । बस्ने ठाउँ पनि त्यतिनै हिलो । बिहानै ६ बजेबाट भोकै टियु पुगेका दर्शक । तर पनि नेपाली दर्शक अटल रहे ।

दर्शकले घाम, पानी, धुलो धुवाँ केहि भनेका थिएनन् । मात्रै उनीहरु नेपालको खेल हेर्न चाहन्थे । नेपालले जितोस् र एसिया कपमा भारत र पाकिस्तानसँग खेलोस् भन्ने चाहना थियो । चौका र छक्का हान्दा र विकेट लिँदा मात्र होइन, एक रन बटुल्दा वा डट बल राख्दा पनि समर्थन हुन्थ्यो । विपक्षी खेलाडीले आफ्ना खेलाडीलाई केहि भन्दा र दर्शकको त्यो उत्साह र दबाब उस्तै थियो । पुरा खेलमा एक सेकेन्ड पनि दर्शकको साथमा कमी आएको थिएन । त्यो मायाले खेलाडीलाई राम्रो प्रदर्शन गर्न झनै प्रेरणा दिएको थियो ।

दुधे बच्चाहरु बोकेर जाने आमाहरुलाई पनि दर्शकदीर्घामा देख्दा झनै गर्व महसुस हुन्थ्यो । कोहि नाचेर रमाइलो गरे । कसैले शंखु फुकेर होस् वा कसैले धुप बालेर । सबै नेपालले जितोस् र राम्रो गरोस् भन्ने थियो । क्रिकेट नबुझ्नेहरु साथीहरुको लहलहीमा लागेर जाने पनि त्यतिनै रमाएका थिए । साँच्चै नेपाली क्रिकेट समर्थकको माया अदभुत थियो । जसलाई बयान गर्ने शब्द छैन ।

खेलपछि नेपालका स्पिनर सन्दीप लामिछानेले दर्शकलाई भगवानको रुप नै दिए । ‘म चाहिँ भगवानले आफ्नो अवतारमा वहाँहरुलाई पठाएको मान्छु । सबैको बीचमा एकदमै दुःखको क्षण हुन्छ । क्रिकेटमा पनि त्यसरी नै चलेको थियो । वहाँहरुले कहिल्यै पनि साथ छाड्नु हुँदैन । कुनैपनि घरेलु दर्शकले ठूलो प्रभाव पार्दछ । हिजो (सोमबार) ४-५ बजे सम्म पुरै मैदान भरिभराउ थियो । अहिले पनि खेल सकिएपछि पनि धेरै मात्रामा दर्शकहरु वहाँ हुनुन्छ’, सन्दीपले खेलपछि भने ।

नेपालसँग राम्रो रंगाशाला छैन । टियु मैदानको बाहिर रुखमा बसेर हेर्ने दर्शकहरु पनि त्यतिनै हुन्छन् । आफूलाई जोखिमै राखेर रुखमा चढेर हेरेका हुन्छन् । कसैले रहरमा चढ्ने त कसैले बाध्यता । सम्भावित दुर्घटना टार्न भएपनि रुख चढ्न नदिनुपर्ने हो । तर आधारभूत आवश्यकता नभएको ठाउँमा त्यो अपेक्षा गर्नु सही पनि होइन ।

तीन महिनाअघि नेपाली क्रिकेटमा दर्शकको उपस्थिति घट्दो थियो । नेपाल टि२० लिगमा त एक सय पुग्नै मुस्किल थियो । तर नेपालले आइसिसी विश्वकप लिग-२ मा घरेलु मैदानमा आठ खेल नै जित्यो । एसोसिएट दुई उत्कृष्ट टोली स्कटल्यान्ड र नामिबियाविरुद्धको प्रदर्शनपछि टियुमा पुन दर्शक फर्किएका थिए । त्यो समय अघि नेपाली ती दर्शक कहाँ हराए भन्ने सवाल उठ्न थालेको थियो ।

अघिल्लो महिना आइसिसी विश्वकप लिग-२ को अन्तिम खेलमा युएईविरुद्ध नै खेल सुरु हुनुअघि नै टियु मैदान पुरै भरिइसकेको थियो । हजारौं टिकट काटेका दर्शक बाहिर बसेर नै हेर्नु परेको थियो । देशभरबाट दर्शक खेल हेर्न आएका थिए । भर्खर नेपाल आएका मुख्य प्रशिक्षक मोन्टि देशाई पनि नेपाली दर्शक देखेर अचम्ममा परे ।

‘मैले एसोसिएट क्रिकेटमा यतिधेरै दर्शक कहिल्यै देखेको थिएन । म दर्शकलाई केहि सन्देश भन्न चाहन्छु । सबै दर्शकलाई धन्यवाद । साँच्चै धेरै मात्रमा आउनु भयो । यो टिम विकासको क्रममा छ । केहि सिक्ने क्रममा छ । कुनै दिन नतिजा सोचे अनुसार नआउन सक्छ । तर साथ र सहयोग भन्दै सधैं गर्दै जानुहोला’, उनले भावुक हुँदै त्यो समयमा भनेका थिए ।

कप्तान रोहितले पनि दर्शकलाई एकदमै सम्मान गर्ने बताए । ‘मलाई एकदमै सम्मान लाग्छ । किनभने पानीमा आएर जबसम्म खेल सकिदैन तबसम्म बस्नु । त्यो एकदमै गाह्रो काम हो । हामीलाई माया गरि राख्नु भएको छ । सबैलाई धन्यावाद भन्छु’, रोहितले भने ।

मंगलबार खेल सकिएपछि लगभग सबै दर्शक फर्किइसकेका थिए । नेपाली टोली ड्रेसिङरुम भित्र खुसी मनाइरहेको थियो । तर टियुमा केहि दर्शक पानीमा झिज्दै खेलाडी भेट्ने आशामा थिए । खेल सकिएको २ घण्टासम्म उनीहरु बसेपछि खेलाडी फर्किने बेला भेट्न आए । उनीहरुको त्यो माया देखेर प्रशिक्षक मोन्टि रुझ्दै दर्शक भेट्न पुगे । तर दर्शक आफूले ओडेको छाता नै काँडेतारको जाली माथिबाट फाल्दै प्रशिक्षक मोन्टिलाई ओड्न दिएका थिए । दर्शकको त्यो सम्मान अझ विशेष थियो ।

टियुमा नेपालको खेल हुँदा भीड बढि लाग्छ । केहि दर्शकले घरेलु क्रिकेटमा पनि त्यतिनै साथ दिँदै आएका छन् । पछिल्लो समय महिला दर्शकहरुको उपस्थिती पनि त्यतिनै बढ्दो छ । नेपालको खेल हुँदा होस् वा घरेलु क्रिकेट । वा महिला क्रिकेट हुँदा होस् वा उमेर समूह । लगभग सबै खेलमा टियुमा देखिने एउटा दर्शक हुन् सिर्जना सेन । सोमबार छाता ओडेर खेल हेर्ने प्रतिक्षामा उनीपनि थिइन् । उनी पछिल्लो समय नेपालले हार्दै नहार्ने जस्तो अनुभूती हुने बताउँछिन् ।

ललितपुर मयर्स कपमा सुदूरपश्चिम विरुद्ध मधेश प्रदेशको खेल हेर्दै दायाँतर्फ सिर्जना सेन ।

‘विश्वकप लिग- २मा राम्रो गरेपछि अहिले धेरै परिवर्तन भएको छ । पहिला नेपालले कस्ता कस्ता खेल हार्दथ्यो । त्यति बेला पनि बिचरा भन्ने सोच आउथ्यो । त्यो बेला वातावरण नै छैन कसरी जितोस् भन्ने थियो । अहिले त यो टिमले हार्दै हादैन होला जस्तो लाग्छ । अहिले त जस्तो अवस्थामा पनि हार्दैन भन्ने विश्वास हुन्छ’, सिर्जनाले भनिन् ।

त्यसैमा उनले थपिन्, ‘राम्रो गर्दै गएको छ । पहिला एक एक रन लिन गाह्रो हुन्थ्यो । अहिले त स्तरनै सुधार भएकोछ । विदा नभएको दिन अफिसमा विभिन्न बाहना बनाएर जान्छु । टियु जान पाएन भने छटपटी नै हुन्छ । टिभीमा हेरे पनि त्यहाँको जस्तो माहोल र मज्जा भने हुँदैन । अहिले त महिला समर्थक पनि धेरै बढेका छन् ।’

सेमिफाइनलमा नेपाल र कुवेतबीचको खेल पुरै हुन सकेन । नेपाल समूह विजेताको रुपमा फाइनलमा पुगेको थियो । २ सय ८१ रनको विजयी लक्ष्य पछ्याएको कुवेत ८.३ ओभरमा ३७-६ को दयनीय अवस्थामा थियो । कुवेतका कप्तान मोहम्मद अस्लामले नेपाली दर्शक जस्तो भीडमा खेल्ने अनुभव नभएको बताएका थिए ।

‘नेपाल जस्तो धेरै दर्शक भएको भीडमा हाम्रो खेलाडीलाई खेल्ने अनुभव थिएन । त्यसैको कारण खेलाडी दबाबमा परे । हरेक कुरा अनुभवमा निर्भर पर्छ । हामीसँग त्यसको कमी थियो । अर्को पटक आउँदा राम्रो भएर आउने छौं’, अस्लामले भने ।

साउदी अरेवियाले यस प्रतियोगितामा सानदार प्रदर्शन गर्यो । साउदीका ब्याटिङ प्रशिक्षक इरफान शर्फराजले नेपाली दर्शक परिपक्व भएको बताए । ‘हाम्रो खेलाडीमा नेपाली समर्थक सामु जस्तो भीड खेल्ने अनुभव छैन । नेपालका समर्थक धेरै छन् । यो होईन की उनीहरु एकतर्फ टोलीको समर्थन गर्दछन् । नेपालका समर्थक धेरै परिपक्व छन् । उनीहरु दोस्रो टोलीको पनि समर्थन गर्दछन् । नेपाली समर्थकको हाम्रो खेलाडी सामना गरेपछि आगमी दिनमा धेरै प्रतियोगितामा यस्ता दबाब सम्हाल्ने बानी पर्नेछ’, इरफानले भने ।

दर्शकको माया त अपार छ । तर टियुमा दर्शकलाई सेवा सुविधा भने केहि छैन । सार्वजनिक सौचालय नभएको सधैं दर्शकको गुनासो हुने गर्दछ । सार्वजनिक शौचालय नहुँदा महिला दर्शक सबैभन्दा बढी मारमा पर्दै आएका छन् । भएको एउटा शौचालय पनि फोहोरले भित्र पस्न सक्ने अवस्थाको हुँदैन । दर्शकको यहिँ मायालाई कायम राख्न सरकार र क्यान दुबैलाई चुनौती छ । यो माया र लयलाई निरन्तरता दिन आफूहरुलाई पनि चुनौती रहेको क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठक बताउँछन् ।

‘वास्तवमा नेपाली क्रिकेट लयमा फर्किएको छ । २०१४ मा नेपाली क्रिकेट जुन उचाईमा थियो त्यतिनै अहिले अवस्थामा छ । सबै जनालाई चासो पनि भएको छ । यसलाई चुनौती दिन संघलाई पनि चुनौती हो । यो लयलाई कसरी जोगाउने भन्ने ठूलो चुनौती छ । हामीले पनि तयारी सुरु गरि सकेका छौं । प्रशिक्षकसँग बसेर एउटा योजना बनाउदै छौं । अवको १० वर्षपछि हाम्रो लक्ष्य टेस्ट हुनेछ’, पाठकले भने ।

शौचालयको समस्या पनि चाँडै समाधान गर्ने पाठकले बताए । ‘हामी यो समस्यालाई पनि समाधान गछौं । यति धेरै दर्शकले घाम पानी नभनी दर्शक आउनु भएको छ भने त्यसलाई जोगाउने राज्यको पनि कर्तव्य हो । पानी पर्यो भने र हावा हुरी चल्यो भने अहिले सम्म अप्रिय घटना भएको छैन । सरकारले पनि लगानी गर्दियो भने दर्शकलाई न्याय हुन्थ्यो होला’, उनले भने ।

नेपालको खेल हुँदा दर्शक बिहान ६ बजेबाट नै टियु पुग्न थाल्छन् । बेलुका ५-६ बजेसम्म केहि नखाई खेल हेर्ने दर्शक पनि हुन्छन् । कोहि टिकट काट्ने पैसा मात्रै लगेर गएका हुन्छन् ।

युएईमा दुबई, शारजाह, अबुधाबी जस्ता विश्व चर्चित क्रिकेट स्टेडियम छन् । तर त्यहाँ खेल हेर्ने दर्शक हुँदैन । घरेलु टोली युएईकै खेल हुँदा पनि उपस्थिति शून्य हुन्छ । नेपालमा जब टोलीले राम्रो गर्छ तब यस्तो उस्तो गर्न बहस चल्छ । नेपाली दर्शकले जुन माया, साथ, हौसला र प्रेरणा दिएका छन् सबैले त्यसको सम्मान गर्दै उनीहरुलाई न्याय गर्नतर्फ लाग्नुपर्छ । सस्तो लोकप्रियता भन्दा पनि दीर्घकालिन योजना र विकासका साथ अघि बढ्नुपर्छ ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.