default_image

3 years ago

May 7, 2023

केन्याको जस्तो नहोस् नेपाली क्रिकेटको सफलता

509 views

0 Bookmark

भूपेन्द्र जिसी, काठमाडौं

एक समय विश्व क्रिकेटमा केन्या विश्वकप फाइनल खेल्न सक्ने एसोसिएट टोलीको रुपमा उदाएको थियो । एसोसिएट मात्र होईन टेस्टका ठूला टोलीलाई स्तब्ध पार्दै केन्याले जायन्ट किलरको पहिचान बनायो । सन् १९९६ देखि २०११ सम्म लगातार पाँच संस्करण एकदिवसीय विश्वकप खेल्दै केन्याले बलियो उपस्थिति जनाएको थियो ।

तस्वीर सौजन्य : आइसीसी

केन्या बाहेक अन्य कुनैपनि एसोसिएट टोलीले पाँच पटक विश्वकप खेलेका छैनन् । केन्यापछि एसोसिएटमा सर्वाधिक धेरै क्यानडा र नेदरल्यान्ड्सले समान चार पटक एकदिवसीय विश्वकप खेलेका छन् । यी दुवै टोलीले लगातार ३-३ पटक मात्रै विश्वकप खेलेका छन् ।

सन् २००० देखि २००४ सम्म केन्याले च्याम्पियन्स ट्रफीमा प्रतिस्पर्धा गर्यो । सन् २००७ को टि२० विश्वकप पनि खेल्यो । सन् २००३ मा दक्षिण अफ्रिका, केन्या र जिम्बावेले संयुक्त रुपमा विश्वकप आयोजना गरे । त्यो विश्वकपमा केन्याले सनसनी मच्चाउँदै सेमिफाइनल खेलेको थियो ।

समूह बी मा रहेको केन्याले विश्व क्रिकेटलाई तरङ्गित पार्ने प्रदर्शन गर्यो । उक्त विश्वकपको समूह बी मा श्रीलंका, केन्या, न्युजिल्यान्ड, दक्षिण अफ्रिका, वेस्टइन्डिज, क्यनाडा र बंगलादेश थिए । श्रीलंका शीर्ष र केन्या दोस्रो स्थानमा रहँदै सुपर सिक्समा स्थान बनाएका थिए ।

तस्वीर सौजन्य : आइसीसी

उक्त विश्वकपमा केन्या पहिलो खेलमा दक्षिण अफ्रिकासँग १० विकेटले पराजित भएको थियो । दोस्रो खेलमा क्यानडालाई ४ विकेटले हरायो । तेस्रो खेलमा न्युजिल्यान्डले केन्यालाई वाकओभर दिएको थियो । चौथो खेलमा सन् १९९६ को विश्वकप विजेता श्रीलंकालाई केन्याले ५३ रनले स्तब्ध पारेको थियो । त्यो समय श्रीलंकाको टोलीमा सनथ जयसूर्या, महेला जयवर्धने, कुमार संगाकारा, चामिन्डा भास र मथैया मुरलीधरन जस्ता विश्वस्तरिय खेलाडी उच्च विन्दुमा खेलिरहेका थिए । तर पनि केन्याले स्तब्ध पार्दै सुपर सिक्सको ढोका खोलेको थियो । केन्याले बंगलादेशलाई ३२ रनले हराएको थियो । वेस्टइन्डिजसँग भने १ सय ४२ रनले पराजित भएको थियो ।

सुपर सिक्सबाट केन्याले सेमिफाइनलमा स्थान बनाएको थियो । केन्या विश्वकप सेमिफाइनल खेल्ने एकमात्रै एसोसिएट टोली हो । सेमिफाइनलमा भारतसँग ९१ रनले पराजित हुँदै केन्या बाहिरिएको थियो । धेरैको अनुमान त्यो समय केन्या अबको टेस्ट टोली बन्छ भन्ने नै थियो । तर २०११ मा भारतमा भएको विश्वकपपछि केन्याले ठूलो स्तरको क्रिकेट खेलेको छैन ।

तस्वीर सौजन्य : आइसीसी

२०१४ मा केन्याले आफ्नो ओडिआई मान्यता नै गुमायो । लगातार १८ वर्ष ओडिआई मान्यता कायम गरेको केन्याले त्यसपछि लगातार विश्व क्रिकेटमा खराब प्रदर्शन गर्दै गयो । केन्या अहिले आइसिसी च्यालेन्ज लिग खेल्नुपरेको छ ।

स्टिभन टिकोलो, थोमस योडोयो, कोलिन्स ओबुया र केनेडी ओटिएनो लगायत त्यो समय जतिपनि स्टार खेलाडी थिए, उनीहरुको विकल्प तयार पार्न केन्याले कहिल्यै ध्यान दिएन । वर्तमानमा रमाउँदा घरेलु क्रिकेट संरचना, राष्ट्रिय टोलीमा ब्याकअप र ग्रास रुट क्रिकेट लगानीमा ध्यान दिएन । तत्कालिन सफलतामा यसरी रमायो की बाँकी उसले कहिल्यै सोचेन । त्यसको असर २०११ को विश्वकपपछि देखिन थालेको थियो । अहिले केन्या अहिले विश्व क्रिकेटमा आफ्नो अस्तित्व बचाउन संघर्षरत छ ।

सन् २००० को दशकमा केन्याजस्तै वर्तमान नेपालको प्रदर्शन मेल खान्छ । अझ पछिल्लो तीन महिनामा नेपालले आफ्नो इतिहासकै एक उत्कृष्ट क्रिकेट खेलेको छ । १७ मध्य १६ अन्तर्राष्ट्रिय खेल जितेको छ । पछिल्लो तीन महिनामा नेपालले एसोसिएट शीर्ष टोलीसँग नखेलेको नेदरल्यान्ड्ससँग मात्रै हो । अन्य जतिपनि टोलीसँग खेलेको छ सबैलाई हराएको छ । कप्तान रोहित पौडेल र मोन्टि देशाईले नेपाली क्रिकेटमा जादु नै गरेका छन् ।

नेपालले असम्भव मानिएको ओडिआई मान्यता निरन्तरता र सोझै विश्वकप छनोटमा स्थान बनायो । ओडिआई जोगाउन लिग २ मा पछिल्ला १२ मध्य ९ खेल जित्नुपर्ने अवस्थाबाट टोलीले सोझै विश्वकप छनोटमा पुग्न नेपालले १२ मध्य ११ खेल नै जित्यो । त्यो प्रदर्शन आफैंमा जादुमयी र आश्चर्यजनक थियो । त्यस्तै ओमान र युएई जस्ता देशलाई पछि पार्दै एसिया कपमा स्थान बनाउँदै भारत र पाकिस्तानसँग भेट पक्का गर्यो । अहिले नेपाली टोलीलाई हार्न नजानेको टोली भन्न थालिएको छ । सिनियर टोलीले सानदार प्रदर्शन गरेको छ । एसोसिएट क्रिकेटमा नेपालले राज गरेको छ । घरेलु मैदान र दर्शकको भरपूर्ण फाइदा उठाएको छ ।

सिनियर टोलीले सानदार प्रदर्शन गरिरहँदा घरेलु संरचना र प्रतियोगिताको अवस्था भने उस्तैछ । जुन दीर्घकालिन समयमा ठूलो असर पर्नसक्छ । नेपालमा घरेलु क्रिकेटमा प्रधानमन्त्री कप एकदिवसीय प्रतियोगिता हुँदै आएको छ । १० टोली सहभागी प्रतियोगितामा समूह चरणमा विभाजन गर्दै मुस्किलले दुई हप्ता चल्ने गर्दछ । यसअघि मेयर्स कप प्रतियोगिता हुँदै आएकोमा महिलातर्फ ललितपुर महानगरले निरन्तरता दिँदा पुरुषतर्फको प्रतियोगिता भने काठमाडौं महानगरले गर्न मानिरहेको छैन ।

नेपाल ए, नेशनल क्रिकेट एकेडेमी, ग्रासरुटमा लगानी, स्कुल, कलेज र एकेडेमी क्रिकेट चर्चामा सिमित छन् । युवा खेलाडीलाई विशेष विदेश प्रशिक्षणबारे योजना देखिएको छैन । नेपालले अहिले जसरी प्रदर्शन गरेको त्यसैलाई निरन्तरता दिन घरेलु क्रिकेट पनि त्यतिनै मजबुत हुनुपर्छ । घरेलु क्रिकेटमा लगानी भने शून्य जस्तै देखिन्छ । सिनियर खेलाडी निरन्तर ब्यस्त र राम्रो आम्दानी गर्दा घरेलु क्रिकेट खेल्ने खेलाडीलाई पेट पाल्नै कठिन छ । घरेलु प्रतियोगिता शून्य छन् ।

नेपालको प्रदर्शन अहिले विश्व क्रिकेटमा निकै लोभलाग्दो छ । त्यसलाई निरन्तरता दिन त्यो भन्दा बढी चुनौती छ । विदेशी भूमिमा कसरी खेल्छ त्यो हेर्न नै बाँकी छ । नेपालले २०१४ को टि२० विश्वकपमा सानदार प्रदर्शन गर्यो । पहिलो चरणमा हङकङ र अफगानिस्तानलाई स्तब्ध पार्दै विश्व क्रिकेटमा सनसनी मच्चाएको नेपाल अन्तिम खेलमा आयोजक बंगलोदशसँग पराजित हुँदा सुपर टेनमा पुग्न सकेको थिएन । त्यो समय नै नेपाललाई विश्व क्रिकेटमा टेस्ट टोलीको मान्यता पाउने सम्भावित टोलीको रुपमा हेरिएको थियो । २०१४ मा नेपालले जुन प्रदर्शन गरेको थियो त्यसैलाई निरन्तरता दिएको भए सायद अहिले नेपाल टेस्ट खेलिरहेको हुन्थ्यो ।

तर नेपालले त्यसपछि टि२० विश्वकप खेल्न सकेको छैन । २०१९ मा त नेपाल विश्वकप ग्लोबल छनोटमै पुग्न सकेको थिएन । २०१४ पछि नेपालले बल्ल अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो लय समाएको छ । नेपाललाई पुन त्यो लय र आशा देख्न झण्डै एक दशक लाग्यो । त्यसको मुख्य कारण घरेलु संरचना र प्रतियोगिता नै हो ।

अब त्यस्तो नहुन समयमै ध्यान दिनुपर्छ । खेलाडीले मैदानमा खेलेर मात्रै हुँदैन । घरेलु क्रिकेट र संरचनामा पनि क्यानले त्यतिनै ध्यान दिनुपर्छ । नेपालको सफलता केन्याको जस्तो सिमित नभएर निरन्तर हुनुपर्छ । यो सफलताबाट नेपाल पछि फर्किनु हुँदैन । त्यसको लागि सिनियरसँगै घरेलु क्रिकेट र संरचनामा पनि त्यतिनै ध्यान दिनुपर्छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.