default_image

3 years ago

June 5, 2023

क्रिकेट छोडेर बाध्यताले पलायन हुँदै सुमन

360 views

0 Bookmark

भुपेन्द्र जिसी, काठमाडौं

नेपाली महिला क्रिकेटमा सुमन खतिवडाले वर्तमान समयकै उत्कृष्ट युवा अलराउन्डरको पहिचान बनाएकी छिन् । विशेषगरी आक्रामक ब्याटिङ उनको पहिचान हो । उनको शैली र गतीमा ब्याटिङ गर्ने विरलै नेपाली महिला खेलाडी छन् । क्लिन हिटका लागि चर्चित सुमन ‘म्याच विनर’ अलराउन्डर हुन् ।

नेपाली महिला क्रिकेट टोलीले मलेसियासँग पाँच टि२० आई खेलको सिरिजमा गरेको प्रदर्शनले नेपाली महिला क्रिकेटको स्तर छर्लङ्ग पार्देको छ । टोलीले सिरिज जितेपनि नेपालको प्रदर्शन दिन प्रतिदिन कमजोर हुँदै गएको छ । टोलीमा सुमन जस्ता खेलाडीको आवश्यकता प्रष्ट देखिन्छ । तर लगातार उक्त अवसरबाट बन्चित भएपछि सुमन भने नेपाल छाडेर अर्को महिना अष्ट्रेलिया जादैछिन् ।

नेपालमा पर्याप्त खेल नहुँदा र आर्थिक अवस्था राम्रो नभएपछि उनले अष्ट्रेलियामा सिड्नीबाट क्रिकेट खेल्ने निर्णय लिएकी हुन् । नेपाली क्रिकेटले ठूलो स्टार खेलाडी गुमाउने पक्का छ । सुमन जस्ता क्षमतावान् युवा खेलाडी पाउन नेपालले दशकनै पर्खनु पर्ने हुनसक्छ ।

नेपाली महिला क्रिकेट टोलीले अन्तर्राष्ट्रिय क्रिकेट कहिले खेल्छ नेपाल क्रिकेट संघ (क्यान) लाई नै थाहा हुँदैन । चाडपर्व भन्दा पनि अझ ढिलो गरि हुने अन्तर्राष्ट्रिय खेलले खेलाडीमा निराश बनाएको छ । नेपालले मलेसियामा झन्डै एक वर्षपछि अन्तर्राष्ट्रिय खेल खेल्यो । घरेलु क्रिकेटमा प्रधानमन्त्री कप महिला क्रिकेट र ललितपुर मेयर्स कप मात्रै हुँदै आएका छन् । ८ टोली सहभागी राष्ट्रिय प्रतियोगितामा प्रदेशका खेलाडीले ३ खेलमा चित्त बुझाउनु पर्ने हुन्छ ।

घरेलु क्रिकेट खेल्दा उल्टै आफ्नो खर्चमा खेल्नुपर्ने बाध्यता छ । अन्तर्राष्ट्रिय खेल्ने खेलाडीलाई क्यानले १२ जनालाई मात्रै मासिक तलब दिँदै आएको छ । त्यो आफैंमा निकै लज्जास्पद छ । ए ग्रेडमा रहने खेलाडीले सर्वाधिक २१ हजार प्राप्त गर्दछन् । प्रत्येक खेलको म्याच फि ५ हजार मात्रै छ जुन रकम एउटा राम्रो ब्याट किन्न पुग्दैन ।

खेल्ने समय राम्रो र खुसी लाग्छ । तर खेलेर फर्केपछि भोके पेट र परिवारको समस्या टार्न सकिँदैन । त्यसैको कारण देश छाड्नुपर्ने अवस्था हुन्छ । देशलाई विश्वकप खेलाउने सपना देखेका खेलाडी आफ्नो र परिवारको पेट पाल्न विदेश जानुपर्ने बाध्यता छ ।

विष्फोटक ब्याटर डली भट्ट बन्द प्रशिक्षणमा रहेकै समयमा केहि साता अघि अष्ट्रेलिया पुगिन् । सुमन खतिवडा र गण्डकी प्रदेशकी शीला क्षेत्री अर्को महिना त्यसतर्फ जाँदैछन् । राष्ट्रिय टोलीबाट खेलिसकेकी आरती विडारी पनि गत वर्ष नै अष्ट्रेलिया लागेकी थिइन् ।

पछिल्लो ४-५ वर्षमा घरेलु क्रिकेट हेर्ने हो भने सुमनको प्रदर्शन सानदार छ । आश्चर्य कुरा नेपालको टोलीमा मौका पाउन उनी जति योग्य भएपनि अवसर कहिल्यै पाइनन् । १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पहिलो पटक नेपाली टोलीमा परेकी उनले माल्दिभ्सविरुद्ध अन्तिम खेलमा डेब्यू गरेकी थिइन् । उक्त खेलमा ब्याटिङ गर्ने अवसर नपाएपनि एक विकेट लिएकी थिइन् । त्यो उनले नेपालबाट खेलेको एकमात्र खेल हो ।

नेपालमा राम्रो गर्दा पनि अवसर नपाएपछि, घरेलु खेलहरु नहुँदा र आर्थिक अभावको कारण उनले अष्ट्रेलियामा रोजेकी छिन् ।
‘अष्ट्रेलियामा पनि क्रिकेट नै खेल्ने हो । सिड्नीमा कमाउन र खेल्न दुवै अवसरको खोजीमा जान लागेकी हुँ । अर्को महिना जान्छु’, उनले भनिन् ।

गतवर्ष नवौं राष्ट्रिय खेलकुदमा बागमती प्रदेशले कास्य जित्दा सुमनले ६ खेलमा १३१.४६ को स्ट्राइकरेटमा १ सय १७ रन बनाएकी थिइन् । सम्झना खड्का १ सय ३५ रनपछि उनी सर्वाधिक रन बनाउने ब्याटर थिइन् । तर त्यस लगत्तै नेपाली महिला टोलीले मेरिलेबोन क्रिकेट क्लब (एमसिसी) सँग पोखरामा सिरिज खेल्दा टोलीमा थिइनन् ।

त्यसपछि उनी केहि समय क्रिकेट देखी टाढा रहने निर्णय लिइन् । केहि साताअघि दोस्रो बागमती प्रदेश स्तरिय खेलकुदमा चितवनबाट खेल्दै क्रिकेटमा पूनरागमन गरेकी थिइन् ।

‘खेलपनि भएको छैन । म पनि खेलिन । अभ्यास पनि गरिन । खेल कहिले हुन्छ थाहा हुँदैन । त्यहि खेल हेर्यो अनि बस्यो । अभ्यास गर्न थालेपछि बागमती कप भने खेलें’, नखेल्ने निर्णय बारे त्यसैमा उनले थपिन्’, नेपालमा सेवा सुविधाहरु केहि छैन । खेल पनि हुँदैन । त्यहि भएर नखेल्ने निर्णय लिएँ ।’

तर क्रिकेट नशा भएको बताउँछिन् । ‘क्रिकेट एउटा नशा जस्तै हो । छोडेपछि पनि फेरि खेलौं खेलौं जस्तो लाग्छ । छोड्नै नसकिने रहेछ’, उनले भनिन् ।

नेपालबाट क्रिकेट खेल्ने सपना देख्दा बाल्यकालमै सुमनले झन्डै आफ्नो ज्यान नै गुमाउनु परेको थियो । मृत्युलाई जितेर नेपाललाई विश्वकप खेलाउने सपना देखेकी उनी घरको बाध्यताले देशनै छाड्दै छिन् । २०७१ सालमा कक्षा १० मा पढ्दै गर्दा जनकपुरमा यू-१६ क्रिकेट प्रतियोगिता खेल्न जाने क्रममा सिस्नेरीमा उनी चढेको बस दुर्घटना भएको थियो ।

दुर्घटनामा उनको कम्मरमा गम्भीर चोट लागेको थियो । कम्मरको गेडि फुस्किएको कारण मासु पलाएर जोडीन मात्र एक महिना हस्पिटलमा बस्नु परेको थियो । हस्पिटलमा हुँदा उनको डाक्टरलाई पहिलो जवाफ म क्रिकेट खेल्न सक्छु वा सक्दैन भन्ने थियो ।

त्यसपछि उनले लगातार सानदार प्रदर्शन गरिन् । २०१९ मा डब्लूसिएलको उपाधि चितवनलाई जिताउन उनको प्रदर्शन निकै महत्वपूर्ण थियो । २०२१ को ललितपुर मेयर्स कपमा सुमनले मेयर्सबाट ५२ बलमा ९ चौका र २ छक्कासहित ७७ रनको सानदार इनिङ खेलेकी थिइन् ।

त्यो समय घरेलु टि२० क्रिकेटमा महिला खेलाडीले एकै खेलमा बनाएको उच्च रन थियो । यसै सिजन एपिएफकी सीता रानामगरले फाइनलमा सुदूरपश्चिमविरुद्ध ७९ रन बनाउँदै उक्त कीर्तिमान तोडेकी थिइन् ।

नेपालले उनलाई मौका दिएन । तर अष्ट्रेलियाकी पूर्वकप्तानले उनको क्षमताबाट प्रभावित हुँदै सिड्नी युनिभसिर्टीबाट खेल्न बोलाएकी छिन् । पूर्वकप्तानको नाम भने उनले गोप्य राख्न भनेकी छिन् ।

‘सिड्नी युनिभसिर्टीले बोलाएको छ । अष्ट्रेलियाको एक पूर्वकप्तानले नै बोलाउनु भएको छ । उतै क्लबबाट खेल्नी हो । मिलेसम्म बीचमा नेपाल आएर खेल्न खोज्नेछु’, उनले भनिन् ।

नेपालले महिला टि२० आईमा पहिलो पटक मलेसियासँग हार्यो । ‘अहिले मलेसियासँग म भएको भए यस्तरी हान्थे जस्तो लाग्छ । खेलाडीहरुको गल्ती होईन । उनीहरुको खेल नै छैन । नखेली अरुको खेल हेरेर बस्दा धेरै गाह्रो हुन्छ । खेल खेल्ने र नखेल्ने टोलीहरुको स्तर देखिने रहेछ’, उनले भनिन् ।

नेपालले गतवर्ष युगान्डासँग पाँच खेलको सिरिज खेल्दा होस् वा एसिया कप छनोट खेल्दा सुमनलाई टोलीमा राखेन । मलेसियासँगको सिरिजमा पनि उनलाई कुनै जानकारी दिएन । उनले प्रधानमन्त्री कप खेलिनन् । त्यसपछि ललितपुर मेयर्स कपमा पनि परिनन् । उनले लगातार राम्रो गर्दा पनि नेपालको टोलीमा परिनन् । जति दुःख, मिहिनेत र प्रदर्शन गर्दा पनि परिदैन भने किन खेल्ने सोच आएको थियो ।

‘यता राम्रो गर्दा पनि मौका पनि नपाइने । घरबाट पनि दबाब (प्रेसर) भयो । नेपालमा बसेर गरम भन्ने पनि केहि छैन । बाहिर राम्रो अवसर आएको छ । त्यसैले जान लागेको हो । नेपालमा खेल नै हुँदैन’, उनले भनिन् ।

झापाको सैनिक मोडमा घर भएकी सुमनको जन्म २०५६ मा काठमाडौंमा कमल र शारदा खतिवडाको काखबाट पहिलो सन्तानको रुपमा भएको थियो । सुमनको एक बहिनी र भाई छन् । आमा आफ्नो जमानाकी एथ्लेटिक्स खेलाडी थिइन् । २०११ सालमा उनकी आमा सगरमाथा चढेकी थिइन् ।

आमा काखमा खेलेर हुर्कने बेला तीन वर्षकै कलिलो उमेरमा पढाईको लागि काठमाडौंमा होस्टेलमा बस्नु परेको थियो । त्यसैको कारण उनले सानैदेखी काठमाडौं र बागमती प्रदेशबाट घरेलु क्रिकेट खेल्ने गरेकी थिइन् ।

घरबाट नै पैसा मागेर खेल्नु परेपछि परिवारले नै गाली गर्ने सुमन बताउँछिन् । ‘हरेक भ्रमणमा १५/२० हजार लगेर जानुपर्ने हुन्छ । क्यानबाट आएको पैसा भ्रमण गर्दा नै सकिन्छ । पैसा माग्दा घरमा पनि धेरै प्रेसर हुन्छ नि । घरकी जेठी छोरी । आफूले गर्ने बेलामा माग्नुपर्छ । बाबा पनि बुढो हुनु भयो । काम गर्न सक्नुदैन । घरले पनि मलाई कतिसम्म गर्नु । खेलाडी भएपछि एउटा नाम र इज्जत हुन्छ भनेर मम्मीले साथ दिनु भएको थियो । बुबाले अब आफूले नसक्ने हुँदा मैले नै घरको सबै गर्नुपर्छ भन्नुहुन्छ’, उनले भनिन् ।

सुमनले केहि प्रतियोगिता गुमाउँदा नेपाली क्रिकेटको अभिभावक क्यानले उनीबारे कहिल्यै सोधपुछ गरेन । त्यसले उनको मन झनै मर्यो ।

‘सिनियर दिदीहरुले किन नखेलेको हो भनेर सोध्नुभएको थियो । त्यति बेला मेरो अष्ट्रेलिया प्रक्रिया हुँदा मैले खुलाउन पनि चाहेको थिइनँ । क्यानका कुनैपनि मान्छेहरुले मलाई किन नखेलेको भनेर सोधपुछ गरेनन् । क्यानले नसोध्दा आफ्नो अस्तित्व नै रहेनछ जस्तो लाग्यो । म नखेल्दा उनहरुलाई कुनै मतलब नै छैन भने त्यसपछि मन मर्यो’, उनले भावुक हुँदै भनिन् ।

सुमनलाई आफ्नो आमाले भने सकेसम्म देशबाट नै खेल्न सुझाब दिएकी थिइन् । तर सुमनको मन बदलियो । उनले जाने निर्णय लिइन् ।

‘मम्मीले त सकेसम्म नजा भन्नुभएको छ । देशबाट खेल । इज्जत भनेको कसैले कमाएर पाइँदैन । खेलाडीहरुले नै हो भन्नु भएको थियो । तर बाबाले जेठी छोरीले अब कमाउनु पर्छ । मैले सक्दैन भन्नुहुन्छ’, उनले भनिन् ।

अष्ट्रेलिया रोज्नु उनको लागि बाध्यता हो । बच्चा देखिनै नेपालबाट खेल्ने सपना बोकेकी उनी आर्थिकको कारण देश छाड्दैछिन् । त्यो पिडा उनलाई मात्रै थाहा छ । देश छाड्ने कुरा गर्दा मात्रै निकै भावुक हुन्छिन् ।

डली भट्ट पर्थमा बसेर खेल्नेछिन् । सुमन, शीला र आरती सिड्नीमा बसेर खेल्ने योजनामा छन् । नेपालले ओडिआई मान्यता पाएको पाँच वर्ष भएको छ । पुरुष टोलीमा सिनियर टोलीमा पर्ने बाहेक अन्य खेलाडीको अवस्था निकै दयनीय छ ।

घरेलु क्रिकेट नहुँदा र पर्याप्त अवसर नपाउँदा पुरुष खेलाडी पनि देश छाड्न थालेका छन् । तीव्र गतिका बलर नन्दन यादव अष्ट्रेलिया र स्पिनर अरियो पौडेल क्यानडा लागी सकेका छन् । नन्दन केहि समय खेलेर फर्किने बताइएको छ । नेपाली तीव्र गतिका भविष्य मानिएका नन्दन नेपालमा राम्रो गर्दा अवसर नपाएपछि त्यसतर्फ लागेका थिए ।

सफलतामा बधाई दिन हानथाप गर्ने नेपाल सरकार, सम्बन्धित निकाय, क्यानका पदाधिकारी र कर्माचारीहरु युवा खेलाडी देश छाड्दा कुनै मतलब गर्दैनन् । हुन त क्रिकेट विकास भन्दा पनि आफ्नो स्वार्थमा रमाएका ब्यक्तिलाई सुमन र डली जस्ता खेलाडीले देश छाड्दा कुनै फरक नपर्ला । तर नेपाली महिला क्रिकेटलाई ठूलो धक्का लाग्नेछ । ओडिआई देश नेपालका खेलाडी आर्थिककै कारण देश छाड्नु त्यो भन्दा ठूलो बिडम्बना र लज्जास्पद पक्कै अरु हुन सक्दैन ।

सामाजिक सञ्जालमा क्रिकेट विकास र जय क्रिकेट भन्न भन्दा खेलाडीलाई खेल्ने र बाच्ने आधार बनाउन सके नेपालले फड्को मार्नसक्छ । अन्यथा आगमी दिनमा नेपाली महिला क्रिकेटको भविष्य संकटमा पर्न सक्ने देखिन्छ । आर्थिक अभाव र पर्याप्त खेल नहुँदा खेलाडीले देश छाड्नु पक्कै यो नेपाली क्रिकेटका लागि राम्रो संकेत होईन ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.