default_image

1 year ago

June 17, 2023

विश्वकप छनोटमा नेपाल : सुपर सिक्स हुँदै विश्वकप खेल्ने सपना

171 views

0 Bookmark

भुपेन्द्र जि.सी, काठमाडौं

नेपाली क्रिकेट टोली आफ्नो इतिहासको एक उत्कृष्ट लयमा छ । ६ महिना अघि नेपालको विश्वकप छनोट यात्रा अकल्पनीय नै थियो । तर नेपालले आइसिसी विश्वकप लिग–२ मा पछिल्ला १२ मध्य ११ खेलमा जित हात पारेपछि सोझै विश्वकप छनोटमा स्थान बनाउन सफल भयो ।

मोन्टी देशाई मुख्य प्रशिक्षक बनेर आएपछि नेपालले खेलेका १७ अन्तर्राष्ट्रिय खेलमा एक मात्रै हार बेहोरेको छ । आइतबारदेखि जिम्बावेमा आइसिसी एकदिवसीय विश्वकप छनोट सुरु हुँदैछ । पछिल्लो पटक विश्वकप छनोट जिम्बावेमै २०१८ मा भएको थियो । त्यो समय नेपालको लक्ष्य ओडिआई हुँदा अहिले सुपर सिक्समा प्रवेश गर्ने छ ।

पछिल्लो समयको लयले समर्थकमा आशा र उत्साह फरक छ । २०१८ मा नेपालले पपुवा न्युगिनीलाई हराउँदै उक्त सपना साकार पार्न सफल भएको थियो । त्यहि ओडिआई मान्यताले नेपाली क्रिकेटको अवस्था र खेलाडीको स्तर दुवै फेरिएको छ ।

पाँच वर्षपछि नेपाल पुन: जिम्बावेमै विश्वकप छनोट खेल्दैछ । यो नेपालले खेल्ने तेस्रो एकदिवसीय विश्वकप छनोट हुनेछ । नेपालले पहिलो पटक २०१४ मा न्युजिल्यान्डमा विश्वकप छनोट खेलेको थियो । त्यस समय समूह चरणका सबै चार खेल हार्दै नेपाल बाहिरिनुपरेको थियो ।

यस पटक नेपाली टोली दक्षिण अफ्रिकामा डेढ साता तयारी गरेर जिम्बावे पुगेको छ । नेपालको समूहमा जिम्बावे, वेस्टइन्डिज, नेदरल्यान्ड्स र अमेरिका छन् । जिम्बावे र वेस्टइन्डिज टेस्ट टोली हुन् । समूह बी मा श्रीलंका, स्कटल्यान्ड, आयरल्यान्ड, ओमान र युएई छन् ।

नेपालले आइतबार टेस्ट टोली जिम्बावेसँग खेल्दै सुरुवात गर्नेछ । २०१८ को विश्वकप छनोटमा पनि नेपालले जिम्बावेसँग खेल्दै सुरुवात गरेको थियो । नेपालले एक दिनको विश्राममा क्रमशः अमेरिका, वेस्टइन्डिज र नेदरल्यान्ड्ससँग खेल्नेछ । यदि नेपाल शीर्ष तीनमा पर्न सके सुपर सिक्स खेल्न पाउनेछ ।

सुपर सिक्समा सहजै स्थान बनाउन नेपाललाई तीन जित आवश्यक पर्दछ । दुई जितले सुपर सिक्समा पुग्न अन्य टोलीको नतिजामा पनि भर पर्नुपर्छ । नेपाल नेदरल्यान्ड्स र अमेरिकालाई हराउँदै सुपर सिक्स खेल्ने लक्ष्यमा हुनेछ ।

जिम्बावे टेस्ट मात्रै नभएर घरेलु टोली पनि हो । जिम्बावे घरेलु मैदान, कन्डिसन र दर्शकको फाइदा उठाउनेछ । नेपालले ओडिआईमा त पहिलो पटक टेस्ट टोलीसँग खेल्दैछ । जिम्बावेसँग नेपालको असली परिक्षा हुनेछ । विश्व क्रिकेटमा पावर हाउस बन्न जिम्बावे संघर्षरत छ ।

पछिल्लो पटक वर्षा बाधक बन्दा जिम्बावेले दुर्भाग्यपूर्ण विश्वकप खेल्न पाएको थिएन । त्यो पिडा जिम्बावे कम्तीमा यस छनोटमा दोहोर्याउन चाहँदैन । तुलनात्मक रुपमा कमजोर नेपालविरुद्ध जिम्बावेपनि सानदार जितका साथ विश्वकप यात्रामा अघि बढ्न सक्छ । जिम्बावेलाई हराउन नेपालले अहिले खेलेको भन्दा दुई गुणा राम्रो क्रिकेट खेल्नुपर्ने हुन्छ । जिम्बावेविरुद्ध नेपाल नतिजा भन्दा पनि आफ्नो उत्कृष्ट क्रिकेटमा ध्यान दिनेछ ।

त्यसपछि नेपालले मंगलबार अमेरिकासँग खेल्नेछ । अमेरिका र नेपाल एउटै स्तरका टोली हुन् । त्यो दिन जसले राम्रो गर्छ त्यो टोलीले जित्नेछ । अमेरिकासँग पराजित भएमा सुपर सिक्स धेरै कठिन बन्नेछ । नेपालले बिहीबार टेस्ट टोली वेस्टइन्डिजसँग खेल्नेछ । उक्त खेल नेपालले खेल्ने अहिले सम्मकै माथिल्लो स्तरको टोली हुनेछ ।

दुई एकदिवसीय र दुई टि२० विश्वकप जितेको वेस्टइन्डिजमा रोभम्यान पावेल, निकोलस पुरन र काइल मेयर्स जस्ता विष्फोटक ब्याटरविरुद्ध नेपाली बलरको प्रदर्शन हेर्न लायक हुनेछ । अल्जारी जोशेफको गती र अकिल हुसैनको स्पिन सामु नेपाली ब्याटरको परिक्षा हुनेछ ।

वेस्टइन्डिजले आफ्नो शैलीमा खेल्दै रनको वर्षा गराउँछ वा नेपालसँग स्तब्ध हुन्छ त्यो हेर्न बाँकी छ । नेपालले अन्तिम खेल डच टोली नेदरल्यान्ड्ससँग शनिबार खेल्नेछ । नेदरल्यान्ड्स काउन्टीका कारण निराश छ । आफ्ना प्रमुख ६ खेलाडीले विश्वकप छनोट खेल्न पाउने छैनन् ।

जसमा पहिलो रोजाईका कुनैपनि तीव्र गतिका बलर छैनन् । फ्रेड क्लासेन, ब्रेन्डन ग्लोभर, पाउल भान मार्केन र रोलेफ मर्वे जस्ता प्रमुख रोजाईका बलर छैनन् । अर्कोतर्फ मध्यक्रमका प्रमुख ब्याटर टम कुपर र कोलिन एकरम्यान पनि काउन्टीको कारण छैनन् ।

बास डि लिडलाई काउन्टीले छाड्ने भएको छ । काउन्टीमा जस बटलर र लियाम लिभिङस्टोन जस्ता विष्फोटक ब्याटरलाई आउट गरेका अलराउन्डर लिडमा ठूलो जिम्मेवारी हुनेछ । डच टोलीको कुनै पनि भर हुँदैन ।

के विश्वकप खेल्न सक्छ नेपाल ?

समूह ए बाट टोलीको स्तर हेर्दा सुपर सिक्समा वेस्टइन्डिज र जिम्बावेले स्थान बनाउने पक्का जस्तै छ । ५० ओभरको खेलमा एसोसिएट टोलीले टेस्ट टोलीलाई हराउन कठिन नै पर्दछ । टि२० क्रिकेटमा भने कुनै फरक हुँदैन । जित्नै नसकिने होईन । तर सामान्य प्रदर्शनले सम्भव हुँदैन । फिटनेस, अनुभव, दबाब, मनोबल र खेलाडीको स्तरले धेरै फरक पार्छ ।

तुलनात्मक रुपमा नेपाल सहज समूहमा छ । तर नेपालले सुपर सिक्स क्रिकेट खेल्न अहिले भन्दा अझ राम्रो क्रिकेट खेल्नुपर्ने हुन्छ । सुपर सिक्समा अर्को समूहबाट आउने तीन टोलीसँग खेल्नुपर्ने हुन्छ ।

आफ्नो समूहबाट जाने टोलीको भने समूह चरणकै प्रदर्शन मान्यता हुनेछ । यदि नेपालले वेस्टइन्डिज र जिम्बावेसँग हारेर सुपर सिक्समा पुगेको खण्डमा विश्वकप सपना निकै कठिन बन्नेछ । अर्को समूहका बाँकी तीनै टोलीलाई जितेर मात्रै हुँदैन ।

सुपर सिक्सबाट शीर्ष दुई टोलीले मात्रै विश्वकपमा स्थान बनाउनेछन् । नेपालको लागि विश्वकप असम्भव जस्तै देखिन्छ । अविश्वसनीय र जादुमयी प्रदर्शनले मात्रै नेपाल विश्वकपमा पुग्न सक्छ । श्रीलंका, वेस्टइन्डिज, जिम्बावे र आयरल्यान्ड जस्ता टेस्ट टोली हुँदा नेपालको विश्वकप सम्भावना देखिदैन । यसअघि यी टोलीसँग नेपालले कहिल्यै ओडिआई खेल खेलेको छैन । पहिलो पटक टेस्ट टोलीसँग खेल्दैछ । त्यसैले नेपालले धेरै कुरा सिक्न नै बाँकी छ ।

नेपालले पछिल्लो समय खेलेका १७ मध्य ४ खेल मात्रै विदेशी भूमिमा छन् । टियु मैदान र नेपाली दर्शकको साथ खड्कीने पक्काछ । अर्कोतर्फ घरेलु मैदान र बाहिर प्रदर्शन निकै फरक पार्दछ । वार्मअप खेलमा नेदरल्यान्ड्स, स्कटल्यान्ड र युएईसँगको प्रदर्शनले पनि त्यो बताउँछ ।

यर्थाथमा भन्ने हो भने कुनै मिराकल बाहेक अन्य रुपमा नेपालको विश्वकप खेल्ने सम्भावना देखिदैन । किनभने यस छनोटमा जिम्बावे, वेस्टइन्डिज र श्रीलंका जस्ता निकै मजबुत टोली छन् । विश्वकप विजेता श्रीलंका र वेस्टइन्डिज प्रमुख दुई दाबेदार टोली हुन् ।

नेपालको बलियो पक्ष

नेपालको बलियो पक्ष भनेको उच्च मनोबल र मजबुत ब्याटिङक्रम हो । नेपालले पछिल्लो समय लगातार राम्रो क्रिकेट खेलेको हुँदा उच्च मनोबलका साथ जिम्बावे पुगेकोछ । क्रिकेट भनेको नै मनोबल हो । जतिसुकै स्टार खेलाडी र बलियो टिम भएपनि जितको लागि मैदानमा राम्रो खेल्नुपर्छ । नेपालले एक बल एक युद्द हुने जनाई सकेको छ । त्यहिँ मनोबलको कारण ठूला टोलीलाई स्तब्ध पार्नसक्छ ।

अर्कोतर्फ यसअघि नेपालको ब्याटिङ सबैभन्दा कमजोरीको रुपमा रहन्थ्यो । तर अहिले ब्याटिङ नै मजुबत बनेको छ । नेपालको टोलीमा ललितनारायण राजवंशी बाहेक अन्य सबै खेलाडी राम्रो ब्याटिङ गर्नसक्छन् । यदि नेपालले खराब सुरुवात गर्दा पनि तल्लोक्रमका ब्याटरले मजबुत योगफलमा पुर्याउन सक्छन् । ब्याटिङ विश्वकप छनोेटमा निकै महत्वपूर्ण हुनेछ ।

कमजोरी पक्ष

नेपालको कमजोरी भनेको डेथ ओभर बलिङ हो । नेपालले डेथ ओभर अर्थात अन्तिम १० ओभरमा राम्रो बलिङ गर्न सकेको छैन । नेपालको टोलीमा डेथ ओभर स्पेलिष्ट बलरको कमी छ । त्यसैले नेपालले लिग २ मा युएईविरुद्ध डेथ ओभरमा १ सय २१ र नामिबियाविरुद्ध १ सय १५ रन खर्चेको थियो ।

त्यस्तै बायाँ हाते तीव्र गतिका बलर र अर्थोड्रक्स स्पिनरविरुद्ध पनि नेपालले लगातार खराब प्रदर्शन गर्दै आएको छ । ओपनरले राम्रो प्रदर्शन गरेपनि ठूलो साझेदारी गर्न सकेका छैनन् । प्रमुख अलराउन्डर दीपेन्द्रको लय अर्को चिन्ताको विषय बनेको छ ।

सन्दीप प्रमुख हतियार

स्पिनर सन्दीप लामिछाने नेपालका प्रमुख हतियार हुन् । विश्वकप छनोटमा सन्दीपको प्रदर्शन नेपालको लागि धेरै महत्त्वपूर्ण हुनेछ । आइपिएल देखी विश्वका लगभग सबै विदेशी टि२० लिग खेलेका सन्दीपले स्टार खेलाडीविरुद्ध खेलेका छन् ।

सन्दीपलाई ठूला टोली र खेलाडीविरुद्ध कसरी खेल्ने राम्रोसँग थाहा छ । उनी त्यो दबाबमा खेल्न सक्छन् । ओडिआईमा सर्वाधिक छिटो ४२ खेलमै १ सय विकेट पूरा गर्ने सन्दीपको लेग स्पिन र गुगलीबाट नेपाल जादु चाहन्छ ।

कमजोर तयारी र ठूला म्याचको अभाव

विश्वकप छनोटको लागि नेपालले तीन साता मात्रै अभ्यास गरेको छ । मुख्य प्रशिक्षक मोन्टी देशाई भिसाको कारण अघिल्लो साता मात्रै दक्षिण अफ्रिका पुगेका थिए ।

नेपालले कुनैपनि टेस्ट टोलीसँग सिरिज वा अभ्यास खेल खेलेन । नेपाली खेलाडीलाई ठूला टोलीविरुद्ध कसरी खेल्ने त्यति धेरै ज्ञान छैन । २०१८ पछि नेपालले पहिलो पटक जिम्बावेमा खेल्दैछ ।

विश्वकपमा नेपालको इतिहास :

नेपालले हालसम्म एक पटक मात्रै टि२० विश्वकप खेलेको छ । नेपालले २०१४ मा बंगलादेशमा सम्पन्न टि२० विश्वकप खेलेको थियो । त्यसपछि नेपालले पुन टि२० विश्वकप खेल्न सकेन ।

नेपालले एकदिवसीय विश्वकप हालसम्म खेल्न सकेको छैन । नेपालले हालसम्म एकदिवसीय विश्वकप छनोटबाट अर्को चरणमा स्थान बनाउन सकेको छैन । यसअघि खेलेका २०१४ र २०१८ को छनोटमा नेपाल समूह चरणबाटै आउट भएको थियो ।

नेपालको खेल तालिका, समय र मिति

असार ३ ( जुन १८) – जिम्बावेविरुद्ध नेपाल, हरारे स्पोर्ट्स क्लब

असार ५ (जुन २०) – नेपालविरुद्ध अमेरिका, ताकाशिंगा स्पोर्ट्स क्लब

असार ७ (जुन २२) – नेपालविरुद्ध वेस्टइन्डिजः हरारे स्पोर्ट्स क्लब

असार ९ (जुन २४) – नेपालविरुद्ध नेदरल्यान्ड्स, ताकाशिंगा स्पोर्ट्स क्लब

समय : सबै खेल नेपाली समय अनुसार दिउँसो १२ : ४५ मा सुरुहुनेछन् ।

यदि नेपाल सुपर सिक्समा पुग्न नसकेको खण्डमा प्लेअफमा बाँकी दुई खेल खेल्न पाउनेछ । छैटौं देखी १० औं सम्मको लागि प्लेअफ हुनेछ ।

नेपालको टोली :

नेपालले विश्वकप छनोटको लागि १६ सदस्य टोली घोषणा गरेको छ । तर आइसिसीको प्रतियोगितामा १५ खेलाडीले मात्रै स्थान पाउँछन् । त्यसैले नेपालले टोलीबाट एक खेलाडीलाई बाहिर राख्नुपर्ने हुन्छ । अर्जुन साउद, प्रतिश जि.सी र किशोर महतो मध्य एक नेपालको अन्तिम टोलीमा हुने छैनन् ।

कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), ज्ञानेन्द्र मल्ल, रोहित पौडेल (कप्तान), कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जि।सी, ललित राजवंशी, अर्जुन साउद (विकेटकिपर) र किशोर महतो ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.