default_image

1 year ago

June 20, 2023

नेपालले अमेरिकासँग खेल्दै

81 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत आफ्नो दोस्रो खेलमा आज अमेरिकासँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो १२: ४५ मा सुरुहुनेछ । नेपाल अमेरिकालाई हराउँदै सुपर सिक्समा पुग्ने बलियो सम्भावना बनाउन चाहन्छ । दुबै टोली पहिलो जितको खोजीमा हुनेछन् ।

नेपाल पहिलो खेलमा जिम्बावेसाँग ८ र अमेरिका वेस्टइन्डिजसँग ३९ रनले पराजित भएको थियो । नेपाल र अमेरिका दुबैले टेस्ट टोलीविरुद्ध सानदार प्रदर्शन गरेको हुँदा उच्च मनोबलका साथ मैदान उत्रर्नछन् । नेपालले आज टोलीमा एक परिवर्तन गर्ने पक्का छ । घाइते तीव्र गतिका बलर सोमपाल कामी आजको खेलमा उपलब्ध हुनेछैनन् ।

त्यसैले उनको स्थानमा स्पिनर ललितनारायण राजवंशी वा एक तीव्र गतिका बलर खेलाउनेछ । यदि ललितलाई नखेलाएको अवस्थामा प्रतिश जि.सी र किशोर महतो मध्य एकलाई खेलाउनेछ । किशोर महतो भने अन्तिम १५ मा थिएनन् । यदि २४ घण्टा अघि आइसिसीलाई जानकारी दिएको खण्डमा मात्रै खेल्नेछन् ।

जिम्बावेविरुद्ध ३४ औं ओभरमा बलिङ गर्नेक्रममा उनको बुढी औंलामा चोट लाग्न पुगेको थियो । त्यसैको कारण उनी फिट नभएको हाम्रो खेलकुदलाई स्रोतले जानकारी दिएको छ । टोलीमा अन्य परिवर्तनको सम्भावना भने छैन । नेपालले बलिङ भने उत्कृष्ट गर्नुपर्ने हुन्छ । प्रमुख बलर सन्दीप लामिछानेको प्रदर्शन निकै महत्वपूर्ण हुनेछ ।

जिम्बावेविरुद्ध सन्दीपले १० ओभरमा ७७ रन खर्चेका थिए । सन्दीप लगातार ३३ इनिङपछि विकेट विहीन बन्न पुगेका थिए । युएईविरुद्ध टियुमा १० ओभरमा ८० रन खर्चेर १ विकेट लिएपछिको खराब प्रदर्शन थियो । २०२० मा अमेरिकालाई ओडिआई इतिहासकै सबैभन्दा कम ३५ रनमा अल आउट गर्न सन्दीपले ६ विकेट लिएका थिए । त्यसैले पनि सन्दीपको प्रदर्शन निकै महत्वपूर्ण हुनेछ ।

सोमपाल नहुँदा करणमाथि जिम्मेवारी बढ्नेछ । करण र गुलशन पहिलो रोजाईको तीव्र गतिको बलर हुनेछन् । नेपालको ब्याटिङक्रम भने उत्कृष्ट छ । ओपनर आसिफ शेख र कुशल भुर्तेलले जिम्बावेविरुद्ध १ सय ७१ रनको शतकीय साझेदारी गरेका थिए । ९९ रनमा आउट हुनु परेको पिडा कुशल अमेरिकाविरुद्ध पोख्न चाहन्छन् । आसिफले ६६ रन बनाउँदै कुशललाई राम्रो साथ दिएका थिए । नेपाल कुशलबाट आक्रामक र आसिफबाट अर्को एन्डबाट साथ चाहन्छ ।

नेपालले अन्तिम पाँच ओभरमा ३२ रन बनाउँदा ४ विकेट गुमाएको थियो । त्यो हारको एक कारण थियो । फिनिसरबाट नेपाल उत्कृष्ट प्रदर्शन चाहन्छ । फिनिसरमा करण र दीपेन्द्र हुनेछन् । नेपालले खराब सुरुवात गर्दा पनि विशाल योगफल बनाउन सक्छ । तेस्रो नम्बरका भीम सार्की, चौथो नम्बरमा रोहित पौडेल र पाँचौं नम्बरका कुशल मल्लको प्रदर्शन महत्वपूर्ण हुनेछ ।

उच्च लयमा रहेका कुशल मल्लले २०२० मा अमेरिकाविरुद्ध डेब्यू गर्दै ५० रन बनाएका थिए । नेपाल कुशलबाट विष्फोटक ब्याटिङ चाहन्छ । आरिफ शेखले तल्लोक्रम सम्हाल्नेछन् । अमेरिकामा बायाँ हाते तीव्र गतिका बलर सौरभ नेत्रवालकर छन् । भारतीय यू१९ र रणजी अनुभवी सौरभबाट नेपाल सचेत हुनुपर्छ ।

बायाँ हाते बलर नेपाली ब्याटरको कमजोरी बन्दै आएको छ । उता अमेरिका ओपनर स्टिभ टेलर नेपालविरुद्ध सधैं हाबी हुँदै आएका छन् । २०१३ को डिभिजन थ्रीमा उनले १ सय २ बलमा १२ चौका र १२ छक्कासहित १ सय ६० रनको विष्फोटक शतकीय इनिङ खेलेका थिए । त्यस्तै गतवर्ष अमेरिकामै उनले नेपालविरुद्ध १ सय १४ रनको शतकीय इनिङ खेलेका थिए । ओमानमा उनले नेपालविरुद्ध ६३ बलमा ९२ रनको इनिङ खेलेका थिए ।

बायाँ हाते ओपनर टेलर विष्फोटक ब्याटिङका लागि बढी रुचाउँछन् । उनी धेरै समय क्रिजमा टिकेको खण्डमा नेपालको जित कठिन बन्नेछ । त्यसैले उनको विकेट निकै महत्वपूर्ण हुने देखिन्छ । कप्तान मोनांक पटेल राम्रो लयमा छन् । उनले पनि नेपालविरुद्ध लगातार राम्रो खेल्दै आएका छन् । लिग २ मा २ शतक र ८ अर्धशतकसहित १२ सय १९ रन बनाएका पटेलको विकेट चाँडै लिनुपर्छे हुन्छ ।

वेस्टइन्डिजविरुद्ध शतक हानेका गजानन्द सिंहको मनोबल पनि उच्च छ । नेपाललाई १९ वर्षीय ब्याटर साइतेजा मुकामल्लाले सरप्राइज दिनसक्छन् । युवा खेलाडी उनले अमेरिकाबाट राम्रो प्रदर्शन गर्दै आएका छन् । अमेरिकालाई विश्वकप छनोटमा पुर्याउन उनले प्लेअफ क्वालिफायरमा युएईविरुद्ध १ सय २० रनको सानदार शतकीय इनिङ खेलेका थिए ।

आरोन जोन्स, जेसी सिंह, सुशान्त मोदानी र शयान जहाजिंगरबाट पनि अमेरिका राम्रो प्रदर्शन चाहन्छ । उता अमेरिकाका प्रमुख तीव्र गतिका बलर अली खान आजको खेल पनि खेल्न पाउने छैनन् । चार डेमीरेट प्वाइन्टका कारण अली खानलाई दुई खेल प्रतिबन्ध लागेको थियो । आजको खेलपछि उनको प्रतिबन्ध फुकुवा हुनेछ ।

तर युवा बलर कायल फिलिपले वेस्टइन्डिजविरुद्ध तीन विकेट लिँदै अली खानको अभाव महसुस हुन नदिने संकेत दिएका छन् । २६ वर्षीय फिलिपको बलमा स्वींग र गती छ । सौभर र फिलिपको बलिङ पावर प्लेमा महत्वपूर्ण हुनेछ । स्पिन आक्रामण र मध्यक्रम ब्याटिङ अमेरिकाको कमजोरीको रुपमा छ । शीर्षक्रम ब्याटिङ र तीव्र गतिको बलिङ अमेरिकाको हतियार हो ।

यदि नेपाल यस खेलमा पराजित भएको खण्डमा सुपर सिक्समा पुग्न वेस्टइन्डिज र नेदरल्यान्ड्स दुबैलाई हराउनु पर्छ । आज अर्को खेलमा नेदरल्यान्ड्सले घरेलु टोली जिम्बावेसँग खेल्नेछ ।

जिम्बावे लगातार दोस्रो जितको खोजीमा हुनेछ । नेदरल्यान्ड्स जिम्बावेलाई स्तब्ध पार्न सक्छ । काउन्टीका कारण नेदरल्यान्ड्सको टोलीमा पहिलो रोजाईका तीव्र गतिका बलर छैनन् । अलराउन्डर बास डि लिडेको प्रदर्शन महत्वपूर्ण हुनेछ । नेपालविरुद्ध शतक हानेका दुई अनुभवी ब्याटर सन विलियम्स र क्रेग इर्विन प्रमुख हतियार हुन् ।

हेड टु हेड :

नेपाल र अमेरिकाबीच ६ ओडिआई खेल भएको छ । नेपाल ३ खेलमा विजयी, दुई मा पराजित र एक खेल टाई भएको छ । २०२० मा नेपालले टियु मैदानमा अमेरिकालाई ३५ रनमा अल आउट गरेको थियो । त्यस्तै २०२२ मा अमेरिकाले आफ्नो घरेलु मैदानमा २ सय ७५ रनको लक्ष्य पछ्याउनेक्रममा खेलमा टाई गरेको थियो ।

मौसम :

हरारेमा आज कुनैपनि वर्षाको सम्भावना छैन । न्यूनतम तापक्रम ११ र उच्चतम तापक्रम २४ डिग्री सेल्सियस हुनेछ ।

अंक तालिका
समूह ए मा जिम्बावे २ अंकका साथ शीर्ष स्थानमा छ । वेस्टइन्डिज पनि २ अंकका साथ दोस्रो स्थानमा छ । समूह बी मा श्रीलंका र ओमान शीर्ष र दोस्रो स्थानमा छन् । सोमबार ओमानले आयरल्यान्डलाई ५ विकेटले हराउँदै सनसनी मच्चाएको थियो ।

नेपालको टोली :

कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), ज्ञानेन्द्र मल्ल, रोहित पौडेल (कप्तान), कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जि.सी, ललित राजवंशी र अर्जुन साउद ।

अमेरिकाको टोली :

मोनांक पटेल (कप्तान तथा विकेटकिपर), आरोन जोन्स (उप-कप्तान), शयान जहाजिंगर, केंजिगे, अली खान, सुशान्त मोदानी, साईतेजा मुकामल्ला, सौरभ नेत्रवालकर, अभिषेक परादकर, निसर्ग पटेल, कायल फिलिप, उस्मान रफिक, गजानन्द सिंह, जेसी सिंह र स्टिभ टेलर ।

समूह ए : नेपाल, जिम्बावे, वेस्टइन्डिज, नेदरल्यान्ड्स र अमेरिका

समूह बी : श्रीलंका, स्कटल्यान्ड, आयरल्यान्ड, ओमान र युएई

असार ७ (जुन २२) – नेपालविरुद्ध वेस्टइन्डिजः हरारे स्पोर्ट्स क्लब

असार ९ (जुन २४) – नेपालविरुद्ध नेदरल्यान्ड्स, ताकाशिंगा स्पोर्ट्स क्लब

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.