default_image

8 months ago

September 9, 2023

नेपाली महिला क्रिकेटको दुर्गति : जिम्मेवार को ?

भुपेन्द्र जि.सी.काठमाडौं आइसिसी महिला टि२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपाल सेमिफाइनल खेलमा थाइल्यान्डसँग पराजित हुँदै बाहिरियो । पहिलो पटक ग्लोबल टि२० छनोट हुँदै विश्वकप खेल्ने नेपाली चेलीको सपना फेरि अधुरै रह्यो । नेपाल सेमिफाइनल सम्म पुगेपनि र त्यसअघि चार देश सम्मिलित महिला टि२० आई सिरिजको उपाधि नेपालले जितेपनि खुशी भन्दा बढी निराशा थियो । त्यसको […]

6069 views

0 Bookmark

भुपेन्द्र जि.सी.काठमाडौं

आइसिसी महिला टि२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपाल सेमिफाइनल खेलमा थाइल्यान्डसँग पराजित हुँदै बाहिरियो । पहिलो पटक ग्लोबल टि२० छनोट हुँदै विश्वकप खेल्ने नेपाली चेलीको सपना फेरि अधुरै रह्यो । नेपाल सेमिफाइनल सम्म पुगेपनि र त्यसअघि चार देश सम्मिलित महिला टि२० आई सिरिजको उपाधि नेपालले जितेपनि खुशी भन्दा बढी निराशा थियो । त्यसको मुख्य कारण खराब ब्याटिङ थियो ।

विश्वकप छनोटमा मलेसियालाई पाँच रन, बहराइनलाई १० विकेट, भुटानलाई ३ विकेट, कतारलाई ९ विकेट र युएईसँग वर्षाको कारण खेल रद्द भयो । युएईसँग खेल रद्द हुनु नेपालको लागि दुर्भाग्य थियो । उक्त खेल भएको भए सेमिफाइनलमा समीकरण सायद अर्कै र नेपालको विश्वकप छनोट यात्रा सहज हुन सक्थ्यो । नेपालले विश्वकप छनोट र सिरिजमा गरि कुनैपनि खेलमा ब्याटिङमा १ सय रन कटाउन सकेन ।

कुनैपनि ब्याटरले विश्वकप छनोटमा ७० रन कटाउन सकेनन् । सीता रानामगर एकमात्रै खेलाडी हुन् जसले ५० माथि रन बनाइन् । सीताले ५ खेलमा सर्वाधिक ६९, तीव्र गतिकी बलर कविता कुँवर ३४, काजोल श्रेष्ठ ३२, अप्सरी बेगम २७, कप्तान रुविना क्षेत्री बेलबासे र कविता जोशीले समान २४ तथा इन्दु बर्मा २३ र पुजा महतोले १२ रन बनाए ।

१० माथि अन्य खेलाडीले रन बनाउन सकेनन् । एक खेलमा बनाउनु पर्ने रन नेपाली ब्याटरले पुरा प्रतियोगिता खेल्दा बनाउन सकेनन् ।

बलिङतर्फ इन्दु बर्मा र पुजाले ६-६ विकेट लिए । कविता कुँवर ५, खुशी, कविता जोशी र रुविनाले ३-३ विकेट लिए । भुटानले दिएको ४० रनको झिनो लक्ष्य पूरा गर्न नेपालले ७ विकेट गुमाउनु पर्यो । सीताले पहिलो खेलमा मलेसियाविरुद्ध बनाएको ३८ रन नै एकै खेलमा नेपाली ब्याटरको उच्च रन रह्यो ।

सन् २००७ को पहिलो महिला अन्तर्राष्ट्रिय सहभागितामै नेपाल फाइनल पुग्दै बंगलादेशसँग हार्न पुगेको थियो । त्यो समय नेपाली महिला टोलीले पुरुषले भन्दा छिटो विश्वकप खेल्ने अनुमान गरिएको थियो । महिला क्रिकेट एकपछि अर्को गरि खस्किएको छ । एक समय नेपालले सहजै हराउने थाइल्यान्डले २०२० को विश्वकप खेल्दै विश्व क्रिकेटमा सानदार प्रदर्शन गर्दै आएको छ । नेपाल र थाइल्यान्डको स्तर अव तुलना गर्न मिल्दैन । नेपालका ती जित एकादेशका कथा जस्तै बनेका छन् ।

पछिल्लो समय त नेपाल मलेसिया, युएई र हङकङ हार्दै आएको छ । ब्याटिङ साह्रै दयनीय देखिएको छ । अव नेपालले भुटानसँग जित निकाल्न ठूलो संघर्ष गर्न थालेको छ । महिला क्रिकेट विकास होइन दुर्गति बढ्दो छ । क्यानको कमजोर लगानी, भद्रगोल ब्याटिङ लाइनअप, खराब कप्तानी, प्रशिक्षण, टिम म्यानेजमेन्ट, खेलाडी छनोटमा गल्ती र खेलाडीहरूले जिम्मेवारी नलिनु नेपाली महिला क्रिकेट खस्किनुको प्रमुख कारण हुन् ।

लगातार परिवर्तन ब्याटिङ लाइनअप

विश्वका सबै सफल टोली र विश्वकप विजेताहरू टोली हेर्ने हो भने ब्याटिङक्रम लामो समय देखी एकै हुन्छ । नेपालले ओपनर विन्दुलाई नवौँ नम्बरमा खेलाउने मुर्खता गर्यो । नवौँ नम्बरमा सामान्यतया बलर वा अलराउन्डर खेल्ने गर्दछन् । जसले छोटो र तर आक्रामक रुपमा रन जोड्न सकोस् ।

विन्दुको खेल्ने शैली ओपनर हो । नेपालबाट २३ महिला टि२० आई खेलमा ३ सय १८ बल खेल्दा २ सय १ रन बनाएकी छिन् । स्ट्राइक रेट ६३.०२ छ । यदि उनलाई टोलीमा खेलाउनु थियो भने ओपनरको रुपमा खेलाउनु पर्दथ्यो ।

बायाँ हाते ब्याटर हुँदा केहि समय लिएपछि अन्त्यतिर आक्रामक रन जोडन सक्थिन् । ओपनरलाई नवौँ वा तल्लोक्रममा खेलाएपछि प्रदर्शन नहुनुमा उनको गल्ती छैन ।

काजोल श्रेष्ठको टोलीमा पर्दा लगातार आलोचित हुँदै आएकी छिन् । उनले पाएको अवसरलाई न्याय पनि गर्न सकेकी छैनिन् । उनले खेलेका ब्याटिङ गरेका चार मध्य तीन इनिङमा शून्यमा आउट भएकी छिन् । तुलनात्मक रुपमा निकै कमजोर कतारविरुद्ध ३२ रन बनाएकी थिइन् ।

सीता घरेलु क्रिकेटमा पनि निरन्तर ओपनिङ गर्दै आएकी छिन् । नेपाली टोलीकी त उनी सर्वाधिक सफल खेलाडी हुन् । पहिलो पुस्ताकी खेलाडी भएकी सितालाई नेपालले हङकङसँग छैटौं, कुवेत र मलेसियासँग चौथो नम्बरमा खेलाएको थियो । विश्वकप छनोटमा मलेसियालाई हराउन ओपिनङ गर्दै प्लेयर अफ द म्याच जितेकी थिइन् ।

पुजा महतोलाई नेपालले ओपनिङ हुँदै मध्यक्रम र तेस्रो नम्बरमा खेलायो । यी दुबै भूमिकामा सफल हुन नसकेपछि तल्लोक्रममा खेलाउनु पर्यो । तेस्रो नम्बरकी ब्याटर इन्दु बर्माको स्थान पनि पक्का रहेन । त्यस्तै उदीयमान युवा ब्याटर सम्झना खड्का, कप्तान रुविना क्षेत्री बेलबासे लगायत कुनैपनि ब्याटरको स्थान रहेन ।

अलराउन्डर अप्सरी बेगम राम्रो क्षमता भएकी खेलाडी हुन् । लगातार टोलीमा परे पनि उनको भूमिका के हो उनैलाई थाहा छैन । खेलाडीले आफ्नो भूमिका नै थाहा पाउन सकेनन् । खेल अनुसार परिवर्तन हुने हुँदा खेलाडी नै अलमलमा परे ।

ब्याटिङक्रम अनुसार खेलाडीले योजना बनाएर खेल्नुपर्ने हुन्छ । खेलाडीहरुले त्यो योजना बनाउन नपाउँदा रन बनाउन सकेनन् ।विश्वकप छनोट जस्तो प्रतियोगितामा नेपालले गल्ली क्रिकेटमा जसरी ब्याटिङक्रम पठायो ।

वास्तवमा विश्वकप छनोटमा जुन ब्याटिङ क्रम खेलाउनु थियो त्यसैमा सिरिजमा खेलाएको भए नतिजा अर्कै थियो । हाम्रो लक्ष्य सिरिज नभएर ग्लोबल छनोट थियो । भद्रगोल ब्याटिङ क्रमको जिम्मेवार ब्याटर भन्दा पनि कप्तान, प्रशिक्षक र टिम म्यानेजमेन्ट लिनुपर्छ ।

टिम छनोटमा गल्ती

नेपालले अगष्ट १० मा मलेसिया जाने अन्तिम टोली राती सार्वजनिक गरेको थियो । टियुमा अर्कोदिन बिहानै अन्तिम १४ सदस्य प्रशिक्षण गर्दा नपर्नेले मुख्य प्रशिक्षक दीपेन्द्र चौधरीसँग जवाफ खोजेका थिए । त्यो अधिकार हरेक खेलाडीहरूसँग हुन्छ । दीपेन्द्रले त्यसको जवाफ दिनपनि सक्नुपर्छ ।

पछिल्ला तीन वर्ष घरेलु क्रिकेटमा हेर्ने हो भने ओपनर तथा विकेटकिपर ज्योति पाण्डे सर्वाधिक सफल ब्याटर मध्यकी एक हुन् । शीर्ष तीनमा उनी सधैँ पर्छिन् । विकेटकिपरमा त उनी धेरै अघि छन् । तर उनलाई छनौटकर्ताले विकेटकिपर कारण बाहिर राखे । प्रशिक्षणमा किपिङमा रुवि पोदार शीर्ष र काजोल दोस्रो नम्बरमा परेको जवाफ पाइन् । ज्योति तेस्रो र कन्चन श्रेष्ठ चौथो नम्बरमा परे ।

छनोटकर्ताले रन भन्दा पनि किपिङ हेरेको जवाफ दिए । तर शीर्ष नम्बरकी रुवि पोदारलाई नेपालले भुटानसँग मात्रै डेब्यू दियो । त्यसमा पनि ७ विकेट जादासम्म उनले ब्याटिङ पाइनन् । सिरिजमा एक खेल पनि अवसर रुवीले पाइनन् ।

रुवी पोदार

गम्भीर प्रश्न कहाँ छ भने यदि किपिङ मात्रै हेरेको भए रुविले किन सबै खेलमा खेल्ने मौका पाइनन् ? किपरबाट नेपाललाई रनको त आवश्यक थिएन । किपर मात्रै चाहिएको थियो ।

काजोल असफल हुँदा पनि रुविलाई मौका नदिनुले ज्योतिलाई बाहिर राख्ने बाहना मात्रै भएको स्पष्ट बुझिन्छ । त्यसको घाटा ट टोलीलाई नै लाग्यो ।

नेपाल एपिएफ क्लबबाट खेल्दै आएकी राजमती ऐरी घरेलु क्रिकेटमा ठूलो सम्भावना बोकेकी अलराउन्डर हुन् । उनलाई विकास गर्ने हो भने बिग म्याच विनर अलराउन्डर बन्न सक्ने खुबी छ । उनी शीर्षक्रम ब्याटिङसँगै तीव्र गतिमा बलिङ गर्ने गर्दछिन् । घरेलु क्रिकेटमा पनि प्रदर्शन राम्रो छ । तर उनी २४ जनाको प्रशिक्षणमा पनि परिनन् ।

अलराउन्डर पुजा महतो एउटा पनि घरेलु क्रिकेट नखेली सिधैं नेपाली टोलीमा परिन् । सिधै नेपाली टोलीमा मौका दिँदा उनले ब्याटिङमा राम्रो गर्न सकिनन् ।

पुजा महतो

बलिङ भन्दा पनि उनलाई नेपालले ब्याटिङ अलराउन्डरको रुपमा मौका दिएको दाबी गरेको थियो । तर उनी ओपनर, मध्यक्रम दुवैमा चल्न नसकेपछि तल्लोक्रममा खेल्नुपर्यो । तर दाबी गरेअनुसार प्रदर्शन देखाउन सकिनन् ।

टोलीमा नपरेका खेलाडीहरू पुजाको क्यानमा मान्छे हुँदा परेको आरोप समेत लगाएका थिए । उता चोटबाट पुनरागमन गर्ने तयारीमा रहेकी करुणा भण्डारीलाई भने क्यानले घरेलु क्रिकेट खेल्नु पर्ने जवाफ पाएको बुझिएको छ ।

ठूला प्रतियोगितामा अनुभवी खेलाडीको महत्व सधैँ हुन्छ । प्रदर्शन भन्दा अनुभव अघि हुन्छ । अनुभवी अलराउन्डर नेरी थापा पछिल्ला दुई घरेलु क्रिकेट प्रतियोगिता प्रदर्शन अनुसार सिनियर टोलीमा पर्ने दाबेदार थिइन् । तर उनलाई सीतासँग भूमिका तुलना गर्दै बाहिर राख्यो । त्यसैको कारण सीतालाई सिरिजमा नेपालले तल्लोक्रममा खेलाउने एउटा बाहना पनि देखाएको थियो ।

घरेलु क्रिकेट पनि ६ महिना अघि भएको हुँदा प्रदर्शन नहेर्ने सम्म जवाफ पाएको बताएकी थिइन् । घरेलु प्रतियोगिता अन्तिम पटक ६ महिना अघिनै भएको थियो । खेलाडीले नयाँ प्रदर्शन देखाउन घरेलु क्रिकेट पनि त हुन पर्यो ।

रोमा थापा नेपाली एक उत्कृष्ट युवा ब्याटर र फिल्डर हुन् । मध्यक्रममा उनी भरपर्दो ब्याटर बन्न सक्थिन् । तर उनी टोलीमा परिनन् । उनी टोलीमा नपर्नु कुनै कारण थिएन । अनुभव र प्रदर्शन दुबैको आधारमा पर्न सक्थिन् । तर कप्तान रुविनाले टोलीमा समेट्न चाहिनन् ।

त्यसको मुख्य कारण थियो उनी २०२१ मा कोशी प्रदेश छाड्दै एपिएफमा गएकी थिइन् । एपिएफ गएपछि उनले मौका पाउन सकेकी छैनन् । बरु टोलीले उनी भन्दा कमजोर प्रदर्शन गर्ने खेलाडीलाई मौका दिँदै आएको छ ।

यी मौका पाउन योग्यका केहि उदाहरण मात्रै हुन् ।

कप्तान र प्रशिक्षकमाथि प्रश्न

कुनैपनि टिम छनोट कप्तान, प्रशिक्षक र छनौटकर्ता बसेर गर्ने गरिन्छ । हरेक खेलाडीसँग आफू किन टोलीमा नपरेको सोध्ने अधिकार हुन्छ । जिम्मेवार ब्यक्तिले त्यसको जवाफ दिनु दायित्व हो । खेलाडीले जवाफ दिन बोलाउँदा कप्तान रुविना र मुख्य प्रशिक्षक स्यामसन जंग थापा पछि हटेका थिए । छनोटकर्ता दीपेन्द्र एक्लैले जवाफ दिनु परेको थियो ।

रुविनाले त्यसै दिन मिडियासँग आफूहरूलाई प्रशिक्षक र छनौटकर्ताले जस्तो टिम दियो त्यस्तै खेलाउने बताएकी थिइन् । भद्रगोल ब्याटिङ क्रम र टिम छनोट कप्तान र प्रशिक्षकले मिलाउनु पर्ने थियो । प्लेइङ ११ र ब्याटिङ क्रम उतार्न कप्तान र प्रशिक्षकको ठूलो हात हुन्छ । रुविनाले केहि खेलाडीलाई बढी फेबर र कसैले राम्रो गर्दा पनि मौका नदिएको आरोप समय समयमा लाग्ने गर्दछ ।

लगानी बिना प्रतिफलको आशा

नेपालले पहिलो पटक विदेशी प्रशिक्षकको रुपमा भारतीय देविका पाल्शिकरलाई नेपाल ल्यायो । उनी ब्याटिङ प्रशिक्षकको भूमिका निर्वाह गर्न आएकी थिइन् । ग्रासरुट देखिनै कमजोर ब्याटिङ सुधार गर्न एक महिना सम्भव थिएन । त्यसमा पनि वर्षायामको कारण इन्डोरमा मात्रै खेलाडीको प्रदर्शन हेर्नु पर्यो ।

पुरुष टोलीलाई जस्तै विश्वस्तरीय महिला प्रशिक्षक आवश्यक छ । क्यानलाई बजेट छैन भन्ने अव छुट छैन । आइसिसीको अनुदान मात्रै नभएर अव आफ्नै आर्थिक अवस्था सुधार गर्नुपर्छ । काम गर्न नसक्ने पदाधिकारी र कर्मचारीले नैतिकताको आधारमा छाड्नुपर्छ । अव बाहना बनाउने ठाउँ छैन ।

मेयर्स कप बाहेक अन्य प्रतियोगिता काठमाडौं बाहिर हुन्छ । काठमाडौं बाहिरको मैदान राष्ट्रिय प्रतियोगिता गर्न मिल्ने विरलै छन् । एक दुईवटा प्रदेश टोली र एपिएफ बाहेक अन्य टिमबीच प्रतिस्पर्धा हुँदैछ । घरेलु प्रतियोगितामा सीता, रुविना, ज्योति, नेरी लगायतका पहिलो पुस्ताका खेलाडीनै हाबी हुँदै आएका छन् ।

नयाँ खेलाडीले प्रदर्शन नै गर्न सकेका छैनन् । प्रमुख केही खेलाडी नहुने हो भने झनै बिजोक हुने देखिन्छ । किनभने उनीहरुलाई प्रतिस्थापन गर्ने खेलाडी तयार भएका छैनन् । त्यसैले सीता र रुविना जस्ता अनुभवी खेलाडी अझै लामो समय सम्म नेपाली टोलीमा खेल्न आवश्यक देखिन्छ । तयार नहुनु भनेको क्यानले काम नगर्नु हो । क्यानमा क्रिकेट विकास गर्ने सोच भएका निकै कम पदाधिकारी छन् ।

सामाजिक सञ्जालमा जय क्रिकेट भन्न भन्दापनि ग्रासरुट विकासमा ध्यान दिन आवश्यक छ । सफलतामा बधाई दिन भन्दा पनि सफलता दिलाउन सक्ने बनाउन आवश्यक छ ।

क्यानले महिला क्रिकेटमा लगानी गर्न कन्जुसाई गर्दै आएको छ । प्रतियोगिता एक महिना अघि मात्रै तयारी गर्ने गर्दछ । जुन तयारी पर्याप्त छैन ।

क्यानले ग्रेडिङ संख्या घटाएर २४, १८ हुँदै १२ पुर्याएको छ । एक वर्षभन्दा बढी नेपाली टोली अन्तर्राष्ट्रिय खेल विहीन बनेर बसेको थियो । महिला क्रिकेट विकास गर्न क्यानले लगातार अन्तर्राष्ट्रिय स्तरमा खेलको अनुभव दिनुपर्ने थियो ।

खेलाडीहरुले अवसर नबुभ्नु र जिम्मेवारी नलिनु

नेपाली महिला क्रिकेटमा अन्तर्राष्ट्रिय खेल दशै तिहार जस्तै हो । वर्षमा एकदुई वटा आउँछ । त्यसलाई सदुपयोग गर्न सक्नुपर्छ । खेलाडीहरूले आफ्नो सबै समस्या र कमजोरी भुलेर अवसर सदुपयोग गर्न सक्नुपर्छ । यस प्रतियोगिताबाट ग्लोबलमा पुग्न सकेको भए थप खेलहरु खेल्न पाउथेँ । त्यो अघि अभ्यास खेलहरू हुन्थे ।

क्रिकेट भनेको एक बल र ब्याटको खेल हो । विपक्ष र कुन खेलाडी भनेर हेरिँदैन । जहाँ मौका पाइन्छ त्यहाँ चौका हान्नुपर्छ । मौकामा चौका हान्नुको सट्टा डट खेलेपछि कुनैपनि ब्याटरले ठूलो इनिङ खेल्न सक्दैन ।

यस्ता अवसर सदुपयोग गर्न नसके थप अवसर पाउन कठिन हुन्छ । युवा खेलाडी भन्दा पनि प्रमुख खेलाडीले खेलमा अतिरिक्त जिम्मेवारी लिन आवश्यक देखिन्छ ।

विदेश पलायन बढ्दै

सुमन खतिवडा वर्तमान समयकी नेपाली क्रिकेटले पाएको सबैभन्दा उत्कृष्ट ब्याटिङ अलराउन्डर हुन् । उनको जस्तो आक्रामक ब्याटिङ शैली खुबी भएको खेलाडी विरलै छन् । तर लगातार मौका नपाएपछि उनले क्रिकेट छाडेर अष्ट्रेलिया जाने निर्णय लिएकी थिइन् ।

तर लगातार मौका नपाएपछि उनले क्रिकेट छाडेर अष्ट्रेलिया जाने निर्णय लिएकी थिइन् । राम्रो खेल्दा र गर्दा पनि मौका पाइदैन भने त्यो निराशा स्वभाविक थियो । सायद समुन जस्तो प्रतिभा पाउन नेपालले दश भन्दा बढी समय कुनुपर्छ ।

विस्फोटक ब्याटरको पहिचान बनाएकी डली भट्ट अष्ट्रेलिया पुगिसकेकी छिन् । खुलेर ठूला सट र छक्का प्रहार गर्न सक्ने खुबी भएका दुबै खेलाडीले क्रिकेट छाड्ने निर्णय लिए । त्यसको असर भुटानविरुद्ध ४० रन पछ्याउँदा ७ विकेट राम्रो उदाहरण हो ।

ब्याटिङमा आशा बोकेकी बागमतीकी विन्दा कटवाल जापान लागिसकेकी छिन् । केही ठूलो सम्भावना बोकेका खेलाडीहरू पनि जापान जाने तयारीमा छन् । लगातार खराब प्रदर्शन र राम्रो गर्दा मौका नपाउँदाको निराशाको कारण विदेश पलायन बढ्दैछ ।

अव के ?

क्यानले महिला क्रिकेटमा लगानी बढाउनुपर्छ ।

प्रदेश र जिल्ला क्रिकेटलाई लगातार व्यस्त राख्न सक्नुपर्छ । लगातार बलियो टोलीसँग सिरिज खेलाउनुपर्छ । घरेलु क्रिकेट, क्लब, स्कुल र एकेडेमीमा प्राथमिकतामा राख्नुपर्छ ।

हाम्रो भन्दा राम्रो खेलाडीलाई मौका दिनुपर्छ । खेलाडीले पनि अतिरिक्त जिम्मेवारी लिएर खेल्न आवश्यक देखिन्छ । कप्तानले टिमलाई एक बनाएर अघि लान सक्नुपर्छ । अन्यथा लगातार खराब प्रदर्शन गर्दै गएमा नेपाली महिला क्रिकेट नै विस्तारै समाप्त नहोला भन्न सकिदैन ।

April 28, 2024

राजस्थानको लखनऊविरुद्ध सहज जित

एजेन्सी – जारी इंडियन प्रिमियर लिग (आईपिएल) को शीर्ष स्थानमा रहेको राजस्थान रोयल्सले अंकदूरी बढाएको छ । नवौं खेलमा आठौ जित दर्ता गर्ने क्रममा राजस्थानले लखनऊ सुपर जाएन्ट्स माथि ७ विकेटको सहज जित दर्ता गरेको हो । लखनऊले दिएको १९७ रनको लक्ष्य पछ्याएको राजस्थानले ६ बल बाँकी छँदै लक्ष्य ३ विकेट मात्र गुमाएर भेटायो । […]

April 27, 2024

रोहितको शतकसँगै केल्मीको विश्वकप जर्सीमा विशेष अफर

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ए विरुद्ध टि२० सिरिजको पहिलो खेलमा नेपाललाई जित दिलाउन कप्तान रोहित कुमार पौडेलले शतक प्रहार गरे । नेपालको राष्ट्रिय क्रिकेट टोलीको किट निर्माणकर्ता केल्मीले रोहितको शतकको अवसरमा समर्थकहरुलाई विशेष अफर ल्याएको छ । रोहितले १ सय १२ रनको सानदार इनिङ खेलेपछि केल्मीले विश्वकप जर्सीको प्रि-अर्डरमा १ सय १२ रुपैयाँ […]

April 27, 2024

दिल्लीद्वारा मुम्बई पराजित

एजेन्सी – रनको भारी वर्षा भएको इंडियन प्रिमियर लिग (आईपिएल) अन्तर्गतको खेलमा दिल्ली क्यापिटल्सले मुम्बई इण्डियन्स माथि जित दर्ता गरेको छ । घरेलु मैदानमा भएको खेलमा दिल्लीले १० रनको जित निकालेको हो । दिल्लीले दिएको २५८ रनको विशाल लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा ९ विकेट गुमाएर २४७ रन मात्र बनाउन सक्यो । मुम्बईका लागि तिलक […]

Success

Thank you for your time.