default_image

11 months ago

September 14, 2023

क्रिकेटमा छिमेकी भारतबाट फाइदा लिन नसकेको नेपाल

2454 views

0 Bookmark

भुपेन्द्र जि.सी.काठमाडौं

नेदरल्यान्ड्सले गत जुलाईमा आइसिसी एकदिवसीय विश्वकप छनोटमा सानदार प्रदर्शनका साथ भारतमा अर्को महिना हुने विश्वकपमा स्थान बनायो । छनोट अघि नेदरल्यान्ड्सले विश्वकप खेल्छ भनेर कल्पना गर्ने विरलै थिए । किनभने टेस्ट टोली वेस्टइन्डिज, जिम्बावे, आयरल्यान्ड र श्रीलंका मध्य दुई टोलीले खेल्ने धेरैको अनुमान थियो ।

अर्कोतर्फ काउन्टी अर्थात इंग्ल्यान्डको शीर्ष घरेलु क्रिकेट प्रतियोगिता खेल्ने क्लबहरुले नेदरल्यान्ड्सका प्रमुख खेलाडीहरु छाडेका थिएनन् । त्यसैले नेदरल्यान्ड्स आफ्नो नियमित प्लेइङ–११ का ८ खेलाडी बिना नै विश्वकप छनोटमा खेल्न आउँदा कमजोर बन्नसक्ने अनुमान गरिएको थियो ।

तर सबैको अनुमान गलत सावित गर्दै नेदरल्यान्ड्सले तीन टेस्ट टोलीलाई पछि छाड्दै विश्वकपको टिकट काट्यो । समूह चरणमा दुई पटकको विश्वकप विजेता वेस्टइन्डिजले प्रस्तुत गरेको ३ सय ७५ रनको विशाल विजयी लक्ष्य पछ्याउनेक्रममा खेललाई टाई गराउँदै सुपर ओभरमा धकेलेको थियो । सुपर ओभरमा लोगन भान बीकले जेसन होल्डरलाई ३० रन प्रहार गर्दै जित दिलाए ।

आफ्ना प्रमुख ८ खेलाडी नभएपनि नेदरल्यान्ड्स विश्वकपमा पुग्नुको मुख्य कारण छिमेकी टोली इंग्ल्यान्डमा लगातार घरेलु क्रिकेट खेल्नु र राम्रो ब्याकअप तयार पार्नु हो । काउन्टी, अन्य इंग्लिस घरेलु प्रतियोगिता र विश्वका विभिन्न फ्रेन्चाइज लिग निरन्तर खेल्ने हुँदा प्रमुख खेलाडी बिना नै नेदरल्यान्ड्सले अद्भूत प्रदर्शन गर्यो ।

बास डि लिड

दुई अलराउन्डर बास डि लिड र लोगन भान बीक नेदरल्यान्ड्सको हिरो बने । लिड र बीक दुबै नियमित विदेशी लिग खेल्ने डच खेलाडीमा पर्दछन् । काउन्टीबाट फुकुवा हुने लिड एकमात्र भाग्यशाली डच खेलाडी थिए ।

विश्वकपमा पुग्न सुपर सिक्सको निर्णायक खेलमा स्कटल्यान्डविरुद्ध लिडले शतक र पाँच विकेट लिएका थिए । काउन्टीमा इंग्ल्यान्डका सुपर स्टारविरुद्ध खेलेको अनुभव र आत्माविश्वासले उनले सानदार प्रदर्शन गरे ।

गतवर्ष टि२० विश्वकपमा नेदरल्यान्ड्सले दक्षिण अफ्रिकालाई स्तब्ध पार्दै पाकिस्तानलाई सेमिफाइनलमा पुग्न ठूलो गुन लगाएको थियो । सुपर १२ मा जिम्बावे पनि डच टोलीसँग हार्न पुगेको थियो ।

नेदरल्यान्ड्सले छिमेकी इंग्ल्यान्डको भरपूर फाइदा उठाएको छ । त्यसैले एसोसिएको शीर्ष टोली बन्दै टेस्ट टोलीलाई गतिलो चुनौती दिँदै आएको छ ।

स्कटल्यान्डका खेलाडीले पनि इंग्ल्यान्डमा खेल्दै आएका छन् । स्कटल्यान्डले इंग्ल्यान्ड, बंगलादेश, वेस्टइन्डिज, आयरल्यान्ड लगायतका टेस्ट टोलीलाई स्तब्ध पारिसकेको छ । अबको टेस्ट मान्यता पाउने प्रमुख दाबेदार टोलीमा स्कटल्यान्ड र नेदरल्यान्ड्स पर्दछन् ।

नामिबियाले दक्षिण अफ्रिकाको राष्ट्रिय घरेलु क्रिकेट प्रतियोगिता नियमित खेल्छ । त्यसैले विश्व क्रिकेटमा उच्च प्रदर्शन गर्दै आएको छ । गतवर्ष टि२० विश्वकपमा समूह चरणमै श्रीलंकालाई नामिबियाले हराएको थियो । आफ्ना छिमेकी टोलीबाट फाइदा उठाउने एसोसिएट टोली विस्तारै विश्व क्रिकेटमा हाबी हुन थालेका छन् ।

नेपालसँग पनि विश्व क्रिकेटको पावर हाउस भारत सबैभन्दा नजिकको छिमेकी टोली हो । तर नेपालको लागि ‘कागलाई बेल पाक्यो हर्ष न बिस्मात’ भने जस्तै छ । भारत विश्व क्रिकेटको महाशक्ति भएपनि हालसम्म सबैभन्दा नजिकको छिमेकीबाट नेपालले त्यो लाभ लिन सकेको छैन ।

नेपाल र भारतबीच भौगलिक दुरी मात्रै कम छैन । आत्मियता, आर्थिक, सामाजिक, भौगलिक, हरेक कुराले धेरै नजिक छन् । भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) विश्वकै सबैभन्दा धनी क्रिकेट बोर्डमा पर्दछ । इन्डियन प्रिमियर लिग (आइपिएल) विश्वकै सर्वाधिक लोकप्रिय र धनी फ्रेन्चाइज लिग हो । तर क्रिकेटमा भने कुनै किसिमको औपचारिक सम्बन्ध छैन ।

अफगानिस्तानले विश्व क्रिकेटमा फड्को मार्नुमा भारतको सहयोग ठूलो छ । भारतको लखनऊको एकआना रंगशालालाई अफगानिस्तानले घरेलु मैदान गराउँदै आएको छ । भारतमा विश्वस्तरिय क्रिकेट रंगशाला गल्लीगल्लीमा छन् । भारतमा गल्ली गल्लीमा स्तरिय क्रिकेट प्रतियोगिता हुनछन् ।

रणजी ट्रफी (प्रथम श्रेणी), विजय हजारे ट्रफी (५० ओभर), शैद मुश्ताक ट्रफी (टि२०) प्रमुख घरेलु प्रतियोगिता हुन् । इरानी कप, दुलिप ट्रफी, देवधर लगायत थुप्रै प्रतियोगिता हुन्छन् ।

प्रदेश र शहर केन्द्रित सयौं स्तरिय घरेलु क्रिकेट हुन्छन् । प्रदेश स्तरिय प्रतियोगिता नियमित खेल्न पाएमात्रै नेपाली खेलाडीले चाँडै विश्व क्रिकेट बजारमा फड्को मार्न सक्छन् ।

नेपाली खेलाडीहरुले वर्षभरी कमाउने पैसा भारतको एउटा घरेलु क्रिकेट खेलेर कमाउन सक्छन् । नेपाली खेलाडीको ए ग्रडमा पर्नेको वार्षिक तलब ७ लाख हुन्छ ।

रणजीमा ए ग्रेडको खेलाडीले एक खेलको म्याच फि मात्रै ४ लाख नेपाली रुपैयाँ पाउने गर्दछ । अन्य त तुलना नै नगरौं । आकाश र पातलको फरक छ ।

अन्य देशको तुलनामा भारतमा प्रशिक्षण क्याम्प गर्दा स्तरीयसँगै आर्थिक रुपमा सस्तो पनि छ । अन्य देशमा जस्तो महँगो हवाइ यात्रा तिनु पर्दैन । खाना र बस्न पनि अन्य देशको तुलनामा धेरै सस्तो पर्न आउँछ ।

पाकिस्तान, बंगलादेश, अफगानिस्तान र श्रीलंका दक्षिण एसियाका नेपालका नजिकका छिमेकी टोली हुन् । उनीहरु पनि क्रिकेटका उत्कृष्ट टोलीमा पर्दछन् । तर आर्थिक र सामाजिक रुपले भारत भन्दा अलि टाढा छन् ।

तर पहल गर्ने कसले ?

भनिन्छ क्रिकेटमा असम्भव केहि हुँदैन । नेपालले भारतमा गएर घरेलु क्रिकेट खेल्न तत्काल कठिन देखिन्छ । तर राम्रोसँग समन्वय गर्ने हो भने मुश्किल छैन । नेपाल क्रिकेट संघ (क्यान) हालसम्म यो स्तरमा सोच्ने नेतृत्व र कर्माचारी आएको छैनन् ।

क्यानको पहलले मात्रै पूरा नहुन सक्छ । विश्व र आइसिसीलाई नटेर्ने बिसिसिआईले क्यानको कुरा सजिलै सुन्ने छैन । हाल नेतृत्वमा त्यहाँ सम्म पुग्ने पहुँच भएको पदाधिकारी र कर्माचारी पनि देखिदैन ।

तर प्रधानमन्त्री वा राष्ट्रपतिले भारतको घरेलु क्रिकेट प्रतियोगितामा नेपाली खेलाडी राख्ने प्रस्ताव त्यहाँका राजनीतिक प्रमुख र बिसिसिआईलाई गर्न सके सम्भव छ । राजनीतिक दबाबकै कारण भारत पाकिस्तानमा क्रिकेट खेल्न जादैन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पहलमा अहमदाबादमा विश्वकै सबैभन्दा बढी दर्शक अट्ने क्रिकेट रंगशाला बनेको छ ।

भारतीय क्रिकेट त्यहाँको राजनीतिबाट प्रभावित हुने गर्दछ । भारत र चीनको युद्द हुँदा चिनियाँ कम्पनी ओपोको मुख्य प्रायोजन आइपिएलबाट बिसिसिआईले हटाएको थियो ।

भारतको घरेलु क्रिकेट ३८ टोलीले खेल्ने गर्दछन् । हरेक टोलीमा एक वा दुई खेलाडी राख्ने व्यवस्था मिलाउने हो भने नेपालका प्रमुख खेलाडीले त्यो अवसर पाउँछन् । खेल्न नपाएपनि रणजी टोलीसँगै बसेर प्रशिक्षण गर्ने व्यवस्था पाएपनि धेरै ठूलो फड्को मार्छ । रणजीमा भारतीय प्रमुख खेलाडी मात्रै होइनन्, क्रिकेट रंगशाला, प्रशिक्षक र म्यानेजमेन्ट टोली पनि त्यतिनै उत्कृष्ट हुन्छ । जहाँबाट भारत ए र आइपिएल खेल्ने खेलाडी तयार हुन्छन् ।

नेपालमा हेर्ने हो भने सिनियर खेल्ने अधिकांश खेलाडी भारतीय क्रिकेट संस्कारबाट हुर्किर आएका छन् । वर्तमान समयमा सोमपाल कामी, करण केसी, रोहित पौडेल, सन्दीप लामिछाने, अर्जुन साउद लगायतका खेलाडीको बाल्यकाल भारतमै बितेको हो ।

क्यानले एक महिनाको लागि कमलसिंह ऐरी, लोकेश बम, सागर ढकाल, विनोद भण्डारी, कमल खत्री र विवेक खत्रीलाई अघिल्लो महिना भारतमा प्रशिक्षण गर्न पठाएको थियो । नेपालको ब्याटिङको भविष्य मानिएका अर्जुन कुमाल भारतमा नियमित प्रशिक्षण गरेर प्रतियोगिता खेल्न मात्रै नेपाल आउँछन् ।

पछिल्लो समय आफ्नै खर्चमा भारतमा गएर सिक्ने थुप्रै युवाको भिड छ । आफ्नो खर्च भन्दापनि सरकारी निकायबाट त्यो पहल हुनुपर्ने थियो । युवा खेलाडी, उमेर समूहको टोली, महिला खेलाडी, घरेलु टोली हेर्ने प्रशिक्षक, अम्पायर, रेफ्री, स्कोर लगायतका प्राविधिकहरुलाई पनि भारतमा लगेर राम्रो प्रशिक्षण दिन सकिन्छ ।

अम्पायरको लागि विशेष प्रशिक्षण अतिनै आवश्यक छ । घरेलु क्रिकेटमा अम्पायरको गलत निर्णयका कारण खेलाडी मारमा पर्दै आएका छन् ।

अभ्यासको लागि भारतमा कुनै रंगशाला केहि समयको लागि माग्न पनि सक्छ । भारतले त नेपाललाई यस्तो प्रस्ताव कहिल्यै गर्ने छैन । विश्व क्रिकेटमा कसरी राज गर्ने उदेश्य लिएका उनीहरुलाई नेपालको बारे सोच्ने फुर्सद हुँदैन । किनभने पहल र प्रस्ताव जहिल्यै सानो टोलीले नै गर्नुपर्छ ।

एसिया कपमा नेपालले भारतविरुद्ध उत्कृष्ट प्रदर्शन गरेको थियो । नेपाली खेलाडीले क्षमताको हिसाबले आफूहरुमा कुनै कमी नभएको पुन प्रमाणित गरे । कमी अनुभवको थियो । त्यो अनुभव क्यान र सरकार मिलेर गर्न सक्नुपर्छ ।

जसरी नेदरल्यान्ड्स, स्कटल्यान्ड र नामिबियाले छिमेकी टोलीबाट फाइदा उठाएका छन् त्यसरी नै नेपालले भारतबाट लाभ लिन सक्नुपर्छ । खरबौं पैसा भएको बिसिसिआईलाई नेपाललाई सहयोग गर्न करोड दिन कुनै कठिन पनि छैन । आइपिएलको प्रशिक्षण, नेट बलर र बेन्चमा राख्न पनि पहल गर्नुपर्छ ।

२०२१ मा कोरोनाको कारण आइपिएल हुँदा युएईले आइपिएलमा आफ्ना बलरलाई नेट बलरको रुपमा राखेको थियो । त्यसैको प्रभावले उनीहरुले विश्वकप छनोटमा सानदार प्रदर्शन गरे ।

क्यान र राजनीतिमा क्रिकेट बुझेको सहि नेतृत्व हुने हो भने नेपालले भारतीय क्रिकेटबाट लिनसक्ने लाभहरु धेरै छन् । अब भने ति लाभ लिन चुक्नु हुँदैन । जति ढिलो गर्छ त्यतिनै नेपाललाई घाटा हुने देखिन्छ । सफलतामा वाहवाही गर्ने देशका प्रमुख राजनीतिज्ञले यस कुरामा विशेष ध्यान दिन आवश्यक छ ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.