default_image

7 months ago

October 27, 2023

नेपालमाथि रोमान्चक जितसँगै युएईलाई उपाधि

4208 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – युएईले त्रिकोणात्मक टि२० आई सिरिजको फाइनल खेलमा घरेलु टोली नेपाललाई चार विकेटले हराउँदै उपाधि जितेको छ । जितको लागि १ सय ६३ रनको विजयी लक्ष्य पछ्याएको युएईले १९.५ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । युएईको जितमा बासिल हामिद १६ बलमा २ छक्कासहित २२ रनमा आउट भए ।

युएईका मोहम्मद वासिम २२ बलमा ७ चौका र २ छक्कासहित ४५ रनमा आउट भए । युएईलाई ओपनर वासिम र अर्यांश शर्माले ६.४ ओभरमा ७१ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए ।

युएईलाई जितको लागि अन्तिम ६ बलमा ७ रन चाहिँएको थियो । पहिलो बलमा करण केसीलाई बासिल हामिदले कभरमा दुई रन प्रहार गरेका थिए । दोस्रो बल डट राखेपछि चार बलमा पाँच रन चाहिँएको थियो ।

तेस्रो बलमा एक दिँदा लगत्तै वाइड फ्याँले । चौथो बलमा आयनले एक रन बटुले । दुई बलमा दुई रन चाहिँएको थियो । पाँचौं बलमा स्टेटमा बासिलले छक्का हान्दै रोमान्चक जित दिलाए ।

त्यसअघि वासिमले दुई महत्वपूर्ण जीवनदान पाएका थिए । करण केसीको तेस्रो ओभरको चौथो बलमा प्वाइन्टमा कुशल मल्लले मोहम्मद वासिमको ब्यक्तिगत २३ रनमा क्याच छाड्न पुगेका थिए । ललितको चौथो ओभरको पाँचौं बलमा पुनः ३४ रनमा वासिमले दुई जीवनदान पाएका थिए । ललित कट एण्ड बोल्ड आउट गर्न चुकेका थिए ।

युएईले पहिलो ओभरमा १७ रन जोड्दै ड्रिम सुरुवात गरेको थियो । तीव्र गतिका बलर सोमपाल कामीले पहिलो बल गर्नेक्रममा खुट्टाले स्टम्प लागेपछि नो बल भएको थियो । त्यसपछि मोहम्मद वासिमले छक्का र दुई लगातार चौका हान्दै राम्रो सुरुवात दिलाएका थिए ।

वासिमलाई तीव्र गतिका बलर गुलशन झाले सातौं ओभरको चौथो बलमा बोल्ड आउट गर्दै नेपाललाई पहिलो पहिलो सफलता दिलाएका थिए । अर्का ओपनर अर्यांश शर्माले २६ बलमा २ चौकासहित २५ रन बनाए । उनी कुशल मल्लको बलमा सन्दीप जोराबाट क्याच आउट भएका थिए ।

आसिफ खान गुलशन झाको ११ औं ओभरको पाँचौं बलमा थर्डमा अभिनाश बोहराबाट ७ रनमा क्याच गराए । एलिशान शराफु १३ बलमा २ चौकासहित १३ रनमा आउट भए । उनी अभिनाश बोहराको १५ औं ओभरको तेस्रो बलमा लङअनमा कुशल भुर्तेलबाट क्याच आउट भए ।

१६ औं ओभरको चौथो बलमा दीपेन्द्रसिंह ऐरीले वृत्य अरविन्दलाई २५ रनमा डाइरेक्ट थ्रोमा रन आउट गरेपछि नेपालको जितको सम्भावना थियो ।

नेपालका अभिनाश बोहराले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिए । गुलशन झाले ३ ओभरमा १९ रन खर्चेर २ विकेट लिए । कुशल मल्लले ३ ओभरमा १६ रन खर्चेर १ विकेट लिए ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ६२ रन बनाएको थियो । नेपालका लागि ओपनर कुशल भुर्तेलले २९ बलमा ६ चौका र ३ छक्कासहित सर्वाधिक ५० रनको योगदान दिएका थिए । उनको यो टि२० आई करिअरको छैटौं अर्धशतक हो ।

नेपाललाई ओपनर आसिफ शेख र कुशल भुर्तेलले ५ ओभरमा ४३ रन जोड्दै राम्रो सुरुवात दिलाएका थिए । स्पिनर आयन खानले पाँचौं ओभरको अन्तिम बलमा आसिफ शेखलाई ७ रनमा बोल्ड आउट गर्दै युएईलाई पहिलो सफलता दिलाएका थिए । आयनले सातौं ओभरको चौथो बलमा कुशल मल्ललाई एक रनमा बोल्ड आउट गरे ।

तीव्र गतिका बलर जहुर खानको आठौं ओभरको तेस्रो बलमा कुशल भुर्तेल बोल्ड आउट भएका हुन् । १३ औं ओभरको पहिलो बलमा कप्तान रोहित पौडेल प्याडल सर्ट खेल्ने धुनमा विकेटकिपर अर्यांश शर्माबाट क्याच आउट भएका थिए ।

रोहितले १७ बलमा १ चौकासहित १८ रन बनाए । तीन बलपछि दीपेन्द्रसिंह ऐरी २० रनमा बोल्ड आउट भए । दीपेन्द्रले १५ बलमा १ चौका र १ छक्का प्रहार गरे । इनस्वींग बल चाल पाउन नसक्दा दीपेन्द्र बोल्ड आउट भएका थिए ।

जहुर खानको १६ औं ओभरको पहिलो बलमा चोभार एन्डमा लङअनमा सर्ट खेल्न खोजेका सन्दीप जोरा मिडअनमा मोहम्मद वासिमबाट १० रनमा क्याच आउट भए । आयनले सोमपाल कामीलाई १३ रनमा बोल्ड आउट गरे ।

तल्लोक्रममा करण केसी १७ बलमा २ चौका र १ छक्कासहित २३ रनमा नट आउट रहे । अन्तिम ओभरमा जहुर खानले करणलाई लगातार पाँच बल डट राख्दा अन्तिम बलमा दुई रन दिएका थिए । अन्तिम ६० बलमा नेपालले ६७ रन बनाउँदा ५ विकेट गुमाएपछि विशाल योगफलमा पुग्न सकेको थिएन ।

युएईका आयन खानले ४ ओभरमा १६ रन खर्चेर ३ विकेट लिए । अली नासिरले ४ ओभरमा ३६ रन खर्चेर २ विकेट लिए । जहुर खानले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिए । जुनैद सिद्दिकले ४ ओभरमा ४४ रन खर्चेर १ विकेट लिए । नेपालले त्रिकोणात्मक टि२० आई सिरिजको लिगका चारै खेल जितेको थियो ।

अव सोमबार देखी आइसिसी टि२० विश्वकप एसिया क्षेत्र छनोट सुरु हुनेछ । समूह ए मा नेपाल, ओमान, सिंगापुर र मलेसिया छन् । समूह बी मा हङकङ, युएई, बहराइन र कवेत छन् । फाइनल पुग्ने दुई टोली २०२४ मा हुने टि२० विश्वकप खेल्न पाउनेछन् ।

May 19, 2024

पञ्जाबलाई हराउँदै हैदराबाद दोस्रो स्थानमा

एजेन्सी – लिग चरणको आफ्नो अन्तिम खेलमा जित दर्ता गर्दै सनराईजर्स हैदराबाद इंडियन प्रिमियर लिग (आईपिएल) को तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । पञ्जाब विरुद्ध ४ विकेटको जित दर्ता गर्दै हैदराबाद दोस्रो स्थानमा उक्लिएको हो । पञ्जाबले दिएको २१५ रनको विशाल लक्ष्य हैदराबादले ५ बल बाँकी छँदा ६ विकेट गुमाएर भेटायो । हैदराबादका लागि अभिषेक […]

May 19, 2024

नेपाली टोली तेस्रो अभ्यास खेलमा पराजित

एजेन्सी – टि ट्वान्टी विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली क्रिकेट टोली तेस्रो खेलमा शनिबार पराजित भएको छ। सुरुवाती २ खेलमा विजयी हुँदै श्रृंखला जितिसकेको नेपालले विनवार्ड्स भोलक्यानोजसँगको‌ तेस्रो खेलमा ७४ रनको हार बेहोरेको हो । २ सय ६ रनको लक्ष्य पछ्याएको नेपालले १७.२ ओभरमा अलआउट हुँदै जम्मा १ रनमा ३८ रन सिमित भयो […]

May 19, 2024

चेन्नाईलाई हराउँदै आरसीबी प्लेअफमा

एजेन्सी – चेन्नाई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेनजर्स बेंगलूरु (आरसीबी) इंडियन प्रिमियर लिग (आईपिएल) को प्लेअफमा पुग्न सफल भएको छ । लिग चरणको आफ्नो अन्तिम खेलमा शनिबार चेन्नाई माथि २७ रनको जित दर्ता गर्दै आरसीबी प्लेअफका लागि छनोट भएको हो । पहिलो ८ खेलमा १ खेल मात्र जितेको आरसीबीले त्यसपछिका लगातार ६ खेल जित्दै […]

Success

Thank you for your time.