default_image

2 years ago

December 31, 2023

सन्दीपले अब नेपालबाट खेल्न नपाउने

11972 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले अब नेपालको राष्ट्रिय टोलीबाट खेल्न नपाउने भएका छन् ।

जिल्ला अदालत काठमाडौंले शुक्रबार सन्दीपलाई एक युवतीलाई बलात्कार गरेको मुद्दामा दोषी ठहर गरेसँगै उनले नेपाली टोलीबाट खेल्न नपाउने नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले बताए ।

‘सन्दीप अब नेपालको टोलीमा हुँदैनन् । अर्को कुनै आदेश नहुँदासम्म उनी नेपाली टोलीमा हुने छैनन् । यदि अर्को आदेशबाट सफाइ पाएको खण्डमा उनी नेपाली टोलीमा हुनेछन् । अन्यथा उनले नेपालको जर्सीबाट खेल्न पाउँने छैनन्,’ क्यानका अध्यक्ष चन्दले हाम्रो खेलकुदसँग भने ।

‘राष्ट्रिय जर्सीमा खेलाउन अब मिलेन । उनले अरु कुरा पाउँछन् । अभ्यास पनि गर्न पाउँछन् । यो हामीसँग सम्बन्धी मुद्दा पनि होइन , उनले थपे,’ यदि म्याच फिक्सिङ वा स्पट भएको भए कुनैपनि प्रतियोगिता खेल्न पाउने थिएन । अरु खेल्ने वा नखेल्ने उसको कुरा हो । तर नेपालको जर्सीबाट पाउँदैनन् ।’

गतवर्ष भदौ ५ गते काठमाडौंको एक होटलमा लगेर युवतीलाई बलात्कार गरेको आरोप सन्दीपमाथि लागेको थियो । भदौ २१ गते युवतीले सन्दीपले आफूलाई पटक पटक बलात्कार गरेको भन्दै प्रहरी वृत गौशालामा किटानी जाहेरी दिएकी थिइन्।

सन्दीपलाई गत वर्ष पुष २८ गते उच्च अदालत पाटनले काठमाडौं जिल्ला अदालतको आदेश बदर गर्दै २० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो । उक्त मुद्दा लाग्दा सन्दीप क्यारेवियन प्रिमियर लिग खेल्न वेस्टइन्डिज पुगेका थिए । उक्त मुद्दासँगै सन्दीपलाई क्यानले कप्तानबाट पनि हटाएको थियो ।

गत फागुन देखि सन्दीपले नेपाली टोलीबाट खेल्दै आएका थिए । उनीको जिल्ला अदालत काठमाडौंमा लगातार बहस र पेशी चल्दै आएको थियो । पेशी लगातार सर्दै आएको थियो । सन्दीपले ९९ दिन काठमाडौंको सुन्धारामा रहेको जेलमा जीवन बताउनु परेको थियो ।

पाटनले धरौटीमा छाड्न आदेश दिएपछि उनी नेपाली टोलीमा फर्किएका थिए । सन्दीपलाई यहि मुद्दाको कारण विदेश यात्रा भने केहि झन्झट भएको थियो । जिल्ला अदालत काठमाडौंले उनलाई दोषी ठहर गरेसँगै शनिबार वीरगन्जको नारायणी रंगशालामा प्रो क्लब च्याम्पियनसिप फाइनल पनि खेलेनन् ।

सन्दीप कति वर्ष जेल जानुपर्ने सजायको टुङ्गो भने पुष २५ गते लाग्नेछ । सन्दीप ६ देखी १० वर्ष जेल जानसक्ने सम्भावना छ । यस्तो अवस्थामा १० वर्षभन्दा कम सजाय तोकिएको मुद्दामा प्रतिवादीले थुनाबाहिरै रहेर उच्च अदालतमा पुनरावेदन गर्न पाउने कानुनी व्यवस्था छ।

१० वर्षभन्दा कम सजाय निर्धारण हुने अवस्थामा सन्दीपले अब तत्काल जेल जानु नपर्ने भएको हो । उनले अब जेलबाहिरै रहेर पुन उच्च अदालतमा मुद्दा लड्न पाउँछन् । त्यहाँ हारेको खण्डमा उनी सर्वोच्च अदालतमा जान पाउनेछन् । त्यहाँपनि मुद्दा हारेको खण्डमा भने उनी अदालतको निर्णय अनुसार जेल जानुपर्ने हुन्छ ।

२३ वर्षीय सन्दीप नेपालका प्रमुख स्पिनर हुन् । उनले नेपालबाट ५१ ओडिआईमा १ सय १२ विकेट लिएका छन् । उनी ओडिआईमा सर्वाधिक छिटो ४२ खेलमा १ सय विकेट पूरा गर्ने बलर हुन् । उनले अफगानिस्तानका राशिद खानको ४४ खेलको कीर्तमान तोडेका थिए । त्यस्तै उनले नेपालबाट ५२ टि२० आई खेलमा ९८ विकेट लिएका छन् ।

सन्दीपले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक टि२० आई सिरिजसँगै आगामी जुनमा अमेरिका र वेस्टइन्डिजमा हुने टि२० विश्वकप जस्ता ठूला अवसर गुमाउनेछन् ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.