default_image

2 years ago

January 19, 2024

कोशीको लगातार पाँचौ हार

1062 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप २०२४ अन्तर्गत कोशी प्रदेशले लगातार पाँचौ हार बेहोरेको छ । टियु क्रिकेट मैदानमा शुक्रबार बागमती प्रदेशले लगातार तेस्रो जित दर्ता गर्ने क्रममा कोशीलाई ६४ रनले हराएको हो ।

ओपनर आशुतोष घिरैयाको शतकको मदतमा बागमतीले प्रस्तुत गरेको २ सय ७४ रनको लक्ष्य पछ्याउने क्रममा कोशीले ४७.१ ओभरमा ओभरमा अलआउट हुँदै २ सय ९ रन मात्र जोड्न सक्यो । कोशीका लागि सुजन थपलिया र कप्तान अंकित सुवेदीले अर्धशतक प्रहार गरेपनि अन्य ब्याटरले त्यसअनुसार योगदान दिन सकेनन् । यता बागमतीका लागि इशान पाण्डेले ५ विकेट लिँदै जितको आधार तय गरे ।

यस जितसँगै बागमती अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । ५ खेलमा बागमतीको ३ जित र २ हारसँगै ६ अंक छ । सुदूरपश्चिम ३ खेलमा शत प्रतिशत जितका साथ ६ अंक जोड्दै शीर्षस्थानमा छ । कोशी ५ खेलमा बिना कुनै अंक पुछारमा छ । गण्डकीले पनि ३ खेलमा कुनै अंक जोडेको छैन ।

बलियो लक्ष्य पछ्याउने क्रममा कोशीले १२ औं ओभरमा ४५ रन जोड्दा सोनु अन्सारीलाई गुमाएको थियो । २१ रन जोडेका सोनुलाई प्रतिक श्रेष्ठको बलमा अम्पायरले कट बिहाइन्ड आउट दिँदा उनी निकै असन्तुष्ट देखिएका थिए । त्यसपछि क्रिजमा आएका मिनाश थापा पहिलो बलमै रनआउट भए । प्रतियोगितामा चौथो खेल खेलेका उनले पुन: एकपटक रन जोड्न सकेनन् । ४ खेलमा उनले मात्र ३ रन जोडेका छन् ।

अंकित र सुजनले तेस्रो विकेटका लागि ६९ रनको साझेदारी गर्दै खेलमा कोशीको सम्भावना कायम राखेका थिए । अंकित ६५ बलमा ५३ रन जोड्दै २५ औं ओभरमा आउट भए । ४ चौका र २ छक्का प्रहार गरेका उनी इशान पाण्डेको बलमा क्याच आउट भए ।

त्यसपछि फिर्दोस अन्सारीले १८ बलमा ५ रन जोड्दै इशान पाण्डेकै बलिङमा क्याच फर्काए । सुभान गहतराज ८ बलमा ४ रन जोड्दै सूर्य तामाङको बलमा स्टम्प्ड आउट भए । अर्धशतक पूरा गरेका सुजन पनि सूर्यकै शिकार बने । ५९ रनमा खेलिरहँदा उनलाई सूर्यले बोल्ड गरेका थिए । सुजनले ७६ बलमा ५९ रन जोड्ने क्रममा ४ चौका र ३ छक्का प्रहार गरे ।

कोशीका लागि आइश भट्टराई ३८ बलमा ३२ रन जोड्दै नटआउट रहे । उनले ३ चौका जोडे । हेमन्त राई १० रन जोड्दै रिजन ढकालको बलमा आउट भए ।

बागमतीका लागि सूर्यले ४८ रन खर्चेर २ विकेट लिए । प्रतियोगिताको सर्वाधिक विकेट लिने खेलाडी उनले ५ खेलमा १९ विकेट लिइसकेका छन् । प्रतिकको नाममा पनि १ विकेट रह्यो ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएका बागमतीका लागि आशुतोषले आक्रामक ब्याटिङ गर्दै करिअरको पहिलो शतक पूरा गरे । बागमतीले ४८.३ ओभरमा अलआउट हुनुअघि २ सय ७३ रन जोड्यो ।

आशुतोषले १ सय ११ बलमा १ सय १८ रन जोडे । उनले कुल १६ चौका र २ छक्का प्रहार गरे । आशुतोषले ९९ बलमा शतक पूरा गरे । कमल खत्रीको बलमा एज लाग्दै थर्ड म्यान तर्फ चौका गएपछि उनको शतक पूरा भएको थियो ।

आशुतोषले टोलीको स्कोर २८ रन रहँदा ओपनर इशान पाण्डेको साथ गुमाएका थिए । इशान ६ रन जोड्दै क्याच आउट भएका थिए । त्यसपछि रित र आशुतोषले बलियो साझेदारी गर्दै इनिङ सुदृढ बनाए ।

यी दुईले दोस्रो विकेटका लागि १ सय ३१ रनको साझेदारी गरे । रित ६० बलमा ३ चौकासहित ४९ रन जोड्दै विकेटकिपरको हातबाट समातिए ।

३३ औं ओभरमा हेमन्त राईको बलमा आशुतोष कमल खत्रीको हातबाट क्याच आउट भएका थिए । लामो सट खेल्ने धुनमा उनलाई लङ अनमा रहेका कमलले कुद्दै मिड अफसम्म आएर उत्कृष्ट क्याच लिएका थिए ।

कोशीविरुद्ध ४७ बलमा अर्धशतक पूरा गरेका आशुतोषलाई सुजन थपलियाले ४१ रनमा ड्रप गरेका थिए । टियु मैदानमै कोशीका लागि शतक बनाएका सुजनले स्लिपमा क्याच छोडेर जीवनदान दिएपछि आशुतोषले लगातार आक्रमण गरे ।

आशुतोष बागमती प्रदेशबाट शतक प्रहार गर्ने दोस्रो खेलाडी हुन् । यसअघि ज्ञानेन्द्र मल्लले २०१९ संस्करणमा एपिएफविरुद्ध शतक प्रहार गरेका थिए । जारी प्रतियोगितामा यो पाँचौ शतक पनि हो । टियु मैदानमा सुरुवाती ४ दिन लगातार शतक बनेको थियो ।

बागमतीका लागि विकेटकिपर रविन जोशीले ४३ रनको योगदान दिए । उनले ३ चौका र १ छक्का प्रहार गरे । एक समय ३ सय रनको आँकडा छुने सम्भावना देखिएको बागमती अन्त्यतिर भने लगातार विकेट पतनको शिकार बन्यो । बागमतीले अन्तिम ६ विकेट २२ रनको अन्तरमा गुमाएको थियो ।

कोशीका लागि अभ्यास तिम्सिनाले ३, कमल खत्री र हेमन्त राईले २-२ तथा फिर्दोश अन्सारीले १ विकेट लिए ।

तेस्रो पटक प्रधानमन्त्री कप खेलिरहेका आशुतोषले यसअघि पनि टियु मैदानमा भएको खेलमा राम्रो प्रदर्शन गरेका थिए । आशुतोषले यसअघि नेपाल पुलिस क्लबविरुद्ध पहिलो खेलमा ९२ रन जोडेका थिए । त्यसपछि नेपाल एपिएफ क्लबविरुद्ध पनि उनले ४१ रनको योगदान दिए ।

मुलपानीमा भएको मधेश र आर्मीविरुद्ध खेलमा भने उनले दोहोरो अंक छुन सकेका थिएनन् । ललितपुर जिल्लाबाट प्रदेश छनोट खेलेका उनले बागमती प्रदेशको छनोटमा सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.