default_image

6 months ago

January 24, 2024

पाकिस्तानसँग नेपालको हार

6134 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी यू१९ विश्वकप अन्तर्गत समूह डी को दोस्रो खेलमा पाकिस्तानले नेपाललाई हराएको छ ।

दक्षिण अफ्रिकाको इस्ट लन्डनमा पाकिस्तानले नेपाललाई ५ विकेटले पराजित गरेको हो । नेपालले प्रस्तुत गरेको १ सय ९८ रन पाकिस्तानले ४८ औं ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो ।

पहिलो खेलमा अफगानिस्तानलाई हराएको पाकिस्तानले लगातार दोस्रो जितसँगै सुपर सिक्समा स्थान पक्का गर्यो । लगातार दोस्रो हार बेहोरेको नेपालको पनि सुपर सिक्समा अघि बढ्ने सम्भावना बाँकी छ । यसका लागि नेपालले अन्तिम खेलमा शुक्रबार अफगानिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।

अर्धशतक पूरा गरेका अजान अवाइसले विजयी चौकाका साथ पाकिस्तानलाई लगातार दोस्रो जित दिलाए । उनले ८२ बलमा ६ चौकासहित ६३ रन जोडे । हरुन अर्शद १५ रनमा नटआउट रहे । उनले १८ बलको सामना गर्दै २ चौका प्रहार गरेका थिए ।

जवाफी ब्याटिङ गर्ने क्रममा पाकिस्तानले उत्कृष्ट सुरुवात पाएको थियो । पहिलो विकेटका लागि बनेको ८१ रनको साझेदारी आकाशले २२ औं ओभरमा मात्र तोड्न सके । उनले पहिलो बलमा शामिल हुसेनलाई आउट गरे । ५९ बलमा ३७ रन जोडेका उनी उत्तम थापा मगरको मिड विकेटमा हातबाट समातिए ।

तेस्रो बलमा अराफात मिन्हासले १ रन लिए । चौथो बलमा अर्का ओपनर शाहजिब खान डिप स्क्वायर लेगमा आकाश त्रिपाठीबाट समातिए । उनले ७० बलमा ३७ रन जोडे ।

२६ औं ओभरमा आकाशले अराफात मिन्हासलाई ८ रनमा आउट गर्दै नेपाल खेलमा फर्कने संकेत दिए । आकाश त्रिपाठीले २८ औं ओभरको अन्तिम बलमा कप्तान साद बेगलाई खाता नखोल्दै पेभेलियन फर्काएपछि पाकिस्तान दबाबमा परेको थियो । २८ ओभरको समाप्तिमा पाकिस्तान १०४-४ को स्थितिमा थियो ।

तर पाँचौ विकेटका लागि अहमद हसान र अजानले ६४ रनको साझेदारी गर्दै पाकिस्तानलाई जिततर्फ डोर्याए । हसान ४३ औं ओभरमा दीपेश कँडेललाई आक्रमण गर्ने धुनमा स्टम्प्ड आउट भए । उनले ३७ बलमा ४ चौकासहित २९ रन जोडे ।

नेपालका लागि आकाश चन्दले ३ विकेट लिँदा दिपेश कँडेल र आकाश त्रिपाठीले १-१ विकेट हात पारे ।

त्यसअघि टस जितेर पहिलो ब्याटिङ रोजेको नेपालले ५० औं ओभरको अन्तिम बलमा अलआउट हुँदै १ सय ९७ रन जोड्यो । नेपालले राम्रो सुरुवात पाएपनि मध्यक्रममा विकेट गुमेपछि अपेक्षित रन बन्न सकेन । पाकिस्तानका स्पिनरविरुद्ध नेपाली ब्याटर खुल्न नसक्दा मध्यम योगफल मात्र बन्न सक्यो ।

नेपालले ५० ओभर ब्याटिङ गरेपनि ११ चौका र ३ छक्का मात्र प्रहार गर्न सक्यो । पाकिस्तानका दुई मुख्य स्पिनरले २० ओभरमा मात्र ३८ रन खर्चेका थिए । पुन: एकपटक तल्लोक्रमका ब्याटरले नेपालका लागि महत्त्वपूर्ण योगदान दिँदै मध्यम योगफलसम्म पुर्याए ।

नेपालका लागि ओपनर विपिन रावलले सर्वाधिक ३९ रनको योगदान दिए । उनले ६८ बलमा ४ चौका र १ छक्का प्रहार गरेका थिए । तल्लोक्रममा दीपक डुम्रेले ५८ बलमा १ छक्कासहित २६ रनको योगदान दिए । सुभाष भण्डारीले २४ बलमा २० रन जोडे । आकाश चन्द ११ बलमा १ चौका र १ छक्कासहित १६ रनमा नटआउट रहे ।

अघिल्लो खेलमा न्युजिल्यान्डविरुद्ध उत्कृष्ट प्रदर्शन गरेका अर्जुन पाँचौ ओभरको दोस्रो बलमा आउट भए । अहमद हुसेनको बलमा बोल्ड हुनुअघि अर्जुनले १२ बलको सामना गर्दै ६ रन जोडे ।

आकाश त्रिपाठी १० बलमा ६ रन जोड्दै सातौं ओभरमा क्याच आउट भए । त्यसपछि देव र विपिनले इनिङ सम्हाल्ने प्रयास गरेपनि देव खराब सट खेल्दै आउट भए । उनले ३७ बलमा ३ चौकासहित २३ रन जोडे । लगत्तै उत्तम मगर पनि ४ रनमा आउट भए । त्यसपछि भने नेपालले बाउन्ड्री जोड्न सकेन ।

२७ औं ओभरमा विपिन रावल आउट हुँदा नेपाल ९६-५ को स्थितिमा पुग्यो । गुलशन झा ४७ बल खेल्दै विना कुनै बाउन्ड्री १८ रन जोड्दै आउट भए । अराफात मिन्हासबाट बोल्ड हुनुअघि दिपेश कँडेलले १७ बलमा २ चौकासहित १३ रनको योगदान दिए । सुभाष भण्डारी अन्तिम ओभरको पाँचौ बल र दुर्गेश गुप्ता अन्तिम बलमा उबेद शाहको बलमा उनैबाट क्याच आउट भए ।

पाकिस्तानका लागि मिन्हासले १० ओभरमा २३ रन खर्चेर ३ विकेट लिए । अर्का स्पिनर अलि अस्फन्दले १० ओभरमा १ विकेट लिँदा १५ रनमात्र खर्चिए । उबेद शाह र अहमद हुसेनले २-२ तथा खुबेब खलिल र मोहमद जिशानले १-१ विकेट लिए ।

नेपालले न्युजिल्यान्डविरुद्धको पहिलो खेलबाट टोलीमा तीन परिवर्तन गरेको थियो । ओपनर दीपक बोहोरा, मध्यक्रम ब्याटर दिपक बोहोरा र स्पिनर तिलकराज भण्डारी टोलीबाट बाहिर रहँदा विपिन रावल, दीपक डुम्रे र दुर्गेश गुप्ता टोलीमा आएका थिए ।

नेपालको प्लेइङ ११:

अर्जुन कुमाल, विपिन रावल, आकाश त्रिपाठी, देव खनाल (कप्तान), उत्तम थापा मगर (विकेटकिपर), गुलशन झा, दीपक डुम्रे, दिपेश कँडेल, सुभाष भण्डारी, आकाश चन्द, दुर्गेश गुप्ता

नेपाल प्रतियोगिताको समूह डी मा रहेको छ । समूहमा नेपालसँगै न्युजिल्यान्ड, पाकिस्तान र अफगानिस्तान पनि रहेका छन् । पाकिस्तान र न्युजिल्यान्ड ४-४ अंकका साथ सुपर सिक्समा पुगेका छन् । नेपालले अब अन्तिम खेलमा अफगानिस्तानसँग खेल्न बाँकी छ ।

समूहको शीर्ष ३ स्थानमा रहने टोलीले सुपर ६ को यात्रा तय गर्नेछन् । त्यसपछि समूह ए का टोलीले समूह डी तथा समूह बी र समूह सी को टोलीले एक अर्कासँग खेल्नेछन् । सुपर सिक्सको दुई समूहको शीर्ष टोलीले भने सेमिफाइनलमा खेल्नेछन् । समूहमा पुछारका टोलीले पनि स्थान निर्धारणका अन्य समूहको पुछारको टोलीसँग खेल्नेछन् ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.