default_image

5 months ago

February 25, 2024

लिग-२ मा नेपालको तेस्रो हार

2301 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालले तेस्रो खेलमा हार बेहोरेको छ । टियु क्रिकेट मैदानमा नेपालले नेदरल्यान्ड्समाथि ८ विकेटको जित दर्ता गरेको हो ।

नेपालले जितका लागि प्रस्तुत गरेको १ सय ७३ रनको लक्ष्य नेदरल्यान्ड्सले ३८ औं ओभरमा २ विकेट गुमाएर पूरा गरेको हो । नेदरल्यान्ड्सका लागि सिरिजको पहिलो खेल खेलिरहेका विक्रमजित सिंहले व्यक्तिगत अर्धशतकसँगै साइब्रान्ड एंगलब्रेक्टसँग शतकीय साझेदारीका साथ जितको आधार तय गरे ।

यससँगै नेपालले लिग-२ अन्तर्गत घरेलु मैदानमा ३ हार बेहोरेको छ । गत संस्करणमा लिग-२ को १२ घरेलु खेलमध्य १० खेल जितेको नेपालले यसपटक भने घरेलु रेकर्डमा तुलनात्मक रुपमा कमजोर प्रदर्शन गरिसकेको छ ।

लिग-२ तालिकामा नामिबियाको ६ अंक छ । नेदरल्यान्ड्सको ४ अंक तथा नेपालको २ अंक रहेको छ । अब नेपालले लिग-२ अन्तर्गत सेप्टेम्बरमा क्यानडा र अक्टोबरमा अमेरिकाको भ्रमण गर्नेछ ।

नेदरल्यान्ड्सका लागि विक्रमजितले नटआउट ५८ रन जोडे । उनले ९२ बलमा ७ चौका प्रहार गरे । एंगलब्रेक्टले ७५ बलमा ३ चौकासहित नटआउट ४६ रन बनाए । यी दुईले तेस्रो विकेटका लागि १ सय २ रनको साझेदारी गरे ।

त्यसअघि पहिलो विकेटका लागि माइकल लेभिट र म्याक्स ओ डाउडले ६१ रनको आक्रामक साझेदारी गरेका थिए । लेभिट ३४ बलमा ३९ रन जोड्दै आठौँ ओभरमा दीपेन्द्र सिंह ऐरीबाट बोल्ड भए । उनले ३ चौका र ३ छक्का प्रहार गरे ।

१२ औं ओभरमा म्याक्स ललित राजवंशीको बलमा कट बिहाइन्ड भए । उले २६ बलमा २ चौका र २ छक्कासहित २८ रन जोडे । तेस्रो विकेटका लागि विक्रमजित र एंगलब्रेक्टले बलियो साझेदार गर्दै जित पक्का गरे ।

पहिलो ब्याटिङको निम्तो पाएको नेपालले ४९.३ ओभरमा अलआउट हुनुअघि १ सय ७२ रन जोड्यो । नेपालका लागि कुशल भुर्तेलले अर्धशतक जोड्दै महत्त्वपूर्ण इनिङ खेले । तल्लोक्रममा करण केसीले आक्रामक इनिङ र आरिफ शेखले संयमित ब्याटिङ गर्दा नेपाल सामान्य स्कोरसम्म पुगेको थियो ।

पहिलो विकेटका लागि आसिफ शेख र कुशल भुर्तेलले ४२ रनको साझेदारी गरेका थिए । त्यसपछि नेपालले लगातार विकेट गुमाउँदा सोही साझेदारी नेपालको इनिङको सर्वाधिक रह्यो । कुशलले सातौं विकेटको रुपमा आउट हुनुअघि ९३ बलमा ८ चौकासहित सर्वाधिक ६६ रनको योगदान दिए ।

नवौं ओभरको तेस्रो बलमा आसिफ १७ रन जोड्दै आउट भएका थिए । भिभिएन किंग्माको बलमा उनी मिड विकेटमा बास डे लिडको हातबाट समातिए । ११ औं ओभरमा किंग्माले नै अनिल शाहलाई बोल्ड गरे । ११ बलमा १ छक्का प्रहार गरेका उनी ७ रन जोड्दै प्लेड अन भए ।

१३ औं ओभरको अन्तिम बलमा आर्यन दत्तले कुशल मललाई एलबीडब्लु धरापमा पारे । उनले ९ बलमा २ रन जोडे । त्यसबेला नेपाल ५४-३ को स्थितिमा थियो ।

२५ औं ओभरको तेस्रो बलमा कप्तान रोहित पौडेल क्याच आउट भए । उनले ४० बलमा १६ रन बनाए । २८ औं ओभरमा दीपेन्द्र सिंह ऐरी नन स्ट्राइक एण्डमा रहँदा कुशल भुर्तेलको सट बास डे लिडलाई छुँदै स्टम्पमा लाग्दा दुर्भाग्यपूर्ण रनआउट भए । त्यसको २ ओभरमै भीम आउट हुँदा नेपाल ९४-६ को स्थितिमा पुग्यो । भीम खाता नखोली डे लिडको बलमा बोल्ड भए ।

३७ औं ओभरमा कुशल भुर्तेल आउट हुँदा नेपाललाई धक्का लाग्यो । कुशल बायाँ हाते स्पिनर रोलफ भान डर मर्वको बलमा क्याच फिर्ता दिँदै पेभेलियन फर्किए । ४३ औं ओभरमा गुलशन झा ५ रन जोड्दै आर्यन दत्तको बलमा क्याच आउट भए ।

आरिफ शेखले ५० बलमा २२ रन जोडे । उनी किंग्माको बलमा ४९ औं ओभरमा क्याच आउट भए । करण केसी २७ बलमा १ चौका र २ छक्कासहित २६ रन जोड्दै अन्तिम विकेटको रुपमा आउट भए । उनी लामो सट खेल्ने धुनमा लङ अनमा समातिए ।

नेदरल्यान्ड्सका लागि स्पिनर आर्यन दत्तले ३ तथा रोलफ भान डर मर्वले १ विकेट लिए । पेस बलर भिभिएन किंग्माले ३ र बास डे लिडले २ विकेट हात पारे ।

नेदरल्यान्ड्सका कप्तान स्कट एडवार्ड्सले टस जितेर पहिलो फिल्ड गर्ने निर्णय लिएसँगै नेपालले पहिलो ब्याटिङ गर्ने भएको हो । आज नेपाली टोलीमा दुई परिवर्तन छ । देव खनाल र सोमपाल कामीले विश्राम पाउँदा गुलशन झा र आरिफ शेख टोलीमा आएका छन् ।

नेदरल्यान्ड्सले पनि टोलीमा एक परिवर्तन गरेको छ । शारिज अहमदको स्थानमा विक्रमजित सिंह टोलीमा आएका छन् । उनको लागि यो सिरिजको पहिलो खेल हो ।

नेपालको प्लेइङ ११:

कुशल भुर्तेल, आसिफ शेख, अनिल शाह, रोहितकुमार पौडेल, कुशल मल्ल, भीम सार्की, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, गुलशन झा, करण केसी, ललित नारायण राजवंशी

नेदरल्यान्ड्स प्लेइङ ११:

माइकल लेभिट, म्याक्स ओ डाउड, साइब्रान्ड एंगलब्रेक्ट, विक्रमजित सिंह, बास डे लिड, तेजा निदामनुरु, नोआ क्रोस, स्कट एडवार्ड्स, रोलफ भान डर मर्व, आर्यन दत्त, भिभिएन किंग्मा

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.