default_image

2 years ago

March 9, 2024

हङकङले नेपाललाई हरायो

3450 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल फ्रेन्डसिप कप अन्तर्गत टि२०आई खेलमा हङकङसॅग पराजित भएको छ । हङकङ ७३ रनले विजयी भयो ।

जितका लागि २ सय १३ रन पछ्याउने क्रममा नेपाल १७ औं ओभरमा मात्र १ सय ३९ रनना अलआउट भयो । शीर्षक्रममा राम्रो सुरुवात गरेपनि मध्यक्रमका ब्याटर नचल्दा नेपाल हार बेहोर्न पुग्यो । नेपालको ९ विकेट क्याच र अन्तिम विकेट रनआउट भएको थियो ।

एक समय ११७-२ को स्थितिमा रहेको नेपालले २१ रनको अन्तरमा ८ विकेट गुमाएपछि हार बेहोर्यो । कुशल भुर्तेल २ रन जोडेर दोस्रो ओभरमै आउट भएपछि विनोद भण्डारी र रोहित पौडेलले साझेदारी गरे । ५२ रनको साझेदारी पूरा गरेपछि विनोद ४२ रनमा आउट भए । उनले २२ बलमा ४ चौका र ३ छक्का प्रहार गरे ।

तेस्रो विकेटका लागि रोहित र आरिफ शेखले ५७ रन बनाए । रोहित ११ औं ओभरमा ३० रन जोडेर आउट भए । उनले २३ बलमा २ चौका र १ छक्का प्रहार गरे ।

लगत्तै अर्को बलमा आरिफ पनि ३८ रन जोडेर पेभेलियन फर्किए । २१ बलमा ५ चौका र २ छक्का प्रहार गरेका उनी क्याच आउट भए । त्यसपछि कुनै ब्याटरले दोहोरो अंक जोड्न सकेनन् । सन्दीप जोरा २, गुलशन झा ८, विवेक यादव १ र राशीद खान ३ रनमा आउट भए ।

हङकङका एजाज खानले ४ विकेट लिए । स्पिनर एहसान खानले ३ तथा अतिक इकबाल र नसरुल्लाह रानाले १-१ विकेट लिए ।

त्यसअघि कमजोर सुरुवात पाएको हङकङले बाबर हायातको शकतसँगै २० ओभरमा ६ विकेट गुमाएर २ सय १२ रन जोड्यो । अन्तिम ओभरमा आउट हुनुअघि बाबरले ४९ बलमा १ सय १० रन जोडे । उनले ३ चौका र १३ छक्का प्रहार गरे ।

९ ओभरको समाप्तिमा ६१-२ को स्थितिमा रहेको हङकङले त्यसपछि आक्रामक ब्याटिङगर्दै विशाल लक्ष्य प्रस्तुत गर्यो ।

बाबर डेब्यु गरिरहेका आकाश चन्दको बलमा कप्तान रोहित पौडेलको हातबाट क्याच आउट भए । आकाशले त्यसअघि आफ्नो पहिलो ओभरमै विकेट हात पारेका थिए । उनले पाँचौ ओभरको पाँचौ बलमा सेट ब्याटर मार्टिन कोट्जीको विकेट लिए ।

आकाशको बलमा लामो सट खेल्ने धुनमा मार्टिन प्रतिश जिसीको हातबाट समातिए । उनले २१ बलमा ५ चौका र १ छक्कासहित ३१ रन जोडे । आकाशले पहिलो ओभरमा ५ रन खर्चेर १ विकेट लिएका थिए ।

त्यसअघि नेपाललाई आरिफ शेखले पहिलो सफलता दिलाए । इनिङको सुरुवात गरेका आरिफले तेस्रो ओभरको दोस्रो बलमा निजाकत खानलाई सन्दीप जोराबाट क्याच गराएका थिए । निजाकतले खाता खोल्न सकेनन् ।

त्यसपछि बाबर र अंशुमन रथले ७६ रनको साझेदारी गरे । अंशुमन ३२ बलमा ३ चौका र २ छक्कासहित ३९ रनमा प्रतिश जिसीको शिकार बने । अर्को ओभरमा जेमी एटकिन्सन राशीद खानको बलमा एलबीडब्लु भए ।

त्यसपछि एजाज खानले अधिकांश समय बाबरलाई स्ट्राइक दिएर ९५ रनको साझेदारी गरे । उनी ११ बलमा २ चौका र १ छक्कासहित २१ रनमा नटआउट रहे ।

नेपालका लागि आकाश चन्दले ३ तथा आरिफ, प्रतिश र राशीदले १-१ विकेट लिए ।

नेपालले आज आकाशको डेब्युसँगै तीव्र गतिका बलर राशीद खान, स्पिनर सागर ढकाल र विकेत्किपर विनोद भण्डारीलाई खेलाएको छ । आकाशलाई करण केसीले डेब्यु क्याप प्रदान गरेका थिए । आकाशले यसअघि क्यानडाविरुद्ध सिरिजमा एकदिवसीय अन्तर्राष्ट्रिय डेब्यु गरेका थिए ।

नेपालको प्लेइङ-११ : रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, विवेक यादव, आरिफ शेख, सन्दीप जोरा, गुलशन झा, विनोद भण्डारी, प्रतिश जिसी, राशीद खान, आकाश चन्द, सागर ढकाल

नेपालले अब आइतबार त्रिकोणात्मक सिरिज अन्तर्गत हङकङको सामना गर्नेछ । मंगलबार पिएनजीले नेपाल र हङकङ दुवैसँग खेल्नेछ । मार्च १३ मा फाइनल हुनेछ । लिग तालिकामा तेस्रो हुने टोलीले हङकङ ए सँग टि२० खेल खेल्नेछ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.