11 months ago
May 29, 2024
सुबास हुमागाईं, डालस, अमेरिका
नेपाल क्रिकेट संघ (क्यान) ले आइसीसी टि२० विश्वकपका लागि पठाएको नेपाली राष्ट्रिय क्रिकेट टोलीको अन्तिम नामावलीमा अध्यक्ष चतुरबहादुर चन्दलाई अधिकारिक टोलीमा समेट्ने आश्चर्यजनक निर्णय गरेको छ ।
क्यानले टोलीमा रहने १० अफिसियलको नामावलीमा टोलीका प्रशिक्षक, प्राविधिक सहयोगी, व्यवस्थापक, फिजियो लगायतसँग अध्यक्ष चतुरबहादुर चन्दलाई पनि समेट्दा आवश्यक जिम्मेवारी वहन गर्ने व्यक्ति भने नेपालमै छुटेका छन् । क्यानले बुझाएको सूचीमा नियमित अफिसियल मुख्य प्रशिक्षक मोन्टि देशाइ, सहायक प्रशिक्षक वसन्त शाही ठकुरी, क्रिकेट कन्सल्टेन्ट नन्दन फाद्निस, बलिङ कन्सल्टेन्ट रड इस्टविक, एनालिस्ट रमण शिवाकोटी, फिजियो विक्रम न्यौपाने र फिटनेस ट्रेनर अब्दुल सतार छन् ।
यसबाहेक क्यानले पुन: एकपटक दाङ जिल्ला क्रिकेट संघका अध्यक्ष प्रदिप मजगैयाँलाई व्यवस्थापकको जिम्मेवारी दिएको छ । यसअघि श्रीलंकामा गत वर्ष सम्पन्न एसीसी एसिया कपमा पनि उनले व्यवस्थापकको जिम्मेवारी पाएका थिए । हरेक प्रतियोगितामा व्यवस्थापक परिवर्तन गर्ने क्यानले यसपटक मजगैयाँलाई निरन्तरता दिनुले क्यानभित्र असन्तुष्टि बढेको थियो ।
तर अन्तिम सुचिमा अध्यक्ष चन्द आफैं जाँदा टोलीमा आवश्यक जिम्मेवारीका व्यक्ति पनि विश्वकपमा छुट्ने भएका छन् । मजगैयाँसँगै क्यान केन्द्रीय सदस्य दिवाकर घले पनि टिम लिडरको भूमिकामा अमेरिका आइसकेका छन् । यस्तोमा टोलीमा एकै खालको जिम्मेवारी लिएर ३ पदाधिकारी अफिसियल सूचीमा रहेका छन् ।
क्यानले टोलीमा अति आवश्यक रहने मिडिया म्यानेजर भने समावेश गरेको छैन । विश्वकपमा अन्य सबै टोलीले मिडिया म्यानेजर नियुक्त गर्नुपर्ने प्रावधान छ । विश्वकपमा अधिकारिक सूचना आदानप्रदान तथा मिडियासँग समन्वयका लागि आवश्यक पर्ने व्यक्ति नै नहुँदा त्यसको समस्या पनि पहिलो दिन नै देखिएको छ ।
नेपाल र क्यानडाबीच वार्म अप खेलपछि नेपाली टोलीको कप्तान वा प्रशिक्षक अन्तर्वार्ताका लागि आउनुपर्नेमा कोहि उपस्थित भएनन् । क्यानले हाललाई उक्त जिम्मेवारी निर्वाह गर्ने भनिएका व्यवस्थापक मजगैयाँले दुई पटक प्रयास गर्दापनि खेलाडी वा प्रशिक्षक उपस्थित गराउन सकेनन् ।
नेपालमा रहँदा क्यानले भानु सिग्देल र साजन लामिछानेलाई मिडियाको जिम्मेवारी दिँदै आएको थियो । मिडिया टोलीको उच्च कार्यकै कारण क्यान यसपटक आइसीसीको डिजिटल फ्यान इन्गेजमेन्ट अफ द इयर अवार्डको लागि मनोनयनमा परेको छ । एसिया क्षेत्रमा त नेपालले टेस्ट राष्ट्र समेतलाई पछि पार्दै अवार्ड हात पारिसक्यो । तर विश्वकपमा भने टोलीमा न मिडिया म्यानेजर छन् न त अधिकारिक फोटोग्राफर नै ।
एसिया कप दौरान नेपालले खेलेको खेल लगायत त्यसअघि विश्वकप छनोट र लिग-२ का दौरान क्यानले मिडिया टोलीलाई राम्रो प्रयोग गरेको थियो । यसबाहेक घरेलु क्रिकेटमा पनि क्यानको मिडिया टोलीको तदारुकताले क्यानको सामाजिक संजालमा राम्रो चर्चा रहेको छ । तर विश्वकपमा भने त्यसो नहुने भएको छ । यसले क्यानको आफ्नो सामाजिक संजाल मात्र होइन, समग्र नेपाली क्रिकेटकै विश्वभर संचारमाध्यममा उपस्थिति कमजोर हुनेछ ।
विश्वकपको रिपोर्टिङ गर्न नेपालबाट मात्र झन्डै १ दर्जन पत्रकार कोहि व्यक्तिगत त कोहि संस्थागत खर्चमा संचारकर्मी अमेरिका पुग्दै छन् । तर क्यानले जिम्मेवारी अनुसार अफिसियल नतोक्दा क्यान आफ्नो त काम भएको छैन नै, अन्य मिडियालाई पनि काम गर्न कठिनाई भइरहेको छ । आइसीसीले वार्म अप खेलमा बोर्डका फोटोग्राफर बाहेक अन्यलाई तस्वीर लिन नदिँदा उक्त खेलमा नेपालको कुनै तस्वीर बाहिर आएन ।
यता क्यानडाले भने उक्त खेलपछि आफ्नो मिडिया म्यानेजरमार्फत प्रशिक्षक पुबुदु दासानायकेलाई उपलब्ध गरायो । पछिल्लो समय क्यानडा क्रिकेटमा प्रशिक्षक बर्खास्त लागायत विवाद भएपनि मिडिया म्यानेजरले नेपाली संचारकर्मीलाई अन्तर्वार्ताको विषयबारे जानकारी लिएर समय उपलब्ध गराए । नेपाली टोलीका व्यवस्थापकले भने खेलाडी थाकेको भन्दै कोहि आउन नमानेको जानकारी दिए । जबकी क्यानडाका ४ खेलाडी मैदानमै ढलेका थिए भने एक जनालाई अस्पताल नै लागिएको थियो ।
यसबाहेक क्यानले आफ्नो थ्रो डाउन स्पेसलिस्ट आशुतोष पंकजलाई पनि नेपालमै छाडेको छ । मिडिया म्यानेजर, फोटोग्राफर, थ्रो डाउन स्पेसलिस्ट लगायत अन्य व्यक्तिको आवश्यकता हुँदाहुँदै पनि क्यानले आफ्नो अध्यक्षलाई विश्वकपको अफिसियल सुचिमा राखेको छ ।
विश्वकप खेल्न नेपालसँगै एसिया क्षेत्रबाट छनोट भएको ओमानको सुचिमा भने त्यस्तो छैन । ओमानले टोलीमा वाश्यक जिम्मेवारी अनुसार नै मिडिया म्यानेजर समेतको नाम आइसीसीलाई बुझाएको छ । यतिमात्र होइन, आइसीसीको मिडिया पोर्टलमा नेपालबाहेक अन्य सबै देशको सम्पर्क व्यक्तिको विवरण राखिएको छ ।
विश्वकपको वार्म अप खेल नियम पालना गर्नुपर्ने अवस्थामा केहि लचक मानिन्छ । तर सोमबार खेलपछि देखिएको समस्या समाधान गर्नुपर्ने क्यानले मंगलबार अध्यक्षलाई अमेरिका पठाएको छ ।
यसैपनि क्यानले आफ्नो अध्यक्ष, सचिव वा उच्च पदस्थ अधिकारीलाई आइसीसीको कंग्रेसमा पठाउन सक्छ । क्यानकै खर्च वा व्यक्तिगत खर्चमा नेपाल आउने विकल्प पनि रहन्छ । तर त्यसो हुन सकेन । क्यानकै क्रिकेट म्यानेजर विनोद दास पछिल्लो केहि दिनयता अमेरिकामा छन् । तर उनी समेत व्यक्तिगत खर्चमा अमेरिका आएका छन् । उनले नेपाली टोलीको अभ्यास खेलहरुमा संयोजनको जिम्मेवारी निर्वाह गरेपनि अफिसियल सुचिमा भने अटाउन सकेनन् । तर अध्यक्ष, विना कुनै जिम्मेवारी अब विश्वकप अवधिभर टोलीसँग रहनेछन् ।
विश्व क्रिकेटमा यो सम्भव पहिलो पटक हुनेछ की कुनै संघको अध्यक्ष विश्वकपको खेल दौरान खेलाडीसँग डगआउटमा हुनेछन् । र सम्भवत अन्तिम पनि ।
April 21, 2025
एजेन्सी – कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा आज गुजरात टाइटन्ससँगको खेलमा टस जितेको छ ।इडन गार्डेन्समा हुने खेलमा कोलकाताले टस जितेर फिल्डिङ रोजेको छ।शुभमन गिलको कप्तानीमा रहेको गुजरात शीर्ष स्थानमा र अजिन्के रहाणेको नेतृत्वमा रहेको कोलकाता सातौं स्थानमा छ।
April 20, 2025
एजेन्सी- रोहित शर्मा र सूर्य कुमार यादवको सानदार साझेदारीमा मुम्बई इण्डियन्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा चेन्नई सुपर किङ्सलाई ९ विकेटको फराकिलो अन्तरमा हराएको छ। जितको लागि १ सय ७७ रनको चुनौति पछाएको मुम्बईले १५.४ ओभरमा १ विकेटको नोक्सानीमा लक्ष्य पुरा गर्दै रवाफिलो जित निकाल्यो। ओपनर रायन रिकेल्टन २४ रमा रविन्द्र जडेजाको बलमा आउट भए। […]
April 20, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा चेन्नई सुपर किङ्सले मुम्बई इण्डियन्सलाई जितको लागि १ सय ७७ रनको चुनौति दिएको छ। वाङखेडे स्टेडियममा मुम्बईले टस जित्यो र फिल्डिङ रोज्यो। पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ७६ रन बनायो। पहिलो क्रमका तीन ब्याटर क्रिजमा जम्न टिक्न सकेनन्। ओपनर रचिन रविन्द्र ५ […]