default_image

2 years ago

June 11, 2024

‘श्रीलंकालाई हराउने अवसर छ’ – कप्तान रोहित पौडेल

4149 views

0 Bookmark

सुबास हुमागाईं, फ्लोरिडा

नेपाली राष्ट्रिय क्रिकेट टोलीले २०२४ आइसीसी मेन्स टि२० विश्वकपको दोस्रो खेलमा मंगलबार श्रीलंकाको सामना गर्दैछ । नेपाली समयअनुसार बुधबार विहान ५:१५ बजे फ्लोरिडास्थित ब्रोआर्ड काउन्टी रंगशालामा खेल हुँदैछ ।

खेलको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा कप्तान रोहित कुमार पौडेलले श्रीलंकाविरुद्ध खेल नेपालको लागि टेस्ट राष्ट्रविरुद्ध जित हासिल गर्ने पहिलो अवसरको रुपमा रहेको बताए । उनले विश्वकपमा अन्य एसोसिएट टोलीले ल्याएको नतिजाले पनि नेपालको मनोबल बढेको अभिव्यक्ति दिए ।

‘यदि विश्वकप हेर्छौं भने एसोसिएट टिमले टेस्ट राष्ट्रहरुलाई हराएका छन् । यसले हाम्रो मनोबल बढेको छ, अझ विशेष भोलीको खेलअघि । हामी जित निकाल्न सकिन्छ भन्ने विश्वासका साथ नै अघि बढेका छौं । हामीले यसका लागि २ महिनादेखि विश्वकप लक्षित तयारी गरेका छौं र डेढवर्षदेखि नियमित क्रिकेट खेलेका छौं । हामीमा सधैं विश्वास छ ।’

रोहितले श्रीलंकाको स्पिनरहरु राम्रो रहेपनि नेपाल तयार रहेको बताए । ‘श्रीलंकामा राम्रा स्पिनर छन् जसले विश्वभर क्रिकेट खेलेका छन् । हामीले त्यो पक्षमा ध्यान दिनुपर्छ । तर सबै २० टोली हेर्दा सन्तुलित नै देखिन्छन् । हामीले भोली गएर विश्वसामु आफ्नो प्रतिभा देखाउने हो ।’

रोहितले अमेरिकामा भइरहेको विश्वकप खेलमा राम्रो स्कोर नबनेपनि फ्लोरिडामा फरक अवस्था हुने बताए । ‘न्युयोर्क र डालासमा भन्दा यहाँ फरक पिच छ जस्तो लाग्छ । विकेट पनि राम्रो छ र क्युरेटरसँग छलफलमा पनि यो कुरा भएको थियो । यसअघि वार्म अप खेलमा पनि १ सय ८० को स्कोर बनेको छ । त्यसैले हामी खेलको प्रतिक्षामा छौं,’ रोहितले भने ।

कप्तान पौडेलले नेपालले ओपनरमा परिवर्तन गर्ने सम्भावना नरहेको बताउँदै मैदानको अवस्था अनुसार टोली छनोट हुने बताए । ‘भोली पनि वर्षाको सम्भावना रहेको छ । अब खेल हुँदा मैदानको अवस्थाले नै टोली छनोटमा निर्णय लिनेछौं । हाललाई भने हामीले ओपनरमा विश्वास कायम राख्ने नै सोच बनाएका छौं,’ उनले थपे ।

विश्वकपअघि श्रीलंकाले फ्लोरिडामै दुई वार्मअप खेल खेलेको थियो । पहिलो खेलमा नेदरल्यान्ड्ससँग हारेको श्रीलंकाले दोस्रोमा आयरल्यान्डलाई पराजित गरेको थियो । नेपालले भने एकमात्र वार्मअप खेलमा क्यानडासँग हार बेहोरेको थियो ।

नेपालले यसपछि समूहको अन्तिम दुई खेल भने सेन्ट भिन्सेन्टको आर्नस भेल रंगशालामा खेल्नेछ । श्रीलंकाविरुद्ध नेपाल १४ सदस्यीय टोलीसहित उत्रनेछ । प्रतिश जिसीको स्थान सन्दीप लामिछानेले लिएकाले टोलीमा १४ सदस्य मात्र छनोटका लागि योग्य हुनेछन् । वेस्ट इन्डिज पुगेपछि भने सन्दीप टोलीमा जोडिनेछन् ।

श्रीलंकाले विश्वकपको सुरुवाती दुई खेलमा दक्षिण अफ्रीका र बंगलादेशसँग हार बेहोरेको थियो । यता नेपाल भने नेदरल्यान्ड्ससँग पराजित भएको हो । श्रीलंकाले यो खेल गुमाए विश्वकपबाट बाहिरिनेछ । खेलको अघिल्लो दिन तीव्र गतिका बलिङ प्रशिक्षक आकिब जावेदले नेपाललाई कमजोर नआँक्ने बताए ।

‘विश्वकपमा नतिजा देखिरहेका छौं । सबै टोली उस्तै छन् । हामीले भोलिको खेललाई अर्को एक महत्त्वपूर्ण खेलको रुपमा नै लिएका छौं । नेपालले पनि राम्रो क्रिकेट खेल्छ ।’

‘हाम्रो बलिङ आक्रमण केहि राम्रो छ । हारमा पनि राम्रो प्रदर्शन भएको छ । तर यो विश्वकपमा मैदानको अवस्था बुझेर खेल्न सके मात्र सहज हुन्छ । त्यसैले हामीले भोली त्यो बुझेर आफ्नो रणनीति प्रयोग गर्नुपर्छ ।’

नेपाल र श्रीलंकाले सिनियर क्रिकेटमा पहिलो पटक एक अर्काको सामना गर्दैछन् । उमेर समूहमा भने पटक पटक भेट भएको इतिहास छ । सन् २०१६ को यू१९ एसिया कपमा कामिन्डु मेन्डिसको कप्तानीमा रहेको श्रीलंकासँग नेपाल १ रनले पराजित भएको थियो । उक्त खेलमा दीपेन्द्रसिंह ऐरीले ९० रनको इनिङ खेलेका थिए । यी दुवै अहिले विश्वकप टोलीमा छन् । नेपालबाट भने उक्त खेलमा आसिफ शेख, कमलसिंह ऐरी र सन्दीप लामिछाने पनि खेलेका थिए ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.