1 year ago
October 23, 2024
सुबास हुमागाईं, काठमाडौं
पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा सहभागी फ्रेन्चाइज टोलीहरुले एकपछि अर्को विदेशी खेलाडी अनुबन्धनको घोषणा गर्दैछन् । तर आइसीसीको विशेष प्रावधानका कारण यसपटक एनपिएलमा टेस्ट राष्ट्रका स्टार खेलाडी भने टोलीहरुले चाहेर पनि पर्याप्त संख्यामा भित्र्याउन नपाउने भएका छन् ।
नेपाल क्रिकेट संघ (क्यान) ले आफ्नै आयोजनामा गर्न लागेको एनपिएल नेपालको पहिलो फ्रेन्चाइज लिग हो । यसअघि क्यान निलम्बनमा रहँदा प्राइभेट संस्थाले गरेका धनगढी प्रिमियर लिग, एभरेष्ट प्रिमियर लिग र पोखरा प्रिमियर लिग आइसीसीको स्वीकृतिमा आयोजना भएका थिए । तर क्यानको आगमनसँगै आइसीसीले संघको पुनर्स्थापना सँगै अब क्यानले नै प्रतियोगिताबारे निर्णय गर्ने भएपछि यी लिग संचालन हुन सकेनन् ।
२०७८ सालमा क्यानको नयाँ कार्यसमितिले नेपाल टि२० लिगका लागि सेभेन थ्री स्पोर्ट्स नामक भारतीय कम्पनिलाई जिम्मेवारी दिएको थियो । त्यसको एक वर्षपछि विवादका बीच लिग आयोजना त भयो तर खेल मिलेमतो लगायत विभिन्न विवादले गर्दा उक्त प्रतियोगिता पुन: संचालन हुन सकेन । सेभन थ्री र क्यानबीच लामो जुहारी नै चल्यो । उक्त प्रतियोगिताको विवादले त्यसबेला ठूलो समस्या त थियो नै, हाल हुन गइरहेको एनपिएलमा पनि असर परेको छ ।
क्यानले आफैं आयोजना गर्न लागेको भएपनि गत संस्करणको नेपाल टि२० मा आएको विवादका कारण आइसीसीले निकै ढिला गरि प्रतियोगिता आयोजना गर्न हरियो झन्डा दिएको छ । लिग संचालनका लागि आइसीसीले केही विशेष प्रावधान राख्दै यसपटक नजिकबाट प्रतियोगिता आयोजनाको सबै पक्ष नियाल्ने क्यानलाई जानकारी दिएको छ ।

त्यसमध्य एक प्रावधान टेस्ट राष्ट्रका स्टार खेलाडीको अनुबन्धनमा पनि कडाइ गर्दै सिमित संख्या तोकिएको छ । यसबाहेक आइसीसीले क्यानसँग हरेक फ्रेन्चाइजको स्थापना र टोली मालिकबारे विस्तृत जानकारी पनि माग गरेको थियो । त्यसको सम्पूर्ण विवरण क्यानले आइसीसीलाई पठाइसकेको छ । हरेक देशमा विदेशी खेलाडी सम्मिलित गरेर एकमात्र आधिकारिक लिग संचालन गर्न पाइने भएकाले पनि आइसीसीले एनपिएललाई आधिकारिकता दिन यो कदम चालेको हो ।
यसपटक क्यानले फ्रेन्चाइज टोली छनोट देखि अक्सनसम्म पारदर्शी ढंगले आफैं लिग आयोजना गर्ने प्रक्रिया सुरु गर्यो । सुरुवातमा ६ टोली भनिएपनि धेरै संस्थाले फ्रेन्चाइज खरिद गर्ने इच्छा देखाएपछि सहभागी टोली संख्या पनि ८ बनाइयो । क्यानले सोचेभन्दा ठूलो रुप लिएको लिगमा नेपाली खेलाडीहरुले पनि राम्रै रकम आर्जन गर्ने भएका छन् ।
हरेक टोलीले मार्की खेलाडीलाई कम्तीमा २० लाख रुपैयाँ प्रदान गर्दैछ । यस्तै अक्सनबाट सहभागी ८ टोलीले १५ लाख देखि २ लाखसम्म खर्चेर ८० खेलाडी अनुबन्धन गरेका छन् । अक्सनमा खेलाडी खरिद गर्न मात्र कुल ५ करोड ९२ लाख ५० हजार रुपैयाँ खर्च भएको थियो । यसबाहेक विदेशी खेलाडीमा यसै हाराहारीमा रकम खर्च हुनेछ । तर आइसीसीको प्रावधानले विदेशी खेलाडी अनुबन्धनमा भने टोलीहरुले चाहेका स्टार अनुबन्ध गर्न नपाउने भएका छन् ।
आइसीसीले क्यानसमक्ष राखेको विशेष प्रावधानमा लिगमा यसपटक टेस्ट राष्ट्रबाट ४ विदेशी खेलाडी मात्र खेलाउन पाइने सर्त राखेको छ । यसमा पछिल्लो दुई वर्षमा टेस्ट राष्ट्रको प्रतिनिधित्व गरेर अन्तर्राष्ट्रिय क्रिकेट खेलेका खेलाडी गणना हुनेछन् । टेस्ट राष्ट्रबाट खेल्न सन्न्यास लिएको २ वर्ष पुगेका वा पछिल्लो २ वर्षयता अन्तर्राष्ट्रिय खेल नखेलेका टेस्ट राष्ट्रका खेलाडी भने यो संख्यामा गणना हुने छैनन् ।
क्यानका प्रवक्ता छुम्बी लामाले आइसीसीले पहिलो पटक यस स्तरको लिग संचालन हुन लागेकाले यो प्रावधान राखेको बताए । ‘हामी पहिलो पटक यो लिग आयोजना गर्दैछौं । त्यसैले टेस्ट राष्ट्रबाट पछिल्लो २ वर्षमा खेलेका ४ खेलाडी मात्र लिगमा खेल्नेछन् । एसोसिएट र टेस्ट राष्ट्रकै २ वर्षयता अन्तर्राष्ट्रिय क्रिकेट नखेलेका खेलाडीमा भने यो नियम लागु हुने छैन,’ उनले भने ।

कर्णाली याक्सले आइतबार पाकिस्तानका अलराउन्डर हुसेन तलतलाई अनुबन्ध गरेको घोषणा गरेको थियो । पाकिस्तानका लागि टि२०आई खेलेपनि उनी आइसीसीको नियमअनुसार गणनामा भने आउने छैनन् । उनले सन् २०१९ मा एकमात्र ओडीआई खेलेका थिए भने पछिल्लो पटक सन् २०२१ मा दक्षिण अफ्रीकाविरुद्ध टि२०आई खेलेका थिए ।
आइसीसीले टेस्ट राष्ट्रका खेलाडीमा ४ वर्तमान खेलाडी मात्र राख्न पाइने भनेपनि एसोसिएट खेलाडीको हकमा भने केही लचकता देखाएको छ । लिगमा हरेक टोलीले प्लेइङ-११ मा कम्तिमा ४ विदेशी खेलाउनै पर्ने प्रावधान रहेको छ । कतिपय खेलाडी लिगको पूरा समय उपलब्ध नहुने कारण आइसीसीले ६ जनासम्म विदेशी खेलाडी अनुबन्ध गर्न भने स्वीकृति दिएको छ । यसकारण अब टोलीहरुले मार्की १, अक्सनबाट १०, ट्यालेन्ट हन्टबाट १ सँगै विदेशी खेलाडी ४ देखि ६ जनासम्म टोलीमा समावेश गर्न पाउनेछन् ।
क्यानले आइसीसीको यो प्रावधान आएसँगै सहभागी टोलीहरुलाई पनि यसबारे जानकारी दिइसकेको छ । गत संस्करणको नेपाल टि२०ले निम्त्याएको समस्या र त्यसपछि नेपालमा यस स्तरमा हुन लागेको पहिलो फ्रेन्चाइज लिग भएकाले आइसीसीको यो कदम स्वभाविक रहेको क्यानका सचिव पारस खड्काले बताए ।
‘हामीले पहिला त गत संस्करणको नेपाल टि२० ले निम्त्याएको समस्याका कारण आइसीसीलाई कन्भिन्स गर्न धेरै मिहिनेत गर्नुपर्यो । अन्त्यमा आइसीसीले विशेष प्रावधानलाई मानेर यो प्रतियोगिता आयोजना गर्दैछौं । यसपटक ४ खेलाडी मात्र आएपनि एसोसिएट र अन्य खेलाडीको हकमा राम्रै मान्नुपर्छ,’ खड्काले भने ।

आइसीसीले हरेक राष्ट्रमा एक मात्र अधिकारिक लिग आयोजना गर्न स्वीकृति दिने गर्दछ । दिर्घकालीन योजनाका साथ अघि बढेको प्रतियोगिता भएका कारण क्यानले आफैं गर्न लागेको एनपिएलमा सबै पक्षलाई पूरा गर्ने सचिव खड्काले बताए ।
‘यसअघिका लिगहरुलाई आइसीसीले धेरै ध्यान दिएको थिएन । ती लिगमा इन्टिग्रिटिमा धेरै समस्या निम्तिएका थिए । यसपटक हामीले आइसीसीको एन्टी करप्सन कोडको अधिनमा रहेर लिग संचालन गर्दैछौं । सुरक्षा र आयोजनाका विषयमा सबै आइसीसी प्रतियोगिता झैं कडाइ हुनेछ,’ राष्ट्रिय टोलीका पूर्वकप्तान समेत रहेका खड्काले प्रष्ट पारे ।
एनपिएलमा केही टोलीले विदेशी प्रशिक्षक अनुबन्ध गरेका छन् । विदेशी खेलाडी अनुबन्ध गर्न होडबाजी पनि सुरु भइसकेको छ । विशेषगरी टेस्ट राष्ट्रका वर्तमान क्रिकेटर अनुबन्धको प्रक्रियामा कुन टोली अघि रहन्छ हेर्न अब चासो बढेको छ । क्यानले ४ खेलाडी मात्र अनुबन्ध गर्न पाउने भएपछि जो पहिला दर्ता गर्छ त्यसै टोलीको खेलाडी गणना गर्ने नियम बनाएको प्रवक्ता लामाले हाम्रो खेलकुदलाई जानकारी दिए ।
एसोसिएट क्रिकेटरको हकमा ६ खेलाडीसम्म अनुबन्ध गर्ने प्रावधानले भने फ्रेन्चाइज टोलीलाई केही राहत मिलेको छ । अब टेस्ट राष्ट्रका खेलाडी पूरा सिजन आउने नपाएपनि उनीहरु उपलब्ध हुने समयबाहेक अन्य बेलामा एसोसिएट क्रिकेटरले स्थान लिन सक्नेछन् ।
हालसम्म अनुबन्ध गरिएका विदेशी खेलाडीहरु:
पोखरा एभेन्जर्स : आन्द्रिएस हाउस (अमेरिका), एन्डरसन फिलिप (वेस्ट इन्डिज), बास डे लिडे (नेदरल्यान्ड्स)
कर्णाली याक्स : हुसेन तलत (पाकिस्तान)
लुम्बिनी लायन्स : टम मोरिस (इंग्ल्याण्ड)
सूदुरपश्चिम रोयल्स : ब्रान्डन मक्मलेन (स्कटल्याण्ड)
विराटनगर किंग्स : अकिब इल्यास (ओमान)
काठमाडौं गुर्खाज : माइकल लेभिट (नेदरल्यान्ड्स)
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]