default_image

8 months ago

April 10, 2025

कुशलको सानदार प्रदर्शनमा नेपालको लगातार जित

5169 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – ओपनर कुशल भुर्तेलको सानदार प्रदर्शनसँगै नेपालले हङकङमा जारी चार देश सम्मिलित टि२० सिरिजमा कुवेतलाई ६ विकेटले पराजित गरेको छ ।

मिसन रोड मैदानमा कुवेतले प्रस्तुत गरेको १ सय ८६ रनको लक्ष्य नेपालले १९ औं ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपाल लगातार दोस्रो जितसँगै प्रतियोगिताको फाइनलमा पुग्ने सम्भावना बलियो भएको छ । यसअघि नेपालले बुधबार कतारलाई ८ विकेटले हराएको थियो ।

कुवेतविरुद्ध विहीबारको खेलमा नेपालका लागि ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले अर्धशतक प्रहार गरे । यी दुईले पहिलो विकेटका लागि १ सय २७ रनको साझेदारी गरेका थिए । १४ औं ओभरमा आसिफ क्याच आउट हुँदा साझेदारी तोडिएको थियो ।

आसिफले ३८ बलमा २ चौका र ४ छक्कासहित ५३ रन जोडे । त्यसको २ ओभरपछि कुशल भुर्तेल पनि आउट भए । ५० बलमा ८१ रन जोडेका उनी लङ अनमा क्याच आउट भए । उनले समान ६-६ चौका र छक्का प्रहार गरेका थिए ।

त्यसै ओभरमा स्पिनर यासिन पटेलले कुशल मल्ललाई आउट गरेपछि नेपाल केही दबाबमा रहेको थियो । ६ बलमा ४ रन जोडेका कुशल मल्लले यासिनलाई क्याच फिर्ता दिएका थिए ।

त्यसपछि दीपेन्द्र सिंह ऐरीले आक्रामक इनिङ खेल्दै नेपाललाई जितसम्म पुर्याए । दीपेन्द्रले १८ औं ओभरमा मित भावसरलाई ३ छक्का र १ चौकासहित २५ रन जोडेपछि नेपाल जितनजिक पुगेको थियो । उनी १९ औं ओभरको पहिलो बलमा क्याच आउट भए । दीपेन्द्रले १२ बलमा २ चौका र ३ छक्कासहित ३१ रन बनाए ।

गुलशन ९ रन र रोहित ५ रनमा नटआउट रहे ।

टस जितेर पहिलो बलिङ रोजेको नेपालविरुद्ध कुवेतले २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ८५ रन बनायो । ओपनर रविजा सान्दारुवानले १५ बलमा २ चौका र १ छक्कासहित २६ रन जोड्दै आक्रामक सुरुवात दिलाए । उनी पाँचौ ओभरको पहिलो बलमा ललित नारायण राजवंशीबाट क्याच आउट भए । सुरुवाती विकेटका लागि ४३ रनको साझेदारी भएको थियो ।

अर्का ओपनर क्लिन्टो एन्टोले ३० बलमा ४ चौका र २ छक्कासहित ४१ रन जोडे । उनी दशौं ओभरमा आउट हुँदा कुवेत ९७-२ को सुदृढ अवस्थामा रहेको थियो । क्लिन्टोले मित भावसरसँग ५४ रनको साझेदारी गरेका थिए । मित १४ औं ओभरमा सोमपालको बलमा बोल्ड भए । उनले २८ बलमा ३५ रन जोडे । सोमपालले त्यसको २ बलपछि नै उस्मान पटेललाई १३ रनमा आफैं क्याच गर्दै पेभेलियन फर्काए ।

त्यसपछि क्रिजमा आएका बिलाल ताहिरले १३ बलमा १ चौका र ४ छक्कासहित ३२ रन जोड्दै कुवेतले खेलमा फर्काए । उनी १८ औं ओभरमा नन्दन यादवको शिकार बने । एक समय २ सय रनको आँकडा छुने देखिएको कुवेतले मध्य ओभरमा नेपाली स्पिनरविरुद्ध आक्रमण गर्न नसक्दा त्यसमा सफल भएन । नेपालको फिल्डीङ आजको खेलमा कमजोर रह्यो ।

नेपालका लागि सोमपालले ३, नन्दनले २ तथा ललित र कुशल भुर्तेलले १-१ विकेट लिए । आज हुने दोस्रो खेलमा आयोजक हङकङले कतारको सामना गर्नेछ ।

सिरिजको पहिलो दिन नेपालले १ सय ५२ रनको लक्ष्य पछ्याउँदै कतारलाई ८ विकेटले पराजित गरेको थियो । कुवेतले हङकङविरुद्ध ४ विकेटको जित निकाल्ने क्रममा १ सय ७६ रनको लक्ष्य पछ्याएको थियो । लिगको शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।

नेपालको २ खेलमा ४ अंक हुँदा कुवेतको २ अंक छ । कतार र हङकङले खाता खोल्न प्रतिस्पर्धा गर्दैछन् ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.