9 years ago
April 21, 2017
सुबास हुमागाईं
धनगढी (हाम्रो खेलकुद) – धनगढी प्रिमिएर लिग अन्तर्गत शनिबार हुने फाइनल खेलमा धनगढी टिम चौराहा र बिराटनगर किङस आमने-सामने हुँदैछन्। उक्त खेलमा दाजु आरीफ शेख चौराहाबाट र भाई आसिफ शेख बिराटनगरबाट पहिलो पटक राष्ट्रिय स्तरको प्रतियोगिताको फाइनलमा आमने सामने हुँदैछन्।

आसिफ शेख (बायाँ) र आरीफ शेख (दायाँ)
प्रतियोगितामा टिम चौराहा धनगढीको पुनरागमनमा ठुलो भूमिका खेल्दै आएका आरीफ शेख राष्ट्रिय टोलीका नियमित सदस्य हुन्। डीपीएलको अक्सनका दौरान पारसको टोलीले आरीफलाई आफ्नो टोलीमा ल्याउन भाग्यको साथ लिनुपरेको थियो। ४ टोलीले अधिकतम ८० हजारको बोली लगाएको अवस्थामा कप्तान पारस खड्काले गोलाप्रथाबाट आरीफलाई आफ्नो टोलीमा पारेका थिए। उनलाई ८० हजार बोली लगाउनेमा फाइनलको प्रतिद्वन्द्वी बिराटनगर किङ्ससंगै रुपन्देही च्यालेन्जर्स र सीवाईसी अत्तरिया पनि रहेका थिए।
प्रतियोगितामा चौराहाको पहिलो जितमा म्यान अफ द म्याच प्रदर्शन गरेका आरीफले त्यसयता पनि राम्रो प्रदर्शन गरिरहेका छन्। एलिमिनेटरमा काठमाडौँ गोल्डेन्सविरुद्ध कप्तान पारस खड्का पेभेलियन फर्किएपछि उनले नै चौराहालाई विजयी रनसम्म डोर्याएका थिए। रुपन्देही च्यालेन्जर्स विरुद्धको दोश्रो क्वालीफायरमा पनि उनले चौराहाको लागि सुरुवाती २ सफलता दिलाएका थिए। उनले रुपन्देहीका ओपनरद्वय हरिशंकर साह र शंकर रानालाई क्लिन बोल्ड गरेपछि रुपन्देहीको पतन सुरु भएको थियो।
जारी प्रतियोगितामा ब्याटिङ तर्फ ६ खेलमा सर्वाधिक ५८ रनको स्कोर सहित कुल ११४ रन बनाएका आरीफले ९ विकेट पनि लिएका छन्। आफ्नो टोलीका लागि सुरुवाती र अन्तिम ओभर बलिङ गर्ने उनले १८को औसतमा विकेट लिदैं ६.२३ रन प्रति ओभर खर्चेका छन्।
बिराटनगर किङ्सको लागि विकेटकिपर ब्याट्सम्यानको भूमिका निभाइरहेका भाई आसिफ शेख पनि दाजुजस्तै प्रतियोगिताको एक खेलमा म्यान अफ द म्याच भएका छन्। उनले जारी प्रतियोगितामा ७ खेल खेल्दै कुल १ सय रन जोडेका छन्। सामान्यतया ओपनरका रुपमा खेल्ने उनले बिराटनगरको लागि यस प्रतियोगितामा २ खेल ओपनिङ गरेपनि त्यसयता तेश्रो नम्बरमा ब्याटिङ गर्दै आएका छन्। तर बिराटनगरको लागि सुरुवाती जोडी लगातार असफल हुँदै आएपछि आसिफ चाडैं मैदानमा छिर्न बाध्य छन्। ओपनर भएर खेल्न भन्दा चाँडो विकेट गुमाएर क्रिजमा जाँदा बढी दबाब हुने भएतापनि आसिफले आफ्नो भूमिका राम्रोसंग निभाइरहेका छन्।
प्रतियोगितामा विकेटकिपरहरुले सन्तोषजनक प्रदर्शन नगरिरहेको अवस्थमा आसिफले आफुलाई भने अरु भन्दा अब्बल तुल्याएका छन्। प्रतियोगितामा ६ खेल स्टम्प पछाडी बसेका उनले २ क्याच र ६ स्टम्पिङ गरेका छन्।

कन्चनपुरविरुद्ध कुशल भुर्तेललाई स्टम्पीङ गर्दै आसिफ
विश्व क्रिकेट लिग च्याम्पियनसिपमा केन्याविरुद्ध राष्ट्रिय टोलीको रिजर्भमा परेका आसिफले त्यसअघि भएको भारत भ्रमणमा स्थान बनाएका थिए। नेपालले बंगलादेशमा भएको एसीसी इमर्जिङ नेसन्स कप खेल्दा भने आसिफ राष्ट्रिय टोलीको सदस्य रहेका थिए। उनले त्यहाँ २ खेल खेलेपनि उनो प्रदर्शन सन्तोषजनक भने रहेन।
घरेलु प्रतियोगितामा राम्रो प्रदर्शन गर्दै आएका आसिफले पन्चकन्या तेजबाट खेल्दै एभरेष्ट प्रिमिएर लिग (ई.पी.एल)को उपाधि जितेका थिए। उक्त प्रतियोगिताको फाइनलमा उनकै शतकको मद्दतले तेज विजयी भएको थियो। उनि सातौं राष्ट्रिय खेलकुदमा स्वर्ण जित्ने सशस्त्र प्रहरी बल (एपीएफ)को टोलीमा पनि सामेल थिए।
दाजु आरीफजस्तै डीपीएलको अक्सनमा आसिफलाई आफ्नो टोलीमा ल्याउँदा बिराटनगरले पनि भाग्यकै साथ लिएको थियो। आसिफको लागि तोकिएको अधिकतम ५० हजार रुपैयाँको बोली रुपन्देही च्यालेन्जर्स बाहेकका सबै पाँच टोलीले लगाएका थिए। तर गोलाप्रथाबाट बिराटनगर किङ्सले आसिफलाई आफ्नो टोलीमा समावेश गर्न सफल रह्यो।
आ-आफ्नो टोलीबाट उत्कृष्ट प्रदर्शन गरिरहेका यी २ युवा खेलाडी शनिबार हुने खेलमा आमने-सामने हुँदैछन्। घरेलु प्रतियोगितामा आरीफ नेपाल पुलिसबाट खेल्छन् भने आसिफ एपीएफबाट। यसै प्रतियोगिताको लिग चरणमा यी २ टोली खेल्दा भाई आसिफको टोली विजयी रहेको थियो। तर भोलि हुने फाइनलमा भने आफ्नो टोलीले जित्नेमा आफु विश्वस्त रहेको दाजु आरीफ बताउँछन्।
“हामी लिग चरणमा खेल्दा राम्रो सुरुवात गर्न सकिरहेका थिएनौं। तर पछिल्लो नातिजहरुले हामीमा उर्जा थपेको छ। लगातार राम्रो प्रदर्शन संगै जित हासिल गर्दा टोलीमा छुट्टै माहोल छ। हामी भोली मैदानमा यसै प्रदर्शनलाई जारी राख्दै उपाधि जित्ने छौं”, आरीफ भन्छन्।

रुपन्देहीविरुद्ध बलिङ गर्दै आरीफ
केहि दबाब र रोमान्चका साथ फाइनलसम्म आइपुग्दा टोलीले गल्ति सच्याएको र फाइनलमा उक्त गल्तिहरु नदोहोर्याउनेमा आरीफ ढुक्क छन्। तर बिराटनगर पनि राम्रो टोली रहेको र त्यहाँ रहेका केहि खेलाडीहरुसंग आफु चिर परिचित रहेकाले केहि फाइदा/बेफाइदा रहेको पनि उनि बताउँछन्। “बिराटनगरबाट खेल्ने केहि खेलाडीसंग म धेरै समयदेखि खेल्दै आइरहेको छु। मलाई उनीहरुको कमजोर पक्ष थाहा छ र उनीहरुको मलाई। यस्तो अवस्थामा सकेसम्म गल्ति नगरी आफ्नो प्रदर्शनमा ध्यान दिनुपर्ने हुन्छ।”, उनले भने।
सहोदर भाई विरुद्ध पहिलो पटक फाइनल खेलमा उत्रँदा केहि दबाब नहुने उनले बताए। “हामी सानो उमेरदेखि संगै खेल्दै आएका छौं। फरक यति छ कि पहिले भन्दा अहिले हामी दुवै धेरै राम्रो खेलाडी भइसकेका छौँ। एक अर्का विरुद्ध उत्रदा दाजुभाई भन्दा पनि विपक्षी खेलाडीको रुपमा हेरिन्छ। भोलि मैदानमा पनि म जितको लागि उत्रनेछु।”, उनले थपे।
कप्तान पारस खड्काको बलिंगमा अनुपस्थितिले अलराउण्ड भूमिकामा थप जिम्मेवारी आएपनि उनि त्यसमा खरो उत्रिएका छन्। ‘कप्तानको बलिंगमा अनुपस्थितिले केहि दबाब भएपनि हाम्रो टोली त्यसबाट माथि उठेर राम्रो प्रदर्शन गर्न सक्षम छ। उहाँको अनुपस्थितिले केही अनुभवको कमी भएतापनि खेलसंगै हामी आफ्नो प्रदर्शन सुधरिरहेका छौँ,’ उनले टुंग्याए।
दाजुजस्तै भाई आसिफपनि आफ्नो टोलीले जित्नेमा ढुक्क छन्। लिग चरणमा जित हात पारिसकेको र भोलि हुने फाइनलमा पनि सोहि नतिजा आउनेमा आफु विश्वस्त रहेको उनि बताउँछन्। “हामीले चौराहालाई एकपटक पराजित गरिसकेका हौँ। खेलसंगै हामीले आफ्नो प्रदर्शन पनि सुधार्दै आएका छौँ। भोलीपनि सोहि प्रदर्शन गर्दै उपाधि उठाउने छौँ”, उनले भने।
सानो उमेर देखि संगै खेलेपनि यस्तो समयमा भने सम्बन्ध बिर्सेर खेलाडीको रुपमा प्रस्तुत हुने उनले बताए। “भोली हुने खेलमा दाजुभाई नभनेर विपक्षी खेलाडीको रुपमा मैदान उत्रनेछौँ। दुवै जितको लागि उत्रिने हो, जसले राम्रो खेल्छ उसैले जित्छ। सानो उमेरदेखि संगै खेलेकाले दुवैलाई एक अर्काको गल्ति थाहा छ। त्यसैले म थप सतर्क भएर उत्रनेछु”, उनले टुंग्याए।
बिराटनगर किङ्स र टिम चौराहा धनगढी बिचको फाइनल खेल बिहान ११ बजे धनगढी स्थित एस.एस.पी क्रिकेट मैदानमा हुनेछ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]