7 years ago
November 1, 2018
पोखरा (हाम्रो खेलकुद) – ड्यानीएल लरेन्स इंग्लिस क्रिकेटमा आशालाग्दा प्रतिभा हुन् । २१ वर्षीय एसेक्सका ब्याट्सम्यान सन् २०१८ को सुरुवातमा टेस्ट टोलीमा पर्ने चर्चा पनि चालेको थियो । कारण उनले २०१७ सिजनको काउन्टीमा निकै राम्रो प्रदर्शन गरेका थिए ।

सन् २०१७ को काउन्टीमा ४४.७६ को औसतमा रन जोडेका लरेन्स इंग्लिस टेस्ट टोलीमा पर्नेबारे चर्चा चलेको थियो । विश्व प्रसिद्ध खेलकुद वेबसाइट स्काई स्पोर्ट्सका पण्डित रब किले उनलाई आफ्नो सम्भावित इंग्ल्यान्ड टोलीमा नै समेटेका थिए । युवा उमेरमा नै एसेक्सको काउन्टी टोलीमा आफूलाई स्थापित गरेका लरेन्स इंग्ल्यान्डको दोस्रो श्रेणीको टोलीमा भने खेल्दै आएका छन् ।
लरेन्स अहिले पोखरामा आयोजित नमस्ते पोखरा प्रिमियर लिगमा एक्स्पर्ट धनगढी ब्लुजबाट खेलिरहेका छन् । सुरुवाती खेलमा उनको ब्याटबाट रन निस्कन नसक्दा टोलीले हार नै बेहोर्नुपर्यो । तर विराटनगर टाइटन्सविरुद्ध उत्कृष्ट बलिङ गरेर टोलीको जितमा योगदान दिएका लरेन्स बिहिबार बुटवल ब्लास्टर्सलाई पराजित गर्दा म्यान अफ द म्याच नै भए । बुटवलविरुद्ध उनले ब्याटबाट अर्धशतक मात्र जोडेनन्, बलिङ र फिल्डीङमा पनि उत्तिकै राम्रो प्रदर्शन गरे । धनगढीको इनिङस उकास्न उनले कप्तान दीपेन्द्रसिंह ऐरीसँग शतकीय साझेदारी पनि गरे । उनले आफ्नो स्तरअनुसार कै प्रदर्शन पनि गरे ।
लरेन्सले ब्याटिङमा ३९ बलमा ३ चौका र २ छक्कासहित ५२ रन जोडे । बलिङमा सिद्धान्त लोहनीको महत्त्वपूर्ण विकेट लिएका लरेन्सले ४ ओभरमा २५ रनमात्र खर्चे । त्यसअघि उनले फिल्डमा रोहन मुस्तफाको महत्त्वपूर्ण विकेट लिँदा रनआउट गरे ।

खेलपछि म्यान अफ द म्याच बनेका लरेन्ससँग लिइएको अन्तर्वार्ता (भिडियो) :
आजको प्रदर्शन कस्तो रहयो ?
आज समग्र टोलीको प्रदर्शन नै राम्रो रहयो । व्यक्तिगत रुपमा मेरो लागि रन हान्नु सुखद पक्ष भयो । हाम्रो कप्तान दीपेन्द्रले पनि निकै राम्रो खेले । उनको र मेरो साझेदारी नै खेलको महत्त्वपूर्ण पाटो थियो । हाम्रो लागि यो जितको महत्त्व धेरै छ । अब अगाडी बढ्न भोलीको खेलमा पनि जित दर्ता गर्नुपर्छ, र अलि फराकिलो जितको आवश्यकता पर्नेछ ।
पछिल्ला खेलमा रन निस्केको थिएन, आज के फरक थियो ?
पछिल्लो खेलमा ओपनरको रुपमा आएकोमा आज चौथो नम्बरमा ब्याटिङ गर्न आएको थिएँ । यसो गर्दा मैले केहि समय खर्चन पाएँ । पिचको अवस्थालाई पनि बिस्तारै बुझ्न थालेको छु । अब आउने खेलमा केहि रन प्रहार गर्नेमा विश्वस्त छु ।
आज ब्याटिङमा सुस्त सुरुवात भयो, पिच ब्याटिङ गर्न केहि कठिन थियो ?
हामी खराब स्थितिमा रहेका कारण पनि सुरुवात सुस्त गर्नुपरेको हो । बलियो साझेदारी बनाउनुपर्ने हुनाले त्यसलाई प्राथमिकतामा राखेर पछि बिस्तारै गति बढाउन सक्यौं ।

ब्याटिङसँगै बलिङमा पनि राम्रो प्रदर्शन भएको छ, यसले निरन्तरता पाउला ?
विश्वस्त छु । अहिलेसम्म बलिङ पनि राम्रो नै भएको छ । औसतमा ५ रन प्रतिओभर खर्चेको कारण पनि यसलाई निरन्तरता दिने नै सुर छ ।
इंग्ल्यान्डमा एसेक्सबाट खेलेर नेपाल आउँदा यहाँको क्रिकेट कस्तो लाग्यो ?
यहाँको क्रिकेट स्तर देखेर निकै प्रभावित भएको छु । मैले नेपालमा आशालाग्दा युवा खेलाडीहरु देखेको छु । तीमध्य एक त हाम्रो टोलीका कप्तान दीपेन्द्रसिंह ऐरी नै हुन् । उनी निकै राम्रा खेलाडी हुन् । नेपाली क्रिकेटको भविष्य निकै उज्ज्वल देखिन्छ ।
सौरभ खनालको आक्रामक ब्याटिङ कस्तो लाग्यो ?
उनी हाम्रो टोलीका फिनिसर हुन् । व्यक्तिगत रुपमा पनि राम्रा छन् । उनले राम्रो तरिकाले छक्का प्रहार गर्छन् । टोलीमा उनलाई आक्रामक सट खेल्ने स्वतन्त्रता दिने योजना छ, जसमा उनी सफल हुँदै आएका छन् ।
विपक्षी टोलीको स्तर कस्तो पाउनुभयो ?
अन्य टोलीको खेलाडी पनि राम्रा छन् । मैले यहाँ आउनुभन्दा अगाडी अपेक्षागरेभन्दा निकै राम्रो पाएँ । हाम्रो टोली अरुभन्दा केहि युवा जोशले भरिपूर्ण छ । अनुभवको केहि कमी छ तर हाम्रो स्तरअनुसार खेल्ने हो भने नतिजा निकाल्न सक्छौं ।
नेपाल आउनुअघि यहाँबारे केहि थाहा थियो ?
अहँ, केहि थाहा थिएन । मैले अघिपनि भनें यहाँको क्रिकेट निकै राम्रो रहेको पाएँ । सोचेभन्दा पनि राम्रो क्रिकेट खेल्न पाइरहेको छु ।
ट्रेगोको साथले कति सहज भएको छ ?
उनी अनुभवी क्रिकेटर हुन् । उनले इंग्ल्यान्डमात्र नभएर विश्वका धेरै देशमा टि-२० क्रिकेट खेलेका छन् । उनले दिएको सुझावले सहयोग पुगेको छ र उनले आफैं पनि राम्रो प्रदर्शन गरिरहेका छन् ।
प्रतियोगितामा धनगढीको सम्भावना कस्तो छ ?
पहिला त भोलीको खेलमा जित दर्ता गर्नुपर्यो । त्यसपछि प्लेअफ खेल्दै सम्भावना राम्रो छ । हामीले बलिङमा अपेक्षित प्रदर्शन गर्यौं भने नतिजा आफ्नो पक्षमा पार्न सक्छौं ।
भिडियो:
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]