सुबास हुमागाईं, दुवई
युवा स्पिनर ललित नारायण राजवंशीले यूएईविरुद्ध शुक्रबार हुने पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मा खेल्दै नेपालको लागि ओडीआईमा डेब्यु गर्ने सम्भावना प्रबल रहेको छ ।

नेपाली टोलीले बिहीबार खेलको पूर्वसन्ध्यामा प्रशिक्षण गर्दा टोलीका महत्त्वपूर्ण सदस्य रहेका भेट्रान स्पिनर वसन्त रेग्मी बिरामी रहेपछि ललितले खेल्ने सम्भावना बढेको हो । वसन्त यूएई आएदेखि ज्वरोले ग्रसित भएका कारण बिहीबार प्रशिक्षणमा सहभागी भएनन् । पछिल्लो समय उत्कृष्ट प्रदर्शन गरिरहेका ललितले शुक्रबार पहिलो रोजाइमा खेल्ने सम्भावना बढेको छ ।
अघिल्लो वर्ष जिम्बाब्वेविरुद्ध विश्वकप छनोटमा डेब्यु गरेका ललितले घरेलु प्रतियोगितासँगै राष्ट्रिय टोलीको जर्सीमा पनि अवसर पाएको बेलामा राम्रो प्रदर्शन गरेका छन् । उनले पछिल्लो पटक विश्व टि-२० छनोट अन्तर्गत एसिया क्षेत्र प्रतियोगितामा पनि राम्रो प्रदर्शन गरेका थिए । उनले नेदरल्यान्ड्सविरुद्ध ओडीआई सिरिज खेलेको टोलीमा समावेश भएपनि खेल्न भने पाएका थिएनन् ।
उनी गत महिना सम्पन्न एभरेस्ट प्रिमियर लिग (ईपीएल) को फाइनल खेलमा म्यान अफ द म्याच समेत भएका थिए । ललितपुर प्याट्रीयट्सलाई उपाधि दिलाउँदा ललितले महत्त्वपूर्ण योगदान दिएका थिए ।