default_image

5 years ago

October 17, 2019

‘पारस युग’ : चौतर्फी सफलता, अप्रत्याशित निर्णय

97 views

0 Bookmark

हाम्रो खेलकुद टिम

पारस खड्का, नेपाली क्रिकेट इतिहासकै सर्वाधिक सफल कप्तान र खेलाडी । यस्ता व्यक्तित्व जसले नेपाली राष्ट्रिय क्रिकेट टोली मात्र नभएर नेपाली क्रिकेटलाई नै निकै कठिन परिस्थितिबाट अगाडी बढाए । नेपाली क्रिकेटमा युगान्तकारी परिवर्तन ल्याउन मैदान भित्र र बाहिर उत्तिकै डटेर लागेका पारस अब उक्त भूमिकामा रहने छैनन् । कप्तानीबाट राजीनामा दिंदै पारसले अब आफू एक खेलाडी मात्र रहेको घोषणा गरेका छन् ।

पारसका लागि मैदानभित्र टोलीको नेतृत्व गर्ने जिम्मेवारी थियो भने मैदानबाहिर क्रिकेटकै नेतृत्व गर्नु उनलाई नियतिले दिएको जिम्मेवारी । उनले आफ्नो जिम्मेवारी मैदानभित्र कुशलतापूर्वक निर्वाह गरे नै, त्यो उनले टोलीको कप्तानी गर्दै दिलाएको सफलताले देखाउँछ । मैदानबाहिर पनि उनले आफूलाई दृढ राखे । उनको कार्यशैलीलाई लिएर हरेक समय आलोचक वरपर सल्बलाए । केहि उनको क्षमता र शैली देखेर प्रशंसा गर्न लागे त अझै केहि आलोचनामा अझै व्यस्त छन् । केहि सिमित व्यक्तिबाहेक समग्र नेपाली क्रिकेट जगतमाझ उनले छुट्टै परिचय बनाएका छन् । उनले क्रिकेट जगतमा गरेको कार्य खेलकुद क्षेत्र मात्र नभएर नेपाली समाजका लागि नै उदाहरणीय बन्न पुग्यो ।

जुन किसिमको प्रभाव पारसले नेपाली क्रिकेटमा बनाए, त्यसको अन्त्य भने निकै खल्लो रहयो । पारसले सबैलाई आश्चर्य पार्दै मंगलबार कप्तान पद छाडेको घोषणा गरे । एक सामाजिक सञ्जालको पोष्टमार्फत उनले कप्तानी छाडेको जानकारी दिए । झट्ट हेर्दा पत्याउनै गाह्रो यस यथार्थलाई अब स्विकार्नुको विकल्प रहेन । उनले घोषणाको केही समयमा अनौपचारिक पत्रकार सम्मेलनमार्फत प्रष्टीकरण पनि दिए । र उनले आफूले हतारमा यस निर्णय नलिएको र फिर्ता नहुने पनि प्रष्ट पारे ।

पारसलाई नेपाली क्रिकेटमा ‘वान म्यान आर्मी’ अर्थात एकल योद्धा समेत भन्ने गरिन्छ । नेपाली क्रिकेट टोलीको सफलतासँगै पारसको नाम जोडेर आउँछ । पारसविनाको नेपाली क्रिकेट इतिहास अब अपूरो हुन्छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा बनेका अधिकांश कीर्तिमान पनि पारसकै नाममा छन् । पारसको प्रर्दशनकै भरमा नेपालले यहाँसम्मको यात्रा तय गरेको भन्दा दुइमत नहोला । त्यसमा उनको नेतृत्वदायी भूमिका विशेष रहयो । सिमित स्रोत र साधनकाबीच नेपाललाई एक पछि अर्को ठूलो सफलता दिलाउने विश्व क्रिकेट जगतकै उदाहरणीय कप्तानका रुपमा उनले आफूलाई स्थापित गरे । त्यसैले पनि उनको कप्तानीबाट राजीनामा विश्व क्रिकेटमै चर्चा भयो ।

सन् २००२ मा यूएईमा भएको यू१५ एसिया कपबाट पारसको नेपाली क्रिकेटमा यात्रा सुरु भएको थियो । सन् २००३ मा नै उनले यू१९ टोलीमा स्थान बनाउन सफल रहे । त्यसको एक वर्षपछि नै उनले मलेसियाविरुद्ध खेलाडी सिनियर राष्ट्रिय टोलीबाट डेब्यू गरे । सन् २००९ मा तत्कालिन कप्तान विनोद दासलाई प्रतिस्थापन गर्दै एसीसी टी२० एलिट कपमा मलेसियाविरुद्ध पारसले पहिलो पटक राष्ट्रिय टोलीको कप्तानी गरेका थिए ।

पारसले १० वर्षको अन्तरलमा नेपाली क्रिकेटको परिचय आकश पातलको फरक बनाए । टि ट्वान्टी विश्वकप, वान डे मान्यतासँगै टेष्ट राष्ट्रको बन्न सक्ने स्तरमा पुर्याएका छन् । अब नेपालको लक्ष्य पनि टेष्ट नेशन छ । सन् २००९ देखि २०१९ सम्म आउँदा नेपाली क्रिकेटमा थुप्रै उथलपुथल तथा बाधा अवरोध खेप्नुपर्यो । मैदानबाहिर जति नै बाधा अड्चन आएपनि नेपाली क्रिकेटले मैदानभित्र भने लगातार सफलता हात पारिरहयो । जुन उपलब्धि हात पार्न पारसको प्रर्दशन र कप्तानी महत्वपूर्ण रह्यो ।

सन् २०१० मा नेपालमा भएको आईसीसी विश्व क्रिकेट लिग डिभिजन फाइभ (५) को उपाधि पारसले घरैमा सुरक्षित गरे । जुन पारसले आफ्नो कप्तानीमा दिलाएको पहिलो ठूलो सफलता थियो । फाइनलमा नेपालले अमरिकालाई ५ विकेटले पराजित गरेको थियो । पारसले सन् २०१२ मा मलेसियामा भएको आईसीसी वोल्ड क्रिकेट लिग डिभिजन फोर(४) को उपाधि जिताए । फाइनलमा अमेरिकालाई ८ विकेटले पराजित गरेको थियो । त्यसैवर्ष वर्ष यूएईमा भएको एसीसी टर्फि इलिटको उपाधि पक्का गराए ।

सन् २०१३ मा बर्मुडामा भएको आईसीसी विश्व क्रिकेट लिग डिभिजन थ्रि(३) को उपाधि जिताउँदै पारसले नेपालको विश्व क्रिकेटमा ठूलो सम्भावना रहेको देखाए । एक पछि अर्को सफलता दिलाउने क्रममा पारसले सन् २०१४ मा मलेसियामा भएको डिभिजन ३ को उपाधि पनि नेपालको नाममा लेखाए । पारसको कप्तानीमा सन् २०१४ मा बंगलादेशमा भएको आईसीसी टि ट्वान्टी विश्वकपमा नेपालले पहिलो पटक सहभागिता जनायो । जुन नेपाली क्रिकेट मात्र नभएर खेलकुदले नै पाएको सर्वाधिक ठूलो सफलता थियो । विश्वकपमा पारसको प्रर्दशन पनि सानदार रह्यो ।

विश्वकप पछि नेपाली क्रिकेटको लोकप्रियता ह्वात्तै बढ्यो । पारसले पनि यति धेरै लोकप्रियता बढ्ला भनेर कहिले नसोचेको बेला बेलामा बताउने गर्दछन् । मैदानभित्र खेलाडीले उत्कृष्ट प्रर्दशन गरिरहँदा यता नेपाल क्रिकेट संघ (क्यान) भद्रगोल बनिरहेको थियो । खेलाडीनै क्यानविरुद्ध आन्दोलनमा उत्रनुपर्ने वातावरण सिर्जना भयो ।

सन् २०१५ मा आइसीसी टि ट्वान्टी विश्वकप छनोटमा खराब प्रर्दशन गर्दै बाहिरिएपछि नेपाली क्रिकेट केहि समय सुनसान जस्तै बन्न पुग्यो । तर कप्तान पारस आत्तिएनन् । अनेक चरणका विवादपश्चात सन् २०१६ मा नेपाल क्रिकेट संघ (क्यान) आईसीसीको निलम्बनमा पर्यो । क्यान निलम्बन भएपनि नेपालले पहिलो पटक क्रिकेटको मक्का मानिने लर्ड्स मैदानमा खेल्न पायो । जसमा एमसीसीलाई ४१ रनले पराजित गर्दै सनसनी मच्चायो । लर्ड्स खेलेपछि सबै खेलाडीले सपना जस्तो लागेको बताएका थिए ।

क्यान निलम्बनमा परेपनि आईसीसीको समन्वयमा नेपालले आईसीसी विश्व क्रिकेट लिगमा सन् २०१५ देखि २०१८ सम्म प्रतिस्पर्धा गर्यो । जसअन्तर्गत सन् २०१६ मा कीर्तिपुर मैदानमा नामिबियासँगको दोस्रो खेलमा कप्तान पारसले शतक प्रहार गर्दै सहज जित दिलाए । ८ राष्ट्र सम्मिलित आईसीसी विश्व क्रिकेट च्याम्पियन्स लिग नेपाल सातौं स्थानमा रहेपछि शीर्ष चारमा रहेर सोझै एकदिवसिय विश्वकप छनोट खेल्ने अवसर नेपाल गुमायो ।

सन् २०१८ मा नामिबियामा भएको डिभिजन २ मा कप्तान पारस खड्काले नेपाललाई शीर्ष स्थानमा रहँदै जिम्बावेमा हुने एक दिवसिय विश्वकप छनोटमा स्थान पक्का गरे । जसअन्तर्गत फाइनलमा यूएईविरुद्ध उत्कृष्ट शतक प्रहार गरेका थिए । प्रतियोगितामा सर्वाधिक रन बनाउने क्रममा पारसले ६ खेलमा २ सय ४१ रन जोडे । सन् २०१८ मार्चमा भएको आईसीसी एक दिवसिय विश्वकप छनोटमा १० टोली सहभागि प्रतियोगितामा नेपाल आठौं स्थानमा रहेपछि पहिलो पटक वान डे अन्तर्राष्ट्रिय (ओडीआई)मान्यता प्राप्त गर्यो । नेपालले हङकङ र पप्पुवा न्युगिनीलाई हराउँदै पहिलो पटक वान डे मान्यता पक्का गर्यो । जुन एक दशकदेखि नेपालको सपना थियो । ओडीआई मान्यता पाउन पारसको कप्तानी पनि उत्तिकै उत्कृष्ट थियो ।

नेपालले सन् २०१८ अगष्ट १ मा नेदरल्यान्डसँग ओडीआई डेब्यू गर्दै इतिहास रच्यो । पहिलो खेलमा ब्याटिङ नचल्ने परम्परागत समस्याले नियाँतारता पाएपछि नेपाल ५५ रनले पराजित हुन पुग्यो । दोस्रो खेलमा रोमान्चक १ रनको जित निकाल्दै नेपालले पहिलो ओडीआई जितको इतिहास रच्यो । पहिलो ओडीआई जिताउन कप्तान पारसले ५१ रन बनाउनुको साथै महत्वपूर्ण १ विकेट लिए ।

पारसले गत माघमा नेपाललाई अर्को एतिहासिक सफलता दिलाए । यूएईसँगको तीन ओडीआई सिरिज २–१ ले जिताउदै इतिहास रचे । पारसल तेस्रो खेलमा १ सय १५ रनको शतकीय इनिङ खेल्दै नेपालबाट ओडीआईमा शतक पुरा गर्ने पहिलो ब्याट्सम्यान समेत बने । त्यस्तै यूएईसँगको तीन टि२० सिरिज पनि २–१ ले जित्दै इतिहास रच्न सफल भयो ।

नेपालले गत वर्ष अक्टोबरमा आईसीसी वोल्ड टि ट्वान्टी एसिया रिजन बी को उपाधि जित्यो । दुई महिना अघि सिंगापुरमा सम्पन्न आईसीसी टि ट्वान्टी विश्वकप एसिया छनोटमा खराब प्रर्दशन गर्दै बाहिरिएपछि भने खेलाडी,समर्थक र शुभचिन्तक सबै निराश बने । सम्भवत उनको करीअरमा नेपालले हासिल गरेको खराब नतिजामध्यमा त्यहि पर्छ ।

नेपालले केहि साता अघि सिंगापुर,जिम्बावेसँगको त्रिकोणात्मक सिरिजमा मध्यम प्रर्दशन गरेको थियो । सिंगापुरलाई ९ विकेटले पराजित गर्नेक्रममा पारस खड्काले १ सय ६ रनको अविजित इनिङ खेल्दै इतिहास रचेका थिए । पारस नेपालबाट टि ट्वान्टीमा शतक प्रहार गर्ने पहिलो खेलाडी हुन् । लक्ष्य पछ्याउने क्रममा टि ट्वान्टी आईमा शतक प्रहर गर्ने विश्वकपको पहिलो कप्तान समेत पर्दछन् ।

एक साता अघि सम्पन्न पाँच राष्ट्र सम्मिलित टि ट्वान्टी सिरिजमा पनि पारसले प्रर्दशन उत्कृष्ट थियो । तीनै उत्कृष्ट लयमा रहेका पारसले कप्तानबाट राजीनामा दिदा विश्व क्रिकेट जगतनै आश्चर्यमा परेको छ । प्राप्य कप्तान आफ्नो र टोलीको प्रर्दशन खराब भएमा वा अर्को उत्कृष्ट कप्तान देखिएमा राजीनामा दिने गर्दछन् । पारस भन्दा अघि नेपाली क्रिकेटमा कुनै कप्तान देखिदैन । कप्तान तयार गर्नु पर्ने समयमा राजीनामा दिंदा शंका पनि उत्पन्न भएको छ । कतै नयाँ नेतृत्वसँग पारसको कुरा त मिल्दैन भन्ने प्रश्न उठ्न थालेको छ ।

तीन वर्ष सम्म निलम्बनमा रहेको क्यान फुकुवा भएको छ । क्यानले पनि यसै महिना नयाँ नेतृत्व पाएको थियो । नेपाली क्रिकेट टोली युवातर्फ केन्द्रित हुँदैछ । नेपालले विश्वकप हुँदै टेष्ट मान्यता प्राप्त गर्ने सपना राखेको छ । यो अवस्थामा पारसले नेतृत्व छाड्नु सुखद खबर पक्कै होइन । पारसले कप्तानी छोड्दा नेपालको स्तर खस्किने हो की भन्ने चिन्ता पक्कै छ । सोझो अर्थमा भन्नुपर्दा पारसले कप्तानी छाड्ने बेला भएको छैन । तर उनको पारस आफैं मानसिक रुपमा कप्तानबाट बाहिरिने निर्णय गरेको अवस्थामा क्यानले भविष्यबारे सोच्नु आवश्यक छ ।

कप्तानका रुपमा पारसले नेपाली क्रिकेटका लागि अपेक्षा गरेभन्दा पनि धेरै दिएका छन् । यहाँसम्म कि उनले आफ्नो व्यक्तिगत जीवन समेत अलग राखेर नेपाली क्रिकेटका लागि अहोरात्र खटेका छन् । उमेर ढल्दै जाँदा उनले अब कप्तानी छाडेर खेलाडीको रुपमा आफ्नो करीअर लम्ब्याउने लक्ष्य राखेका छन् । कप्तानको पद छाडेका पारस टोलीसँग साथ रहँदै अब आउने दिनमा नयाँ कप्तान तयार पार्न साथ पक्कै हुनेछन् । पारस युगको अन्त्य भएपनि अब नयाँ युगका लागि पारस सारथी बन्नेछन् । राष्ट्रिय टोलीबाट लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएका उनले कप्तानको जिम्मेवारीबाट मुक्त भएसँगै खेलमा अझै सुधार गरुन्, नेपाली क्रिकेट जगत त्यसैको अपेक्षामा रहनेछ ।

December 14, 2024

जनकपुर पराजित हुँदा पोखरा र विराटनगर एनपिएलबाट बाहिर

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा जनकपुर बोल्ट्स पराजित हुँदा विराटनगर किंग्स तथा पोखरा एभेन्जर्स प्रतियोगिताबाट बाहिरिएका छन् । शनिवारको दोस्रो खेलमा चितवनले जनकपुरमाथि ३२ रनको जित हासिल गरेको हो । जितसँगै चितवनले प्लेअफ प्रवेशको सम्भावना बलियो बनाएको छ । चितवनको जितपछि पोखरा र विराटनगर प्रतियोगिताबाट बाहिरिएका हुन् । चौथो स्थानमा रहेको […]

December 14, 2024

कुशलको अर्धशतकमा चितवनको बलियो लक्ष्य तयार

काठमाडौं(हाम्रो खेलकुद) – कप्तान कुशल मल्लको अर्धशतकको सहयोगमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा जनकपुर बोल्ट्सविरुद्ध चितवन राइनोजले बलियो योगफल तयार गरेको छ । टियु मैदानमा टस जितेर ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ८० रनको योगफल तयार गर्यो । चितवनका लागि कप्तान कुशलले ७२ रन जोडे । उनले ४१ […]

December 14, 2024

चितवनले टस जित्यो

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा जनकपुर बोल्ट्सविरुद्ध चितवन राइनोजले टस जितेको छ । टियु क्रिकेट मैदानमा चितवनका कप्तान कुशल मल्लले टस जितेर ब्याटिङ रोजेको छ । शुक्रवार विराटनगरसँग पराजित टोलीमा चितवनले कुनै परिवर्तन गरेको छैन । चितवन राइनोजको प्लेईङ-११ कुशल मल्ल, रञ्जित कुमार, रवि बोपारा, हसन इसाखिल, बासिल हमिद, रिजन ढकाल, […]

Success

Thank you for your time.