एजेन्सी – विश्वचर्चित अष्ट्रेलियाको बिग ब्यास टि ट्वान्टी क्रिकेट लिगमा लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित मेलबर्न स्टार्सले ब्रिस्बेन हीटसँग खेल्दै छ । पहिलो इनिङ ब्याटिङ गरेको मेलबर्नले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६७ रन जोडेको छ ।
म्याक्सवेलले पाँचौ नम्बरमा ब्याटिङ गर्दै ३९ बलमा ७ चौका र ५ छक्काको मदतले ८३ रन जोडे । उनी अन्तिम ओभरको चौथो बलमा बेन लालिनको बलमा बोल्ड भएका थिए । म्याक्सवेलले आक्रामक ब्याटिङ गर्दै मात्र २३ बलमा अर्धशतक पूरा गरेका थिए ।
ओपनर निक म्याडीसन ८ र मार्कस स्टोइनिस १६ रनमा आउट भएपछि मेलबर्नले अपेक्षित सुरुवात पाएको थिएन । तर हिल्टन कार्टराइटले १८ र पिटर ह्यान्ड्सकम्बले २० रन जोड्दै रनगति अगाडी बढाए । म्याक्सवेलले त्यसपछि अर्को एण्डबाट लगातार रन जोडेका थिए । बेन डंकले ११ रनको योगदान दिए । ब्रिसबेनका लागि प्रयोग गरिएका ६ बलरले नै १-१ विकेट लिए ।
मेलबर्नको जारी बिग ब्यास सिजनमा यो पहिलो खेल हो । आजको खेलमा मेलबर्नले तीन खेलाडीलाई डेब्यू दिएको थियो ।