default_image

4 years ago

October 5, 2020

कविताको पुनरागमन प्रयास : श्रीमानको प्रशिक्षण, परिवारको साथ

भुपेन्द्र जिसी, काठमाडौं परिवारको साथ नपाउँदा क्षमता र सम्भावना हुँदाहुँदै पनि कतिपय खेलाडीले खेलकुद करिअरमा पूर्णविराम लगाएका छन् । महिला खेलाडीको हकमा विवाह गर्ने निर्णय लिनु भनेको खेलबाट सन्न्यास लिए बराबर नै छ । तर कविता गौतमको हकमा भने यो लागु हुँदैन । कविता अहिले आफ्नो श्रीमानसँग नै प्रशिक्षण गरेर राष्ट्रिय टोलीमा पुनरागमन गर्ने लक्ष्यमा छिन् […]

143 views

0 Bookmark

भुपेन्द्र जिसी, काठमाडौं

परिवारको साथ नपाउँदा क्षमता र सम्भावना हुँदाहुँदै पनि कतिपय खेलाडीले खेलकुद करिअरमा पूर्णविराम लगाएका छन् । महिला खेलाडीको हकमा विवाह गर्ने निर्णय लिनु भनेको खेलबाट सन्न्यास लिए बराबर नै छ । तर कविता गौतमको हकमा भने यो लागु हुँदैन । कविता अहिले आफ्नो श्रीमानसँग नै प्रशिक्षण गरेर राष्ट्रिय टोलीमा पुनरागमन गर्ने लक्ष्यमा छिन् ।

कविता सन् २०१२ मा कुवेतमा भएको एसीसी यू१९ वुमन्स च्याम्पियन्स मा नेपालले उपाधि जित्दा टोलीको उप कप्तान थिइन् । रुविना क्षेत्रीको कप्तानीमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दा कविताले प्रभावशाली प्रदर्शन गरिन् । त्यसै प्रदर्शनलाई निरन्तरता दिँदै कविताले सन् २०१४ मा थाइल्यान्ड नेपालको सिनियर टोलीबाट कविताले खेलेकी थिइन् । त्यसबेला उनले चीन र हङकङसँग मैदान उत्रने अवसर पाएकी थिइन् ।

पछिल्लो पटक वुमन्स च्याम्पियन्स लिग (डब्लूसीएल) मा उत्कृष्ट प्रदर्शन गरेपछि कविता १३ औं दक्षिण एसियाली खेलकुदका लागि राष्ट्रिय टोलीको छनोटमा परेकी थिइन् । तर त्यसबेला पारिवारिक कारणले उनी छनोटमा सहभागी हुन पाइनन् ।

‘म सागको सुरुवाती ३५ खेलाडीमा थिएँ । पारिवारीक समस्याको कारण बन्द प्रशिक्षणमा आउन पाँइन । आएको भए राम्रो गर्थे होला । अहिले आफुलाई पछुतो लागि रहेको छ,’ उनले निराश हुँदै सुनाइन् ।

त्यसो त राष्ट्रिय टोलीमा पुनरागमन गर्नुअघि नै उनले पुनरागमनको बलियो उदाहरण पेश गरिसकेकी छिन् । डब्लूसिएलमा उत्कृट बलर घोषित कविता प्रतियोगिताको ड्राफ्टमा (खेलाडी छनोट प्रक्रिया) भने छनोट भएकी थिइनन् । २७ वर्षीय कविताले ड्राफ्टमा नाम नआएपछि प्रतियोगिता खेल्ने कल्पना पनि गरेकी थिइनन् ।

मध्यगतिकी बलर कविता डाफ्ट्रमा कुनैपनि टोलीमा नपर्दा साह्रै निराश बनिन् । तर चितवन राइनोजले सरु पुन टोलीमा अनुपस्थित हुने भएपछि कवितालाई उनको स्थानमा बोलायो । तीनै कविता डब्लूसिएलमा सर्वाधिक विकेट लिने खेलाडी बन्दै प्रतियोगिताकै उत्कृष्ट बलर घोषित भइन् । कविताको पुनरागमन मात्र नभएर नेपालमा प्रतिभावान खेलाडीले अवसर पाउन सकेका छैनन् भन्ने उदारण पनि यसले राख्यो ।

चितवनले ड्राफ्टमा छनोट गरेकी सरुको हात भाचिँएपछि कप्तान इन्दु वर्माले कवितालाई टोलीमा सामेल हुन फोन गरेकी थिइन् । जुन फोनपछि कवितामा खुसी सिमना रहेन । टोलीमा छनोट हुनुको खुसी त थियो नै, उनको मनमा एउटा इख पनि पलायो । ड्राफ्टमा आफ्नो नाम नलिने अन्य सबै टोलीविरुद्ध उत्कृष्ट प्रर्दशन गर्ने अठोट उनले लिइन् । प्रशिक्षणमा निकै मिहिनेत गरेकी कविताको प्रर्दशन पनि गजबको रहयो । चितवनले प्रतियोगिताभर अपराजित रहँदै उपाधि जित्दा कविताको प्रर्दशन उत्कृष्ट रह्यो ।

कविताले पहिलो खेलमै क्याट क्विन्स काठमाडौंविरुद्ध ४ ओभरमा १ मेडन सहित १४ रन खर्चेर २ विकेट लिइन् । दोस्रो खेलमा कविताले ललितपुर फाल्कोन्सविरुद्ध अझ उत्कृष्ट प्रर्दशन गर्दै ४ ओभरमा १३ रन खर्चेर ३ विकेट लिइन् । उत्कृष्ट लयलाई निरन्तरता दिएकी उनले पोखरा पल्टनविरुद्ध ४ ओभरमा २१ रन खर्चेर २ विकेट हात चट्काइन् ।

विराटनगर टाइटन्सलाई ५३ रनले हराउने क्रममा कविताले ३ ओभरमा १ मेडन सहित ५ रन खर्चेर ३ विकेट लिदै प्लेयर अफ द म्याच घोषित भइन् । फाइनलमा काठमाडौंविरुद्ध विकेट हात नपारे पनि ४ ओभरमा मात्र १२ रन खर्चिदै उपाधि यात्रा सहज बनाएकी थिइन् । सम्रगमा कविताले ५ खेलमा १९ ओभर बलिङ गर्दै ३.४२ को इकोनमीमा रन खर्चेर १० विकेट लिदै उत्कृष्ट बलर चुनिइन् ।

डब्लूसिएलको प्रर्दशनले कविता मनोबल बढेको बताउँछिन् । ‘ इतिहासकै पहिलो महिला फ्रेन्चाइज लिगमा खेल्न पाउनु नै ठूलो अवसर थियो । मैले आफ्नो उत्कृष्ट प्रर्दशनमा टोलीलाई फाइनलमा पुर्याउछु भन्ने सोचेको थिएँ र पूरा पनि भयो । सबैभन्दा ठूलो लक्ष्य मलाई ड्राफ्ट नलिने टिमलाई पछुताउने गराउने इगो थियो’,उनले भनिन् ।

डब्लूसीएलपछि सागको टोली छनोटमा उपस्थित हुन नसकेपनि कविता राष्ट्रिय टोलीमा फर्कनकै लागि नियमित प्रशिक्षणमा छिन् । उनलाई प्रशिक्षणमा श्रीमान सुमित चन्द्रदेवले साथ दिइरहेका छन् । कविता र सुमित चार वर्षअघि विवाह बन्धनमा बाँधिएका हुन् । २९ वर्षीय सुमितले पनि घरेलु क्रिकेट खेलेका छन् । क्रिकेटबाट नै चिनजान भएको यस जोडीमा अहिले सुमित व्यापार व्यवसाय सम्हाल्छन् भने कविता आफ्नो करिअरलाई निरन्तरता दिइरहेकी छिन् ।

क्रिकेट खेल्नेक्रममा चिनजान भएपछि कविताको सुमितचन्द्र देवसँग प्रेम विवाह भएको थियो । ‘पहिला त हामी सँगै क्रिकेट खेल्थ्यौ । आजभोली भने उहाँ खेल्नुहुन्न । तर मलाई प्रशिक्षणमा पुर्याउने ल्याउने गर्दिनु हुन्छ । कहिले काहिँ अभ्यासमा सँगै जानुहुन्छ । बलिङ ब्याटिङ यसरी गर भने आफूले जानेको सुझाव र सल्लाह दिनुहुन्छ,’ कविताले भनिन् ।

पछिल्लो समय व्यवसायमा लाग्नु परेपछि सुमितले क्रिकेट खेल्न छोडेका छन् । तर श्रीमती कविताले फेरी राष्ट्रिय टोलीमा खेलेको हेर्ने उनको धोको छ । ‘जहिलेसम्म उनलाई क्रिकेट खेल्न मन लाग्छ हामीले सधैं साथ दिनेछौं । मैले र परिवारले उनको क्रिकेट करिअरका लागि सधैं साथ र सहयोग दिएका छौं । मलाई यतिसम्म विश्वास छ कि उनले चाडैं राष्ट्रिय टोलीमा पुनरागमन गरेर राम्रो प्रर्दशन गर्ने छिन् । उक्त पुनरागमनका लागि म पनि उत्साहित छु,’ सुमितले भने ।

क्रिकेटबाहिर मात्र होइन सुमितले प्रशिक्षणमा पनि कवितालाई निरन्तर सहयोग गर्दै आएका छन् । ‘कहिले काहिँ अभ्यासमा गएको बेला उनलाई सुझाव दिने गरेको छु । उनलाई कठिन लाग्ने सट कसरी खेल्ने, ब्याटिङ गर्दा कुन सट खेल्दा खुट्टा निकाल्ने, बलिङ लगायत कुरामा सिकाउने गर्दछु,’ सुमितले भने, ‘उनीसँगै सधैं अभ्यासमा नगएपनि आफूले जानेसम्मको कुराहरु सिकाउँदै आएको छु । मैले आफूले सक्ने सबै सहयोग, क्रिकेटको ज्ञान, साथ दिदै आएको छु ।’

कविता बुबा भिम बहादुर र आमा मन्जुदेबी गौतमको काखबाट सिराहको लहानमा २०५० सालमा जन्मिएकी थिइन् । सानोमा दाईहरुसँग ६,७ वर्ष देखि नै टोलमा क्रिकेट खेल्दा कविताले पनि सिकेकी थिइन् । बुबा लहानमा विद्युतमा काम गर्थे । श्री पशुपति आर्दश स्कुलबाट माध्यमिक शिक्षा सकेकी उनले जेएस बाट ब्याचलर सकेर बसेकी छन् । हालसम्म क्रिकेट एकेडेमी जान नपाएकी कविता स्थानीय दाईहरुबाट क्रिकेट सिकेको बताउछिन् ।

‘सानोमा त छोरी मान्छे भएर छोरासँग क्रिकेट खेल्नी भएर घरबाट गाली गर्नुहुन्थ्यो । क्रिकेट खेल्दै जाँदा प्रतियोगिता हुन थाले । प्रतियोगिता हुँदै गएपछि सबैले कुरा बुझ्दै जानुभयो । पीएम कप र आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा राम्रो प्रर्दशन गरेको थिएँ । त्यसअघि सातौं राष्ट्रिय प्रतियोगिता पनि खेलें,’ उनले भनिन् ।

विशेषगरी महिला खेलाडीमा विवाहपछि खेलमा लाग्न गाह्रो हुन्छ । तर कवितालाई यस्तो कुनै समस्या आएन । ‘माइतीघरबाट पुरा सहयोग भएपनि विवाह गरेर घर गएपछि सासु ससुरालाई समाजले नराम्रो भन्ने हुन् की भन्ने डर हुन्छ । आफन्त र गाउँकाले के भन्लान् भन्ने पनि हुन्छ । तर घर परिवार र श्रीमानबाट मैले राम्रो साथ पाएँ । वहाँहरुको साथले नै आजसम्म पनि निरन्तर खेलिरहेको छु,’ उनले भनिन् ।

श्रीमान सुमित पनि क्रिकेटरनै भएको कारण आफुलाई खेल्न सहज भएको कविता बताउँछिन् । ‘ यसैपनि हाम्रो समाजमा बुहारीलाई खेल्न दिने भनेको सोच्न पनि कठिन छ । तर मलाई भने श्रीमान, सासु र ससुराले कहिल्यै क्रिकेट खेल्न रोक्नु भएन । सधैं साथ दिनुभयो । श्रीमानले तिमी क्रिकेट खेल अरु जे जसो भए पनि म तिम्रो साथमा रहेको छु भन्नुभयो,’ उनले सुनाइन् ।

‘क्रिकेट खेल्न कहिल्यै रोक्नुभएको छैन । उहाँले पनि पूनरागमन गर्दै तिमीले राम्रो प्रर्दशन गर्न सक्छौ मिहिनेत गर्दै गर भनेर सधैं हौसला प्रदान गर्दै आउनु भएको छ । उहाँको हौसलाले पनि मलाई आफ्नो प्रदर्शन मात्र नभएर परिवारकै लागि खेल्न प्रेरित गरेको छ ।’

पछिल्लो पटक नेपाल क्रिकेट संघ (क्यान) ले महिला खेलाडीलाई समेत केन्द्रीय सम्झौता दिने निर्णय गरेपछि कवितामा अझ उर्जा थपिएको छ । पहिलो पटक निर्णय कार्यान्वयन हुँदा केहि निर्णयमा असन्तुष्टि रहेपनि यो कदमले धेरै खेलाडीको मनोबल उच्च हुने उनले बुझेकी छिन् । आउने दिनमा खेलाडी छनोट र वर्गीकरणमा निष्पक्ष निर्णय हुने उनले विश्वास लिएकी छिन् ।

‘ क्यानले सम्झौता दिएर राम्रो काम सुरु गरेको छ । तर वर्गीकरणमा केहि त्रुटी छन् । क्यानले राष्ट्रिय टोली र घरेलु प्रर्दशन हरेर सम्झौता गरेका भनेपनि सम्झौता त्यस्तो देखिएको छैन । केहि नियमित खेलाडी छुटेका छन् भने घरेलु क्रिकेटमा त्यति अध्ययन गरिएको जस्तो लागेन, कविताले भनिन् ।

कविताले घरेलु क्रिकेटको प्रदर्शन पनि छनोटको आधार हुने भन्दा आफ्नो नाम आउने अपेक्षा गरेकी थिइन् ।

तर आफ्नो नाम नआउँदा र अन्य नाम देख्दा भने उनी आश्चर्यमा परिन् । ‘खेलाडीको प्रर्दशनको आधारलाई मानेर सम्झौतामा राख्नुपर्ने थियो । आफ्नो नाम नआउँदा मलाई केहि आश्चर्य लागेको छ । जुन खेलाडी हुनु पर्ने हो उनीहरु नहुँदा झन् दुःख लागेको छ,’ उनले भनिन्, ‘नेपाली महिला क्रिकेटलाई मैले आफ्नो व्यक्तिगत तर्फबाट धेरै योगदान दिन बाँकी छ । आगमी दिनमा कडा मिहिनेत गरेर सकेसम्म राम्रो गर्ने प्रयास गर्नेछु ।’

कोरोना महामारीका कारण प्रतियोगिता हुन नसकेपनि कविताले घरमै सम्भव भएसम्म आफूलाई तयार राखेकी छिन् । ‘ कोरोना नभएको भए सायद नेपालमा घरेलु र अन्तर्राष्ट्रिय प्रतियोगिता हुन्थ्यो होला । खेलहरु हुन सकेनन् । अभ्यास पनि गर्न सकिएन । घरमै बसेर आफ्नो फिटनेसलाई ध्यान दिदै आएको छु,’ उनले भनिन्, ‘महामारीमा आगमी दिनको लागि योजना बनाइराखेको छु । आफूलाई फिट राख्ने प्रयास गरिरहेको छु । अभ्यासमा निस्कने वातावरण नहुँदा एकदमै गाह्रो भएको छ, ‘कविताले भनिन् ।

कोरोनाका कारण स्थिति कष्टकर बनेपनि अब बिस्तारै क्रिकेट सुरु हुनेमा कविता आशावादी छिन् । ‘यति लामो समय बन्द हुँदा आर्थिकदेखि खेलसम्म सबै कुरामा गाह्रो भयो । जे जस्तो भए पनि घरपरिवारले आफूले आफूलाई सम्हाल्न सक्यौं, त्यहिनै राम्रो कुरा हो । अब स्थिति सामान्य हुँदै गाएपछि नेपालमा खेल पनि हुन्छ होला । जसमा राम्रा गर्न मिहिनेत गर्ने छु,’ उनले थपिन् ।

कविताको अबको लक्ष्य राष्ट्रिय टोलीमा पुनरागमन गर्नु छ । त्यसका लागि घरेलु क्रिकेटमा छाप बसाउन उनी तत्पर छिन् । ‘म सिनियर टोलीमा पूनरागमन गर्न हर प्रयास गर्ने छु । कुनैपनि अवसर छोड्ने छैन । डब्लूसिएलमा उत्कृष्ट बलर हुन्छु भनेर सोचेको पनि थिइनँ । मैले राम्रो प्रर्दशन गरे । टिमको युनिटी पनि राम्रो थियो । सबैको साथ पाएँ,’ उनले भनिन् ।

‘डब्लूसिएलको प्रर्दशनले प्रर्दशनले आत्माविश्वास एकदमै बढेको छ । डब्लूसिएलमा भन्दा राम्रो गरेर सियिनर टोलीमा फर्किन प्रयास गर्ने छु । जुन किसिमको वातावारण मैले पाएको छु, मेरो लागि मात्र नभएर अन्य खेलाडीलाई पनि उर्जा मिलोस् भन्ने आशा गरेको छु । सम्भावना र क्षमता छ भने आफ्नो करिअरलाई निरन्तरता दिनुपर्छ र त्यसका लागि सबैले सहयोग गर्नुपर्छ भन्ने आग्रह गर्न चाहन्छु,’ उनले टुंग्याइन ।

April 30, 2024

दक्षिण अफ्रिकाद्वारा टी–२० विश्वकपका लागि टोली घोषणा

काठमाडौँ (हाम्रो खेलकुद) – आइसीसी टि-२० विश्वकप २०२४ मा नेपाल रहेकै समूह डी मा रहेको दक्षिण अफ्रिकाले आफ्नो स्क्वाड सार्वजनिक गरेको छ । क्रिकेट दक्षिण अफ्रीकाले दुई जना वैकल्पिक खेलाडी सहित १५ सदस्सिय टोलीको घोषणा गरेको हो ।    कप्तान एडेन मार्क्रमले पहिलो पटक आईसीसी प्रतियोगितामा दक्षिण अफ्रिकाको नेतृत्व गर्नेछन् । हालै क्रिकेट दक्षिण अफ्रिकाको केन्द्रीय […]

April 30, 2024

टि-२० विश्वकपका लागि भारतको टोली सार्वजनिक 

काठमाडौँ (हाम्रो खेलकुद) – आईसीसी टी–२० विश्वकपका लागि भारतीय टोलीको घोषणा गरिएको छ । बीसीसीआईले वेस्ट इन्डिज र अमेरिका जाने चार रिजर्भ खेलाडीसहित १५ सदस्यीय टोली घोषणा गरेको हो ।  घोषणा हुनु अघि, विकेटकीपर चयनका लागि दावेदारहरूले सो भूमिकाको लागि प्रतिस्पर्धा गरिरहेका थिए । अन्ततः भारतले ऋषभ पन्त र सञ्जु स्यामसनलाई जिम्मा दिएको छ । […]

April 30, 2024

कोलकातासँग दिल्लीको हार

एजेन्सी – कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा सोमबार दिल्ली क्यापिटल्सलाई ७ विकेटले हराएको छ । १ सय ५४ रनको लक्ष्य पछ्याएको कोलकाताले १६.३ ओभरमा ३ विकेट गुमाउँदै १ सय ५७ रन बनाएको थियो । ओपनर फिल साल्टले अर्धशतक पूरा गरे । ३३ बल खेलेका उनले ३३ बलमा ७ चौका र ५ छक्का […]

Success

Thank you for your time.