default_image

5 years ago

August 21, 2020

देशका लागि पदक जित्दा आफ्नै ठाँउमा बेवास्ता

319 views

0 Bookmark

भुपेन्द्र जिसी, काठमाडौं

झापा खेलाडी उत्पादन हिसाबले उर्भर भूमि हो । अझ नेपाली महिला क्रिकेटमा झापाको पहिचान भिन्न छ । राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान रुविना क्षेत्री देखि यू १९ की उदयीमान खेलाडी ज्योती दनुवार गरि झण्डै दर्जन खेलाडी झापाबाट आएका हुन् ।

रुविनाको घर मेचीनगर नगरपालिका वडा ६ मा पर्छ । राष्ट्रिय टोलीकी विकेटकिपर काजल श्रेष्ठ, अप्सरी बेगम, सबनम राई, संगिता राई र रोमा थापाको घर पनि सोहि वडामा छ । त्यस्तै यू१९ की लखिता राजवंशी, निग्मा तामाङ र ज्योती दनुवार पनि मेची नगरपालिका कै हुन् । यी सबै खेलाडी काँकाडभिट्टामा रहेको मिलन क्रिकेट क्लबमा अभ्यास गर्ने गर्दछन् ।

राष्ट्रिय टोलीले पछिल्लो पटक मंसिरमा स्वदेशमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) टि २० क्रिकेट खेलेको थियो । त्यसमा माल्दिभ्सलाई हराउँदै नेपाल कास्य पदक जितेको थियो । त्यसयता महिला टोलीले कुनै राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको छैन । महिला क्रिकेटको लागि अन्तर्राष्ट्रिय प्रतियोगिता चाडपर्व आए जस्तै हुन् । कहिले आउँछ र जान्छ पत्तै हुन्न ।

नेपाल क्रिकेट संघ (क्यान) मा नयाँ कार्यसमिति आएपछि महिला क्रिकेटलाई ब्यस्त राख्न केहि कार्यक्रम आउने अपेक्षा थियो । तर, कोरोना भाइरस कोभिड १९ का कारण त्यो आशामा पनि तत्कालका लागि तुषारापात भएको छ । कोभिड १९ कै कारण अहिले खेलकुद ठप्प छ । यो अवस्था कसैको कल्पना भन्दा परको विषय थियो । यो कठीन परिस्थितिले कतिपय खेलाडीलाई जीवन चलाउन पनि मुश्किल परेको छ ।

नियमित प्रशिक्षण समेत प्रभावित भएपछि व्यक्तिगत फिटनेस र खेल आयोजना हुन परिस्थिति नहुँदा त्यसको असर आर्थिक पाटोमा पनि पर्ने नै भयो । कोरानाले खेलेर जीविका धान्ने खेलाडीको लागि धौ-धौ परेको छ । महिला क्रिकेट टोलीका खेलाडी पनि त्यसबाट अछुतो छैनन् । न कुनै प्रतियोगिता छ नत क्यानले मासिक तलब नै दिएको छ । घरेलु प्रतियोगिता समेत नहुँदा आर्थिक अवस्था चलाउनै कठिन भएको उनीहरु बताउँछन् ।

कठीन समयमा खेलाडीले सरकार ,स्थानिय तह र वा आफ्नो सम्बन्धित संघसँग आशा राख्नु अन्यथा पनि हुँदैन । तर खेलाडीका आफ्नै पीडा छन् । कठिन समयमा कसैले पनि सामान्य सोधपुछ पनि नगरेको उनीहरुको गुनासो छ ।

सागका पदक विजेता खेलाडीलाई सरकार र प्रदेश सरकारले सम्मान गरिसकेका छन् । कतिपय खेलाडीको सम्बन्धित नगरपालिका, गाँउपालिका वा वडाले समेत नगदसहित सम्मान गरेका छन् । खेलकुदका माध्यमबाट आफ्नो ठाँउको प्रतिष्ठा बढाएकोमा स्थानिय निकायले सम्मान गर्ने परम्परा छ ।

तर झापाको मेचीनगर नगरपालिका र राष्ट्रिय खेलाडीको बाहुल्यता रहेको वडा ६ ले भने खेलाडीको उपलब्धीसँग खासै सरोकार देखिन्न । एउटै वडामा ६ महिला राष्ट्रिय खेलाडी हुनु त वडाले शानका रुपमा लिन सक्नुपर्ने हो । अरु स्थानिय निकायले गरेको सिको त गर्न नसकेको नगर र वडाबाट खेलाडीले अरु के आशा गर्लान् ?

‘६ महिनादेखि खेल भएको छैन । आर्थिक अवस्था राम्रो भएका परिवारका खेलाडीलाई त जीवन चलाउन सहज भएको छ होला । नभएकोले ६ महिना सम्म कसरी चलाई रहेका छन् होला ?’, कप्तान रुविना प्रश्न गर्छिन् , ‘नेपालले पहिलो पटक सागमा क्रिकेटले कास्य पदक जितेको हो । एकै ठाउँबाट ६ खेलाडीले पदक जितेका छन् । तर नगरपालिका र वडाले पुरस्कार त छोडौं सामान्य चासो पनि राखेको छैन । हामीले यस ठाउँलाई चिनाउँदै आएका छौं । तर हाम्रो बारे कहिल्यै सोचेको छैन ।’

स्थानिय जनप्रतिनिधिले आश्वासन नदिएका पनि हैनन् । रुविना सम्झिन्छिन्, ‘खेलाडीलाई तलब दिने देखि महिला क्रिकेटलाई माथि पुर्याउन विभिन्न आशा देखाउने गर्दछन् । तर अब त्यसको आश्वासनमा विश्वास लाग्दैन । बोलेको एउटा पनि आश्वसन पूरा नभएपछि अब कसरी विश्वास गर्ने ।’

साग सफलतामा सामान्य स्यावासी दिन त जरुरी नठानेको नगरपालिका र वडाबाट खेलाडीले अहिले यो कठिन समयमा पनि सहारा महसुस गर्न सकेका छैनन् । क्यानले पनि खेलाडीको अवस्था के कस्तो छ भनेर समान्य सोधखोज समेत पनि नगरेको रुविनाले बताइन् । नगरपालिका र वडाले मिलन क्रिकेट क्लबलाई दिने गरेको आर्थिक सहयोगलाई खेलाडीलाई सहयोग गरेको अर्थ लगाएको छ । वडा प्रतिनिधिले त्यहि सहयोगबाट काम चलाउनु भन्ने जवाफ दिएको रुविना सुनाउँछिन् ।

मिलन क्रिकेट क्लबलाई महिला क्रिकेट विकासका लागि १ लाख रुपैयाँ आउँछ भन्ने पहिलो पटक थाहा पाएँ । ‘क्रिकेट विकासका लागि भनेपनि केमा खर्च भएको छ थाहा भएन,’ उनले भनिन्, ‘महिला क्रिकेटमा लगानी भएको छैन । जुनियर र इन्टर स्कुलमा गरेको भए मलाई थाहा भएन ।’

पैसाका लागि नै आफूहरु नगरपालिका भने नगएको रुविनाले बताइन् । रुविना भन्छिन्, ‘महिला क्रिकेट खेलाडीका लागि दिएको हो भने पैसा खेलाडीले पाएको छ कि छैन भनेर बुझ्ने काम पनि त नगरपालिकाकै हो नि । सामान्य सोधपुछ त नहुने वडा र नगपालिकाले महिला क्रिकेट विकास, प्रवर्द्धन, सक्रियताका लागि प्रयास गर्ला भन्ने आशा कसरी गर्ने । खेलाडीले व्यक्तिगत लगाव र परिवारका साथले मात्र महिला क्रिकेटको भविष्य फेर्ने प्रयास गरिरहेका छन् ।’

केहि नगरपालिकाले भने प्रदेश स्तरको क्रिकेट खेल्ने खेलाडीको लागि प्रशिक्षकलाई पारिश्रमिक दिएर राखेको छ । तर ७ जना अन्तर्राष्ट्रिय खेलाडी एकै वडामा भएपनि नगरपालिकाले चासो राखेको छैन ।

‘एउटै वडामा यत्तिका पदक विजेता खेलाडी हुने गर्व र शानको विषय हो । तर न पुरस्कार न सम्मान । स्थानिय निकाय त हाम्रो अभिभावक हो । हामी कसरी हुर्कियौं, क्रिकेट खेल्यौं कसरी भने र कसरी बसेका छौं केहि सोधिएको छैन,’ उनले गुनासो गरिन्,’ आफू बसेको ठाउँबाटै सम्मान हुँदैन भने अरुबाट के आशा गर्ने । अझ यो कठिन समयमा कुनै वास्ता छैन । झापामा मेचीमेचीनगर नगरपालिका सर्वाधिक बजेट पाउने नगरपालिकामा पर्छ । तर हामीले त्यसको अनुभूती गन पाएका छैनौं ।’

मिलन क्रिकेट क्लबका सञ्चालक बिरु श्रेष्ठले महिला क्रिकेटको लागि पहिलो पटक १ लाख रुपैयाँ आएको बताए । ‘यसअघि क्लबले २ लाख पाउँथ्यो । १ लाखमा मेचीनगरमा एउटा प्रतियोगिता गराउथ्यौं । समान पनि किन्थ्यौं’, श्रेष्ठले भने, ‘यो पटक थप १ लाख आएको छ । कर काटेर ८५ हजार रुपैयाँ हात पर्छ ।’

श्रेष्ठले नगरपालिकाबाट आउने सहयोग महिलाहरुको टुर र घरेलु प्रतियोगिता खर्च हुने जानकारी दिए । ‘कोरोनाको कारण महिलाको लागि आएको पैसा अझै प्रयोग गरिएको छैन । एउटा खेल खेलाउने तयारी गरेका थियौं । एउटा टुर गराउने भनेर जर्सी समेत किनेको थियौं,’ उनले भने, सुदूरपश्चिम प्रदेश र एउटा इन्डियाको टोली बोलाएर खेलाउने तयारी गरेका थियौं । यो वर्ष खेल नभए त्यो रकम क्लब मर्मतमा पैसा खर्च गछौं ।’

मेचीनगर नगरपालिका वडा ६ का अध्यक्ष ललित तामाङलाई आफ्नो वडाका अन्तर्रायष्ट्रिय खेलाडीका बारेमा खासै जानकारी छैन । तामाङले आफ्नो ठाउँमा रहेका सबै खेलाडी जागिरे रहेको बताए । तर त्यो उनको दाबी झुटो थियो । तामाङले महिला क्रिकेट खेलाडी नेपाल प्रहरी, एपिएफ र आर्मीमा रहेको बताए । जबकी महिला क्रिकेटमा एपिएफबाहेक अन्य टोलीले क्रिकेट टोली नै बनाएका छैनन् । एपिएफबाट खेल्ने पनि करारमा हुन् ।

‘एउटा वडा अध्यक्षले के नै गर्न सक्छ र ? म जस्ता मेचीमा १५ वडा अध्यक्ष छन् । खेलकुदको लागि ३ लाख आएको छ,’ उनले भने, ‘क्रिकेटलाई मात्र गरेर भएन । सबै खेलकुदलाई गर्नुपर्छ । त्यसैले सबै मेयरको हातमा छ ।’

खेलाडीका लागि केहि गर्ने भन्दा उल्टो आफ्नो माग पुरा गराउन जुलुस गर्ने सल्लाह तामाङले दिएका छन् । उनी आफ्नो हातमा केहि नरहेको र सबै कुरा नगरप्रमुखलाई भन्न भन्दै उम्किए ।

अहिले कठिन समयमा वास्ता नगरेको वडासँग युवा ब्याटर अप्सरी बेगमको नमिठो अनुभव छ । वडाबाट नागरिकताको सिफारिस नपाउँदा अप्सरीले पटक पटक टोलीमा परे पनि बन्द प्रशिक्षणबाटै बाहिरिनु परेको थियो ।

उनले सन् २०१९ मा थाईल्यान्डमा भएको वुमन्स स्याम्स प्रतियोगिता खेल्न पाइनन् । कारण उनीसँग नागरिकता थिएन । वडाले उनलाई सिफारिस नै दिएन । त्यसअघि बेगमले थुप्रै विदेश भ्रमण गुमाईन् । नागरिकता नभएकै कारण प्रशिक्षणबाट उनी रुँदै घर फर्केकी थिइन् ।

‘बाबाको जन्म र मम्मीको वंशजको आधारमा नागरिकता थियो । म त यहि ठाउँको खेलाडी हुँ । उनीहरुले त झन् सहयोग गर्नुपर्ने थियो । संविधान बनेको छैन भनेर मेरो नागरिकता बनाइदिएनन् , उनले स्मरण गरिन्, ‘पछि थाइल्यान्डमा २०१९ फेब्रुअरीमा आइसिसी वुमन्स टि२० विश्वकप एसिया छनोट खेल्न काठमाडौंबाट ट्राभल डकुमेन्ट बनाएर गएकी थिए ।’

थाइल्यान्डबाट फर्केको एक महिना पछि सञ्चार माध्यमको पनि राम्रो साथ पाएपछि नागरिकता पाएको उनी सुनाउँछिन् । ‘धेरै पटक वडामा गए । हार खाइसकेको थिए । अब त हुँदैन रहेछ भनेर झण्डै क्रिकेट छोड्ने सोचमा पुगेकी थिए,’ अप्सरीले आक्रोश पोखिन् , ‘काठमाडौंकाले बनाउन सक्छ भने यहाँकोले किन सक्दैन होला ? अझ अहिले मैले बनाइदिए, भन्देको थिए जस्ता ठूला कुरा पनि गर्छन् । वडालाई कुन कुन खेलाडीलाई छन् भन्ने पनि थाहा छैन होला । सम्मान र पुरस्कारको यस्तो वडाबाट के को आशा गर्नु र ?’

त्यस्तै सागमा कास्य जित्दाकी विकेटकिपर ब्याटर काजल श्रेष्ठले नगरपालिकाको व्यवहार देखेर धेरै दुःख लाग्ने बताउँछिन् । ‘दुःख लाग्छ । धेरै स्थानिय तहले आफ्ना खेलाडीको सम्मान गरिसकेका छन् । हाम्रोले अहिले सम्म केहि मतलब छैन ,’ उनले भनिन्, ‘अहिले सम्म मेचीनगरबाट सम्मान भनेको थाहा छैन । पुरस्कारको कुरै नगरौं । प्रदेशले भने केहि समयअघि खेलाडीलाई एक लाख रुपैयाँबाट सम्मान गरेको थियो ।’

अरुले सम्मान गरि रहँदा आफ्नो स्थानिय अभिभावक निकायले चासो सम्म पनि नराखेको काजोल बताउँछिन् । ‘के भन्नु । हामीले गएर सम्मान गर भन्न पनि भएन । हामीले मेडल जितेका छौं सम्मान गर भने त त्यसको कुनै महत्त्वनै भएन नि । आफै बुझेर गर्नुपर्ने हो । खै कहिले हेर्छ भन्ने हुन्छ,’ उनको गुनासो छ, ‘अरु बेला नगरेपनि सफलता हात पारेको बेला गरोस भन्ने आशा लाग्छ । सरकार, प्रदेशबाट सम्मान पायौं । तर आफ्नै नगरपालिकामा केहि छैन ।’

सामान्य सम्मानको त नगर्ने स्थानिय निकायले क्रिकेट विकासका लागि लगानी गर्ला भन्नेमा काजोलाई विश्वास छैन ।

मेचीनगर नगरपालिका मेयर विमल आचार्यले खेलाडीको समस्या नगरपालिका सम्म नआएको बताउँछन् । ‘खेलाडी अहिले सम्म नगरपालिकामा आएका छैनन् । कोरोनाको कारण हामी खेलाडीहरु सम्म पनि जान पाएका छैनौं । उनीहरुलाई भेट्न जाने फुर्सद हुँदैन ,’ उनले भने, ‘उनीहरु पनि आएका छैनन् । उनीहरु आफ्नो ठाउँबाट खेलिरहेका छन् । तर उनीहरुको समस्या नगरपालिका सम्म ल्याएर आउने त्यस क्षेत्रको राम्रो नेता छैन ।’

आचार्यले खेलाडीको माग र समस्या समाधानका लागि आफु तयार रहेको वाचा गरे । ‘खेलाडीलाई नगरपालिकामा पठाइदिनुस । उनीहरुको माग र समस्या सुल्झाएर पठाइदिने छु,’ उनले भने , ‘आफ्नो ठाँउको क्रिकेट विकास र खेलाडीलाई अगाडि लैजानु पर्छ भन्नेमा हाम्रो ध्यान पक्कै जानेछ ।’

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.