default_image

5 years ago

October 20, 2020

आइपिएलमा सुपर ओभरले रचेको इतिहास

216 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० अन्तर्गत आइतबार एकै दिन तीन सुपर ओभर भयो । आइपिएल इतिहासमा पहिलो पटक एकै दिन दुवै खेलमा सुपर ओभर भएका हुन् । योमात्र होइन क्रिकेट इतिहासमा नै पहिलो पटक एकै खेलमा दुई पटक सुपर ओभर भयो ।

आइपिएलको ३५ औं खेलमा सनराइजर्स हैदराबाद र कोलकाता नाइट राइडर्सबीच शेख जायद स्टेडियम आबूधाबीमा प्रतिस्पर्धा भएको थियो । कोलकाताले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा १ सय ६३ रन बनाएको थियो । उक्त जवाफी लक्ष्य पछ्याउने क्रममा हैदराबादले ६ विकेटको क्षतिमा १ सय ६३ रन बनाएपछि खेल सुपर ओभरमा धकेलिएको थियो ।

हैदराबादलाई अन्तिम ओभरमा जितको लागि १८ रन चाहिँएको थियो । कप्तान डेभिड वार्नरले आन्द्रे रसेललाई दोस्रो, तेस्रो र चौथो बलमा लगातार तीन चौका प्रहार गरेपछि खेल थप रोमान्चक बनेको थियो । पाँचौं बलमा वार्नरले दुई रन लिए । अन्तिम बलमा वार्नरले लेग वाईका रुपमा एक रन बटुलेपछि सुपर ओभरमा पुगेको थियो ।

कोलकाता लोकी फर्गुसनले ४ ओभरमा १५ रन खर्चेर प्रमुख ३ विकेट लिएका थिए । सुपर ओभरमा हैदराबादका ओपनर डेभिड वार्नरलाई फर्गुसनले बोल्ड आउट गरे । अब्दुल सामदले दोस्रो बलमा दुई रन बटुले । तेस्रो बलमा सामद बोल्ड आउट भए । कोलकातालाई जितको लागि ६ बलमा तीन रन बनाउनु पर्दथियो ।

कोलकाताको सुरुवात सुपर ओभरमा ओईन मोर्गन र दिनेश कार्तिकले गरेका थिए । विश्वकप विजेता मोर्गनलाई राशिद खानले पहिलो बल डट राखे । दोस्रो बलमा मोर्गनले एक रन बटुले । तेस्रो बल कार्तिकले डट खाएपनि चौथो बलमा लेग वाईको रुपमा दुइ रन बटुल्दै जित पक्का गराए । जुन कोलकाताले सुपर ओभरमा जित निकालेको पहिलो पटक हो ।

यसअघिका तीनै सुपर ओभरमा कोलकाता पराजित भएको थियो । जारी सिजनमा पहिलो खेल खेलेका फर्गुसनले सुपर ओभर र खेल दुबैमा उच्च प्रर्दशन गर्दै प्लेयर अफ द म्याच चुनिए ।

यता सुपर ओभर चलिरहँदा दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा मुम्बई इन्डियन्स र किंग्स इलेभेन पन्जाबबीचको खेल सुरु भई सकेको थियो । टस जितेर पहिला ब्याटिङ रोजेको मुम्बईको सुरुवात कमजोर रहेपनि काइरन पोलार्डको उत्कृष्ट अन्त्यमा २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ७६ रन बनाएको थियो ।

उक्त विजयी लक्ष्य पछ्याउने क्रममा पन्जाब एक समय सहज जित नजिक थियो । १८ बलमा २७ रन चाहिँएको थियो । तर जस्प्रित बुमराहले १८ औं ओभरको तेस्रो बलमा कप्तान लोकेश राहुललाई ७७ रनमा बोल्ड आउट गरेपछि खेल थप रोमान्चक बनेको थियो । नाथन कुल्टर नाइलले १९ औं ओभरमा १३ रन खर्चेपछि पन्जाबलाई अन्तिम ६ बलमा ९ रन चाहिँएको थियो ।

ट्रेन्ट बोल्टको दोस्रो बलमा जोर्डनले चौका प्रहार गर्दै सहज जितको आशा दिलाएका थिए । तर अन्तिम बलमा दुइ रन लिने क्रममा जोर्डनलाई काइरन पोलार्डको उत्कृष्ट थ्रो मा डी ककले उत्कृष्ट रन आउट गराउँदै एकै दिन दुई सुपर ओभरमा पुर्याए ।

आइपिएल इतिहासमा पहिलो पटक एकै दिन दुई सुपर ओभर भएका हुन् । पन्जाब र मुम्बईको जारी सिजनमा दोस्रो सुपर ओभर हो । यस अघिका सुपर ओभर दुवै टोली पराजित भएका थिए । पन्जाब दिल्ली र मुम्बई बेंगलोरसँग सुपर ओभरमा पराजित भएका थिए ।

सुपर ओभरमा मुम्बईका बुमराहले उत्कृष्ट बलिङ गर्दै पन्जाबलाई ५ रनमा रोकेका थिए । पन्जाबले सुपर ओभरमा ओपनिङमा राहुल र निकोलस पूरन आएका थिए । पहिलो बलमा राहुलले एक रन बटुल्दा दोस्रो बलमा पूरन अनुकोल रोयबाट क्याच आउट हुन पुगे । पुरन आउट भएपछि क्रिस गेल र मयंक अग्रवाललाई छोडेर पन्जाबले दिपक हुडालाई ब्याटिङको लागि पठाएको थियो । तेस्रो र चौथो बलमा एक एक रन बटुल्दा पाँचौमा भने राहुलले २ रन जोडेका थिए । तर अन्तिम बलमा राहुल एलबिडब्लू आउट हुन पुगेका थिए ।

मुम्बईले ६ बलमा ६ रन सहजै जोड्ने अनुमान गरिएको थियो । तर मोहम्मद शामीले लगातार योर्कर फाल्दै दोस्रो सुपर ओभर बराबरीमा सकाए । डी कक र रोहितले सुरुवाती पाँच बलमा ४ रन जोडेपछि अर्को सुपर ओभरको सम्भावना बढेको थियो । अन्तिम बलमा मुम्बईलाई दुई रन चाहिँएको थियो । तर मोहम्मद शामीले बलमा डी कक दुइ रन लिनेक्रममा रबि बिश्रोईको थ्रोमा राहुलले उत्कृष्ट स्टम्पिङ आउट गरेपछि सुपर ओभर बराबर भएको थियो ।

सुपर ओभर बराबर हुँदा गत वर्षको एकदिवसिय विश्वकप फाइनलको याद दिलाएको थियो । गतवर्ष इंग्ल्यान्ड र न्युजिल्यान्डबीचको सुपर ओभर बराबर भएपछि बाउन्ड्री काउन्ट (चौका र छक्का ) बढि प्रहार गरेको आधारमा इंग्ल्यान्ड च्याम्पियन बनेको थियो । राहुलको रन आउट बटलरले विश्वकपमा मार्टिन गुप्टिललाई गराएको जस्तो थियो । उक्त सुपर ओभरमा दुई रन चाहिँएको अवस्थामा बटलरले गुप्टिललाई उत्कृष्ट रन आउट गराउँदै विश्वकप जिताएका थिए ।

आइसिसीले उक्त विश्वकप फाइनल विवादपछि नियम परिवर्तन गर्दै नतिजा नआउन सम्म सुपर ओभर हुने बनाई सकेको छ । बाउन्ड्री काउन्ट अघि सुपर ओभर बराबर भएका स्टम्प ताक्ने (बल आउट) नियम थियो । बाउन्ड्री काउन्ट नियम भएको भए यस खेलमा मुम्बई विजयी हुने थियो । मुम्बईले २४ र पन्जाबले कुल २२ बाउन्ड्री प्रहार गरेका थिए ।

दोस्रो सुपर ओभरको नियम अनुसार पहिलो सुपर ओभरमा ओपनिङ गरेका खेलाडी र बलरले पाउँदैनन् । मुम्बईले पोलार्ड र हार्दिकलाई पठाएको थियो । पन्जाबले क्रिस जोर्डनलाई गराएको थियो । मुम्बईले ६ बलमा ११ रन जोडेको थियो । जसक्रममा पोलार्डले अन्तिम बलमा लङअनमा प्रहार गरेको छक्कालाई अग्रवालले उत्कृष्ट बचाउँदै गर्दै टोलीको महत्वपूर्ण चार रन बचाएका थिए ।

उता पन्जाबले क्रिस गेल र मयंक अग्रवाललाई पठाएको थियो । बलिङ ट्रेन्ट बोल्टले गरेका थिए । पहिलो बलमा गेलले छक्का प्रहार गरेपछि पन्जाबलाई सहज बनेको थियो । दोस्रो बलमा एक रन बटुल्दा तेस्रो र चौथो बलमा अग्रवालले चौका प्रहार गर्दै जित पक्का गराए । बोल्टले गतवर्ष इंग्ल्यान्डसँगको फाइनलको सुपर ओभरमा १५ रन खर्चेका थिए ।

यसअघि पन्जाब जारी सिजनको पहिलो खेलमै दिल्लीसँग सुपर ओभरमा पराजित भएको थियो । दिल्लीले प्रस्तुत गरेको १ सय ५८ रनको लक्ष्य पछ्याउने क्रममा अन्तिम तीन बलमा एक रन जोड्न नसक्दा सुपर ओभर हुन पुगेको थियो । जसमा कागिसो रबाडाले दुई विकेट लिदै तीन बलमा दुई रन लिएका थिए । दिल्लीले दुई बलमा तीन रन जोड्दै सुपर ओभरको जितबाट सुरुवात गरेको थियो ।

आइपिएलको दशौं खेलमा मुम्बई र बेंगलोरबीचको खेल पनि सुपर ओभरबाट नतिजा निल्केको थियो । जितको लागि २ सय २ रनको लक्ष्य पछ्याउने क्रममा मुम्बईले ५ विकेटको क्षतिमा २ सय १ रन बनाएपछि सुपर ओभरमा पुगेको थियो । नवदीप सैनीले उत्कृष्ट प्रर्दशन गर्दै सुपर ओभरमा ७ रन दिएका थिए । बेंगलोरले अन्तिम बलमा सुपर ओभरमा जित निकालेको थियो ।

आइपिएलमा एकै सिजनमा लिग चरणका ३६ खेलसकिँदा पाँच सुपर ओभर भई सकेका छन् । जुन एकै सिजनमा भएको सर्वाधिक सुपर ओभर हो । यसअघि एकै सिजनमा दुई सुपर ओभर मात्र भएका थिए । आइपिएलमा पहिलो सुपर ओभर सन् २००९ मा राजस्थान रोयल्स र कोलकाताबीच कप टाउनमा भएको थियो । यसअघि सन् २०१३ र २०१९ मा दुई सुपर ओभर भएका थिए । सन् २०१०, २०१४, २०१५ र २०१७ मा एक एक सुपर ओभर भएका थिए ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.