काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको खड्ग प्रसाद गौचन मेमोरियल स्कुल स्तरिय यू१६ राष्ट्रिय क्रिकेट प्रतियोगिता सम्पूर्ण तयारी पूरा भएको छ । प्रतियोगिता माघ १४ देखि २३ सम्म भैरहवामा रहेको सिद्धार्थ रंगशालामा सुरु हुनेछ ।

नेपाली क्रिकेट टोलीका पूर्व खेलाडी शक्ति गौचनले आफ्नो स्वर्गिय बुबाको सम्झनामा यस प्रतियोगिता गराउँदै आएका छन् । प्रतियोगितामा देशभरका ८ क्रिकेट एकेडेमीको सहभागिता रहने छ । प्रतियोगिता विजेताले २० हजार र उप विजेताले १० हजार प्राप्त गर्ने छन् ।
प्रतियोगितामा समूह ‘ए मा आयोजक स्टार क्रिकेट एकेडेमी, धनगढी क्रिकेट एकेडेमी (डिसिए), कास्की नोवल क्रिकेट एकेडेमी र साई ग्लोबल क्रिकेट एकेडेमी छन् । समूह ‘बी’ मा ओसिस क्रिकेट एकेडेमी, न्यू होराइजन क्रिकेट एकेडेमी, पोखरा क्रिकेट एकेडेमी र रुपन्देही ११ छन् । रुपन्देही ११ ट्यालेन्ट हन्टबार्ट खेलाडी छनोट गर्दै निर्माण गरिएको टोली हो ।
प्रतियोगिता उद्धघाटन खेलमा पोखरा र रुपन्देही ११ बीच खेल हुने छ । सेमिफाइनल माघ २१ र २२ मा हुने छ । फाइनल माघ २३ मा हुने छ । प्रतियोगिता २० ओभरको हुने छ । प्रतियोगिता कुल खर्च अनुमानीत ३ लाख रहेको शक्तिले बताएका छन् । उक्त खर्च शक्तिले व्यक्तिगत र स्टार क्रिकेट एकेडेमीको तर्फबाट हुने जनाएका छन् । प्रतियोगिताका खेलहरु विहान ८ः४५ र दिउँसो एक बजे हुनेछन् ।
शक्तिले यस प्रतियोगिताबाट ग्रासरुट विकासमा ठूलो टेवा पुग्ने विश्वास राखेका छन् । ‘ग्रासरुटलाई माथि ल्याउने प्रतियोगिता मुख्य उदेश्य हो । हामीले जबसम्म ग्रासरुटलाई माथि ल्याउदैनौ तबसम्म क्रिकेट विकासको लागि ग्राहो हुन्छ । बच्चाहरु जतिधेरै क्रिकेट खेल्छन् त्यतिनै प्रतिभा माथि आउने सम्भावना हुन्छ’, शक्तिले हाम्रो खेलकुदसँग भने ।

‘प्रतियोगिता भएन भने बच्चाले खेल देखाउन पाउँदैन । आमाबुबालाई पनि क्रिकेट राम्रो खेल्छ भन्ने विश्वास हुँदैन । मेरो अनुभवमा प्रतियोगिता नगरेसम्म हामीले केहि पनि सफलता हातपार्न सक्दैनौं’, शक्तिले भने,’सिनियर प्रतियोगिता भइराखेको हुन्छ । तर जुनियर प्रतियोगिता राष्ट्रिय स्तरको खासै हुँदैन ।’
त्यसैमा थपे, ‘यो स्टार क्रिकेट एकेडेमीको विकासको कार्यक्रम हो । पछि गएर म कुनै संघसंस्थामा जान्छु भने त्यसै अनुसार गर्ने छु । गतवर्ष प्रतियोगिता फ्रेन्चाइज शैलीमा ट्यालेन्ट हन्ट गरेर पाँच टोली बनाउँदै प्रतिस्पर्धा भएको थियो । हाम्रो मुख्य उदेश्य भनेको बच्चाहरुले धेरैभन्दा धेरै क्रिकेट खेलोस त्यहि सोचले यो प्रतियोगिता गर्दै आएका छौं’, उनले भने ।