default_image

5 years ago

January 28, 2021

खतराले भरिपूर्ण आरिफको भावनात्मक निर्णय

141 views

0 Bookmark

भूपेन्द्र जिसी, काठमाडौं

अलराउन्डर आरिफ शेख प्रधानमन्त्री कपको सेमिफाइनलअन्तर्गत एपिएफविरुद्ध पहिलो इनिङमा घाइते हुन पुगे । ४६ औं ओभरमा फिल्डिङ गर्ने क्रममा एंकलमा चोट बोकेपछि उनलाई स्ट्रेचरमा राखेर मैदान बाहिर हुँदै एम्बुलेन्समा अस्पताल लगियो ।

दोस्रो इनिङको मध्यतिर मैदान फर्कंदा टोलीलाई कमजोर अवस्थामा देखेका उनी आठौं विकेट खसेपछि ब्याटिङ गर्न क्रिजमा फर्किए । उनको यो निर्णय खेल भावनाका लागि जति राम्रो थियो, व्यक्तिगत आरिफका लागि भने महँगो पर्न सक्थ्यो । बल्लतल्ल हिड्न सक्ने अवस्थामा रहेका आरिफ ब्याटिङ गर्न आउँदा पुलिस जितबाट निकै टाढा पुगिसकेको थियो । आरिफको प्रयासका बाबजुद साविक विजेता पुलिस एपिएफसँग ३० रनले पराजित हुँदै प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलबाट बाहिरिन पुग्यो ।

टियु क्रिकेट मैदानमा टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएको पुलिसलाई मध्यगतिका बलर आरिफ शेखले उत्कृष्ट सुरुवात दिलाएका थिए । तर तीनै आरिफ फिल्डिङ गर्नेक्रममा इनिङको अन्तिम समयमा घाइते हुन पुगे । नियमित तीव्र गतिका बलर ललित भण्डारी सडक दुर्घटनाको कारण गम्भीर दुर्घटनामा परेको हुँदा यस पटक पुलिसको तीव्र गतिको बलिङ युनिटमा आरिफले साथ दिँदै आएका छन् ।

तीव्र गतिका बलर राशिद खानको बलमा कमलसिंह ऐरीले ४६ औं ओभरमा तेस्रो बलमा गल्लीमा प्रहार गरेको बल थ्रो फाल्ने क्रममा आरिफको दाँया खुट्टाको एंकलमा चोट लागेको थियो । थ्रो फाल्न टर्न गर्ने क्रममा एंकलमा चोट लागेपछि आरिफ मैदानमै लडेका थिए ।

इनिङको सुरुवाती २० ओभरमै आरिफले लगातार १० ओभर बलिङ गर्दै आफ्नो स्पेल सकाए । १० ओभरमा १ मेडन सहित ३१ रन खर्चेर ३ प्रमुख विकेट लिएका थिए । आरिफले एपिएफका प्रमुख ब्याट्सम्यान सुबास खकुरेल, कप्तान शरद भेषावकर सुमित महर्जनलाई आउट गर्दै शीर्षक्रम धरासायी बनाएका थिए ।

आरिफ घाइते भएपछि नेपाली क्रिकेट टोलीका फिजियो विक्रम न्यौपाने र ह्याम्स अस्पतालका स्वास्थ्यकर्मी मैदानभित्र पुगेका थिए । निकै पिडा महसुस गरेका आरिफ मैदानबाट हिँडेर बाहिर आउन सकेनन् । मैदानको आधा भागसम्म काँधको सहारामा आएका उनलाई बाँकी भाग स्ट्रेचरको सहयोगमा बाहिर ल्याइएको थियो । दाँया खुट्टामा एंकलमा प्राथमिक उपचार गर्नेक्रममा पट्टी बाँधिए लगत्तै एम्बुलेन्समा राखेर ह्याम्स अस्पताल पठाईएको थियो ।

निकै पिडा र दुखाई उनको अनुहारले देखाइरहेको थियो । उता आरिफलाई तुरुन्तै अस्पताल लगेको हुँदा चोट गम्भीर रहेको अनुमान गरिएको थियो । एपिएफले ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ३ रन बनाएको थियो । मध्यम लक्ष्य पछ्याएको पुलिसले खराब सुरुवात गर्यो । सुरुवाती १५ रन जोड्न प्रमुख तीन ब्याट्सम्यान गुमाउन पुगेपछि समस्यामा परेको थियो ।

चोट देख्दा आरिफ ब्याटिङ गर्नेमा धेरैले आशा मारिसकेका थिए । आरिफ उपचारपछि मैदान प्रवेश गर्दा टोलीले ५ विकेट गुमाएको थियो । टोलीको सातौं विकेट खसेपछि भने आरिफले ब्याटिङ गर्ने निर्णय लिँदै प्याड लगाउन थाले । यद्यपि त्यस समय खेल पुलिसको हातबाट टाढा बनिसकेको थियो ।

पुलिसलाई अन्तिम ३६ बलमा ६४ रन चाहिएको थियो । क्रिजमा राशिद खान २८ रनमा खेल्दा सागर ढकालले खाता खेल्न सकेका थिएनन् । मैदान बाहिर भने पुलिसको डग आउटमा आरिफ ब्याटिङको लागि प्याड बानेर तयार हुँदा सबै आश्चर्यमा परेका थिए । कतिपयले चोट सामान्य हुन सक्ने अनुमान पनि गरे । तर डग आउटमै दाँया खुट्टा हलचल गराउन कठिन परि रहेको थियो ।

चोटको पिडा र दुःखाई प्रष्ट देखिन्थ्यो । तर पनि उनी ब्याटिङ गर्न तयार भइरहेका थिए । ४७ औं ओभरको पहिलो बलमा स्पिनर भुवन कार्कीले राशिद खानलाई ३४ रनमा बोल्ड आउट गरेपछि आरिफ ब्याटिङका लागि मैदान छिरे । उनलाई क्रिजमानै पुग्न नै समय लागेको थियो । तर पनि टोलीलाई जितको आशा जगाउँदै मैदान छिरे । आरिफको साहसीक कदमलाई देखेर खेल हेर्न टियु मैदान पुगेका समर्थकले तालिनै बजाएका थिए ।

आरिफले दाँया खुट्टा चलाउन निकै कठिन भइरहेको थियो । राम्रोसँग टेक्न सकिरहेका थिएनन् । सुरुवाती चार बल डट खेलेका उनी अन्तिम बलमा एक रन लिँदै स्ट्राइक आफैंमा राखे । कमलको ४८ औं ओभरको सुरुवाती तीन बलमा कुनै रन जोडेनन् । बाउन्ड्री बाहेक अन्य प्रहार गर्न सक्ने अवस्थामा पनि थिएनन् । चौथो बलमा आरिफले छक्का प्रहार गर्दै पुलिसलाई आशा झिनो आशा कायमै राखे । आरिफ मैदान छिर्दा जितको लागि २३ बलमा ४७ रन आवश्यक थियो । ४९ औं ओभरको सुरुवाती दुई बलमा आरिफले दुई लगातार चौका प्रहार गरे ।

तेस्रो बलमा पनि उनले ठूलो सट खेलेपनि डीप मिडविकेटमा आफ्नै भाई आशिफ शेखबाट क्याच आउट हुन पुगे । उनको टोली प्रतिको भावना देखेर एपिएफका खेलाडीले आउट भएपछि तारिफ गरेका थिए । पुलिस ४९.२ ओभरमा १ सय ७३ रनमा अल आउट हुँदै पराजित भएको थियो ।

खेलपछि आरिफ टोलीको लागि आफूले नसकेर भएपनि खेल्नु परेको बताए । ‘अहिले पनि दुखिरहेको छ । चिकित्सकले तीन दिन विश्रामको गर्न भनेको छन् । तीन दिनपछि फलोअपको लागि बोलाएको छ । एक्सरेमा गम्भीर चोट नदेखिएको कारण अप्रेसन भने गर्नु पर्दैन’, आरिफले हाम्रो खेलकुदसँग कुरा गर्दै भने ।

‘ब्याटिङ गर्ने निर्णय मेरो नै थियो । राशिद ब्याटिङ गरिरहेको थियो । अर्को इन्डमा सागर ढकाल थियो । मैले के सोचेको थिए भने सागर आउट भयो भने म क्रिजमा उभिनमात्र सके भने राशिदले रन बनाउन सक्छ । दुर्भाग्य राशिदनै आउट भयो’, आरिफले भने ।

‘तीन ओभर तीव्र गतिका बलरको बाँकी थियो । तीन ओभरमा जे पनि हुन सक्छ । राशिद खेलमा भएको भए र नन स्ट्राइकमा भइ दिएको भए खेललाई सजिलै लान सक्थ्यो । राशिदलाई साथ दिनको लागि ब्याटिङ गर्ने निर्णय लिएको थिएँ’, आरिफले भने ।

‘त्यो बेला मैले केहि पनि सोचिन । टोलीको लागि के कस्तो गर्न सकिन्छ भन्ने मेरो मनमा थियो । दुःख त छैद छ । मैले गएर उभिँदा पनि टोलीलाई सहयोग पुग्न सक्छ की भन्ने लाग्यो । मा क्रिजमा नजाँदा टोलीको एउटा विकेट कम हुन्थ्यो’, उनले भने ।

‘धेरैनै दुखाई भई रहेको थियो । खुट्टा हल्लाउननै मिली रहेको थिएन । जितेकै खेल हामीले गुमाउन पुग्यौं’, निराश हुँदै आरिफले भने ।

आरिफले इनिङको सुरुवातमा लगातार १० ओभर बलिङ गरेका थिए । त्यसले पनि असर गरेको की भन्ने प्रश्नमा भने आरिफले त्यसो नभएको बताउँछन् । ‘१० ओभर बलिङ गरेपछि निकै फ्रेस थिएँ । थ्रो फालेर टर्न गर्दा एंकलबाट आवाज नै आएपछि दुखाइ सुरु भएको थियो,’ आरिफले सुनाए ।

खेलपछि एपिएफका कप्तान शरद भेषवाकरले आरिफको करिअर लामो हुँदा र नेपाली क्रिकेटको प्रमुख सदस्य हुँदा चोटमा ध्यानदिनुपर्ने बताए । ‘मार्चमा राष्ट्रिय टोलीले खेल्दैछ । आरिफ टोलीका महत्त्वपूर्ण सदस्य भएकाले जोखिम नलिएको भए हुने । उनको करिअर अझै लामो छ,’ शरदले त्यसमा थपे, ‘तर उनले क्रिकेटको खेल भावनाको पक्षबाट हेर्ने हो भने टोलीको लागि आफूलाई अघि बढाए । त्यसको प्रशंसा पनि गर्नुपर्छ ।’ यता खेलका म्यान अफ द म्याच भुवन कार्कीले पनि आरिफको टोलीप्रति देखाएको लगावको प्रशंसा गरे ।

आरिफको मैदानमा फर्कने निर्णयले खेलप्रतिको लगाव झल्काएपनि आरिफका लागि भने खतरले भरपूर्ण थियो । एक खुट्टा टेक्न कठिन भइरहेको अवस्थामा राष्ट्रिय टोलीका खेलाडीले बलिङ गरिरहँदा उनले क्रिजमा जाने निर्णय लिए । अझ आफैं ब्याटिङको जिम्मेवारी लिएर सट प्रहार गर्न खोज्नु ठुलै साहस हो ।

एपिएफका बलरहरुले गुड लेन्थ र फुल लेन्थमा बल फ्याँकेर उनलाई बिट गराउन मात्र खोजेका थिए । खेलमा पुलिस जितबाट टाढा रहेकाले पनि एपिएफका लागि विकेट महत्त्वपूर्ण थिएन । यदि एपिएफका बलरहरुले चाहन्थे त आरिफलाई योर्कर लेन्थको बल फ्याँकेर थप समस्या दिन सक्थे ।

तर पटक पटक कप्तान शरदले आफ्ना बलरहरुलाई दिएको निर्देशनबाट पनि यो प्रष्ट थियो, एपिएफ खेल जित्न चाहन्थ्यो, र सँगसँगै मन पनि । जति तारिफ आरिफको साहसको गरियो, उति नै तारिफ एपिएफ, कप्तान शरद र बलरहरुको गर्नुपर्छ । आरिफले आफू मैदान प्रवेश गर्नु बाध्यता सम्झिए र एपिएफले खेल भावनालाई कदर गर्दै टियु मैदानमा अर्को दुर्घटना निम्तिन दिएनन् ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.