default_image

5 years ago

January 28, 2021

आर्मी लगातार चौथो पटक फाइनलमा

160 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ ।

बिहिबार आर्मीले दोस्रो सेमिफाइनलमा बागमती प्रदेशलाई ९४ रनले हराउँदै लगातार चौथो पटक फाइनलमा स्थान बनाएको छ । जितका लागि २ सय ३० रनको विजयी लक्ष्य पछ्याएको बागमती ४०.२ ओभरमा १ सय ३५ रनमा अल आउट भयो । बागमतीका कप्तान ज्ञानेन्द्र मल्लले ६० बलमा ४ चौका सहित सर्वाधिक ४७ रनको योगदान दिए । अन्य ब्याट्सम्यानले सम्झन लायक प्रर्दशन गर्न सकेनन् ।

विक्रम सोबले पहिलो ओभरको तेस्रो बलमा ओपनर आकाश थापालाई हरि चौहानबाट शून्यमा क्याच आउट गराउँदै पहिलो सफलता दिलाए । छैटौं ओभरको दोस्रो बलमा जितेन्द्र मुखियाले अर्का ओपनर आदिल खानलाई १० रनमा विकेटकिपर विनोद भण्डारीबाट क्याच गराएपछि लगातार विकेट गुमाउन पुगेको थियो । लगत्तै सातौं ओभरको दोस्रो बलमा विक्रमले पृथु बास्कोटालाई एक रनमा एलविडब्लू आउट गरे ।

आठौं ओभरको पहिलो बलमा विभत्सु थापालाई मुखियाले ४ रनमा राजेश पुलामीबाट क्याच गराए । तीन बलपछि ईशान पान्डे शून्यमा एलबिडब्लू आउट भएपछि बागमती १८–५ को कमजोर अवस्थामा पुगेको थियो । ज्ञानेन्द्र र विपिनले छैटौं विकेटका लागि ५८ रनको साझेदारी गर्दै केहि आशा देखाएका थिए ।

तर २२ औं ओभरको दोस्रो बलमा सुशन भारीले विपिनलाई २३ रनमा स्टम्पिङ आउट गरेपछि बागमतीको जितको सम्भावना टाढिएको थियो । विपिनले ४७ बलमा ३ चौका प्रहार गरे । भारीले २८ औं ओभरको पाँचौं बलमा ज्ञानेन्द्रलाई एलबिडब्लू आउट गरेपछि बागमतीको झिनो आशा पनि सकिएको थियो ।

३०.३ ओभरमा ११२-९ को अवस्थामा पुगेको बागमतीलाई नन्दन यादव र तिलकराज भण्डारीले ४१ ओभर सम्म पुर्याएका थिए । तल्लोक्रममा रामनरेश गिरी ६ र गौतम केसी ७ रनमा आउट भए । नन्दन यादव ५२ बलमा २ चौका र १ छक्का सहित २२ रनमा अविजित रहे ।

जितेन्द्र मुखियाले ८.२ ओभरमा एक मेडन सहित २४ रन खर्चेर ४ विकेट लिए । सुशन भारीले १० ओभरमा १ मेडन सहित ३६ रन खर्चेर ३ विकेट लिए । विक्रम सोबले १० ओभरमा ५ मेडन सहित २५ रन खर्चेर ३ विकेट लिए ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको आर्मी ५० ओभरमा २ सय २९ रनमा अल आउट भएको थियो । खराब सुरुवात गरेको आर्मीका राजेश पुलामीले ९१ बलमा ४ चौका र २ छक्का सहित सर्वाधिक ६५ रनको योगदान दिएका थिए।

राजेशले ७१ बलमा आफ्नो अर्धशतक पूरा गरेका थिए । उनले ४३ औं ओभरको चौथो बलमा स्पिनर विपिन आचार्यलाई लङअनमा छक्का प्रहार गर्दै अर्धशतक पूरा गरेका थिए । आर्मी एक समय २६.४ ओभरमा १०६–६ को खराब अवस्थामा पुगेको आर्मीलाई सातौं विकेटका लागि विक्रम सोब र राजेश पुलामीले ९२ रनको महत्वपूर्ण साझेदारी गरेका थिए ।

तीव्र गतिका बलर रामनरेश गिरीले सोबलाई आकाश थापाबाट ३५ रनमा क्याच गराउँदै उक्त साझेदारी तोडेका थिए । विक्रमले ५८ बलमा ३ चौका प्रहार गरे । बागमतीलाई युवा तीव्र गतिका बलर गौतम केसीले चौथो ओभरमा दुई विकेट लिदै राम्रो सुरुवात दिलाएका थिए । गौतमले तेस्रो बलमा ओपनर अनिल मण्डललाई २ रनमा बोल्ड आउट गरे ।

एक बलपछि रोहित कुमार पौडेल पनि शून्यमा बोल्ड आउट भएपछि ५–२ को अवस्थामा पुगेको थियो । रोहित ब्याटको किनरामा लाग्दै बोल्ड आउट हुन पुगेका थिए । गौतमकै अर्को ओभरमा हरि चौहान ३ रनमा कट बिहाइन्ड भएपछि आर्मी दयनीय अवस्थामा पुगेको थियो ।

चौथो विकेटका लागि लोकेश बम र भिम सार्कीले ५६ रनको साझेदारी गर्दै इनिङलाई अघि बढाएका थिए । लोकेशलाई १९ औं ओभरको दोस्रो बलमा नन्दन यादवले पृथु बास्कोटाबाट २३ रनमा क्याच आउट गर्दै साझेदारी तोडेका थिए ।

लोकेशले ३० बलमा २ चौका र १ छक्का सहित २३ रनको योगदान दिए । तिलकले २२ औं ओभरको तेस्रो बलमा भिम सार्कीलाई ४० रनमा विकेटकिपर आकाश थापाबाट क्याच गराउँदै बागमतीलाई पुनः खेलमा फर्काएका छन् । भिमले ६१ बलमा ५ चौका र १ छक्का प्रहार गरे ।

त्यसअघि लोकेशले ब्यक्तिगत १६ रनमा जीवनदान पाउँदा आर्मी नौं ओभरमा ३६–३ को कमजोर अवस्थामा थियो । नन्दन यादवको नवौं ओभरको अन्तिम बलमा ठूलो सट खेलेका उनलाई ईशान पान्डेले डीप मिडविकेटमा क्याच छोड्दै जीवनदान दिएका थिए ।

विपिनको बलमा ठूलो सट खेलेका विनोद लङअनमा नन्दन यादवबाट १० रनमा क्याच आउट हुन पुगेका थिए । विनोद आउट भएसँगै खराब सुरुवात गरेको आर्मीलाई राजेश र विक्रमले उत्कृष्ट साझेदारी गर्दै इनिङ उकासेका थिए । सुशन भारी ११ बलमा १ चौका र १ छक्का सहित १६ रनमा अविजित रहे ।

युवा तीव्र गतिका बलर गौतम केसीले १० ओभरमा १ मेडन सहित ६१ रन खर्चेर ५ विकेट लिए । रामनरेश गिरी, नन्दन यादव, तिलकराज भण्डारी र विपिन आचार्यले १–१ विकेट लिए ।

आर्मीले उपाधिको लागि एपिएफसँग शनिबार खेल्ने छ । एपिएफले पहिलो सेमिफाइनलमा पुलिसलाई ३० रनले हराउँदै फाइनलमा स्थान पक्का गरेको थियो ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.