default_image

4 years ago

August 1, 2021

आशा र सम्भावनामै सिमित ओडिआई डेब्यूको तीन वर्ष

180 views

0 Bookmark

भूपेन्द्र जिसी, काठमाडौं

नेपालले तीन वर्षअघि नेदरल्यान्ड्सविरुद्ध खेल्दै आजकै दिन ओडिआई क्रिकेटमा डेब्यू गरेको थियो । नेदरल्यान्ड्सविरुद्ध पहिलो अन्तर्राष्ट्रिय मान्यता प्राप्त एकदिवसिय खेल (ओडिआई) खेल्दाको उत्साह शब्दमा बयान गर्न सकिदैन । तर डेब्यु पछिका तीन वर्ष भने आशा र सम्भावना भन्दा खासै माथि उठ्न सकेको छैन ।

सन् २०१८ मा जिम्बावेमा भएको एकदिवसिय विश्वकप छनोटमा पपुवा न्युगिनीलाई हराउँदै मार्च १८ मा नेपालले पहिलो पटक ओडिआई मान्यता प्राप्त गरेको थियो । ओडिआई मान्यता प्राप्तसँगै सबैले नेपालले टेस्ट स्तरका टोलीसँग खेल्न पाउने, लगातार अन्तर्राष्ट्रिय खेल खेल्ने, खेलाडीले उच्च सेवा सुविधा र तलब पाउने, विश्व क्रिकेटमा छिट्टै ठूलो फड्को मार्ने, घरेलु मैदानको संरचना फेरिने लगायत थुप्रै आशा देखाइएका थिए । तर ती आशा भन्दा माथि उठ्न सकेन । सम्भावनामा सिमित हुँदै आएको छ ।

ऐतिहासिक डेब्यू खेल

तत्कालिन कप्तान पारस खड्का अगष्ट १ मा नेदरल्यान्डको भिआरए ग्राउन्डमा टसको लागि मैदान छिर्दै इतिहास रचेका थिए । ऐतिहासिक खेलमा नेपालले टस हार्दै पहिला बलिङको निम्तो पाएको थियो । डेब्यु पहिलो खेलमा बलिङमा उच्च प्रर्दशन गरेपनि कमजोर ब्याटिङको कारण नेपाल ५५ रनले पराजित भएको थियो ।

पारस खड्का ४ र सोमपाल कामीको ३ विकेट लिएसँगै घरेलु टोली नेदरल्याड्स ४७.४ ओभरमा १ सय ८९ रनमा अलआउट भएको थियो । १ सय ९० रनको विजयी लक्ष्य पछ्याएको नेपाल ४१.५ ओभरमा १ सय ३४ रनमा अल आउट भएको थियो । नेपालका ओपनर ज्ञानेन्द्र मल्लले ६१ बलमा ८ चौका सहित ५१ रन बनाएका थिए । ज्ञानेन्द्र ओडिआईमा नेपालबाट पहिलो ओडिआई अर्धशतक प्रहार गर्ने खेलाडी बने ।

ओडिआई डेब्युसँगै नेपालले दुई वर्षमा मात्र १० खेल खेलेको छ । ओडिआई मान्यता ४१ महिनामा १० मात्र ओडिआई खेल खेल्नु सम्झदा पनि दुःख लाग्छ । त्यसैले ओडिआई मान्यता नाम भन्दा खासैमाथि उठ्न सकेको छैन । नेपालले ४ घरेलु मैदानमा र ६ विदेशी भूमिमा रहेका छन् । जसमा समान ५ मा जित र हारको नतिजा छ ।

तथ्याङ्कमा नेपालको ओडिआई

ओडिआईमा नेपालले बनाएको उच्च र कम योगफल दुबै युएईविरुद्ध छ । उच्च रन २ सय ५५ हुँदा कम १ सय १३ रन छ । विपक्षी टोली अमेरिकालाई सबैभन्दा कम ३५ रनमा अल आउट गरेको थियो । बलिङमा उच्च प्रर्दशन स्पिनरमा सन्दीप लामिछाने र तीव्र गतिमा सोमपाल कामीको नाममा छ ।

सन्दीपले गतवर्ष माघमा अमेरिकाविरुद्ध ६ ओभरमा १ मेडन सहित १६ रन खर्चेर ६ विकेट लिएका थिए । सोमपालले यूएईविरुद्ध सन् २०१९ मा ६.३ ओभरमा १ मेडन सहित ३३ रन खर्चेर ओडिआईमा पाँच विकेट लिने पहिलो नेपाली बलर बनेका थिए । ब्याटिङतर्फ यूएईविरुद्ध पारसले बनाएको १ सय १५ रन नेपालबाट ओडिआईमा बनेको एकमात्र शतक हो ।

नेपालबाट ९ ओडिआई अर्धशतक बनेका छन् । ज्ञानेन्द्रले सर्वाधिक २ अर्धशतक प्रहार गरेका छन् । पारस, कुशल मल्ल, शरद भेषावकर, सुवास खकुरेल, रोहित कुमार पौडेल, विनोद भण्डारी र सोमपाल कामीले एक एक अर्धशतक प्रहार गरेका छन् । कुशल मल्लको विश्व कीर्तिमान छ । कुशलले १५ वर्ष ३ सय ४० दिनमा अमेरिकाविरुद्ध ५० रन बनाउँदै ओडिआईमा अर्धशतक प्रहार गर्ने विश्वकै कान्छा खेलाडी बनेका थिए । कुशलले रोहित कुमार पौडेलको कीर्तिमान तोडेका हुन् । त्यसअघि रोहितले १६ वर्ष १ सय ४६ वर्षको उमेरमा अर्धशतक बनाउँदै पाकिस्तानका पूर्व कप्तान शाहिद अफ्रिदीको कीर्तिमान तोडेका थिए ।

पहिलो ओडिआई खेल खेलेका नेपाली खेलाडी :

ज्ञानेन्द्र मल्ल, अनिलकुमार शाह, पारस खड्का (कप्तान), दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, सोमपाल कामी, वसन्त रेग्मी, शक्ति गौचन, करण केसी, सन्दीप लामिछाने र शरद भेषावकर ।

नेपालको ओडिआईमा सबै नतिजा

सन् २०१८ नेदरल्यान्ड्सविरुद्ध दुई डेब्यु ओडिआई सिरिज

अगष्ट १ : नेपाल ५५ रनले पराजित

अगष्ट ३ : नेपाल १ रनले विजयी

सन् २०१८ अगष्ट ३० : एसिया कप क्वालिफायर्समा यूएईविरुद्ध (नेपाल ७८ रनले पराजित)

सन् २०१९ मा यूएईविरुद्ध तीन ओडिआई सिरिज

जनवरी २५ : नेपाल ३ विकेटले पराजित

जनवरी २६ : नेपाल १ सय ४५ रनले विजयी

जनवरी २८ : नेपाल ४ विकेटले विजयी

सन् २०२० मा आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिज

फेब्रुअरी ५ : ओमानविरुद्ध, नेपाल १८ रनले पराजित

फेब्रुअरी ८ : अमेरिकाविरुद्ध, नेपाल ३५ रनले विजयी

फेब्रुअरी ९ : ओमानविरुद्ध, नेपाल ८ विकेटले पराजित

फेबु्रअरी १२ : अमेरिकाविरुद्ध, नेपाल ८ विकेटले विजयी

डेढवर्ष यता शून्य ओडिआई

नेपालले पछिल्लो पटक २०२० फेब्रुअरीमा घरेलु मैदान टियुमा ओमान र अमेरिकासँग आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक ओडिआई सिरिज खेलेको थियो । त्यसपछि नेपालले कुनैपनि ओडिआई खेल खेलेको छैन । नेपालले अन्तर्राष्ट्रिय खेल १४ महिनापछि गत वैशाखमा नेदरल्यान्ड्स र मलेसियासँग टि२० आई त्रिकोणात्मक सिरिज खेलेको थियो । कोरोना महामारीको कारण नेपालको ओडिआई त्रिकोणात्मक सिरिज स्थगित हुँदै आएको छ ।

कोरोना असर र बाहना

नेपालले ओडिआई कम खेल्नुमा कोरोना महामरी मुख्य कारण हो । सुरुवाती दुई वर्ष १० ओडिआईमा बितेपनि पछिल्लो एक वर्ष आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपालको अन्तर्राष्ट्रिय कार्यक्रम व्यस्त थियो । तर कोरोना कारण सबै स्थगित हुन पुगे । अर्कोतर्फ नेपाल क्रिकेट संघ (क्यान) आइसिसीसँग बढी निर्भर हुँदा अन्य सिरिज खेलाउन सकेको छैन । आइसिसीको सिरिज कोरोना कारण स्थगित हुँदै आएको छ ।

कोरोना महामारी अन्तर्राष्ट्रिय खेल र सिरिज गर्न नसकेको क्यानलाई एउटा राम्रो बाहना पनि बनेको छ । क्वारेनटाइनको कारण खर्चबढी हुने हुँदा क्यानले आर्थिक जोखिम मोल्न सकेको छैन । क्यान आर्थिक रुपमा पनि आइसिसीसँग निर्भर छ । त्यसैले नेपालले विदेशमा गएर अन्तर्राष्ट्रिय खेल खेल्ने आँट गर्न सकेको छैन ।

आशा धेरै, सदुपयोग थोरै

नेपालले ओडिआई डेब्यू गरेको ३६ महिनामा मात्र १० खेल खेल्यो । जुन आशा र अपेक्षा गरे भन्दा धेरै कम हो । नेपालले एक महिनामा कम्तिमा औसतमा एउटा खेल खेलेको हुनुपर्ने थियो । आइसिसीसँग मात्र निर्भर हुनु प्रमुख कारण देखिन्छ । सुरुमा क्यान नहुँदा आइसिसीमा निर्भर, कमजोर नेतृत्व, कमजोर आर्थिक अवस्था र कोरोना कारण ती आशामै सीमित हुँदै आएका छन् ।

नेपाल आइसिसीको प्रतियोगिता र सिरिजमा मात्र निर्भर छ । तर क्यानले विश्वका विभिन्न क्रिकेट बोर्डसँग सहकार्य गर्दै द्विपक्षीय होम अवे सिरिज खेल्ने ब्यवस्था मिलाउन सकि रहेको छैन । क्यान ओडिआईमा आइसिसी विश्वकप लिग–२ मा मात्र निर्भर छ । कोरोना कारण नेपालको ओडिआई मान्यता एक वर्ष बढ्दै २०२३ फेब्रुअरी सम्म पुगेको छ । क्यानले आफ्नो निजी खर्चमा होम अवे सिरिजको ब्यवस्था गर्न सक्नुपर्ने हुन्छ । खेलाडीलाई वर्षभरी ओडिआईमा अन्तर्राष्ट्रिय खेलमा निर्भर बनाउन सक्नुपर्छ ।

ओडिआई शीर्ष सयमा अटाएनन् नेपाली खेलाडी

डेब्यू गरेको तीन वर्ष सम्ममा पनि कुनैपनि नेपाली खेलाडी आइसिसीको ओडिआई वरीयतामा शीर्ष सयमा अटाउन सकेनन् । खेल नै नभएपछि वरीयतामा आउने कुुरा पनि भएन । सुरुवाती १० खेलमा वरीयतामा पर्ने खालको प्रदर्शन पनि हुन सकेन । आइसिसी ओडिआई वरीयतामा नेपाल १६ औं स्थानमा छ ।

आगामी चुनौती र सम्भावना

कोरोना महामारीको कारण नेपालले खेल्ने आइसिसी विश्वकप लिग–२ का त्रिकोणात्मक सिरिज स्थगित हुँदै आएको छ । यो बाहेक नेपालसँग अन्य कुनै तालिका छैन । नेपालले आइसिसी विश्वकप लिग–२ मा ३२ खेल खेल्न बाँकी छ । तर कोरोना महामारीको कारण खेल्न नपाउँने हो की भन्ने चिन्ता पनि छ ।

नेपाल यी ३२ खेलमा मात्र निर्भर हुनु हुँदैन । क्यानले विश्वकप लिग २ बाहेक अन्य देश नेदरल्याड्स र टेष्ट टोलीसँग सिरिज खेल्ने वातावरण बनाउनुपर्छ । अर्कोतर्फ विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजको समयमा त्यहि खर्चमा थप सिरिजको वातावरण बनाउँन र मिलाउँन सक्नुपर्छ । सिरिज र अभ्यासमा सकेसम्म आफूभन्दा उपल्लो स्तरको टोलीसँग बढि पहल गर्नुपर्छ । कमजोर टोलीलाई हराएर भन्दा बलियो टोलीसँग हार्दा धेरै फाइदा देखिन्छ ।

जिम्बावे, आयरल्यान्ड, अफगानिस्तान, बंगलादेश, वेस्टइन्डिज जस्ता देश नेपालसँग सिरिज खेल्न सक्छ । नेपाली समर्थक सामु खेल्न टेष्ट टोली पनि इच्छुक देखिएका छन् । क्यानले उक्त इच्छा र सम्भावनालाई यथार्थमा बदल्न सक्नुपर्छ । पछिल्लो समय कोरोना कारण क्वारेनटाइन अनिवार्य सर्त बनेको छ । क्वारेनटाइन खर्चको कारण नेपालले सिरिजको लागि प्रस्ताव गर्न सकि रहेको छैन । तर नेपाल खर्च गर्न भने डराउनु हुँदैन ।

२०२३ पछि नेपालले ओडिआई मान्यता बचाउन सकेन भने नेपाली क्रिकेटको यात्रा अन्धकारतर्फ बढ्ने छ । ओडिआई सदुपयोग गर्न धेरै ढिलाई भइसकेको छ । २०२३ पछि ओडिआई मान्यता निरन्तरता दिन मुख्य चुनौती छ । त्यो समय सम्म नेपालको फरक ओडिआई टोली बनाई सकेको हुनुपर्ने हुन्छ । २०२७ मा नेपालको लक्ष्य एकदिवसिय विश्वकप खेल्ने हुनुपर्छ । आइसिसीले २०२७ को एकदिवसिय विश्वकपमा १४ टोली सहभागी गराउने छ ।

त्यसैले आफू भन्दा बलिया टोलीसँग लगातार सिरिज खेल्ने वाताबरण मिलाउन सक्नुपर्छ । खेलाडी बन्न र नतिजा राम्रो आउन अत्याधिक खेलनै चाहिन्छ । नेपाललाई विश्वकप लिग २ मा शीर्ष तीनमा पर्दै सोझै एकदिवसिय विश्वकप छनोट खेल्ने चुनौती पनि छ । मुख्यता नेपाली क्रिकेट टोलीमा स्पष्ट लगानी देखिदैन ।

अब पनि निश्चित योजना, तयारीका साथ अघि नबढेको खण्डमा सन् २०२३ पछि ओडिआई मान्यता नेपालको लागि एउटा इतिहास बन्ने छ । त्यसैले ओडिआई मान्यता निरन्तरता दिने हो भने २०२७ सम्ममा धेरै परिवर्तन आउनेछ । त्यसैले आज देखिनै तयारीमा लाग्नुपर्ने देखिन्छ । अन्यथा कमजोर नतिजापछि आलोचना गर्नु र पछुताउनु बाहेक अन्य विकल्प हुने छैन ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.