default_image

3 years ago

October 15, 2021

आक्रामक नारायणको आगमन

162 views

0 Bookmark

भुपेन्द्र जिसी, काठमाडौं

युवा अलराउन्डर नारायण जोशी थोरै अवसरमा धेरै आशा र सम्भावना देखाएका युवा अलराउन्डर हुन् । गत साता सम्पन्न एभरेष्ट प्रिमियर लिग (इपिएल) मा ललितपुर प्याट्रीयट्सका लागि खेल्दै नारायणले नेपाली क्रिकेटमा आक्रामक ब्याटिङबाट आफूलाई चिनाए । तर नारायणको परिचय त्यतिमै सिमित छैन ।

नेपाल ओडिआई मान्यता भएको देश हो । तर नेपालको घरेलु संचना, ग्रास रुट र उमेर समूह त्यो स्तरको भन्न लाज मान्नुपर्ने अवस्था छ । पछिल्लो ७–८ वर्षदेखि उमेर समूह झारा टार्ने छ । ट्यालेन्ट हन्ट, एकेडेमी र फ्रेन्चाइज लिगकै आधारमा नेपाली ग्रास रुट र उमेर समूह चलेको छ । त्यसैले थुप्रै प्रतिभावान् युवा खेलाडी आफ्नो क्षमता देखाउन नपाउँदा हराएर गएका छन् । आउन पर्ने र नेपालले खोजेको जस्तो युवा खेलाडी पाउन सकेको छैन । अझ नेपाल क्रिकेट संघ (क्यान) को निलम्बन र कोरोना महामारीले ठूलो नोक्सानी पुर्यायो । यी सबै बाधा पन्छाउँदै अघि बढ्न सफल थोरै केहि युवा खेलाडीमध्य नारायण पनि एक हुन् ।

इपिएलमा ललितपुर लिग चरणबाटै बाहिरियो । टोलीको कमजोर नतिजाका बीच पाएको थोरै अवसरमा नारायणले धेरै सिद्ध गरे । नेपाली यू१६ टोलीको प्रतिनिधित्व गरिसकेका नारायणले पछिल्ला दुई घरेलु क्रिकेट प्रतियोगितामा आक्रामक ब्याटिङ गर्दै धेरैको मन जिते र ध्यान केन्द्रित गरे । नारायण नयाँ पुस्ताका ब्याटिङ, बलिङ र फिल्डिङ तीनै क्षेत्रमा अब्बल प्रदर्शन गर्न सक्ने युवा खेलाडी हुन् । उमेर समूहमा तीव्र गतिको बलिङमा उत्कृष्ट छाप छोडेका नारायणले विष्फोटक ब्याटिङका साथ नेपाली क्रिकेटमा नयाँ आशा र उत्साह थपेका छन् ।

इपिएलमा नारायणले बलिङको अवसर पाएनन् । तर ब्याटिङमा पाएको अवसरमा भने चुकेनन् । इपिएलमा विष्फोटक ब्याटिङ निकै कम खेलाडीले गरे । त्यसमा पनि विदेशी खेलाडीकै बाहुल्यता थियो । काठमाडौंविरुद्ध १९ औं ओभरको दोस्रो बलमा राशिद खान आउट भएपछि मैदान छिरेका नारायणले २० औं ओभरको पहिलो बलमै तीव्र गतिका बलर गुलशन झालाई चौका साथ आफ्नो इपिएल सुरुवात गरेका थिए ।

दोस्रो र तेस्रो बलमा नारायणले लगातार चौका प्रहार गरेका थिए । चौथो बलमा ठूलो सट खेल्नेक्रममा कभरमा शाहिद अफ्रिदीबाट समातिन पुगे । ४ बल खेलेका उनले ३ चौका सहित १२ रन बनाएका थिए । अन्तिम समयमा कप्तान ज्ञानेन्द्र मल्लले नखेल्ने भनेपछि समस्या र चिन्तामा अलमलिएको ललितपुरलाई नारायणले आक्रामक ब्याटिङले साथ पहिलो खेलमा केहि आशा देखाएका थिए ।

वर्षाको कारण पोखरासँग ७ ओभरको खेल भएको थियो । छैटौं ओभरमा ब्याटिङमा आएका नारायणले वेस्टइन्डिजका तीव्र गतिका बलर केज्रिक विलियम्सलाई छक्का प्रहार गरे । उक्त खेलमा नारायणले ५ बलमा १ चौका र १ छक्का सहित ११ रन बनाए । विराटनगर वारियर्सविरुद्ध ललितपुरले इपिएल इतिहासकै सर्वाधिक २ सय २६ रन बनायो । इतिहास रच्नमा नारायणको विष्फोटक ब्याटिङ निकै महत्वपूर्ण थियो । उनले ४ बलमा ३ छक्का सहित १८ रन बनाउँदै कीर्तिमानी योगफलमा पुर्याएका थिए ।

उनले २० औं ओभरमा रामनरेश गिरीमाथि छक्काको ह्याट्रिकनै गरे । दुर्भाग्यपूर्ण त्यसै खेलको दोस्रो इनिङमा फिल्डिङ गर्नेक्रममा तेस्रो ओभरको पाँचौं बलमा सन्दीप जोरासँग ठोकिँदा घाइते भएपछि हस्पिटलनै जानु पर्यो । एकदिन आइसीयूमै राखेर उपचार गर्नुपरेको थियो । त्यसपछि बाँकी खेल खेलेनन् ।

नारायणले इपिएलमा कम अवसर पाए । तर त्यसको भरपुर फाइदा उठाए । सट छनोट सानदार र आत्माविश्वासी थिए । नारायणले ४ खेलमा कुल १३ बल खेल्दा ३१५.३८ को स्ट्राइक रेटमा ४ चौका र ४ छक्का सहित ४१ रन बनाए । तथ्यांक हेर्दा यो धेरै नलाग्ला, तर उनले पाएको कमै अवसरलाई सकारात्मक रुपमा प्रयोग गरे । स्वदेशी तथा विदेशी स्टार खेलाडी पनि फिसिङमा चुक्दै आएका छन् । दबाबमा ठूला सट खेलेको नेपाली ब्याटरले कमै देखिन्छ । तर नारायणले कठिन अवस्थामै खुलेर सानदार प्रदर्शन गरे ।

नारायणले इपिएलमात्र होईन यू१६ र प्रधानमन्त्रीकपमा पनि विष्फोटक ब्याटिङ, तीव्र गतिको बलिङ र फिल्डिङमा आफ्नो कौशल देखाइसकेका छन् । टिमको रणनीतिको कारण इपिएलमा बलिङ भूमिकामा देखिएनन् । ‘म यस्तै खेलहरुको पर्खाईमा थिए । किनकी मैले आफूलाई देखाउने राम्रो अवसर पाएको छैन । पिएमकप मेरो पहिलो राष्ट्रिय खेल थियो । तयारी राम्रो गर्दै आएको थिए । म आफ्नो क्षमतालाई लिएर आत्माविश्वासी थिए’, उनले भने ।

‘पिएमकपपछि ६–७ महिना राम्रो अभ्यास गरे । मौका पाएभने सदुपयोग गर्नुपर्छ भन्ने सोचमा थिए । टिमले मलाई फिनिसिङ भूमिका दिएको थियो । पाएको धेरै थोरै अवसरलाई भरपूर्ण फाइदा उठाउँदै राम्रो अन्त्य गर्ने थियो । सायद टिमले मलाई दिएको भूमिका पूरा गरेजस्तो लाग्छ’, उनले भने, ‘अन्तिममा ब्याटिङ गर्दा कुनै विकल्प हुँदैन । जतिसक्यो राम्रो अन्त्य गर्ने हुन्छ ।’

पिएमकप होस् वा इपिएल उनको टोली तुलनात्मक रुपमा कमजोर रह्यो । विकेट लगातार गुमिरहेको थियो । शीर्ष र मध्यक्रमका ब्याटर चल्न नसक्दा तल्लोक्रमका खेलाडीलाई पनि असर पर्ने गर्दछ । तर नारायण आफ्नो रेन्जको बल पाए जस्तो सुकै अवस्थामा पनि हान्न सक्ने बताउँछन् ।

उच्च लय र आत्माविश्वासमा देखिएपनि तीन चार बल भन्दा बढी खेल्न पाएनन् । ललितपुरका कप्तान कुशल भुर्तेलले उनको भूमिका त्यसै अनुसार भएको हुँदा माथि मौका नदिएको बताएका थिए । ‘ब्याटिङ गर्दा जति लामो खेल्न पाइयो त्यतिनै राम्रो हुन्छ । आफूलाई त लाग्छ छिटो ब्याटिङ आएर अन्तिमसम्म खेल्न पाइयोस । इपिएलमा भूमिका अनुसार ब्याटिङ आएको थियो त्यसैमा खुसी थिए । यो सिजनमा पाएको अवसरलाई सदुपयोग गरे । तर मैले गर्न भने धेरै बाँकी छ’, ब्याटिङ बारे उनले भने ।

को हुन नारायण ?

नारायणको जन्म कैलालीको जोशीपूरमा वुवा टेकराज र आमा मायादेवी कोखबाट कान्छो सन्तानको रुपमा २०५९ माघ १६ गते भएको थियो । उनका एक दाइ (डम्बर) र दुई दिदीहरु (गीता र भगवती) छन् । नारायणको पुख्यौली घर डोटी हो । डोटीबाट २०५० सालतिर परिवार कैलाली बसाई सरेको थियो ।

नारायण पाँच वर्ष सम्म जोशीपूरमै हुर्किए । त्यसपछि उनको परिवार धनगढी तारानगरमा बसाई सर्यो । १२/१३ वर्ष उमेर सम्म उनलाई क्रिकेटमा खासै रुचि थिएन । कहिले काहिँ घर बाहिर रोडमा अरुले खेलेको हेर्ने र फाट्टफुट्ट खेल्ने गर्दथे । धनगढीको क्रिकेट माहोलबाट अछुतो हुने सकेनन् । एकदिन खेतमा खेल्ने बेलामा उनले ४० रन जति हानेर खेल जिताएछन् । त्यसपछि उनलाई सबैले खेल्न बोलाउन र लिन आउथें रे । विस्तारै क्रिकेटतर्फ यसरीनै आर्कषित हुन थाले ।

नारायणको घर नजिकै खोला बगर र जंगल थियो । वर्षायाममा खोला बढ्ने हुँदा जंगलको खाली ठाउँमा क्रिकेट खेल्थे । अरु समयमा बगरमा । नारायणका बाल्यकालका साथी थिए युवा स्टार लोकेश बम । नारायण र लोकेशको घर एकै ठाउँमा थियो । उनलाई हरेक दिन खेल्न बोलाउन र लिन लोकेश आउथें । साइकलमा खोला तर्दै कहिले बगरमा त जंगलको बीचबीचमा टेनिस बलले नथाक्न सम्म क्रिकेट खेलेर फर्किन्थे । उनलाई राम्रोसँग ब्याट चलाउन र समाउन लोकेशलेनै सिकाएका थिए । खोला बगर, जंगल खाली ठाउँ होस् वा बाटोमा उनीहरुसँगै क्रिकेट खेलेर हुर्किए । त्यसरीनै नारायणले क्रिकेट खेल्न सिके ।

नारायणलाई घर परिवारबाट क्रिकेट खेल्दा कुनै रोक छेक थिएन । उनीअघि उनको परिवार र आफन्तमा खेलकुदमा कोहीपनि लागेका थिएनन् । त्यसैले सबैले उनलाई क्रिकेटमा खेल्न दिनुपर्छ भन्ने गर्दथे । ऐश्वर्य विद्या निकेतनबाट कक्षा १० पास गरेका थिए । उनले कक्षा ८ मा पहिलो पटक लेदर बल (ड्युज) खेलेका थिए । अन्डर ८ कक्षा प्रतियोगितामा उत्कृष्ट फिल्डिरको अवार्ड नारायणलेनै पाएका थिए । कक्षा १० मा उनकै कप्तानीमा विद्यालयले प्रतियोगिता खेलेको थियो ।

नारायणको कप्तानीमा स्कुलले दुवै उपाधि मात्र जितेन, नारायण उत्कृष्ट प्रदर्शनका साथ प्लेयर अफ द सिरिज चुनिएका थिए । त्यस प्रतियोगितामा राम्रो खेल्ने ११ खेलाडी ड्रिम इलेभेनमा पर्थे । नारायण पनि ड्रिम इलेभेनमा परे । उक्त ड्रिम इलेभेनले धनगढी क्रिकेट एकेडेमी (डिसिए) सँग तीन खेल खेलेको थियो । त्यहाँ पनि नारायणको प्रदर्शन सानदार रह्यो । डिसिएले उक्त तीन खेलमा राम्रो प्रदर्शन गर्ने ड्रिम इलेभेनका पाँच खेलाडीलाई एकेडेमीमा निशुल्क छात्रवृत्ति प्रदान गर्यो । छात्रवृत्रिसँगै नारायण पहिलो पटक एकेडेमी गए ।

नारायण, लोकेश बम, विपिन रावल लगायतका युवा क्रिकेटरले डिसिएमा सँगै अभ्यास गर्थे । एकेडेमी जान थालेपछि अव क्रिकेटनै खेल्नुपर्छ भन्ने सोच बनाएका थिए । एकेडेमीमा खेल्न थालेको केहि महिनापछि काठमाडौंमा राष्ट्रपति रनिङ शिल्ड यू१६ प्रतियोगिता भयो । सुदूरपश्चिमको नेतृत्व नारायणले गरेका थिए । क्षेत्रनम्बर पाँचविरुद्ध उनले १७ बलमा ४२ रनको आक्रामक इनिङ खेलेका थिए ।

त्यसपछि नेपाल क्रिकेट संघ (क्यान) आइसिसीको निलम्बनमा पर्यो । सन् २०१७ मा थाईल्यान्डमा हुने प्रतियोगिताको लागि यू१६ छनोट प्रतियोगिता हुँदै परेका थिए । उनले अभ्यासको पहिलो दिननै सानदार प्रदर्शन गरे । बन्द प्रशिक्षणमा सानदार प्रदर्शनका साथ टिममा परेका थिए । त्यो समय हरेक क्षेत्रबाट ४–४ जना खेलाडी प्रशिक्षणमा बोलाइन्थ्यो ।

नारायणले डिसेम्बरमा थाईल्यान्डमा भएको प्रतियोगितामा सानदार प्रदर्शन गरे । डेब्यू खेलमै थाईल्यान्डविरुद्ध ७ ओभरमा १७ रन खर्चेर ५ विकेट लिएका थिए । तीव्र गतिका बलर उनले शीर्षक्रमका चार खेलाडीलाई बोल्ड आउट गरेका थिए । रितको कप्तानीमा, कुशल मल्ल, सूर्य तामाङ, विशाल विक्रम केसी, प्रतिश जि.सी लगायतका खेलाडीहरु थिए । यी सबैले यू१९ बाट खेल्दा नारायण ब्याक इन्जुरीको कारण त्यो अवसर पाएनन् ।

म्यानमारविरुद्ध नारायणले ३ ओभरमा २ मेडन सहित १ रन खर्चेर ४ विकेट लिएका थिए । तीन खेलाडी बोल्ड र एक खेलाडी एलबीडब्लू धरापमा परेका थिए । नेपालले ११.३ ओभरमा म्यानमारलाई १३ रनमा अल आउट गर्दै ३ सय ३७ रनको फराकिलो जित हात पारेको थियो । कप्तान रित गौतमले १ सय ६ रनको शतकीय इनिङमा नेपालले निर्धारित ३५ ओभरमा ६ विकेट गुमाउँदै ३ सय ५० रन जोडेको थियो ।
नेपालले फाइनलमा मलेसियालाई ७१ रनले पराजित गर्दै उपाधि जितेको थियो ।

नारायण २३ बलमा ५ चौका र १ छक्का सहित ४६ रनमा अविजित रहेका थिए । नारायण ५ खेलमा ११ विकेट लिँदै प्रतियोगिताकै सर्वाधिक विकेट लिने सूचिमा दोस्रो स्थानमा थिए । त्यसपछि उक्त यू१६ खेलेका सबैजना यू१९ को बन्द प्रशिक्षणमा परे । भारतको लखनहुमा हुने नेपाल, भारत र अफगानिस्तानबीचको प्रतियोगिताका लागि टियु मैदानमा प्रशिक्षणमा नारायणले सर्वोत्कृष्ट प्रदर्शन गरेपनि टोलीमा परेनन् । कमलसिंह ऐरी, राशिद खान, नन्दन यादव जस्ता सिनियर खेलाडीको छायाँमा परेका थिए ।

त्यसपछि डिसिएमा नेपाली क्रिकेट टोलीका पूर्व क्रिकेटर दीपेन्द्र चौधरी प्रशिक्षकको रुपमा आए । दीपेन्द्रको प्रशिक्षकमा नारायणले अझ निखारिदै गए । दोस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल) २०१८ मा विनोद दासकै प्रशिक्षकमा महेन्द्रनगर युनाइटेडले उनलाई ट्यालेन्ट हन्टमार्फत छनोट गरेको थियो । तर उनले खेल्न अवसर भने पाएनन् । खेल्न नपाएपनि अनुवभ धेरै पाएको बताउँछन् ।

२०१८ मा ललितपुरलेले अनुबन्ध गरेको थियो । ललितपुर च्याम्पियननै बन्यो । खेल्न नपाएपनि उनले राम्रो भरपुर फाइदा उठाए ।

उनी २०१९ मा नोभेम्बरमा भारतमा भएको यू१९ च्यालेन्जर ट्रफीमा नेपाली यू१९ टोलीको बन्द प्रशिक्षणमा परेका थिए । तर बन्द प्रशिक्षणको क्रममा ब्याक इन्जुरी (चोट) को कारण गुमाएका थिए । त्यसपछि उनले ६ महिना जति बलिङनै गरेनन् । त्यसपछि लयमा फर्किन उनलाई केहि समय लागेको थियो ।
यू१९ मा राम्रो गरेको थिए ।

नेपाली टोलीको जर्सी लगाउने सपना कसलाई हुँदैन र ? तर चोट पुन बाधक बन्यो । नारायणको लागि यो हालसम्म नराम्रो अनुभव हो । यू १९ खेल्ने उत्सुकता थियो । तर चोटको कारण गुमाउने भएपछि उनी धेरै रोएका थिए । त्यसपछि २०२० को सुरुवातमै कोरोना महामारीको कारण एक वर्षभन्दा बढी क्रिकेट ठप्पनै भयो ।

पिएमकपमा बागमतीविरुद्ध त्यो प्रदर्शन

माघमा भएको प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशबाट नारायणले बागमतीविरुद्ध राष्ट्रिय प्रतियोगिता डेब्यूका साथ नवौं नम्बरमा ब्याटिङ गर्दै २९ बलमा १ चौका र ५ छक्का सहित ४४ रनमा अविजित थिए । बागमतीविरुद्ध ३ सय रनको विजयी लक्ष्य पछ्याउनेक्रममा नन्दन यादवले १५ औं ओभरको चौथो बलमा शेर मल्ललाई आउट गरेपछि उनी क्रिजमा आएका थिए ।

६३–७ को अवस्थामा क्रिजमा आएका उनले पहिलो बलमै चौका प्रहार इनिङ सुरुवात गरेका थिए । त्यो दबाबमा उनले आत्माविश्वासी र परिपक्कता ब्याटिङ गरे । तर भोजराज भट्ट रन आउट भएपछि अर्धशतक बनाउनबाट चुकेका थिए । टोली १ सय ८० रनको फराकिलो अन्तरले पराजित भएपनि नारायणले धेरैको मन जितेका थिए । केहि समय सानदार छक्का प्रहार गर्दै खेललाई रोमान्चक बनाएका थिए ।
त्यसै खेलमा बलिङमा नारायणले ३ विकेट लिएका थिए । ईशान पाण्डे, ज्ञानेन्द्र मल्ल र विपिन आचार्यलाई आउट गरेका थिए ।

लुम्बिनी प्रदेशविरुद्ध नारायणले २२ बलमा १ चौका र १ छक्का सहित १७ रन बनाएका थिए । उनी काठमाडौं मेयर्स कपमा काठमाडौं मेयर ११ बाट खेलेका थिए । प्रदर्शन औसत रहेको थियो । नारायण घरमा आमा बुबा, लोकेश, सुबास शाही (डिसिए तथा डिपिएल प्रमुख), दीपेन्द्र चौधरी लगायतको साथ, सहयोग र प्रेरणा धेरै रहेको बताउँछन् ।

नारायणले नेपाली टोलीबाट मात्र खेल्ने सपना देखेका छैनन् । नेपाली क्रिकेटमा आफ्नो भिन्दै पहिचान बनाउने सपना देखेका छन् । ‘नेपालको लागि खेल्ने सपना त क्रिकेट खेल्न सुरुवात गरेदेखि हो । नेपाली टोलीबाट खेल्नुमात्र होईन एउटा राम्रो छाप छाड्ने सपना छ । देशका लागि खेल्नलाई अझ राम्रो गर्नुपर्छ’, आफ्नो सपना बारे उनले भने ।

‘अभ्यास मात्र गरेर हुँदैन । आत्माविश्वास बढाउन र माथि जानलाई आफ्नो खेल चाहिन्छ । यू१६ देखि सुरु गर्दा क्यान निलम्बित थियो । त्यसपछि यू१९ खेल्ने समयमा कोरोना । जसको कारण धेरै गाह्रो भयो’, उनले भने ।

नेपालमा उनलाई पारस खड्कापछि दीपेन्द्र सिंह ऐरी उनलाई मनपर्ने खेलाडी हुन् । विदेशी खेलाडीमा इंग्ल्यान्डका तीव्र गतिका बलर जेम्श एन्डरसन, दक्षिण अफ्रिका विष्फोटक ब्याटर एवि डिभिलियर्स र भारतीय अलराउन्डर हार्दिक पान्ड्या मनपर्छ ।

इपिएलमा त्यो अविश्वसनिय घटना

विराटनगर वारियर्सविरुद्ध नारायण तेस्रो ओभरको पाँचौं बलमा सन्दीप जोरासँग ठोकिन पुग्दा नाकमा चोट पुगेको थियो । त्यसपछि एकै छिनमै उनी मैदानमै अचेत अवस्थामा लडेका थिए । स्टार अस्पतालमा एकदिन आइसियुमा राखेर उपचार गरिएको थियो । ‘मैले कल्प्तना गरेको थिइनँ । मलाई याद पनि भएन । त्यो कुरा अझैपनि याद आउँदैन । एकछिनको लागि म अचेत भएको रहेछु । अहिले भिडियो फुटेज हेर्दा आफूलाई डर लाग्छ । धन्न घाँटी भाचिएको रहेनछ । सबैले घाँटी भाचिएको सोच्नुभएको रहेछ । धन्न ठूलो चोट केहि पनि भएन’, उक्त घटना सम्झंदै नारायणले भने ।

अबको यात्रा

नारायणको अवको यात्रा निरन्तर शीर्ष श्रेणी क्रिकेट खेल्दै राष्ट्रिय टोलीबाट खेल्नु हो । नेपालमा अब कुन खेल र प्रतियोगिता हुन्छ कुनै तालिका छैन । दशैं पछि यू१९ राष्ट्रिय प्रतियोगिता चर्चा छ । उक्त प्रतियोगिता भएमा सुदूरपश्चिमबाट खेल्नेछन् । त्यसपछि प्रधानमन्त्री कप हुनेछ । अन्य लिग र प्रतियोगिता भन्न सक्ने अवस्था छैन । तालिका अनुसार नेपालले अव २०२२ मानै अन्तर्राष्ट्रिय सिरिज र प्रतियोगिता खेल्नेछ । आगमी वर्ष टि२० ग्लोबल छनोट हुँदा यो वर्ष टि२० राष्ट्रिय प्रतियोगिता गर्नै पर्ने हुन्छ ।

नेपालको अवको मुख्य लक्ष्य आगमी वर्ष टि२० विश्वकप ग्लोबल छनोटमा उत्कृष्ट प्रदर्शनका साथ भारतमा हुने विश्वकपमा स्थान बनाउने हो । विश्वकपमा पुग्न नेपालले नारायण जस्ता युवा हार्ड हिटर अलराउन्डरलाई समयमै तयार पार्नतर्फ ध्यानदिन आवश्यक देखिन्छ । अहिले देखिनै नेपालले नारायणलाई तयार पार्नतर्फ ध्यान दिने हो भने टि२० विश्वकप त्यति टाढा र कठिन देखिदैन ।

त्यसको लागि नारायणले पनि अहिलेको भन्दा उत्कृष्ट र कडा मिहिनेत गर्नुपर्ने हुन्छ । छनोट समिति र क्यानले पनि नारायण जस्ता युवा खेलाडी तयार पार्नमा विशेष ध्यान दिन सकेमात्र टि२० विश्वकप पूरा हुनसक्छ । नारायण टि२० मात्र नभएर एकदिवसियको लागि पनि त्यतिनै उपयोगी क्रिकेटर हुन् ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.