default_image

4 years ago

October 25, 2021

भारतमाथि ऐतिहासिक जितमा नायक बनेका पाकिस्तानका पाँच खेलाडी

223 views

0 Bookmark

एजेन्सी – पाकिस्तानले आइतबार राती टि२० विश्वकपमा क्रिकेटको पावर हाउस भारतलाई १० विकेटले हराउँदै इतिहास रचेको छ । विश्वकप इतिहासमा पाकिस्तानले पहिलो पटक भारतलाई हराउन सफल भएको हो । आइसिसी टि२० विश्वकप २०२१ सुपर १२ को समूह बी मा रहेको पाकिस्तानले पहिलो खेलमै भारतमाथि जितका साथ सानदार सुरुवात गरेको छ ।

आइतबार ब्याटिङ र बलिङ दुबैमा पाकिस्तान हाबी बन्यो । दुबई इन्टरनेशल क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको भारतले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ५१ रन बनाएको थियो । भारतका कप्तान विराट कोहलीले ४९ बलमा ५ चौका र १ छक्का सहित सर्वाधिक ५७ रनको योगदान दिए । पाकिस्तानका तीव्र गतिका युवा बलर शाहिन शाह अफ्रिदीले ४ ओभरमा ३१ रन खर्चेर सर्वाधिक ३ विकेट लिए । अफ्रिदी खेलको मुख्य नायक हुन् ।

जितका लागि १ सय ५२ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तानले १७.५ ओभरमा कुनै पनि विकेट नगुमाई पूरा गर्यो । ओपनर मोहम्मद रिजवान ५५ बलमा ६ चौका र ३ छक्का सहित ७९ रनमा अविजित रहे । कप्तान बाबर आजम ५२ बलमा ६ चौका र २ छक्का सहित ६८ रनमा अविजित रहे ।

पछिल्लो समय उत्कृष्ट प्रदर्शन गर्दै आएका यी दुई ओपनरले आफ्नो लयलाई निरन्तरता दिएपछि पाकिस्तानले सहज जित निकालेको थियो । यसअघि पाकिस्तानले भारतसँग टि२० र एकदिवसिय विश्वकप कुनैपनि खेलमा जित हात पार्न सकेको थिएन । टि२० विश्वकपमा पाँच पटक प्रतिस्पर्धा गर्दा पाँचै पटक पराजित भएको थियो । एकदिवसिय विश्वकपमा ७ खेलमा ७ मानै पराजित भएको थियो ।

२००७ को विश्वकपमा समूह चरणमा पाकिस्तान भारतसँग बराबर भएपछि बल आउट (बलले स्टम्प ताक्ने) आधारमा पराजित भएको थियो । २००७ को फाइनलमा पाकिस्तान ५ रनले भारतसँग पराजित हुन पुगेको थियो । पाकिस्तानले बाबर आजमको कप्तानीमा आइतबार भारतविरुद्ध विश्वकपमा हारको खडेरी तोडेको हो । अव मंगलबार पाकिस्तानले न्युजिल्यान्डसँग खेल्नेछ । उक्त खेल थप रोमाञ्चक हुने अनुमान गरिएको छ । भारतलाई हराउन नायक बनेका पाकिस्तानका पाँच खेलाडीको प्रदर्शन छोटकरीमा ।

५.शादब खान

स्पिनर शादब खानले ४ ओभरमा मात्र २२ रन खर्चेर १ विकेट लिएका थिए । शादब खानले मध्यक्रममा ९ बल डट राख्दै दबाब बढाएका थिए । भारतले खराब सुरुवात गरेपनि विराट कोहली र ऋषभ पन्तले चौथो विकेटका लागि ५३ रनको साझेदारी गर्दै खेलमा फर्काउन खोजेका थिए । युवा विकेटकिपर ऋषभ पन्त आक्रामक ब्याटिङ गर्दै भारतलाई बलियो योगफलको सम्भावना देखाएका थिए । पन्त क्रिजमा अरु समय टिकेको भए भारतले बलियो योगफल बनाउन सक्थ्यो ।

किनकी पन्त विष्फोटक र ठूला इनिङका लागि चिनिन्छन् । शादबले १३ औं ओभरको दोस्रो बलमा पन्तलाई ३९ रनमा कट एण्ड बोल्ड आउट गर्दै पाकिस्तानलाई महत्वपूर्ण सफलता दिलाएका थिए । पन्तले ३० बलमा २ चौका र २ छक्का प्रहार गरे । पन्त आउट भएपछि कोहलीलाई थप दबाब परेको थियो । शादबले सहि समयमा पन्तको विकेट लिएका थिए । उपकप्तान समेत रहेका शादबले पाकिस्तानलाई पहिलो जित दिलाउन महत्वपूर्ण योगदान दिए ।

४. हसन अली

तीव्र गतिका बलर हसन अलीले भारतका दुई विकेट लिएका थिए । हसनले ४ ओभरमा ४४ रन खर्चेर २ विकेट लिए । भारतले खराब सुरुवात गर्नेक्रममा ओपनर लोकेश राहुललाई ३ र रोहित शर्मालाई गोल्डेन डक गुमाएको थियो । तर ब्याटिङमा भारतको गहिराई छ । सूर्यकुमार यादव भारतका अर्का भरपर्दा युवा स्टार क्रिकेटर हुन् ।

तर हसन अलीले छैटौं ओभरको चौथो बलमा सूर्यलाई ११ रनमा रिजवानबाट क्याच गराएका थिए । सूर्यले एक्लै खेललाई मोड्न सक्छन् । तर पाकिस्तानसँग खेलमा एज लागेर क्याच हुन पुगे । हसनले १८ औं ओभरको पाँचौं बलमा रविन्द्र जडेजालाई १३ रनमा क्याच गराए । भारतले खराब सुरुवात भएपनि अन्त्यको लागि राम्रो वातावरण बनाएको थियो । जडेजा ठूलो सट खेल्नेक्रममा डीप मिडविकेटमा समातिन पुगेका थिए । हसन २०१७ को च्याम्पियन्स ट्रफी फाइनलमा भारतलाई १ सय ८० रनले हराउदा पनि उत्कृष्ट प्रदर्शन गरेका थिए ।

३. मोहम्मद रिजवान

विकेटकिपर तथा ओपनर मोहम्मद रिजवानले पाकिस्तानको जितमा सानदार प्रदर्शन गरे । पछिल्लो समय रिजावन उच्च लयमा छन् । त्यो लयलाई भारतविरुद्ध पनि निरन्तरता दिए । रिजवान ५५ बलमा ६ चौका र ३ छक्का सहित ७९ रनमा अविजित रहे । उनले बाबर आजमलाई राम्रो साथ दिँदै १० विकेटको जित सम्भव बनाएका थिए । यी दुई मध्य एकको विकेट गुम्दा पनि पाकिस्तान समस्यामा पर्न सक्थ्यो ।

पाकिस्तानको ब्याटिङ शीर्ष तीन ब्याटरमा बढी निर्भर रहँदै आएको छ । लक्ष्य मध्यम भएपनि विश्व स्तरिय भारतीय बलिङ आक्रामण सामू सुरुवाती समय विकेट नदिई खेल्न पक्कै सहज थिएन । रिजवानले पहिलो ओभरको दोस्रो बलमै भुवनेश्वर कुमारलाई चौका र तेस्रो बलमा छक्का प्रहार गरेका थिए । त्यसले पनि मनोबल थप उच्च भएको थियो । त्यसपछि दुबै ओपनर सानदार साझेदारीका साथ खेल जिताए । रिजवानले १८ औं ओभरको पहिलो बलमा मोहम्मद शामीलाई छक्का, दोस्रो र तेस्रो बलमा चौका प्रहार गर्दै १० विकेटको जित पक्का गराए । रिजवानको परिपक्क ब्याटिङमा पाकिस्तानले भारतलाई पहिलो पटक हराउन सफल भयो ।

२. बाबर आजम

पाकिस्तानको जितमा बाबरको प्रदर्शन र कप्तानी दुबै उत्कृष्ट रह्यो । क्लासले भरिपूर्ण ब्याटर बाबरले ५२ बलमा ६ चौका र २ छक्का सहित ६८ रनको अविजित इनिङ खेले । बाबरले खेलमा संयमित, आक्रमक र क्लास सबै देखाए । बाबर कभर डाइभको लागि विश्व प्रसिद्ध ब्याटर हुन् । पाकिस्तानलाई ४८ बलमा ६७ रन चाहिँएको थियो ।

१३ औं ओभरमा स्पिनर बरुण चक्रवर्तीलाई दुई सानदार छक्का प्रहार गर्दै जित सहज बनाएका थिए । अन्तर्राष्ट्रिय सिरिज र प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आएका बाबरले विश्वकपमा भारतविरुद्ध पनि निरन्तरता दिए । भारत र पाकिस्तानबीचको खेलमा कुनैपनि खेलाडीलाई सहज हुँदैन । अझ कप्तानमाथि बढी दबाब हुने गर्दछ । तर बाबरले दबाबमा उत्कृष्ट प्रदर्शनका साथ इतिहास रचाए ।

१. शाहिन शाह अफ्रिदी

बायाँ हाते तीव्र गतिका बलर शाहिन शाह अफ्रिदी भारतलाई हराउन नायक बनेका पाकिस्तानका प्रमुख खेलाडी हुन् । अफ्रिदीले कुनैपनि समय भारतीय ब्याटरलाई ठूलो योगफलको बारे सोच्न दिएनन् । अफ्रिदीले पहिलो ओभरको चौथो बलमै ओपनर रोहित शर्मालाई एलबीडब्लू आउट गर्दै गोल्डेन डक आउट गरेका थिए । योर्कर बलमा रोहित शून्यमा आउट भएपछि भारत सुरुवातमै दबाबमा परेको थियो ।

तेस्रो ओभरको पहिलो बलमै अर्का ओपनर लोकेश राहुललाई ३ रनमा बोल्ड आउट गर्दै पाकिस्तानलाई उत्कृष्ट सुरुवात दिलाएका थिए । कुनैपनि टोलीले पहिला पावर प्लेमा दुबै ओपनर गुमाउँछ भने जित कठिन हुने गर्दछ । भारतका दुबै ओपनर प्रमुख ब्याटर थिए । त्यसपछि भारतले पूरै खेलमा संघर्ष गर्नुपर्यो । कोहलीले क्रिजम जम्दै भारतलाई केहि आशा देखाएका थिए ।

१९ औं ओभरको चौथो बलमा कोहली पनि रिजवानबाट क्याच आउट भएका थिए । टि२० विश्वकपमा पाकिस्तानविरुद्ध यसअघि कोहली आउट भएका थिएनन् । कोहली आक्रामक ब्याटिङ गर्ने समयमा आउट भएका थिए । अफ्रिदीले ४ ओभरमा ३१ रन खर्चेर प्रमुख ३ विकेट लिँदै भारतलाई मध्यम योगफलमा रोकेका थिए । अफ्रिदीनै खेलको प्लेयर अफ द म्याच चुनिए ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.