default_image

4 years ago

November 1, 2021

भारतले न्युजिल्यान्डसँग हार्नुका पाँच कारण

226 views

0 Bookmark

एजेन्सी – आइसिसी टि२० विश्वकप २०२१ मा सुपर १२ खेलमा भारत न्युजिल्यान्डसँग ८ विकेटले पराजित भएपछि समूह चरणबाटै बाहिरिने सम्भावना बढेको छ । समूह २ मा रहेको भारतले लगातार दोस्रो हार बेहोरेपछि शीर्ष दुईमा रहेर सेमिफाइनल खेल्न अब जादुमय र अप्रत्याशित नजिता वाहेक अन्य विकल्प छैन ।

जितको लागि १ सय ११ रनको विजयी लक्ष्य पछ्याएको न्युजिल्यान्डले १४.३ ओभरमा २ विकेट गुमाउँदै पूरा गरेको थियो । न्युजिल्यान्डका ओपनर डर्याल मिचेलले ३५ बलमा ४ चौका र ३ छक्का सहित सर्वाधिक ४९ रनको योगदान दिए । कप्तान केन विलियम्सन ३१ बलमा ३ चौका सहित ३३ रनमा अविजित रहे ।

त्यसअघि दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय १० रन मात्र बनाउन सकेको थियो । विश्वस्तरिय ब्याटरले भरिभराउ भारतीय टोलीले न्युजिल्यान्डको बलिङ सामू लज्जास्पद ब्याटिङ गर्दै महत्वपूर्ण खेलमा सामान्य योगफलमै समेटिएपछि लज्जास्पद हार बेहोरेको हो । भारतका अलराउन्डर रविन्द्र जडेजा १९ बलमा २ चौका र १ छक्का सहित सर्वाधिक २६ रनको योगदान दिए ।

न्युजिल्यान्डका तीव्र गतिका बलर ट्रेन्ट बोल्टले ४ ओभरमा २० रन खर्चेर ३ विकेट लिए । स्पिनर ईश सोधीले ४ ओभरमा १७ रन खर्चेर २ विकेट लिए । भारत पहिलो खेलमा पाकिस्तानसँग १० विकेटले पराजित भएको थियो । भारतले ब्याटिङमा पाकिस्तानसँग भन्दा झन खराब प्रदर्शन गर्यो । भारतले यस विश्वकपमा आफ्नो शैलीको खेल खेल्न सकेको छैन । भारतले जुन प्रदर्शन गरेको छ त्यो स्तरको टोली भने होईन । गल्तीबाट पाठ नसिक्दा कमजोर देखिएको छ । कागजी रुपमा निकै बलियो टोली भारतले आफ्नै गल्तीको कारण हार बेहोरेको हो । भारतले न्युजिल्यान्डसँग हार्नुका पाँच कारण यस प्रकार छन् ।

५. टस हार्नु

भारतको हारको एक कारण टस पनि पर्छ । दुबईको मैदानमा पहिला ब्याटिङ गर्ने टोलीले जित्न सम्भावना कम हुन्छ । यस वर्ष दुबईमा भएका १८ खेल मध्य १४ खेल लक्ष्य पछ्याउने टोली विजयी भएका थिए । भारत पाकिस्तानसँग पनि पहिला ब्याटिङ गर्दानै यसै मैदानमा हार्न पुगेको थियो । लक्ष्य पछ्याउँदा स्कोरबोर्डको योगफल अनुसार खेल्न सकिन्छ । तर पहिला ब्याटिङ गर्दा विशाल योगफल बनाउने दबाब हुन्छ । भारतले टस जितेको भए सायद नतिजा फरक हुन सक्थ्यो ।

४.अत्याधिक डट बल

भारतले इनिङको कुल १ सय २० बल मध्य ५४ डट खाएको थियो । ५४ बल अर्थात ९ ओभरमा कुनै रन जोड्न नसक्दानै भारत कम योगफलमा सिमित हुँदै हारको संघारमा पुगेको थियो । मैदानमा कुनैपनि भारतले ब्याटरले खुलेर खेल्न सकेनन् । सुरुवातदेखि नै ब्याट्सम्यानले विकेट बचाउने चक्करमा डट बल बढी खेलेका थिए । न्युजिल्यान्डका स्पिनरसामू भारतीय ब्याटरले घुँडा टेकेका थिए ।

न्युजिल्यान्डका प्रमुख दुई स्पिनरले ८ ओभरमा मात्र ३२ रन खर्चेका थिए । जसमा कुनैपनि बाउन्ड्री थिएन । प्लेयर अफ द म्याच चुनिएका सोधीले ४ ओभरमा १७ रन खर्चेर २ विकेट लिएका थिए । विकेट लिन नसकेपनि मिचेल सान्टनरले ४ ओभरमा मात्र १५ रन खर्चेका थिए । डट बलको दबाबमानै भारतीय ब्याटर खराब सटका साथ निरन्तर विकेट गुमाइरहे र त्यो नै हारको कारण बन्यो ।

३. उच्च मानसिक दबाब

पाकिस्तानसँग हारपछि भारतीय खेलाडीमा जित्नै पर्ने अत्याधिक मानसिक दबाब हुँदा न्युजिल्यान्डविरुद्ध आफ्नो स्तरको क्रिकेट खेल्न सकेनन् । न्युजिल्यान्डविरुद्ध भारतीय खेलाडीलाई मानसिक अत्याधिक दबाब थियो । न्युजिल्यान्ड भन्दा भारत बढी बलियो टोली हो । न्युजिल्यान्डले भारतसँग हार्दा खासै आश्चर्य मान्नुपर्ने कुरा केहि थिएन । तर भारतले हारले भने ठूलो प्रभाव पार्दथ्यो ।

त्यो दबाबमा भारतीय खेलाडी सम्हालिन सकेनन् । सन् २००३ देखि आइसिसी प्रतियोगितामा भारतले न्युजिल्यान्डलाई हराउन सकेको थिएन । इतिहासको पनि दबाब थियो । भारतीय खेलाडीमा उर्जाको कमी सुरुवातमै देख्न सकिन्थ्यो ।

२ . ब्याकअप प्लानको कमी

भारतको हारको जिम्मेवारी कप्तान विराट कोहली, प्रशिक्षक रवि शास्त्री र टिम व्यवस्थापनले बढी लिनुपर्छ । भारतले हार्नुको एक प्रमुख कारण ब्याकअप प्लानको कमी हो । सधैं टोलीको सोचे जस्तो सुरुवात हुन्छ भन्ने हुँदैन । च्याम्पियन टोलीले खराब सुरुवातका बाबजुद पनि राम्रो पूनरागमन गर्न सक्नुपर्छ । तर भारतसँग शीर्षक्रमका ब्याटर नचलेको खण्डमा मध्यक्रम र तल्लोक्रमका ब्याटरले कसरी खेल्ने भन्ने व्याकअप प्लान थिएन ।

भारतले टोलीमा दुई परिवर्तन गरेको थियो । ईशान किशन र तीव्र गतिका बलर शार्दूल ठाकुरको आगमनले ब्याटिङ थप मजबुत बनेको थियो । तर जसको कारण सामान्य योगफलमा समेटिएको थियो । भारतले सबैलाई सरप्राइज दिँदै लोकेश राहुल र ईशान किशनलाई ओपनिङ गराएको थियो । धेरैले रोहित र किशनले गर्ने आशा गरेका थिए ।

राहुल मध्यक्रममा राम्रो ब्याटिङ गर्ने गर्दछन् । न्युजिल्यान्डसँग भारतीय शीर्षक्रमले निराश बनाए । शीर्ष चार ब्याटर लोकेश राहुल १८, ईशान किशन ४, रोहित शर्मा १४ र विराट कोहली ९ रनमा आउट भएका थिए । टोली अनुसार भारतले खराब सुरुवातको बाबजुद प्रतिस्पर्धात्मक योगफल बनाउन सक्थ्यो । किनभने ऋषभ पन्त, रविन्द्र जडेजा र हार्दिक पान्ड्या जस्ता आक्रामक ब्याटर टोलीमा थिए । शार्दुलबाट केहि रनको आशा गर्न सकिन्छ । पन्त १२, हार्दिक पान्ड्या २३ र रविन्द्र जडेजा २६ रन बनाए । सुरुवातमा खराब प्रदर्शनपछि के गर्ने भन्ने ब्याकअप प्लान नहुनुनै हारको कारणमा पर्छ ।

१. खराब सट छनोट र गैरजिम्मेवारीपन

भारतको कमजोर ब्याटिङको मुख्य कारण खराब सट छनोट र गैरजिम्मेवारी ब्याटिङ हो । कुनैपनि ब्याटरले क्रिजमा जिम्मेवारी देखाउन सकेनन् । बलरको उत्कृष्ट बलिङ भन्दा पनि भारतका ब्याटरले खराब सट खेल्दै न्युजिल्यान्डका फिल्डिरलाई सहज क्याच थमाउन पुगेका थिए । ओपनर ईशान किशन ठूलो सट खेल्ने धुनमा डीप स्क्वायर लेगमा क्याच आउट भएका थिए ।

राहुल, विराट र रोहितको सट छनोट निकै खराब थियो । राहुल पनि डीप स्क्वायर लेगमै क्याच आउट भएका थिए । पहिलो बलमै जीवनदान पाएका रोहितले गल्तीबाट पाठ सिक्न र सदुपयोग गर्न सकेनन् । सोधीले खराब सट बलमा रोहित बाउन्ड्रीको धुनमा लङअनमा मार्टिन गुप्टिलबाट समातिन पुगेका थिए । विराट पनि सोधीको बलमा खराब सटका साथ लङअनमै बोल्ट बाट क्याच भएका थिए । जुन सट विराटबाट विरलै देखिन्छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.