default_image

2 years ago

August 24, 2022

भलिबल प्रेमले प्रशिक्षणमा जमेका कुमार राई

भुपेन्द्र जिसी, काठमाडौं खेलमा गम्भीर र खेल बाहिर सधैं मुस्कानका साथ प्रस्तुत हुने मिहिनेती न्यु डायमण्डका मुख्य प्रशिक्षक कुमार राईलाई नेपाली भलिबलमा नचिन्ने सायदै कोहि होलान् । छोटो कदका भएपनि भलिबलमा प्रशिक्षण कर्मका कारण चर्चित नाम । सामान्य जीवन शैली र बानी व्यवहारले समर्थकमाझ पनि परिचित छन् राई । प्रशिक्षक राईको योगदान विना नेपाली महिला […]

271 views

0 Bookmark

भुपेन्द्र जिसी, काठमाडौं

खेलमा गम्भीर र खेल बाहिर सधैं मुस्कानका साथ प्रस्तुत हुने मिहिनेती न्यु डायमण्डका मुख्य प्रशिक्षक कुमार राईलाई नेपाली भलिबलमा नचिन्ने सायदै कोहि होलान् । छोटो कदका भएपनि भलिबलमा प्रशिक्षण कर्मका कारण चर्चित नाम । सामान्य जीवन शैली र बानी व्यवहारले समर्थकमाझ पनि परिचित छन् राई ।

प्रशिक्षक राईको योगदान विना नेपाली महिला भलिबल यो अवस्थामा सायदै आइपुग्ने थियो । महिला भलिबल विकास र परिवर्तनमा उनको योगदान अतुलनीय छ । विगत एक दशकयता नेपाली महिला भलिबलमा सफलताका विभिन्न अध्याय लेखेको न्यू डायमण्डका मुख्य प्रशिक्षक राईले आफ्नो प्रशिक्षणमा नेपाली महिला भलिबललाई तीन दर्जन भन्दा बढी खेलाडी दिएका छन् । राष्ट्रिय टोलीबाट खेल्ने खेलाडी नै आधा दर्जन पुगिसकेका छन् ।

न्यु डायमन्डका पर्याय नै बनेका राई सुरुमा अर्कै स्कुलमा पढाउँथे । भलिबलकै कारण उनको स्कुल फेरियो तर खेल प्रतिको लगाव कहिल्यै फेरिएन । पुरानो स्कुलले भलिबल निरन्तरता दिन आनाकानी गरेपछि २०६२ सालमा न्यु डायमन्ड एकेडेमीको स्थापना भएको थियो ।

एकेडेमी स्थापना हुनेबेला महिला भलिबल तुरुन्त गर्न सक्ने अवस्था थिएन । महिला खेलाडीको संख्या निकै कम थियो । त्यो वर्ष पुरुष भलिबलको टोली निर्माण गर्ने प्रयास गरे । तर नियमित प्रशिक्षणका बाबजुद राम्रो नतिजा आएन । पुरुष खेलाडीमा खेलप्रति लगाव कम हुने र अनुशासनको समस्या राईले देखे । उनल अर्को वर्ष एथ्लेटिक्समा प्रयास गरे । भलिबलमै मन बसेको राई त्यहाँ पनि सफल हुन सकेनन् । त्यसपछि राईले २०६४ साल जेठ ५ मा महिला भलिबल सुरु गरे । त्यसपछि उनले पछि फर्केर हेर्नु परेको छैन ।

डेढ दशकमा न्यु डायमण्डले नेपाली महिला भलिबलमा सफलता र चर्चाको शिखर चुमेको छ । पहिलो ब्याचमा रेश्मा भण्डारी, रमिला तण्डुकार, रञ्जना खड्का, मुना थापा, ममता थापा, निशा खड्का, मिना मुक्ता, प्रतिभा माली र पनामिका राई थिए । पनामिका प्रशिक्षक राईकै छोरी हुन् । प्रतिभा र पनामिका त्यो बेला सानो हुँदा बल समाएर हिड्थें । अहिले प्रतिभा नेपाली महिला भलिबलकै उत्कृष्ट स्पाइकर हुन्, सम्भवत नेपाली इतिहासकै पनि ।

नेपाली महिला भलिबलमा थुप्रै क्लबहरु संचालनमा आएर बन्द भए । आर्थिक अवस्थाकै कारण क्लबलाई निरन्तरता दिन मुश्किल छ । नेपालमा क्लबलाई ठूला प्रायोजन पाउन कठिन हुँदा राई क्लब चलाउनुलाई फलामको चिउरा चपाउनुसँग दाँज्छन् ।

‘बाहिर नाम आइसकेको छ । बन्द गर्न अप्ठ्यारो । त्यसैले बन्द गर्नेतिर नगएर जसरी पनि चलाउने भन्ने थियो । नाम नकमाएको भए बन्द भइसक्थ्यो होला । तर बन्द भएपछि धेरै प्रश्न उठ्छन् । तिनीहरुको उत्तर दिनुभन्दा जसोतसो चलाउन सहज भयो’, राईले भने ।

‘क्लब चलाउन धेरै गाह्रो छ । फलामको चिउरा चपाउनु भन्थे । फलामको चिउरा चपाएर त हेरिएको छैन, तर चिउरा कमलो र फलाम गाह्रो हुन्छ । मेरो विचारमा यो पनि त्यस्तै हो’, उनले भने ।

प्रतिभा माली, रेश्मा भण्डारी, रमिला तण्डुकार, कृपा अधिकारी, सलिना श्रेठ, झरना श्रेष्ठ, ललिता नाथ लगायतका थुप्रै खेलाडी राईले तयार पारेका स्टार खेलाडी हुन् । घरेलु भलिबलमा न्यु डायमन्डबाट खेल्दै आएका वाल्मिका आचार्य, रिमा कुँवर, प्रगति नाथ, एन्जिला प्रधान लगायत खेलाडी पनि आउने दिनमा उच्च स्तरमा खेल्ने देखिन्छ ।

१२/१३ वर्षको बच्चादेखि तयार पारेको खेलाडी राम्रो खेल्ने भएपछि विभागीय टोलीले टपक्क टिपेर लैजान्छन् । न्यु डायमण्डबाट सिकेर रेश्मा भण्डारी, रन्जना खड्का, मनिषा तामाङ र रस्मिता दुरा एपिएफ पुगे । कृपा अधिकारी नेपाली सेनाको सह-सेनानीमा नाम निकालेपछि उता गएकी थिइन् । आफूले तयार पारेको खेलाडी विभागीय क्लबले लैजाँदा छोरी विवाह गरेर गएजस्तै पिडा हुने बताउँछन् ।

‘अब यो त छोरीलाई एकदमै राम्रोसँग हुर्कायो बढायो, विवाह गरेर हिन्देपछि १-२ दिन त निकै तनाव नै हुन्छ । निद्रा नै लाग्दैन । त्यस्तै हुन्छ । तैपनि यो प्रकृतिको नियम नै हो । एकदिन हामी पनि छाडेर जानुपर्छ । यस्तै धेरै क्षण नमज्जाले भोगियो’, उनले भने ।

को हुन् कुमार राई ?

प्रशिक्षक राईको जन्म संखुवासभाको तत्कालिन पाङ्मा गाविसमा बुबा मानबहादुर र आमा भक्तीमाया राईको काइलो सन्तानको रुपमा २०२७ साल माघ २६ गते भएको हो । उनको परिवारमा पाँच दाजुभाइ र दुई छोरी गरि कुल सात सन्तान थिए ।

जंगलकै छेउमा रहेको मालमासे भन्ने ठाउँमा उनको जन्म भयो । सानैमा उनलाई राई भाषा पढाउन सरस्वती निम्म माध्यमिक विद्यालय माल्टामा लगे । त्यहाँ उनले कक्षा ७ सम्म पढेका थिए । संखुवासभाको माल्टामा बुबा ब्रिटिश लाहुरेबाट पेन्सन पकाइसकेपछि त्यहाँ बसोबास गरेका थिए ।

मोजाको बलबाट सुरुवात

‘म जन्मेदेखिनै मोजाको भकुन्डो खेल्थें । दुई पटक उठाउने र अर्को पटक डोरी कटाउने थियो । मैले खेलेको मोजाको बलले नै हो । म त्यसबेला नै खेलमा विशेष थिएँ । मलाई हत्तपत्त जित्न गाह्रो पर्दथ्यो’, बाल्यकाल सम्झँदै राईले मुस्कान छाडे ।

‘ब्रिटिस र सिंगापुरे लाउरेले मिकासा भलिबल लिएर गाउँलेलाई दिन्थे । मलाई चाहिँ सिंगापुरे दाइले मिकासा बल र नेट दिनुभएको थियो । मैले त्यो नेट र बललाई आफूलाई भन्दा बढी माया गरेर जहिले शिरानीमा राखेर सुत्ने गर्दथें,’ राईले सम्झिए ।

मोजाको बलबाट सुरुवात गरेका उनी त्यसपछि भलिबलबाट टाढा भएका छैनन् । उमेरले ५२ वर्ष पुगेपनि मैदानमा जोश र जाँगर अहिले पनि उत्तिकै छ ।

‘त्यो बेलामा खेलेर कता टिममा परिएला, नेपालको टोलीबाट खेलिएला भन्ने थिएन । धेरै काम गर्नुपर्ने भएकाले एकछिन खेल्न पाए हुन्थ्यो भन्ने लाग्थ्यो । त्यो खेल खासमा रमाइलो मात्र थियो । मैले यहाँ भलिबल खेलाउन थालेको राष्ट्रिय खेलाडी जन्माउँला र नाम कमाउँला भनेर पनि थिएन’, उनले भने ।

‘मेरो बच्चादेखि भित्रि मनदेखि खेल्ने इच्छा । हन्हन् ज्वरो आएको छ भनि त्यो बल देखेपछि ज्वरो कहाँ गयो कहाँ । पेट दुखेको थियो भने भलिबल देखेपछि आफैं हराउने । भलिबलमा त्यस्तो किसिमको माया थियो । मेरो औषधी, रमाइलो, फिलिम, पिक्निक जे भनेपनि भलिबल थियो । यो अचम्म किसिमको नशा थियो’, उनले भने ।

हलो जोत्न छोडेर काठमाडौं

राई २०४५ सालमा घरबाट पढ्न भनेर काठमाडौं छिरे । गाउँमा जुरुक्कै उठ्दा बितिक्कै गोरु जोत्न पर्दथ्यो । खासमा उदेश्य त्यो गोरु जोत्न नपरोस् भनेर काठमाडौं आएका थिए रे ।

‘त्यहाँ बसेपछि गोरु जोत्न पर्यो । खन्नु पर्यो । त्यो गर्न भन्दा त काठमाडौं हिँड्न ठिक । गाउँमा माथिबाट बाँझो जोतेर तल झर्यो । फेरि डल्ला फोर्ने काम । त्यो त सकियो । फेरि छर्ने रोप्ने काम । रोप्ने काम सक्यो झार गोड्ने हुन्छ । यस्तो कहिले नसकिने काम के गर्नु भनेर काठमाडौं आइयो’, राईले हाँस्दै बाल्यकाल सुनाए । त्यो समय देशमा पञ्चायती व्यवस्था विरुद्ध राई केहि समय काठमाडौंमा विरोध प्रदर्शनमा पनि सहभागी भए ।

२०४८ सालदेखि शिक्षकको रुपमा काम गर्न थालेका राई भलिबलको प्रशिक्षण भने २०५७ साल तिरबाट गर्न थालेको बताउँछन् । राईले भारतको चेन्नईमा पुगेर लेभल २ सम्मको कोर्स गरेका छन् । न्यु डायमण्डमा अहिले पनि शिक्षक र प्रशिक्षक दुवै भूमिका निर्वाह गर्दै आएका छन् ।

राई आफूले परिकल्पना गरेजस्तो खेलाडी अझै पाउन नसकेको बताउँछन् । ‘मेरो कल्पनामा भएको खेलाडी निस्केको नै छैन । म निकाल्ने प्रयासमा छु । कम्तिमा पनि ९० डिग्रीमा स्पाईक हान्ने खेलाडी चाहियो । कभर्ड हलमा खेल्दा त्यो बल ड्रप भएर माथि बिजुलीको बत्ति छुने होस् । सो बल हान्दा पनि फलानोले हानेको हेर्ने भनेर मानिस हेर्न जम्मा हुन् । त्यस्तो किसिमको खेलाडी उत्पादन गर्ने इच्छा छ’, उनले आफ्नो सपना साटे ।

‘कहिँ नभएको जात्रा हाडी गाउँमा’

कुमार घरेलु महिला भलिबलमा सर्वाधिक सफल प्रशिक्षक हुन् । तर हालसम्म सिनियर टोली सम्हाल्ने अवसर पाएका छैनन् । कुमार यो अवस्थालाई कहिँ नभएको जात्रा हाडी गाउँमा भएको जस्तो बताउँछन् ।

‘राष्ट्रिय टोली सम्हाल्छु भन्ने त नेपालको निति नियमले दिएन भन्दा अप्ठारो छ । नेपालमा नियम पनि अचम्मैको छ । कहिँ नभएको जात्रा हाडी गाउँमा भनेजस्तो छ’, राईले भने ।

त्यसैमा उनले थपे, ‘अन्तर्राष्ट्रिय कोर्स गरेका हामीलाई पनि अवसर दिए हुने हो । विभिन्न नियम लगाएर सरकारी जागिर खाएकोले मात्रै भलिबल सिकाउने र खेलाडी उत्पादन गर्ने भन्ने त हुँदैन नि । अवसर त सबैलाई हुनपर्ने हो । अलिकती दुःख त लाग्छ । चित्त बुझाउनै पर्यो । राम्रो गर्दै गए कुनै न कुनै दिन विदेशमा गएर प्रशिक्षण गराउन पाइन्छ कि ।’

ढोरपाटन लिग, शेरबहादुर स्मृति कप र नेपालगञ्जमा हुने प्रधानमन्त्री कप न्यु डायमण्डले जित्न नसकेका घरेलु उपाधि हुन् । भावी लक्ष्य यी प्रतियोगिता जित्ने रहेको उनी बताउँछन् । राई नेपाली टोलीले दक्षिण एसिया र एसिया खेल्न जाँदा प्रभावकारी खेलेर विजयी होस् भन्ने चाहन्छन् ।

कृपाको एसइई टप उत्कृष्ट र प्रतिभा घाइते हुनु करिअरकै दुखद क्षण

राई करिअरको उत्कृष्ट क्षणमा कृपा अधिकारीले एसईईमा विद्यालय टप गरेको र नेपाली सेनाको साहयक सेनानी पदमा राम्रो गरेको बताउँछन् । आफू शिक्षक हुँदा पढाई सधैं पहिलो प्राथमिकता राख्ने हुँदा भलिबलसँगै कृपाले करिअरको सबैभन्दा बढी खुसी प्रदान गरेको बताउँछन् ।

त्यस्तै प्रतिभा माली घाइते हुनुलाई उनले करिअरकै दु:खद क्षण मान्छन् । २०७६ साल माघमा पाँचौ आरबीबी–एनभीए राष्ट्रिय भलिबल क्लब च्याम्पियनसिपको फाइनलमा एपीएफविरुद्ध खेल्दा घुँडामा चोट लागेको थियो । उनको खेलकुदमा निकै खतराजनक मानिने एसिएल च्यातिएको थियो । उनी झण्डै डेढ वर्ष मैदान बाहिर रहनुपर्यो । अहिले पनि प्रतिभा पूर्ण रुपमा फिट हुन संघर्षरत छिन् र नियमित फिजियोमा व्यस्त छिन् । कुमार प्रतिभाको चोट करिअरकै सबैभन्दा दुःखद क्षण मान्छन् ।

‘मलाई अहिले सम्मकै सबैभन्दा दुःख लागेको क्षण भनेको प्रतिभाको घुडामा चोट लाग्दा हो । मेरो सपना प्रतिभालाई धेरै… राम्रो खेलाडी बनाउने थियो । किनभने उनको समय पनि थियो । मलाई अहिले पनि त्यो सम्झँदा धेरै दुःख लाग्छ’, उनले भने । राई ७९ वर्ष हुँदासम्म भलिबल खेलाउने लक्ष्य राखेका छन् ।

कुमार गडफादर’ – प्रतिभा

नेपाली महिला भलिबलकी स्टार स्पाइकर प्रतिभा माली न्यु डायमन्डमा राईकै प्रशिक्षणमै बाल्यकाल देखिनै सिकेर हुर्केकी हुन् । उनी राईलाई गडफादर मान्छिन् । ‘म त वहाँलाई गड फादर भन्ने गरेको छु । सानै देखि सँगै हुर्कियौं । आफ्नै छोरीलाई जस्तो माया गरेर खेलाउनु भयो । वहाँसँग सिक्न धेरै सजिलो भयो’, प्रतिभाले भनिन् ।

ललिता नाथले ७/८ वर्षदेखि न्यु डायमण्डको कप्तानी गर्दै आएकी छिन् । ‘कुमार सर आफ्नो बुबा जस्तै लाग्छ । आफ्नै बच्चाहरुलाई जसरी सिकाउनु हुन्छ । एकदमै सहयोगी हुनुन्छ’, उनले भनिन् ।

रेश्मा भण्डारी न्यु डायमन्डमा सिकेर एपिएफ पुगेकी हुन् । ‘स्कुल स्तरबाट अन्तर्राष्ट्रिय खेलाडी सरले नै निकाल्नु भएको छ । सरले जति मिहिनेत अन्य कुनैपनि स्कुलले गरे जस्तो देखिँदैन’, उनले भनिन् ।

कुमार राईको नेपाली महिला भलिबलमा योगदान उदाहरणीय र अतुलनीय छ । खेलाडी उत्पादन र तयार आफैंमा सबैभन्दा कठिन कार्य हो । जुन काम जोकोही प्रशिक्षकले गर्न सक्दैन । यो खुबी निकै कममा हुन्छ ।

राईले भलिबलमा पुर्याएको योगदानलाई सबैले सम्मान गर्नुपर्छ । भलिबल संघ र नेपाल सरकारले उनले पुर्याएको योगदानलाई सम्मान गर्न हिच्किचाउनु हुन्न । प्रशिक्षणबाट खेलाडी उत्पादन तथा तिनै खेलाडीबाट निर्मित टोलीबाट निरन्तर नतिजा दिनु चानचुने कुरा होइन ।

नेपाली महिला भलिबलमा राईले दिएको योगदान सबैको लागि एउटा प्रेरणाको स्रोत बनेको छ । आउने दिनमा राईले खेलाडी उत्पादन त गर्ने नै छन् । सँगसँगै प्रशिक्षकको भूमिकामा उनको दायरा न्यु डायमन्डबाट फराकिलो हुनुपर्छ, हुन पाउनुपर्छ । यसले नेपाली भलिबललाई नै फाइदा पुर्याउँछ ।

पूरा भिडियो :

March 29, 2024

नेपाल ‘ए’ र आयरल्यान्ड वल्भ्स खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ‘ए’ र आयरल्यान्ड वल्भ्सले टि२० सिरिजको पहिलो खेलमा शुक्रबार खेल्दैछन् । खेल नेपाली समय अनुसार दिउँसो १ बजे टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ । लगातार वर्षाका कारण मैदान भिजेपछि विहीबार हुने भनिएको पहिलो खेल रद्द भएको थियो । क्यानले खेल तालिका परिवर्तन गर्दै शुक्रबारदेखि टि२० सिरिज सुरु हुने जानकारी दिएको […]

March 29, 2024

इण्डो–नेपाल टि ट्वान्टीको सेमिफाइनल समीकरण पूरा

चितवन (हाम्रो खेलकुद)- चितवनको भरतपुरमा जारी इण्डो–नेपाल टि ट्वान्टी च्याम्पियनसिप क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा बिहीबार भएका लिग चरणका अन्तिम खेलमा विजयी हुँदै मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशले सेमिफाइनलमा स्थान पक्का गरेका हुन् । सबै खेलमा जित निकाल्दै ८ अंकका साथ पिएसआरए ग्रुप लखनउ समूह विजेता […]

March 28, 2024

राजस्थानको लगातार दोस्रो जित

एजेन्सी – दिल्ली क्यापिटल्स माथि जित दर्ता गर्दै राजस्थान रोयल्सले १७औं संस्करणको इंडियन प्रिमियर लिग (आईपिएल) मा लगातार दोस्रो जित दर्ता गरेको छ । दिल्लीलाई लगातार दोस्रो हार चखाउने क्रममा राजस्थानले १२ रनको जित दर्ता गरेको हो । १८६ रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ५ विकेट गुमाएर १८५ रन मात्र बनाउन सक्यो । अन्तिम […]

Success

Thank you for your time.