काठमाडौं (हाम्रो खेलकुद) – एएफसीको क्लब लाइसेन्स प्राप्त गरेसँगै नेपाल एपिएफ फुटबल क्लबले ए डिभिजन लिगको लागि तयारीलाई तीव्रता दिएको छ । यसपटक नेपालबाट ४ क्लबले एएफसीको क्लब लाइसेन्स प्राप्त गर्दा एपिएफ दोस्रो विभागीय टोली बन्यो ।

अन्य क्लबको तुलनामा विभागीय टोलीलाई लाइसेन्स प्राप्त गर्न केहि कठिनाइ हुन्छ । क्लब लाइसेन्स प्राप्त गर्न आवश्यक १७ मापदण्ड पूरा गर्न साधारण क्लबलाई नै सकस भएको अवस्थामा विभागकै २ क्लबले पाउनु सुखद संकेत हो ।
अब क्लबको एकेडेमीबाट नै भविष्यमा सिनियर टोलीका लागि खेलाडी उत्पादन गर्ने बाटो खुलेको छ । लाइसेन्स प्राप्त गरेसँगै क्लबलाई थप हौसला मिलेको क्लबका खेलाडी र प्रशिक्षक बताउँछन् ।
क्लबले यसपटक लिगको लागि पनि राम्रो तयारी गरेको छ । खेलाडी छनोट पूरा गरेर क्लबले अन्तिम तयारी थालेको छ । यसपटक क्लबको लक्ष्य सकेसम्म तालिकाको माथिल्लो भागमा अटाउने ।