4 years ago
January 16, 2022
काठमाडौं (हाम्रो खेलकुद) – फरवार्ड विमल घर्तीमगरले चोटबाट पुनरागमन गर्ने क्रममा सहिद स्मारक ए डिभिजन लिगमा प्रभावशाली प्रदर्शन गरिरहेका छन् । मछिन्द्रको आक्रमण सम्हालिरहेका विमलको उत्कृष्ट प्रदर्शनमा टोलीले आइतबार ब्रिगेड ब्वाइज क्लबमाथि ४-० को फराकिलो जित निकाल्यो ।

विमलले खेलको ५६ औं मिनेटमा गोल गर्दै मछिन्द्रलाई सुरुवाती अग्रता दिलाएका थिए । रेजिन सुब्बाको एक्रोब्याटिक प्रहार पोस्टबाट विपरित दिशामा जाँदा विमलले भारतीय गोलरक्षक गुरप्रित सिंहसँग ५०/५० को अवस्थामा हेडरमार्फत गोल गरेका थिए । त्यसको ५ मिनेटपछि नै विमलले मछिन्द्रको अग्रता दोब्बर पारे । यसपटक देवेन्द्र तामाङको लामो पासमा विमलले डिफेन्डर बर्टरान्ड एबोडेलाई पछि छाड्दै पुन एकपटक गोलरक्षकविरुद्ध संयमित फिनिस गरे ।

६६औं मिनेटमा विमलको प्रहारलाई गोलरक्षक गुरप्रितले उत्कृष्ट डाइभमा पञ्च गर्दै बचाउँदा उनी ह्याट्रिकबाट चुके । ७६औं मिनेटमा गोलरक्षक गुरप्रित अघि बढेको अवस्थामा विमल र रेजिन एक आपसमा झुक्किन पुग्दा अन्तिममा विमलको प्रहार पोस्टतर्फ जान सकेन ।
८४औं मिनेटमा विमलले मछिन्द्रको अग्रता बढाउन असिस्ट प्रदान गरे । उनको लो क्रसमा रेजिनले कुल फिनिसिङको नमुना पेश गर्दै ३-० को अग्रता दिलाएका थिए । विमलले खेलको प्लेयर अफ द म्याच बन्दै १० हजार रुपैयाँ पनि जिते । यससँगै विमलले लिगको ८ खेलमा आफ्नो गोलसंख्या ३ गोल पुर्याएका छन् ।

चोटबाट भर्खर पुनरागमन गरेका कारण विमलले लिगका सुरुवाती खेलमा भने धेरै समय मैदानमा बिताएका थिएनन् । खेलाडीको करिअरमा निकै गम्भीर मानिने एसीएल (एन्टेरिएर क्रुसिएट लिगामेन्ट) को शल्यक्रिया गरेका विमलले कतारमा नै ग्राउन्ड रिह्याब समेत गरेका थिए । मैदानमा फर्कन हरियो झन्डा पाएपछि मैदान फर्केका विमलले मछिन्द्रसँग अनुबन्धित भएपनि आफ्नो समय लिए ।
त्यसो त प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले पनि विमललाई नजिकबाट हेरेको बताएका थिए । राष्ट्रिय टोलीलाई साफ च्याम्पियनसिपमा उपविजेता बनाएर नेपाल फर्कने क्रममा प्रशिक्षक अलमुताइरीले विमलले कुनै हतार गर्न नहुने बताएका थिए । उनले विमलसँग भेटघाट गरेको तस्बिर पनि सामाजिक संजालमा राखेका थिए ।
विमलले चोटबाट फर्केपछि सुरुवाती दुई खेल बेन्चबाट मैदान प्रवेश गरेका थिए । एनआरटी विरुद्ध १० मिनेट खेलेका उनले आर्मीविरुद्ध २९ मिनेट खेले । त्यसपछि जावलाखेलविरुद्ध पूरा समय बेन्चमा बसेका उनले लिगको चौथो खेलमा भने गोल गर्न सफल भए । हिमालयन शेर्पाविरुद्ध १६ मिनेट मैदानमा बिताएका उनले खेलको इन्ज्युरी समयमा गोल गरे । आन्द्रेस नियाको कटब्याकमा गोल गर्दै विमलले सुखद पुनरागमनको संकेत देखाए ।

त्यसपछि संकटाविरुद्ध खेलमा ६७ मिनेट खेलेका विमलले लगातार दुई खेल सुरुवात गरे । लिगको उपाधि होड तथा एएफसी कप छनोटमा मछिन्द्रलाई टक्कर दिइरहेको मनाङ र पुलिसविरुद्ध विमलले पूरा ९० मिनेट मैदानमा बिताए । फ्रेन्ड्सविरुद्ध प्रशिक्षक प्रवेश कटुवालले विमललाई बेन्चमा राखेपनि पहिलो हाफमा नै विदेशी खेलाडी नुर्लानलाई निकाल्दै मैदान प्रवेश गराएका थिए ।
ब्रिगेड ब्वाइजविरुद्ध पनि पूरा ९० मिनेट बिताएका विमलले २ गोल र १ असिस्टको सानदार प्रदर्शन गरे । राष्ट्रिय टोलीको बन्द प्रशिक्षण सुरु हुने सातामा नै यस किसिमको प्रदर्शनले उनको राष्ट्रिय टोलीमा पुनरागमनको सम्भावनालाई बलियो पार्न सक्छ । त्यसो त प्रशिक्षक अब्दुल्लाह अलमुताइरी यसअघिका खेलमा मैदानमै आएर खेल हेर्ने गरेपनि यस साता भने टिभीबाट नै खेल हेर्दै आएका छन् ।

विमल आफैंले बिबिसीविरुद्ध खेलपछि आफू बिस्तारै खेलमा फर्कन सफल भएको बताए । ‘रिकभरीको कुरा गर्दा मा बिस्तारै फर्कंदै छु । सुरुको खेलमा १५ मिनेट खेल्दै आएकोमा अहिले ९० मिनेट खेल्न सक्ने भएक छु । त्यस्तो समस्या केहि पनि छैन,’ उनले भने ।
‘मेरो कमब्याक भन्दापनि हामी मछिन्द्र क्लबले जित हासिल गरेका छौं । म भन्दापनि टोलीको प्रदर्शनले गर्दा नै मेरो राम्रो कम्ब्याक हुन सकेको हो,’ उनले थपे ।
राष्ट्रिय टोलीमा कमब्याक गर्नेबारे पनि विमलले सकारात्मक अभिव्यक्ति दिए । ‘मलाई बन्द प्रशिक्षणमा बोलाउनुभएको छ । आफूले सक्दो राम्रो प्रयास गर्नेछु । राष्ट्रिय टोलीमा पुनरागमन गर्न चाहन्छु,’ उनले भने ।
उनले आफूमा परिवर्तन आएको हो भन्ने प्रश्नमा भने हाँस्दै जवाफ दिए, ‘म मान्छे त त्यहि नै हो, बानी व्यहोरा परिवर्तन भएको छ ।’
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]