काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले अफ्रिकी राष्ट्र मौरिसससँग दुई मैत्रीपूर्ण खेल खेल्दैछ । मौरिससको राष्ट्रिय फुटबल टोली खेलका लागि सोमबार काठमाडौं आइपुगेको छ ।

नेपाल र मौरिससबीच दशरथ रंगशालामा माघ १५ (शनिबार) र माघ १८ (मंगलबार) दुई मैत्रीपूर्ण खेल हुँदैछ । फिफा वरियतामा नेपाल भन्दा मौरिसस केहि पछाडि रहेको छ । नेपाल १ सय ६९ औं र मोरिसस १ सय ७२ औं स्थानमा रहेको छ । नेपालले पहिलो पटक अफ्रिकी टोलीसँग अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो ।
यता मौरिससको टोलीले झन्डै २ वर्षपछि अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो । कोरोना महामारीका कारण टोलीले पछिल्लो समय अन्तर्राष्ट्रिय खेल खेलेको थिएन । मौरिससमा कोरोनाकै कारण घरेलु फुटबल पनि ठप्प जस्तै छ । यसपटक मौरिससको टोलीमा २३ खेलाडी र १० अफिसियल टोलीमा आएका छन् । यसअघि मौरिससले टोलीमा २४ खेलाडी घोषणा गरेपनि केभिन पर्टिकोट कोरोना संक्रमण भएपछि नेपाल आएका छैनन् ।
यता नेपाली टोली भने अहिले प्रशिक्षणमा व्यस्त छ । ए डिभिजन लिगलाई विश्राम दिएर टोली प्रशिक्षणमा जुटेको हो । प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा टोलीलाई नियमित प्रशिक्षण दिइरहेका छन् । अलमुताइरीले केही दिनमा नै अन्तिम टोली घोषणा गर्ने सम्भावना छ ।

दर्शकसहित वा विना दर्शक खेल गराउने भन्ने निर्णय लिन बाँकी रहेको अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव इन्द्रमान तुलाधरले बताए । ‘एक तिहाई दर्शक राख्ने सम्भावनाबारे छलफल भइरहेको छ । तर, जिल्ला प्रशासनसँग समन्वय गरेर दर्शक राखेर वा विना दर्शक गराउने विषयमा निर्णय गर्नैछौं । केहि दिनमा निर्णय गछौं,’ उनले भने ।
माल्दिभ्समा असोजमा भएको साफ च्याम्पियनसिपयता नेपाली टोलीले कुनै अन्तर्राष्ट्रिय खेल खेलेको छैन । त्यति बेला पहिलो पटक नेपाली टोली फाइनल पुगेको थियो । नेपालले साफअघि घरेलु मैदानमा भारतविरुद्ध दुई मैत्रीपूर्ण खेल खेलेको थियो । त्यसबेला नेपालले १ बराबरी र १ हारको नतिजा निकालेको थियो ।
मौरिससको टोलीमा रहेका खेलाडी र अफिसियलबारे जानकारी यहाँ लिनुहोस्
मौरिससविरुद्ध खेल्ने नेपाली टोली हालसम्म यस्तो छ