एजेन्सी – इंग्लिस क्लब चेल्सी ब्राजिली विंगर राफिन्हा अनुबन्धको दौडमा उभिएको छ । प्रिमियर लिग क्लब लिड्स युनाइटेडका राफिन्हा अनुबन्धको दौडमा प्रिमियर लिग क्लब आर्सनल र क्याटलान क्लब बार्सिलोना पनि रहेको छ ।

दुई वर्षअघि फ्रान्सेली क्लब रेन्सबाट १७ मिलियन युरोमा अनुबन्ध गरेका राफिन्हाको लागि लिड्सले ५० मिलियन युरो भन्दा बढी मुल्यको अपेक्षा गरेको छ । चेल्सीका अमेरिकी मालिक टोड बोहलीले २५ वर्षीय फरवार्डलाई आफ्नो टोलीको आक्रमणकारीको हिस्सा बनाउन चहान्छन् । चेल्सीले इंग्लिस विंगर फरवार्ड रहिम स्टर्लिङलाई पनि अनुबन्ध गर्ने योजना बनाइरहेको छ ।
तर, कुनै पनि क्लबले गत सिजनको अन्तिम दिन प्रिमियर लिग रेलिगेसनको खतराबाट बचेको लिड्सलाई अहिलेसम्म कुनै औपचारिक प्रस्ताव गरिएको छैन । प्रिमियर लिगको अन्तिम दिनको खेलमा लिड्सलाई रेलिगेसनबाट बच्न जितको आवश्यकता रहँदा ब्रेन्टफर्डमाथि २–१ को जित निकाल्दा राफिन्हाको प्रदर्शन उच्च रहेको थियो ।
लिड्सकै इंग्लिस मिडफिल्डर काल्भिन फिलिप्स पनि अर्काे इंग्लिस टोली म्यानचेस्टर सिटीसँग ४५ मिलियन पाउन्डमा अनुबन्ध हुने तयारीमा छन् । यता, चेल्सीले क्लबको कीर्तिमानी मुल्यमा अनुबन्ध गरेका बेल्जियन फरवार्ड रोमेलु लुकाकुलाई लोनमा इन्टर मिलान फर्काएका छन् ।