default_image

3 years ago

August 23, 2022

प्रशिक्षक हुमागाईको झुट र एन्फाको लाचार निर्णय

502 views

0 Bookmark

सुबास हुमागाईं, काठमाडौं

समान्यतया मुख्य प्रशिक्षक अनुपस्थित हुँदा उनको स्थान लिने सहायक प्रशिक्षक हुन्छन् । तर नेपालको हकमा भने राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकको अनुपस्थिति हुनेबितिक्कै एक खेल नै सहि, पूरै प्रशिक्षण टोली नै फेर्ने नयाँ र निकै खराब प्रयोग अघि सारेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को नयाँ कार्यसमितिले बंगलादेशविरुद्ध हुने मैत्रीपूर्ण खेलका लागि अमेरिकी नागरिक प्रदीप हुमागाईलाई प्रशिक्षकमा नियुक्त गर्दा यस्तै गर्यो ।

गत सिजन नेपाल सुपर लिग (एनएसएल) टोली ललितपुर सिटी फुटबल क्लबबाट खराब नतिजा निकालेपछि पदमुक्त भएका प्रशिक्षकलाई एन्फाले राष्ट्रिय टोलीको जिम्मेवारी सुम्पने निर्णय गर्यो । गत वर्ष मात्र अमेरिकी नागरिक भएका प्रशिक्षक हुमागाईले अमेरिकामा रहेर व्यावसायिक फुटबलमा कुनै अनुभव बटुलेका छैनन् । व्यावसायिक त परको कुरा, उनले सिनियर टोलीको एक खेलमा पनि हालसम्म प्रशिक्षण गराएका छैनन् । किस्टोन एथ्लेटिक नामक एक एकेडेमीमा उनले आफू टेक्निकल डाइरेक्टर रहेको बताएका थिए । कार्यवाहक प्रशिक्षकको जिम्मेवारी सम्हालेपछि नेपाल आएलगत्तै भएको पत्रकार सम्मेलनमा उनले गत वर्षदेखि उक्त पदमा रहेको दाबी गरे ।

किस्टोन एथ्लेटिक क्लबको वेबसाइटमा भने टेक्निकल डाइरेक्टरमा रिचार्ड ओर्लोस्कीको नाम रहेको छ । रिचार्ड सन् २०१३ देखि २०१४ सम्म नेपाली राष्ट्रिय टोलीको सहायक प्रशिक्षकका रुपमा कार्यरत थिए । ज्याक स्टेफानोस्की मुख्य प्रशिक्षक रहँदा उनी टोलीमा सहायक थिए ।

किस्टोनको प्रशिक्षक सुचिमा रहेका २० जनामध्य हुमागाई एक जना हुन् । उनलाई क्लबले प्रशिक्षकको सूचीमा समावेश गर्नुबाहेक कुनै विशेष पद दिएको छैन । उनको प्रशिक्षण करिअरमा पनि क्लबले सन् २०१३ मा उनले थ्री स्टारको प्रशिक्षक रहँदा हासिल गरेको सफलता उल्लेख गरेको छ । यसबाहेक उनले फिफा र एएफसीको ए, बी र सी लाइसेन्स प्राप्त गरिएको लेखिएको छ । हालसम्म फिफाको कुनै पनि प्रशिक्षण लाइसेन्स छैन । उनले पछिल्लो पटक शीर्ष कोर्षको रुपमा एएफसीको ए लाइसेन्स उत्तीर्ण गरेका थिए ।

त्यसो त प्रशिक्षक हुमागाईले किस्टोन एथ्लेटिकलाई प्रिमियर लिगको क्लब वेस्ट ह्याम युनाइटेडको इन्टरनेसनल एकेडेमी हो भनेर परिचय दिए । जुन सत्य होइन । वेस्ट ह्याम युनाइटेडको वेबसाइटमा किस्टोनसँग कुनै साझेदारी गरिएको भेटिन्न । वेस्ट ह्यामको वेबसाइटमा किस्टोनको नाम नै भेट्न सकिन्न ।

तर वेस्ट ह्याम युनाइटेड इन्टरनेसनल एकेडेमी सँग किस्टोनले १२ वर्षअघि एक सम्झौता भने गरेको थियो । त्यसपछि दुवै पक्षबाट यसबारे थप केही जानकारी पनि आएको छैन । किस्टोनले त्यसै सम्झौतालाई आधार मान्दै आफ्नो वेबसाइटमा वेस्ट ह्यामको पार्टनर क्लबको रुपमा लेखेको छ । तर विवरणमा हेर्दा वेस्ट ह्यामको संलग्नता क्लबसँग निकै कम देखिन्छ ।

किस्टोनले आफैं दिएको विवरण गर्मी बिदाको समयमा क्लबले आयोजना गरेको क्याम्पबाट छनोट हुने खेलाडीले वेस्ट ह्यामको क्याम्पमा सहभागी हुन पाउँछन् । गर्मी बिदाको समयमा अमेरिकामा यस्ता हजारौं क्याम्प हुन्छन् । र तोकिएको रकम तिरेपछि वेस्ट ह्याम मात्र होइन, युरोपका नाम चलेका क्लबको क्याम्पमा सहभागी हुन पाइन्छ ।

हुमागाईले आफू अमेरिकाको मेजर लिग सकर (एमएलएस) को फिलाडेल्फिया युनियनसँग पनि आबद्ध रहेको बताए । उनले आफूलाई एमएलएसको पार्ट टाइम प्रशिक्षक रहेको बताए । उनले त्यसपछि आफू एमएलएस टोलीहरुको युथ टिम टन्नै हुने पनि जानकारी दिए । उनले त्यसपछि युथ टिममा पार्ट टाइम प्रशिक्षक ग्राससुटको क्याम्पमा जाने भएपनि त्यसको महत्त्व धेरै रहेको बताए । उनले त्यसपछि क्लबले कुनै स्थानमा क्याम्प राख्न लागेको अवस्थामा आवश्यकता पर्दा बोलाउने र आफूले इच्छा भए जाँदा पनि हुने र इच्छा नभए नजाँदा पनि हुने बताए । उनले यस्तो पदमा हजारौं प्रशिक्षक हुने पनि बताए ।

एक प्रशिक्षकले इच्छा अनुसार एक दिने क्याम्पमा जाने-नजाने निर्णय गर्न पाउने पदलाई पार्ट-टाइम प्रशिक्षक भन्दापनि स्वयंसेवक प्रशिक्षक भन्न सकिन्छ । हुमागाईले भनेझैं हजारौं यस्ता प्रशिक्षक साताको अन्त्यमा एमएलएस क्लबमा स्वयंसेवकको रुपमा कार्यरत छन् । उनले आफूलाई एमएलएसको पार्ट टाइम प्रशिक्षक भनेर परिचय दिँदै अन्त्यमा आफैं वृत्तान्त बताएका छन् ।

हुमागाईलाई यसबारे प्रश्न गर्न खोज्दा उनले उत्तर दिन चाहेनन् । सुरुवातमा आफू व्यस्त रहेको भन्दै पन्छन खोजेका उनले किस्टोनको टेक्निकल डाइरेक्टर आफू रहेको बारे प्रश्न गरेपछि उत्तर दिन चाहेनन् । एन्फाका प्रवक्ता सुरेश शाहले पनि कार्यसमितिमा हुमागाईलाई कार्यवहाक प्रशिक्षक सर्वसम्मत रुपमा निर्णय भएकाले केहि प्रश्न गर्न नमिल्ने बताए ।

‘हामीले कार्यसमितिबाट सर्वसम्मत निर्णय गरेर नियुक्त गरेका हौं । कार्यसमितिमा अन्य प्रशिक्षकको नाम पनि आएको थियो, तर वहाँको नाम पारित भएको छ’ उनले भने । शाहले हाल एन्फामा प्राविधिक समिति नरहेकाले कार्यसमितिलाई नै प्रशिक्षक नियुक्तिको अधिकार रहेको बताए । प्राविधिक समिति गठन हुन नसक्नुको कारणबारे प्रश्न गर्दा भने शाहले यो गठन हुने प्रक्रियामा रहेको भन्दै पन्छिए ।

पछिल्लो समय सामाजिक संजालमा प्रशिक्षक हुमागाईको नियुक्तिलाई लिएर निकै प्रश्न उठेको छ । पछिल्लो कार्यसमितिको नेतृत्वमा राष्ट्रिय टोलीका व्यवस्थापक समेत रहेका मधुसुदन उपाध्यायले हुमागाईको नेतृत्वलाई राजनीतिक कोणबाट व्याख्या गरेका छन् । कांग्रेस निकट रहेका हुमागाईलाई नियुक्त गर्न उच्च पदस्थ नेताबाट दबाब आएको उनले बताए ।

‘हामी कार्यसमितिमा हुँदा पनि राजनीतिक दबाब नआएको होइन । तर राष्ट्रिय टोलीजस्तो गम्भीर विषयमा हामीले टोलीलाई प्राथमिकतामा राख्यौं । त्यसबेला अध्यक्षज्युले पनि दबाब थेगेर फुटबलको हितका लागि नै निर्णय लिनुभएको थियो । अहिले आएर प्रशिक्षक नियुक्ति कसरी भए भन्ने प्रष्ट नै छ,’ उपाध्यायले भने ।

हुमागाईले त्यसबेला सामाजिक संजालमार्फत एन्फा नेतृत्व र राजनीतिक नेताहरुलाई जोडेर स्ट्याटस पनि लेखेका थिए । उनले तत्कालिन व्यवस्थापक उपाध्यायविरुद्ध पनि तुष पोखेका थिए । त्यसो त प्रशिक्षक हुमागाईले एन्फा पदाधिकारी र कर्मचारीमाथि दुर्व्यवहार र आक्रमणको प्रयास गरेको भन्दै उजुरी परेपछि एन्फाले स्पष्टीकरण माग पनि गरेको थियो ।

प्रशिक्षक हुमागाईलाई राष्ट्रिय टोलीको प्रशिक्षकमा नियुक्त गर्नुअघि एन्फाको कार्यसमितिले राष्ट्रिय टोलीको गरिमालाई नै प्रश्न उठाएको छ । कुनैपनि प्रशिक्षकले एकदिन आफ्नो देशको राष्ट्रिय फुटबल टोलीको जिम्मेवारी सम्हाल्ने सपना देखेको हुन्छ । नेपालमा प्रशिक्षक करिअरमा होमिएका सयौं स्तरीय प्रशिक्षकका लागि हुमागाईको नियुक्ति न्यायपूर्ण छैन । घरेलु फुटबलमा आफूलाई स्थापित गराउन लागेका प्रशिक्षकको अवमूल्यन भएको आभास अहिले शीर्ष डिभिजन लिगका प्रशिक्षकले गरेका छन् । अझ एन्फासँग यसअघि टोलीमा लामो समय काम गरेका सहायक प्रशिक्षकसहितको टोली नै हुँदा यो नियुक्तिले पुराना प्रशिक्षकको मिहिनेतमा पनि प्रश्न उठाएको छ ।

कुनैपनि देशले आफ्नो देशमा स्तरीय प्रशिक्षक नभएको अवस्थामा वा उत्कृष्ट प्रशिक्षक भेटेको खण्डमा विदेशी नागरिक भित्र्याउँछ । नेपालमा प्रशिक्षक करिअरमा नजमेपछि देशको नागरिकता नै त्यागेर अमेरिकी बनेका हुमागाईलाई विना कुनै आधार राष्ट्रिय टोलीको प्रशिक्षकको जिम्मेवारी दिनुले आज फुटबलमा लाग्ने जो कोहीलाई लज्जा बोध गराएको छ, बाहेक एन्फा कार्यसमितिलाई ।

हुमागाईको नियुक्ति आर्थिक पाटोबाट पनि कुनै कोणबाट अर्थपूर्ण देखिदैन । मैत्रीपूर्ण खेलका लागि हुमागाईलाई नियुक्त गर्दा एन्फालाई झन्डै १० लाख रुपैयाँ आर्थिक भार पर्न आउने देखिन्छ । हुमागाई यदि स्तरिय प्रशिक्षक भएको भए र खेल निकै महत्त्व बोकेको भए यो लगानी ठिकै हुन्थो । तर यसैपनि आर्थिक रुपमा निकै बिकराल स्थितिमा रहेको अवस्थामा यो खर्चले एन्फा नेतृत्व सुरुवाती चरणमा नै उँधोगतिको बाटो लागेको संकेत दिन्छ ।

यसअघि एन्फाभित्र जे जस्ता विवाद हुन्थे, ति पदाधिकारी र एन्फाको प्रशासनसँग जोडिएका हुन्थे । खेलाडी र प्रशिक्षकको अनुशासनबारे पटक पटक प्रश्न उठेपनि कम्तिमा प्रशिक्षक नियुक्ति विवादरहित नै रहेको थियो । तर यसपटक हुमागाई प्रशिक्षक नियुक्त हुनुले मैदानभित्र पनि एन्फा नेतृत्वको हस्तक्षेप भएको छ । प्रशिक्षक नियुक्तिमै यो कमजोरी गर्ने एन्फाले खेलाडी छनोटलाई विवादरहित राख्न सक्छ भन्ने कसरी विश्वास गर्न सकिएला ?

December 14, 2025

एपिएफ र कराँची सिटी खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफको २ खेलको प्रदर्शनलाई हेर्दा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको दाबेदार देखिन्छ। तर आज हुने खेलको नतिजा एपिएफलाई फाइनल पुग्नका लागि महत्वपूर्ण हुनेछ। भारतीय क्लब इस्ट बंगाल लगातार २ खेल जित्दै ६ अंकका साथ शीर्ष स्थानमा छ। इस्ट बंगाल च्याम्पियनसिपको मुख्य दाबेदारका रुपमा देखिएको छ। एपिएफले २ खेलमा […]

December 13, 2025

चेल्सी र लिभरपुलको जित

एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

Success

Thank you for your time.