3 years ago
September 7, 2022
काठमाडौं (हाम्रो खेलकुद) – छैटौं महिला साफ च्याम्पियनसिप २०२२ अन्तर्गत समूह ए को दोस्रो खेलमा बंगलादेशले माल्दिभ्सलाई हराएको छ । पहिलो हाफको ३ गोलको मदतले बंगलादेश ३-० ले विजयी भएको हो ।

एकपक्षीय खेलमा बंगलादेशकी कप्तान सविना खातुनले दुई गोल गरेकी छिन् । अर्को गोल मसुरा प्रविनको नाममा रहेको छ । बंगलादेशले खेलको सुरुवातदेखि नै माल्दिभ्सको पोस्टमा आक्रमण सुरु गरेको थियो । पटक पटक गोलको अवसर सिर्जना गरेपनि बंगलादेशका फरवार्डले सुरुवाती आधा घण्टामा गोल गर्न सकेनन् ।
दोस्रो हाफमा पनि बंगलादेशले सुरुवातदेखि नै आक्रमण बुन्यो । पूरै दोस्रो हाफको अधिकांश समय माल्दिभ्सकै हाफमा खेल चलेको थियो । बंगलादेशले पटक पटक आक्रमण गरेपनि विपक्षी गोलरक्षकलाई बिट गर्न सकेन । माल्दिभ्सले दोस्रो हाफमा एउटा पनि आक्रमण बुन्न सकेको थिएन ।
कप्तान सविना खातुनले खेलको ३१ औं मिनेटमा सुन्दर गोल गर्दै बंगलादेशलाई अग्रता दिलाइन् । सन्जिदा अख्तरको पास लिएपछि उनले झन्डै ३५ यार्ड टाढाबाट गरेको प्रहार माल्दिभ्सकी कप्तान तथा गोलरक्षक अमिनाथ लिजाले ढिलो ठम्याएपछि गोल भएको थियो ।

बंगलादेशका लागि ३४ औं मिनेटमा मसुरा प्रविनले अग्रता दोब्बर पारिन् । पेनाल्टी क्षेत्रभित्र बल क्लियर नभएको अवस्थामा उनले खुला बललाई पोस्टको दिशा दिएकी थिइन् ।
खेलको ४० औं मिनेटमा कप्तान सविनाले व्यक्तिगत दोस्रो गोल गरिन् । गोलरक्षक अमिनाथले मारिया मान्दाको पहिलो प्रहार बचाएपनि रिबाउन्डमा उनले दोस्रो बारमा सहजै गोल गर्दै ३-० को अग्रता दिलाइन् ।
दोस्रो हाफमा पनि बंगलादेशले आफ्नो आक्रमण जारी राख्यो । ६० औं मिनेटमा कृष्णारानी सरकारको क्रसमा सविनाको भली प्रहार पोस्टभन्दा थोरै परबाट बाहिरियो । ८६ औं मिनेटमा मारिया मान्दाले तीन खेलाडी छलाएर पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार आफ्नै खेलाडीलाई लाग्दै बाहिरिएको थियो ।
यसअघि समूहको पहिलो खेलमा भारतले पाकिस्तानलाई ३-० ले हराएको थियो । दशरथ रंगशालामा खेलको चौथो मिनेटमा नै पाकिस्तानले अग्रता लिने सुवर्ण अवसर खेर फाल्यो । जुल्फिया नाजिरको पासमा नादिया खानले वन भर्सेस वनको अवस्थामा गोल गर्न सकिनन् । जुल्फियाले अफसाइड ट्रयाप बिट गर्दै दिएको पासमा नादियाले पेनाल्टी क्षेत्रको दायाँ भागबाट गरेको प्रहारले गोलरक्षकलाई पनि समस्या दिन सकेन ।

खेलको २० औं मिनेटमा भारतले अग्रता लियो । भारतकी सन्ध्या रंगनाथनले बायाँ विंगबाट गरेको क्रस गोलरक्षक सहिदा महापाराले बचाएकी थिइन् । तर रिबाउन्डमा आएको बल कप्तान मारिया खानलाई लाग्दै आफ्नै पोस्टमा छिरेको थियो ।
पहिलो गोल गरेको दुई मिनेट नबित्दै भारतले अग्रता दोब्बर पार्यो । दाङमेइ ग्रेसले पेनाल्टी क्षेत्र भित्रबाट गोल गर्दै २-० को अग्रता दिलाइन् । उनले अन्जु तामाङको चलाखीपूर्ण पासलाई नियन्त्रणमा लिँदै वन भर्सेस वनमा गोल गरेकी थिइन् ।
५९ औं मिनेटमा कप्तान मारियाको प्रहार भारतकी गोलरक्षक अदिति चौहानले सहजै बचाइन् । लगत्तै ६१ औं मिनेटमा जुल्फियाको क्रस सिधै पोस्टतर्फ गएपनि अदितिले दोस्रो प्रयासमा बचाइन् । ६५ औं मिनेटमा रन्जना चानुको क्रसमा पाकिस्तानको डिफेन्स लाइन र गोलरक्षक बिट भएपनि सौम्या गुगुलगोठले बल नियन्त्रणमा लिने क्रममा हातले छुँदा रेफ्रीले फल दिएकी थिइन् ।

७३ औं मिनेटमा भारतले अग्रता बढाउने अर्को अवसर गुमायो । ग्रेसको क्रसमा गोलरक्षक बिट भएपनि किरण पिस्दाले खाली पोस्टमा बललाई गोल गर्न सकिनन् । लगत्तै ऋतु रानीले झन्डै ३० यार्ड टाढाबाट गरेको प्रहार पोस्ट नजिकबाट बाहिरियो । ८० औं मिनेटमा किरणको पासमा अन्जुको प्रहारले पोस्टको दिशा लिन सकेन ।
इन्ज्युरी समयमा भारतले अर्को गोल थप्यो । रन्जना चानुको क्रसमा सौम्या गुगुलगोठले गोल गर्दै ३-० को जित पक्का गरिन् ।
समूहको अंक तालिकामा भारत र बंगलादेश दुवैको ३-३ अंक भएको छ । दुवैको गोल अन्तर पनि समान छ । प्रतियोगिता अन्तर्गत विहीबार कुनै खेल हुने छैन ।
November 13, 2025
रविन्द्र वाईबा, हेटौंडा कास्कीको लालीगुराँस एसोसिएसन र काठमाडौंको चित्लाङ एफसी राष्ट्रिय लिगको लागि छनोट भएको छन्। हेटौंडामा जारी एन्फा प्रेसिडेन्ट लिगमा समूह `ए´ बाट दुबै टोली अन्तिम चारमा पुगेको हो। लालीगुराँस समूह विजेता र चित्लाङ उपविजेता बन्दै लिगको अन्तिम चारमा प्रवेश गरेको हो। लिगमा ४ खेल खेलेको लालीगुराँसले २ खेलमा जित र २ खेल बराबरी […]
November 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपालले बंगलादेशसँगको मैत्रीपूर्ण खेलको पहिलो हाफमा १-० को अग्रता बनाएको छ। नेपालको लागि उपकप्तान रोहित चन्दले गोल गरे। बंगलादेशको ढाकामा जारी खेलको २९ औं मिनेटमा नेपालले घरेलु टोलीविरूद्ध अग्रता बनायो। सुमित श्रेष्ठको पासमा बक्सको ठिक बाहिरबाट रोहितले हानेको सुन्दर प्रहार गोलमा परिणत भयो। रोहितको यो करियरको दोस्रो अन्तर्राष्ट्रिय गोल हो। लगत्तै बङ्गलादेशका […]
November 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- बंगलादेशविरुद्ध आज हुने मैत्रीपूर्ण नेपाली राष्ट्रिय फुटबल टोलीको पहिलो रोजाई सार्वजनिक भएको छ। राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक हरि खड्काले बंगलादेशविरुद्ध नेपालको पहिलो रोजाइमा अन्जन विष्ट पनि राखेका छन्। उनका लागि राष्ट्रिय टोलीबाट कीर्तिमानी गोल गर्ने अवसर छ। अन्जन अहिले पूर्व कप्तान समेत रहेका खड्का र निराजन रायमाझीसँगै १३ गोलका साथ सर्वाधिक […]