default_image

2 years ago

October 20, 2023

एन्फा ‘नेतृत्व’लाई एक समर्थकको ‘नोट अफ डिसेन्ट’

820 views

0 Bookmark

सन्जोग चाम्लिङ राई

यो अंकको आलेख खासमा अर्कै थियो, र विषय पनि अर्कै । तर, समाचारहरुमा प्राथमिकताको साथ एन्फा अध्यक्ष र महासचिवविरुद्ध अविश्वास प्रस्ताव पेश भएको जब पढ्न पाईयो, तब यो अंकको आलेख पनि परिवर्तन भयो । जसरी, “भीएआर” ले अन्तिम समयमा रेफ्रीको निर्णय परिवर्तन गरी दिन्छ । उक्त लेख कुनै उपयुक्त समयमा प्रकाशित नै होला ।

यही सेरोफेरोमा छिमेकी मित्र राष्ट्र चीनमा एसियाली खेलकुदको १९ औं संस्करण पनि सुरु भयो । यो समय कुन खेलाडीले कस्तो प्रदर्शन गर्छ र कसले देशको लागि पदक जित्ला भन्ने चासोबीच यो आलेख तयार भएर पनि ल्यापटपमा नै बस्यो । एसियाली खेलकुद पनि सकियो । नेपालका लागि पदक जित्न सफल करातेकी एरिका गुरुङ र महिला कबड्डी टिमलाई असीम बधाई !

त्यसपछि नेपाली राष्ट्रिय फुटबल टिमको लाओसविरुद्धको पूर्ण नतिजा नआई यो आलेख प्रकाशन गृहमा प्रेषित गर्नु पनि मनासिव देखिएन । यसरी यो अंक केही ढिलो भएको पक्कै हो ।

एन्फामा यस्ता यस्ता घटनाहरु घटीरहन्छन् कि अब जे हुँदा पनि सामान्य महसुस हुन थालिसक्यो । विष्मय र आश्चर्य नै महशुस हुँदैन । वर्तमान अध्यक्षले अघिल्लो कार्यकालमा वरिष्ठ उपाध्यक्षकोरुपमा एन्फाको माईन्युटमा ‘नोट अफ डिसेन्ट’ लेखेर एउटा सुरुवात गरे । निवर्तमान अध्यक्षले वर्तमान अध्यक्षको कार्यकालमा अविश्वास प्रस्तावको नेतृत्व गरेर अर्को (ऐतिहासिक?) कदमको सुरुवात गरे ।

संयोग नै हुनसक्छ, यी दुई विरलै घट्ने घटनाहरु कुनै बेलाको एउटै कित्ताको साथीहरुले एक अर्का विरुद्ध गरेर नयाँ किसिमको मित्रताको व्याख्या गरेका छन् ।

नुवाकोटको तारुका गाउँमा माघे संक्रान्तिका दिन धेरै दर्शकहरुको उपस्थितिमा भव्य रुपमा “गोरु जुधाई” खेल हुन्छ । अब लेख्नु नै परेन, यस खेलको खेलाडी भनेको नै गोरु हो । खेल सकिन्छ तर विजेता गोरु न रमाउँछ , न त पराजित गोरु नै निराश हुन्छ । बस् , हेर्नेहरु रमाउँछन् ।

उक्त “गोरु जुधाई” खेलको परम्परागत महत्व आफ्नो ठाउँमा छँदै छ । हो, यही “गोरु जुधाइ” खेल जस्तै छ , एन्फाभित्रको जुंगे लडाइँ । समाजलाई (निम्न स्तरको) रमाइलो मात्र गराइरहेका छन् । बस् ।

असोज १८ गते एन्फाको ईतर समूहले पेश गरेको अविश्वास प्रस्तावले नेपाली फुटबलमा एउटा तरंग ल्याई सकेको छ । यो तरंगको कम्पनले कस्तो र कतिको असर गर्छ भनी केही समय पर्खनु नै पर्नेछ । अविश्वासको प्रस्ताव पेश गर्नु आफैंमा विजयको झण्डा होइन, न पराजयको झण्डा नै । यो प्रस्तावले केही प्रश्नहरु भने पक्कै उठाएको छ ।

खराब राजनीतिको चरम असरले ग्रस्त एन्फामा पहिलो पटक अध्यक्ष र महासचिवविरुद्ध अविश्वास प्रस्ताव आउनु नै अहिलेलाई नेपाली फुटबलको समाधान हो त ? यही अविश्वास प्रस्ताव नै अचुक औषधी हो त ?

यो अविश्वास प्रस्तावलाई संस्थापन पक्षले हेटौंडामा हुने साधारण सभामा अध्यक्षविरुद्ध मात्र प्रस्तुत हुने भनी गरिएको निर्णय पनि समाचारमा पढ्न पाईएको छ । अविश्वास प्रस्तावको यो रस्साकस्सीमा कसले कसरी छेपारोले झैँ रंग फेर्नेछ, यो हेर्न सबैभन्दा रोचक हुनेछ । भोटको जोड घटाउमा, अब हेटौंडा छेपारोमय हुँदैछ ।

पंक्तिकारको सरोकार अविश्वास प्रस्ताव फेल कि पास हुन्छ भन्नेमा पटक्कै चासो छैन, किनकी यो नेपाली फुटबलको समस्याको समाधान होइन ।

बहुमतको राजनीतिले एन्फालाई चिरा चिरा बनाएको छ । बहुमत प्राविधिक विषय मात्र हो । एन्फाको भोटहरुको हैसियत जगत सामु जगजाहेर छ । भोट जहाँ पनि जुनसुकै समयमा बसाईं सराई गरिरहन्छन् । नेपाली फुटबललाई सपनाको असल राजनीति चाहिएको हो , बहुमतको गणना गर्ने राजनीति मात्र होइन । विशुद्ध राजनीति गर्न सक्ने ल्याकत भएको व्यक्तिले मात्र सपना देख्न सक्छ । असल र स्पष्ट सपनामा बहुमत स्वतः हुन्छ । ढिलो चाँडोको कुरा मात्र हो ।

पंकज–किरण नभएर नेपाली फुटबलमा हुन्छ के ? कर्मा–इन्द्रमान वा उनीहरुकै कोही व्यक्ति आएमा नेपाली फुटबलमा हुन्छ के ? यसको स्पष्ट र विश्वसनीय उत्तर नआइन्जेलसम्म अविश्वास प्रस्ताव माथि नै प्रश्न उठी रहन्छ । किनकी अहिलेको अविश्वास प्रस्तावको अन्तर्य नै कसैको बर्हिगमन र कसैको आगमनको स्वार्थ र लोभसँग मात्र सम्बन्धित छ । बर्हिगमन र आगमन व्यक्तिको होइन, मुद्दा वा सपनाको हुनु पर्छ ।

औपचारिकताको लागि एन्फाले भदौ २४ गते बोलाएको अनलाइन विशेष साधारण सभा आफैँमा गलत कदम थियो । संस्थाको साधारण सभालाई यसरी लापरवाहीपूर्वक लिने हो भने संस्थाको प्राण रहन्छ र ? बहस र छलफलले नै त संस्थालाई तागत , बाटो र गति प्रदान गर्दछ । समस्याबाट भागेर समाधान कदापि निस्किँदैन ।

एन्फाको ईतर समूहले यो समयलाई मौका बनाएर जसरी अविश्वास प्रस्ताव पेश गरेको छ, यो कदम नेपाली फुटबललाई नै आत्मघाती हुन सक्छ । विशुद्ध राजनीति हुने संस्थामा यस्तो प्रस्तावले नयाँ जीवन दिन पनि सक्छ , तर घात–प्रतिघात र आरोप–प्रत्यारोपमा चुर्लुम्म डुबेको एन्फा जस्तो संस्थामा अविश्वास प्रस्ताव किन आउँछ भनी साधारण मानिसलाई पनि सहजै थाहा हुने कुरा हो ।

अविश्वास प्रस्ताव नेपाली फुटबलको समस्याको अचुक समाधान होइन । नेपाली फुटबलको विकास नै सबैको मुद्दा हो भने कम्तिमा तत्काललाई एक अर्काबीच सहयोग र साथ हो । ईतर समूहलाई पनि नेपाली फुटबलले देखिसकेको–भोगिसकेको हो ।

कुनै समय गणेश थापालाई हटाउनु नै नेपाली फुटबलको एक मात्र समाधान हो भन्ने जस्तै भाष्य यिनै शेर्पा–नेम्बाङ समूहले बनाएको होइन र ? एक–दुई थान मानिस परिवर्तन गरेर एन्फा ठीक बाटोमा आउने भए धेरै अगाडि नै त्यसको प्रभावहरु अहिले देखा परी सक्ने थियो र अहिलेको दयनीय अवस्था देखिने थिएन ।

जालझेल , ठेलठाल र पेलपालले भरिएको एन्फा राजनीतिको चरम रुपको एउटा दृश्य मात्र हो, अविश्वास प्रस्ताव । चुनावी नतिजाले रन्थनिएको ईतर समूह सही मौकाको पर्खाइमा थियो र यो समय नै उसलाई उपयुक्त लागेर उसले फ्याट्ट फ्याल्यो ः उ सँग भएको तुरुपको एक्का । तुरुपको एक्का शक्तिशाली हुने भए पनि चलाउन जानेन भने यो फिक्का सावित हुन्छ ।

ईतर समूहले पेश गरेको आरोपहरु आफैंमा कमजोर छन् । कुनै ठोस र गम्भीर कारणहरु छैनन् । ती आरोपहरु त एन्फाभित्रको सदावहार आरोपहरु हुन् । बुँदागतरुपमा जाँदा यो आलेख लामो हुन जान्छ, आवश्यक पनि छैन । ती १४ वटा आरोपहरुलाई खासमा ११ नम्बरको एउटै बुँदाले समेटेको छ । जहाँ लेखिएको छ – “नेपाली फुटबललाई धराशायी बनाईएको” । यति लेखी सकेपछि अरु बुँदाहरु लेख्न आवश्यक थियो र ? यो आरोप गज्जब छ ।

खुशीको कुरा यहाँ के छ भने, नेपाली फुटबल धराशायी भई सकेको तथ्य बल्ल सबैले लिखितरुपमा स्वीकारे । आजको यो स्थिती एक्कासी आएको पक्कै होइन । यो आरोपको जरा सम्म जाने हो भने अधिकांश भन्दा अधिकांश पूर्व र वर्तमान पदाधिकारीहरु दोषी भेटिन्छन् । यति सामान्य कुराको हेक्का पनि किन नराखेको होला ?

ईतर समूहले यसरी आरोपहरु लगायो कि शेर्पाको कार्यकाल चाहिँ स्वर्ण समयझैँ थियो । शेर्पाको कार्यकालमा सुशासन र अनियमितताको प्रश्नहरु कहिल्यै उठेनन् त ? भएनन् त ? यसको खास उत्तरहरु नेम्बाङ समूहसँग सुरक्षित नै होला ।

वर्तमान अध्यक्षको कार्यक्षमता माथि सबैको प्रश्न आजको दिन सम्म यथावत छ । अहिलेको समयमा को होला र अध्यक्षसँग सन्तुष्ट ? तर अविश्वास प्रस्ताव समस्याको समाधान नभएर समस्याको विस्तार मात्र हुने सम्भावना बढी छ । एन्फामा लहडको राजनीति छ । अविश्वास प्रस्तावले एन्फा राजनीति झनै गिजोलिने पक्का छ ।

गिजोलिएको राजनीतिमा विषयहरु पार लाग्दैनन् र अन्तिम समयमा अदातल पुग्ने सम्भावना पनि अधिक रहन्छ । अदालत नै पुग्न सक्ने सम्भावना किन अधिक छ भने, एन्फामा “म” र “मेरो” बाहेक अर्को दृष्टिकोण देखिँदैन । आफू नै नरहने स्थितीमा कोही अदालतको ढोका ढकढक्याउन नजाला भन्न सकिन्न । अदालतको ढोकामा कोही कदम्कदाचित पुग्यो भने फिफाको सम्भावित कदमबारे आखिर सबै जना जानकार नै छन् । यस्तो कृत्य चाहिँ कसैले पनि नगरुन् ।

आउँदो दिनमा यसरी नै हिँडिरहने हो भने एन्फाका विषयहरु अदालत पुग्न सक्दैन भनी कसले जिम्मेवारी लिन सक्छ ? “एसै भएन उसै भएन” भनेर कोही आवेगमा आएर अदालत पुग्यो भने परिस्थिती के होला ? सम्भावित त्यो कालो दिनको प्रस्थान विन्दु यो अविश्वास प्रस्ताव नबनोस् ।

अविश्वास प्रस्ताव नेपाली फुटबलमा नजिर नबनोस् । यो कदमले एन्फामा स्थायी अराजकताको बिरुवा नरोपोस् । यसको दुरगामी असरहरुबारे अहिले नै सचेत हुन जरुरी छ । पञ्जा लडाउने मात्र होइन, पञ्जा मिलाउने बारे पनि सोचौँ ।

यो आलेख अविश्वास प्रस्ताव माथिको एक थान सानो “नोट आफ डिसेन्ट” मात्र हो । आगे उनीहरुकै मर्जी ।

यस्तै यस्तै ।

राईको पछिल्लो लेख : के एन्फा राजनीतिले बिग्रिएको हो ?

April 21, 2025

महिला फुटबल टोलीको प्रशिक्षकको आवेदन खुल्ला

काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय महिला टोलीका लागि पहिलो पटक प्रो-लाइसेन्स प्रशिक्षक नियुक्त गर्ने भएको छ । एन्फाले सोमवार सूचना प्रकाशित गर्दै प्रो लाइसेन्स प्राप्त प्रशिक्षकको आवेदन खुला गरेको हो। प्रो लाइसेन्ससँगैउमेर समूह वा राष्ट्रिय टोली सम्हालिसकेको अनुभव हुनुपर्ने सर्त राखिएको छ। कम्तिमा दुई वर्षको प्रशिक्षण अनुभव भएको हुनुपर्ने पनि […]

April 21, 2025

श्री कुमारी छैटौं स्थानमा उक्लियो

काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिगमा श्री कुमारी क्लब छैटौं स्थानमा उक्लिएको छ। आज टुसाल युथ क्लबलाई श्री कुमारीले २-१ गोल अन्तरले हरायो। एन्फा कम्प्लेक्समा भएको खेलको खेलको ११ औं मिनेटमा श्री कुमारीले अग्रता बनायो। निशान्त प्रधानले ११ औं मिनेटमा गोल गरे। पहिलो हाफ १-० को नतिजामा सकियो। खेलको ७६ औं मिनेटमा विनोद […]

April 21, 2025

रियलको जितमा उपाधि दौड रोचक

एजेन्सी – फेडेरिको भाल्भेर्देले इन्ज्युरी समयमा गोल गरेपछि एथलेटिक क्लबलाई १-० ले हराउँदै रियल म्याड्रिडले ला लिगा उपाधि होडलाई जोगाइराखेको छ। इन्ज्युरी समयको तेस्रो मिनेटमा भाल्भेर्देले आफ्नो बाँया हाफ-भली मार्फत गोल गर्दै टोलीलाई जित दिलाए ।यो उनको जारी सिजनको छैटौं लिग गोल हो । डिसेम्बर सेभियाविरुद्ध गोल गरेपछि उनले पहिलो पटक गोल गरेका हुन्। रियल […]

Success

Thank you for your time.