2 years ago
January 16, 2024
सन्जोग चाम्लिङ राई
सामान्यतयाः एउटा खेलाडीको सपना नै राष्ट्रिय टिमको जर्सी लगाउने हुन्छ । त्यो जर्सीमा लाग्ने पसिना नै सबैभन्दा मिठो सुगन्ध बन्छ । राष्ट्रिय टिम सम्मको यात्रा नै उसको जीवनभरको सम्झना बन्छ र सधैं रोमाञ्चित महसुस गर्दछ । राष्ट्रिय टिमको कर्ममा नै उसले गर्व महसुस गर्दछ । फुटबलले दिएको केही नाम, केही दामको सन्तुष्टिले उ बाँच्छ । तर त्यो नाम र दामले घरको चुल्होमा सधैं आगो बल्छ त ?
एनएसएलको दोश्रो संस्करण भर्खरै सकियो । विजेता ललितपुर सिटी एफसीलाई बधाई । फाइनल खेलमा भएको दर्शकहरुको भव्य उपस्थिति सम्झनायोग्य रह्यो । केही स्तरिय विदेशी खेलाडीहरुको सहभागिता र केही विदेशिएका खेलाडीहरुको आगमन पनि रोचक नै रह्योे ।
११ जना खेलाडीहरु मध्ये मैदानमा ५ जना विदेशी खेलाडीहरु उत्रन पाए । यसरी मैदानमा विदेशी खेलाडीहरुको उपस्थिती झण्डै–झण्डै पचास प्रतिशत नै रह्यो । उनीहरुले गरेको गोल संख्या र प्रभाव हेर्दा त विदेशी खेलाडीहरुबिचको प्रतिस्पर्धा जस्तै देखियो । तर आजको विषय विदेशी खेलाडीहरु होइनन् , विदेशिएका नेपाली खेलाडीहरु हुन् ।
विमल घर्ती मगर , आशिष लामा , दिनेश राजवंशी र तेज तामाङ अष्ट्रेलियाबाट आएर खेले । यो अवसर एनएसएलले जुराइदियो । उनीहरु आएर खेल्नु खुसीको कुरा रहे पनि त्यसले केही सन्देशहरु दिएको छ ।

छोटो समयमा धेरै खेलाडीहरु बुट थन्काएर विदेशिए पश्चात जुन खाल्डो रहन गयो, त्यो खाल्डो अझै पुरिएको छैन रहेछ भन्ने प्रमाणित भयो । खासमा त्यो खाल्डोको महसुस नै गरिएन । महसुस नभएर नै त होला, त्यसलाई पुर्ने चिन्ता र तत्परता एन्फामा भएन । विदेशिएका नेपाली खेलाडीहरुको आगमन भनेको नयाँ खेलाडीहरुलाई दिएको चुनौती पनि हो ।
हुन त नेपाली फुटबल खेलाडीहरु विदेश जानु सामान्य नै हो, जुन हिजो पनि थियो । नेपाली नागरिकहरु जसरी जिविकोपार्जनको लागी विदेश जान्छन् , त्यही क्रम न हो । तर बहस हो, हिजो गए भनेर आजको दिनमा पनि जानुलाई ठीक मान्न सकिन्छ त ? एन्फा सधैँ झै-झगडामा रुमल्लिएको हेरेर कतिन्जेल खेलाडीहरुले सहनु पर्ने हो ? खै एन्फा पदाधिकारी विदेशिए भनेर समाचार पढ्न पाइँदैन त ? कहिले सम्म खेलाडीहरुले विदेशमा गएर घरको चुल्हो बाल्नु पर्ने ?
एन्फा महासचिवले भनेको सत्य हो कि विदेश जानु भनेको खेलाडीहरुको व्यक्तिगत इच्छा नै हो । अब प्रश्न आउँछ , सपना माया मारेर एउटा व्यक्ति किन विदेश जान्छ ? एउटा सम्मानित जीवन छोडेर खेलाडी किन विदेशिन्छ ? उनीहरु विदेशिएका हुन् कि विदेशिन बाध्य बनाईएका ?
एनएसएल च्याम्पियन ललितपुर सिटी एफसीका कप्तान अनन्त तामाङले भनेका थिए , ‘एनएसएल सकियो तर अब कहिले मैदानमा गएर फुटबल खेल्ने भन्ने थाहा नै छैन ।’ यो भन्दा नेपाली फुटबलको अनिश्चितता कति चाहियो ? यो भन्दा एन्फालाई व्यङ्ग्य वाण कस्तो चाहियो ?
मैदानमा नै जान नपाए पछि खेलाडीको चुल्हो बल्छ कसरी ? कहिले लिग होला भनी आश गरेर कतिन्जेल बस्नु पर्ने ? यस्तो अनिश्चितताविच खेलाडीको मनस्थिती बन्छ कस्तो ? हो, यसैको नतिजा हो खेलाडीहरुको लगातार वैदेशिक पलायन ।

कुनै एउटा खेलाडीको दैनिक तालिका अनिश्चितताहरुले भरिए पछि उसले जाने कहाँ ? कुनै एउटा खेलाडीलाई अब कहाँ कहिले खेल्ने भनेर थाहा छैन भने उसले गर्ने के ? हो, यसैको नतिजा हो खेलाडीहरुको लगातार वैदेशिक पलायन ।
कुनै समय पूर्व राष्ट्रिय खेलाडी सुरेन्द्र तामाङले कुनै पत्रिकामा दिएको अन्तर्वार्ता पंक्तिकारलाई अझै सम्झना छ , ‘भोको पेटले मेरो देश भन्दैन ।’ राष्ट्रिय टिमकै नियमित सदस्यहरु फुटबल त्यागेर विदेश जाँदा पनि एन्फालाई न पिडा बोध न वास्ता नै छ । एन्फा यस्तो खेल संस्था भयो, जसको केन्द्रमा खेलाडी कहिल्यै भएनन्। हो, यसैको नतिजा हो खेलाडीहरुको लगातार वैदेशिक पलायन ।
“चेन्ज एन्फा” भनेर आएकाहरु ३६० डिग्रीमा परिवर्तन भए । भीरबाट लडेको ढुंगाझैं फुटे । अनि आफ्नो नाराको मलामी आफैं गए । आजको दिन सम्म खेलाडीहरुको हितमा कुन चाहिँ सिन्का एन्फाले भाँच्यो ? एन्फाले खेलाडीको सुरक्षित जीवनको लागी सोच्छ कहिले ? हो, यसैको नतिजा हो खेलाडीहरुको लगातार वैदेशिक पलायन ।
एन्फा भित्र नेपाली फुटबलको विकासबारे बहस हुँदैन । न एन्फाले दिर्घकालिन योजनाका महत्वकांक्षी कार्यक्रमहरु संचालन गर्न सकेको छ । बहुमतको पल्ला भारी बनाउन सबै जना सबै प्रकारको तिकडम गर्न व्यस्त छन् । गुट भन्दा माथि कोही उठ्न सकेको छैन । हो, यसैको नतिजा हो खेलाडीहरुको लगातार वैदेशिक पलायन ।
एन्फा दिनचर्या स्वार्थको घनचक्करमा मात्र बित्न थाले पछि र एन्फाले खेल्ने वातावरण नबनाएपछि खेलाडीहरु विदेश लागे र लाग्दैछन् । खासमा खेलाडीहरु विदेश गएका होइनन् , बरु विदेशिन बाध्य बनाइएका हुन् । फुटबल मात्रै जानेको र फुटबल नै वर्तमान र भविष्य मानेको खेलाडीहरुको सपनामा एन्फाले लात प्रहार गरी रहेको छ । खेलाडीहरुको सपनाको यो असामयिक अवसानको नैतिक जिम्मेवारी एन्फाको हो ।
फुटबल खेलाडीको एउटा दुखद सत्य के हो भने, उसले आफ्नो जीवनको सबैभन्दा उर्जाशिल समय खेलाडीको रुपमा बाँचीसकेको हुन्छ । नेपालको परिपेक्षमा सक्रिय खेलाडी जीवन पश्चात परिवारको चुल्होको चिन्ता सुरु हुन्छ । जुन अन्तर्राष्ट्रिय फुटबलमा देखिँदैन ।

यहाँ अन्तर्राष्ट्रिय फुटबलसँग नेपाली फुटबल तुलना गर्न खोजिएको भने होइन । यति मात्र हो, फुटबल खेलाडी भएर घरको चुल्हो किन राम्रोसँग बल्दैन ? किन उसलाई खेलाडी जीवनको उम्दा अवस्थामा नै बुट थन्क्याउन बाध्य बनाइन्छ ? र, कोही किन यसको जिम्मेवारी लिँदैन ?
एउटा खेलाडी विदेशिनु भनेको एक थान व्यक्ति विदेश गएको हो भन्ने बुझाई कसैको छ भने त्यो पूर्ण होइन । खेलाडी एकै दिनमा वा एकै छिनमा विकास हुने कला वा कर्म होइन । धेरै वर्षहरुको कठिन मेहनतले खेलाडी बनिन्छन् । खेलाडी मात्र होइन, हाम्रो कला पनि सँगसँगै विदेशिएको छ ।
कोही खेलाडी राष्ट्रिय टिम सम्म पुग्दा राज्यको केही न केही लगानी रहेको हुन्छ । राज्यको लगानी भनेको तपाईं हामीले तिरेको कर हो । खेलाडी विदेशिनु भनेको त्यो करको प्रतिफल समाजले नपाउनु हो ।
एउटा खेलाडीले समाजमा पार्न सक्ने सकरात्मक प्रभाव, उसले नयाँ खेलाडीहरुको विकासमा दिन सक्ने योगदान, बालबालिकालाई दिन सक्ने प्रेरणाको त हिसाबकिताब नै गर्न सकिँदैन । सक्रिय खेल जीवन पश्चात खेलाडीले नेपाली फुटबल क्षेत्रलाई दिन सक्ने योगदानबाट समाज या एन्फा विमुख भइरहेको छ ।
विदेशिने खेलाडीहरुको लहरको समाचारले विश्व फुटबलमा जाने सन्देशको असर हामीलाई नै पर्ने हो । यस्ता कुराहरुको महत्वका साथ समीक्षा गर्ने फुर्सद एन्फासँग छ होला त?
कठै !
यस्तै यस्तै ।
यस लेखमा प्रयोग गरिएको प्रतीकात्मक तस्विर एआइको सहयोगमा तयार पारिएको हो ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]