उदयपुर (हाम्रो खेलकुद) – उदयपुर स्थित थरुहट गाईघाट रंगशालामा सन्चालन भइरहेको उदयपुर गोल्डकपको मंगलबारको सेमी फाईनल खेलमा रुपन्देही ११ ले हिमालयन शेर्पालाई २ को विरुद्ध ३ गोलले पराजित गर्दै फाईनलमा प्रवेश गरेको छ।
रुपन्देहीले खेलको २० औं मिनेटमा फरवार्ड अमर डंगोलको गोलमा अग्रता लिएको थियो। पहिलो हाफमै रुपन्देहीले दिपक राइको गोल मार्फत अग्रता दोब्बर बनायो। राईले ३७औं मिनेटमा गोल गरेका थिए।
शेर्पाका विश्वास श्रेष्ठले ८३ औं मिनेटमा गोल गर्दै शेर्पालाइ खेलमा फर्काउने संकेत देखाएका थिए तर इन्जुरी समयको पहिलो मिनेटमा दिपक राईले गोल गर्दै रुपन्देहीलाई पुन: २ गोलको अग्रता दिलाए। त्यसको एक मिनेटमै शेर्पाको लागि विदेशी खेलाडी एलेक्सले गोल गर्दै खेललाई पुन: एक गोलको अन्तरमा झरेका थिए। तर थप गरिएको पांच मिनेटमा गोल गर्न नसकेपछि शेर्पा सेमिफाइनलबाट बाहिरियो।
टिमका लागि निर्णायक गोल गर्न सफल रुपन्देहीका दिपक राई नै खेलको म्यान अफ दि म्याच घोषित भए। क्वार्टरफाइनलमा झापा ११ लाई पराजित गरी सेमीफाईनल लेखेको रुपन्देही ११ ले र मोरङ ११ संग आगामी ५ गते फाईनल खेल्नेछ।