सबिन शेर्मा
झापा – विर्तामोड युनाइटेड प्रथम हल्दिबारी गाँउपालिका गोल्ड कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । प्रतियोगितामा आइतबार दोस्रो सेमिफाइनलमा जन जागृती क्लब धरानलाई २–१ ले हराउँदै विर्तामोड उपाधि नजिक पुगेको हो ।
विर्तामोडले मंगलबार हुने फाइनलमा सैनिक फुटबल क्लबको सामना गर्नेछ । अघिल्लो दिन झापा ७ शरनामतीलाई ३–१ ले हराउँदै सैनिक फाइनल पुगेको थियो ।
विर्तामोड लाई फाइनल पुर्याउन विशाल राई र विक्की चौधरीले गोल गरे । जन जागृतीका लागि सुशिल राईले गोल फर्काएका थिए । उनै सुशिल खेलको म्यान अफ दी म्याच बने र उनले २ हजार रुपैयाँ प्राप्त गरे ।
जलथल एफसीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित १ लाख १ हजार १ सय ११ रुपैयाँ र दोस्रो टोलीले ५१ हजार १ सय ११ रुपैयाँ पाउनेछ ।
त्यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ६ हजार तथा उत्कृष्ट गोलकिपर, रक्षक, मिडफिल्ड, फरवार्ड र प्रशिक्षकले समान ४ हजार रुपैयाँ पाउनेछन् ।